एभरेष्ट दैनिक

आफैँले संंरक्षण गर्दै आएको उज्यालो नेपाल पार्टीसँग आज कुलमानले निर्णायक छलफल गर्ने

काठमाडौं। निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेको उज्यालो नेपाल पार्टी (उनेपा) ले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङसँग छलफल गर्ने भएको छ। उनेपाका अध्यक्ष ज्ञानेन्द्र कुमार तामाङले पार्टी विस्तारको क्रममा मन्त्री घिसिङसहित अन्य नेतृत्वकर्तासँग छलफल गर्न लागिएको बताए। "कसरी, कुन तरिकाले अघि बढ्ने ? कसरी नयाँ सदस्यहरूलाई समेट्ने ? यी विषयमा छलफल चलिरहेको छ," उनले भने, "यही सिलसिलामा मन्त्री कुलमान घिसिङसहित अन्यसँग छलफल गर्ने तयारी भएको हो।" शनिबार साँझ ७ देखि ९ बजेसम्म भर्चुअल रूपमा हुने यो छलफलमा उनेपाका पदाधिकारीहरू, कुलमान घिसिङ, उनका तर्फबाट अन्य सदस्यहरू र विज्ञहरू सहभागी हुनेछन्। अध्यक्ष तामाङका अनुसार, दल निर्माणका लागि देशविदेशमा रहेका विज्ञहरूसँग छलफल चलिरहेको छ। यसैक्रममा कुलमानको उपस्थितिमा 'जुम मिटिङ' आयोजना गरिएको हो। छलफलमा पार्टीको घोषणापत्रको मस्यौदा, अवधारणा पत्रको पहिलो ड्राफ्ट र सुझावहरू समेटेर एजेन्डा तथा कार्यक्रमहरू थप्ने विषयमा बहस हुने उनले बताए। उनेपाको अवधारणा पत्रको प्रारम्भिक ड्राफ्ट तयार भइसकेको छ। छलफलमा आएका सुझावहरू समेट्दै यसलाई संशोधन गर्दै लैजाने योजना छ। उनेपामा को–को छन् ? उनेपाको राष्ट्रिय अध्यक्षमा ज्ञानेन्द्र कुमार तामाङ छन्। यसअघि उनी प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को कार्यालय सदस्य थिए। गत साउन ३१ गते उनले विज्ञप्ति जारी गरी आजपा परित्याग गरेको घोषणा गर्दै 'उज्यालो नेपाल अभियान' गठन गरेका थिए। यस अभियानका गतिविधिमा कुलमान घिसिङ पनि सहभागी थिए। त्यसैले उनेपाले राजनीतिमा प्रवेश गर्दै गर्दा कुलमानको पनि संलग्नताबारे चर्चा चलेको थियो। यद्यपि, कुलमानले यसबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। 'उज्यालो नेपाल अभियान' का सक्रिय सदस्यहरूले निर्वाचन आयोगमा दल दर्ताका कागजात बुझाइसकेका छन्। त्यसमा उल्लेखित पदाधिकारीहरू निम्नानुसार छन् : राष्ट्रिय अध्यक्ष : ज्ञानेन्द्र कुमार तामाङ उपाध्यक्ष : नारायण प्रसाद पाण्डे, रमेश प्रसाद थपलिया, सागर पाण्डेय महासचिव : प्रशान्त केसी तिमल्सिना उपमहासचिव : भुवन नारायण तामाङ कोषाध्यक्ष : विमला तामाङ सचिव : पुनम तामाङ, सविना बुढाथोकी, विमला स्याङतान, कान्छाकाजी तामाङ, सचिन्द्र कुमार तामाङ