वेष्ट इण्डिजविरुद्धको टिट्वेन्टीआई श्रृंखला नेपाललाई, अन्तिम खेलमा १० विकेटले पराजित
१४ असोज, २०८२
शारजहा । वेष्ट इण्डिजविरुद्धको टिट्वेन्टीआई श्रृंखला नेपालले दुई-एकले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा १० विकेटले पराजित भए पनि नेपालले श्रृंखला दुई-एकले जितेको हो । पहिलो र दोस्रो टि टेवेन्टीआई भने नेपालले जितेको थियो । नेपालले प्रस्तुत गरेको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो। ओपनर अमिर जांगुले ४५ बलमा अविजित ७४ रन र अकिम अगस्टेले अविजित ४१ रन जोडे। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट भयो। कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए भने कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४ र कुशल मल्लले १२ रन जोडे। पावरप्लेमा ३७-० को बलियो सुरुवात गरे पनि नेपालले त्यसपछि लगातार विकेट गुमाउँदा पूर्ण स्कोर बनाउन सकेन। वेस्ट इन्डिजका रामोन सिमोन्ड्सले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए। जेदिया ब्लेड्सले २ तथा जेसन होल्डर र कप्तान अकिल होसेनले समान १-१ विकेट हात पारे। यद्यपि, नेपालले यसअघि लगातार दुई जितसहित शृंखला आफ्नो नाममा गरिसकेको छ। आजको खेलमा भने वेस्ट इन्डिज पूर्ण रूपमा हावी रह्यो। सोमबार शारजाहमा भएको दोस्रो खेलमा नेपालले १७४/६ को स्कोर बनायो। जवाफमा वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमै अलआउट हुँदा नेपाल ९० रनले विजयी भयो। यसअघि शनिबारको पहिलो खेलमा नेपालले १९ रनको जित निकालेको थियो। दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध यो नेपालको ऐतिहासिक सफलता हो। अन्तिम खेलपछि नेपाली टोली टी-२० विश्वकप छनोटका लागि ओमान प्रस्थान गर्नेछ। समूह चरणमा नेपालले कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष दुईमा रहेर सुपर-६ मा पुगेमा, शीर्ष तीन टोलीले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछन्। ओमानमा तीन समूहमा नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ। अन्य समूहमा मलेसिया, कतार, युएई, ओमान, पिएनजी र सामोआ छन्। सुपर-६ मा पुग्ने ६ टोलीमध्ये शीर्ष तीनमा रहेमा नेपाल लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुनेछ।
आज देशभर आंशिकदेखि पूर्ण बदली रहने
१४ असोज, २०८२
आजको विनिमयदरमा के के भयो परिवर्तन ?
१४ असोज, २०८२
नवरात्रको आठौं दिन : महागौरीको पूजा आराधना
१४ असोज, २०८२
नेपाल र वेस्ट इन्डिजबीच आज दोस्रो टी-२० खेल
१३ असोज, २०८२

