एभरेष्ट दैनिक

चार बजे शपथ, अझै लागेन मन्त्रालयको टुंगो, बालुवाटारमा बैठक जारी

काठमाडौं, तेश्रोपटक बिस्तार हुन लागेको मन्त्रीमण्डलको शपथ आज अपरान्ह चार बजे हुने बताइएपनि मन्त्रालयको भने अझैसम्म निक्र्यौल भइसकेको छैन । एमाले र माओवादी केन्द्रले पाउने मन्त्रालय र मन्त्रीहरुको बारेमा छलफल गरी अन्तिम रुप दिन बालुवाटारमा दुबै दलका शीर्ष नेताहरुको बैठक जारी रहेको छ । भौगौलिक क्लष्टरदेखि समावेशिता र पार्टीभित्रको संगठनात्मक पोर्टफोलियो समेत मिलाएर मन्त्रालय र मन्त्रीहरु छनौट गर्न बैठकले अन्तिम कसरत गरिरहेको हो । दुबै पार्टीबीच मन्त्रालयको बाँडफाँड र मन्त्रीहरुको छनौटका बारेमा दर्जनबढी बैठकहरु बसेपनि निष्कर्श निस्किन सकेको थिएन । माओवादी र एमालेभित्र मन्त्रीपदका आकांक्षीहरु धेरै हुनु र नयाँ संवैधानिक प्रावधान अनुसार मन्त्रालयको संख्या सीमित भएपछि दुबै दललाई निर्णयमा पुग्न गारो भएको देख्न सकिन्छ । अहिले बैठकले मन्त्रीहरुको टुंगो लगाउन सक्यो भने आज अपरान्ह शपथ ग्रहण हुने छ । यसअघि पनि शपथ हुने कार्यक्रम तय भएपनि आन्तरिक निर्णय गर्न नसक्दा शपथ कार्यक्रम सर्दै आएको थियो । माओवादी केन्द्रबाट दुई जना मन्त्री यसअघि नै ओली सरकारमा सहभागी भइसकेका छन् । माओवादीको तुलनामा मन्त्री छनौटका लागि बढी समस्या एमालेभित्र देखिएको छ । एमालेभित्र नेतापिच्छै फरक शक्तिशाली गुटको अस्तित्व कायमै रहेको अवस्थामा सबै पक्षलाई मिलाएर मन्त्री छनौट गर्न नसकिएको एमाले नेताहरु बताउँछन् । माओवादी केन्द्रमा भने प्रदेश नम्बर सातबाहेक अन्य प्रदेशले एकल सिफारिस गर्न सकेको छैन । सार्वजनिकरुपमा गुटको प्रतिछयाँ मन्त्री छनौटमा नदेखिएपनि जनयुद्दकालिन भौगौलिक क्लष्टरको प्रभाव भने अहिले मन्त्री छनौटमा यथावत नै देखिन्छ । त्यसैले माओवादीलाई युद्दकालका मुख्य आधार भएका क्षेत्रबाट कसलाई मन्त्री छान्ने विषयमा बढी कसरत गर्नु परेको छ । यो क्षेत्रका प्रभावशाली नेताहरुमध्ये अहिले भने जनार्दन शर्मा प्रभाकर, शक्ति बस्नेत, चक्रपाणी खनाल बल्देव, वर्षमान पुन अनन्त मुख्य दावेदार देखिएका हुन । यी मध्ये कसलाई मन्त्री बनाउने भन्ने विषय यो समाचार लेख्ने बेलासम्म टुंगो लाग्न सकेको छैन । प्रदेश सातबाट भने बीना मगरको नाममा सहमति भइसकेको छ भने प्रदेश दुईबाट मधेसको प्रतिनिधित्व गर्दै मातृका यादव यसअघि नै मन्त्री भइसकेका छन् । सोही प्रदेशबाट गिरिराजमणी पोखरेलको नाम समेत चर्चामा छ । यद्यपी प्रदेशको सन्तुलन मिलाउँदा एउटै प्रदेशबाट दुई जना गर्न नहुने मत समेत बलियो रहेको देखिन्छ । अबको केही समयपछि यो अवस्था भने स्पष्ट हुने देखिन्छ ।