एभरेष्ट दैनिक

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदै

पोखरा, फागुन २५ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार विश्वासको मत लिँदैछन् । उनले दिउँसो एक बजे विश्वासको मत लिने कार्यसूचि प्रदेशसभा सचिवालयले तयार गरेको छ । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । माघ २८ गते एमाले संसदीय दलको नेताका रुपमा निर्वाचित गुरुङले २९ गते प्रदेश प्रमुख बाबुराम कुँवरबाट मुख्यमन्त्री पदको नियुक्ति लिएका थिए । गुरुङले विश्वासको मत लिने, संसद बैठकमा टेबल भएको प्रदेश सभा नियमावली पारित गर्ने र आर्थिक कार्यविधि टेबल गर्ने सूचि रहेको प्रदेशसभा सचिवालयका उपसचिव नगेन्द्रराज पौडेल जानकारी दिए । बैठकमा मुख्य मन्त्री गुरुङले आफूलाई विश्वासको मतकालागि प्रस्ताव राख्नेछन् । प्रस्ताव उपर उठेका विषयमा गुरुङले जवाफ दिएपछि संसदमा लिखित रुपमा मतदान हुनेछ । गुरुङले विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री विरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव लैजान नमिल्ने संवैधानिक व्यवस्था रहेको छ । ६० सदस्य रहेको प्रदेश ४ मा एमालेका २७ माओवादीका १२ र कांग्रेसका ११, जनमोर्चाका ३ र नयाँ शत्तिका २ सदस्य रहेका छन् ।