एभरेष्ट दैनिक

त्रिपुरामा कम्युनिष्ट २५ वर्षपछि सरकार बाहिर, भाजपाकाे चमत्कारिक जित

नयाँदिल्ली । पूर्वोत्तर भारतीय राज्य त्रिपुरामा पछिल्लो २५ वर्षमा पहिलो पल्ट वामपन्थीहरु सत्ताबाट बाहिर भएका छन् । ६० सदस्यीय विधानसभाका ५९ सीटका लागि भएको चुनावको मतगणनाको नतिजा सार्वजनिक भएको छ । जसमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले भारी बहुमत प्राप्त गरेको छ । सन् १९९३ देखि निरन्तर शासन गर्दै आएको मार्क्सवादी कम्युनिस्ट पार्टी निकै कमजोर अवस्थामा देखा परेको छ । केन्द्रमा बहुमतको सरकार चलाइरहेको भाजपाको यो जित भने चमत्कारिक नै मानिएको छ । त्रिपुरामा सन् २०१३ मा भएको निर्वाचनमा ५० स्थानमा प्रतिस्पर्धा गरेका भाजपाका ४९ जना उम्मेदवारको जमानत जफत भएको थियो । भाजपा निल थियो । उक्त निर्वाचनमा माकपाले ४९, कांग्रेसले १० र अन्यले एक सिट हात पारेका थिए । त्रिपुरामा पछिल्लो २० वर्षदेखि माणिक सरकार मुख्यमन्त्रीको रुपमा सरकारको नेतृत्व गरिरहेका छन् । स्वच्छ छवि भएका नेताको रुपमा चिनिएका सरकारको लोकप्रियतामा खासै कमी आएको नदेखिए पनि चुनावी नातिजाहरूले उनलाई सत्ताबाट बाहिर राखिदिएको छ । सन् २०१३ मा १.३ प्रतिशत मत मात्र प्राप्त गर्न सफल भाजपाले यसपाली झण्डै ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने देखिएको छ । उसले यस निर्वाचनमा क्षेत्रीय दल इंडिजिनस पिपुल्स फ्रंट अफ त्रिपुरा (आईपिएफटी) सँग गठबन्धन गरेको छ । पछिल्लो मत परिणाम अनुसार त्रिपुरा राज्यमा भाजपा ३८ स्थानमा विजयी भइसकेको छ भने अ पाँच स्थानमा अगाडि छ । त्यसै गरी २५ वर्ष एकलौटी सरकार चलाएको कम्युनिष्ट पार्टी ११ स्थानमा विजयी भएको छ भने अन्य पाँच स्थानमा अगाडि रहेको छ । भने कांग्रैस नील छ ।