एभरेष्ट दैनिक

सरसफाइ अनुगमन गर्दै प्रमुख दाहाल

चितवन । स्वच्छ, सफा र हरियालीयुक्त भरतपुर महानगरपालिका निर्माणको लक्ष्य लिनु भएकी महानगर प्रमुख रणुु दाहालले आइतबार वडा नम्बर ११ मा सरसफाईको अनुगमन गर्नु भएको छ । फोहोरमैला ब्यवस्थापन र हरियाली वातावरणको अवलोकनपछि महानगर प्रमुख दाहालले वडालाई सफा, सुघ्घर र ब्यवस्थित गराएको भन्दै वडा नम्बर ११ का स्थानीयवासी, टोल सुधार समिति, आमा समूह, सामाजिक संघसंस्था, वडा समिति र महानगरका कर्मचारीहरूलाई धन्यवाद दिनुभयो । महानगर प्रमुख दाहालले वडा नम्बर ११ भित्र रहेका गणेशस्थान, जखडीमाई सामुदायिक वन चोक, गोरखकाली चोक, लामाटोल, पारिजात टोल, हिमाली टोल, नौरङ्गे चोक लगायतका क्षेत्रहरूको अवलोकन गर्नु भएको थियो । उहाँले सरसफाई र हरियाली कायम राखी वडालाई वातावरणमैत्री बनाउन स्थानीय जनसमुदायको ठूलो भूमिका हुने बताउँदै यसका लागि महानगरले आवश्यक सहयोग गर्ने बताउनु भयो । महानगर प्रमुख दाहालले स्थानीयवासीका गुनासो सुन्नुकासाथै वर्षायाममा हुने डुबानको समस्यालाइै समाधान गर्न केरूङ्गा घोलको सफाई गरी ब्यवस्थापन गर्न निर्देशन समेत दिनुभयो । वडा कार्यालयको अवलोकन गर्दै दाहालले गुनासो नआउने गरी सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । वातावरणमैत्री वडा घोषणाको तयारी टोल सुधार समिति गठन भएको हुनुपर्ने, वातावरण सम्बन्धी नियमित बैठक भएको, फोहोरलाई जथाभावी नफाली ब्यवस्थित गरिएको हुनुपर्ने, सडकपेटीमा बृक्षरोपण गरिएको हुनुपर्ने लगायतका मापदण्ड पूरा गरेकोले वडा नम्बर ११ लाई फागुन २६ गते शनिबार महानगरले वातावरणमैत्री वडा घोषणा गर्दैछ । वातावरणमैत्री वडा घोषणाको तयारीबारे अनुगमन गर्न महानगर प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, वडा नम्बर ११ का अध्यक्ष बाबुराम अधिकारी, वडा सदस्यहरू, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, ब्यवसायी दिनेशकुमार चुके, राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, टोल सुधार समितिका पदाधिकारी, महानगरपालिकाका वातावरण विभागका कर्मचारी र सर्वसाधारणको सहभागिता रहेको थियो ।