एभरेष्ट दैनिक

राष्ट्रपतिमा विद्या र झलनाथको सम्भावना, सुवास आउट : लालबाबु पण्डित

काठमाडौं, फागुन २१ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले आजदेखि सुरु हुने संघीय संसदको पहिलो बैठकदेखि नै आवश्यक काम थालिने बताएका छन् । यो महिनाभित्र नै संसदबाट गर्नुपर्ने सबै निर्वाचन सकिने पण्डितले बताएका छन् । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन यही महिनाभित्र गरिने उनले बताए । राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको बताउँदै उनले अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारी दोहोरिने र नयाँ व्यक्ति राष्ट्रपति बन्ने दुवै सम्भावना रहेको बताए । “सम्भावनालाई नकार्न सकिदैन । झलनाथ खनालको राष्ट्रपति बन्ने चाहनालाई आश्चर्यको रुपमा लिनुपर्दैन । उहाँको पनि सम्भावना छ ।” पण्डितले भने । भण्डारी र खनालको सम्भावना बढि रहेको भन्दै उनले सुवास नेम्वाङको सम्भावना भने कम रहेको बताए । मन्त्री पण्डितले निर्वाचनको काम सकिएपछि प्रादेशिक र संघीय कानुन निर्माण गरिने बताए । “प्रादेशिक र संघीय कानुन नबन्दा स्थानीय स्तरमा समस्या भएको छ । त्यसकारण कानुन छिटो बनाउनुपर्छ ।” पण्डितले भने । फरक प्रसङ्गमा मन्त्री पण्डितले पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासी प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन आउन लागेको जानकारी दिए ।