एभरेष्ट दैनिक

डा बाबुराम भट्टराई इन्डोनेसिया जादैं

काठमाडौं, फागुन २१ । नयाँशक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज इन्डोनेसिया जादंै छन् । ‘एसियामा मानवीय पहुँच र वार्ता’ (ह्युमेनिटेरियन एक्सेस एण्ड नेगोसियसन इन एशिया) विषयमा इन्डोनेशियाको जकार्तामा हुन लागेको क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्नका लागि पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई आज त्यसतर्फ जाँदै छन् । संयोजक भट्टराईले फागुन २४ गते ‘मानवीय वार्तामा सरकार र सुरक्षाबलको दृष्टिकोण’ (गभरमेन्ट एण्ड सेक्युरिटी फोर्स पर्सपेक्टिभ्स अन ह्युमेनिटेरिएन नेगोसियसन) विषयमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । सम्मेलन फागुन २४ र २५ दुई दिनसम्म चल्नेछ । सम्मेलनका सहआयोजकहरु द इन्टरनेशनल कमिटी अफ द रेडक्रस (आइसीआरसी), द सेन्टर अफ कम्पेटेन्स अन ह्युमेनिटेरिएन नेगोसियसन (सीसीएचएन), ह्युमेनिटेरिएन फोरम इन्डोनेशिया र पारामाडिना ग्र्याजुएट स्कुल अफ डिप्लोमेसी हुन् । संयोजक भट्टराई फागुन २६ गते मलेसिया जानेछन् । त्यहाँ उनले मलेसियाको विकाससम्बन्धी अध्ययन भ्रमण गर्नेछन्, र त्यहाँका नेपालीहरुसँग अन्तरक्रिया पनि गर्नेछन् । डा भट्टराई आगामी फागुन २७ गते अपरान्ह स्वदेश फर्किने कार्यक्रम रहेको छ ।