एभरेष्ट दैनिक

व्याडमिन्टन, लनटेनिस र भलिबल खेल हुने

काठमाडौं, फागुन २१ । सशस्त्र प्रहरी बल नेपाल, केन्द्रीय खेलकूद समितिको आयोजनामा यही फागुन २७ गतेबाट ‘चौधौँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दशौँ सहवीर स्मृति खुला लनटेनिस तथा ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौँ राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता पनि संचालन गरिने आयोजक समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिनुभयो । उक्त खेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमअनुसार सञ्चालन हुनेछ । तीनवटै प्रतियोगिताको कूल पुरस्कार राशि रु १७ लाख ६० हजार रहेको अतिरिक्त महानिरीक्षक खनालले जानकारी दिनुभयो । व्याडमिन्टनतर्फ पुरुष एकलमा प्र्रथम हुनेले रु ६० हजार, दोस्रो हुनेले रु ३० हजार तथा तेस्रो हुनेले रु २५ हजार पाउनेछन् भने क्वार्टरफाइनलमा पुग्ने प्रत्येकले रु पाँच हजार प्राप्त गर्नेछन् । त्यस्तै, महिला एकलमा प्र्रथम हुनेले रु ५० हजार रुपैयाँ, दोस्रोले रु २५ हजार र तेस्रो हुनेले रु साढे १२ हजार प्राप्त गर्नेछन् । व्याडमिन्टनतर्फको पुरुष युगलमा प्रथम पुरस्कार रु ६० हजार, दोस्रो रु ३० हजार तथा तेस्रो हुनेले रु २५ हजार पुरस्कार पाउनेछन् भने महिला युगलतर्फ प्र्रथम पुरस्कार रु ४० हजार, द्वितीय पुरस्कार रु २५ हजार तथा तृतीय पुरस्कार रु २० हजार रहेको छ । लनटेनिसतर्फ पुरुष एकलमा प्र्रथम हुनेले रु ६० हजार दोस्रो हुनेले रु ३० हजार, तेस्रो हुनेले रु २० हजार र क्वार्टरफाइनलमा पुग्ने प्रत्येकले रु पाँच हजार प्राप्त गर्नेछन् । महिला एकलमा प्र्रथम हुनेले रु ६० हजार, दोस्रो हुनेले रु ३० हजार र तेस्रो हुनेले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । लनटेनिस कै पुरुष युगलमा प्रथम पुरस्कार रु ४० हजार, द्वितीय पुरस्कार रु २० हजार र तृतीय पुरस्कार रु २० हजार रहेको छ भने महिला युगलतर्फ प्र्रथम पुरस्कार रु ४० हजार, द्वितीय पुरस्कार रु २० हजार र तृतीय पुरस्कार रु २० हजार नै रहेको छ । यसैगरी, भलिबलमा प्रथम हुने टोलीले रु दुई लाख ५० हजार तथा दोस्रो हुने टोलीले रु एक लाख २५ हजार पाउनेछन् । त्यसैगरी तेस्रो स्थान हासिल गर्ने टोलीले रु ५० हजार पाउनेछन् । प्रतियोगिताका खेलहरु सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय, हल्चोक स्वयम्भूस्थित एपिएफ क्लब हल, लनटेनिस कोर्ट, भलिबल कोर्ट र सातोबाटोस्थित लनटेनिस कोर्टमा हुनेछन् । जुनियर राष्ट्रिय कराते यसैबीच, पाको–नेपाल क्योकुसिन कराते संघको आयोजनामा प्रथम जुनियर राष्ट्रिय क्योकुसिन कराते प्रतियोगिता यही फागुन २५ गते शुक्रबार हुने भएको छ । प्रतियोगितामा पुरुष÷महिलातर्फ समान ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष एवं व्रान्च चिफ सन्जु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा करिब १५० खेलाडीको सहभागिता रहनेछ । एकदिने प्रतियोगिताका खेलहरु सिनामंगलस्थित विश्रान्ती पार्टी प्यालेसमा हुनेछ ।