एभरेष्ट दैनिक

अब देशमा स्थायित्व र समृद्धिको लडार्इ सुरुः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशमा स्थायित्व, सुशासन, विकास र समृद्धिको लडाइ सुरु भएको बताउनुभएको छ । संघीय संसदको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘हामीले राजनीतिक लडाइ पूरा गरिसकेका छौं । अब जनमत अनुसार देशमा स्थायित्व, सुशासन, विकास र समृद्धि ल्याउन नयाँ लडाइ सुरु भएको छ ।’ समृद्धिको नयाँ लडाइलाई पूरा गर्न सबै राजनीतिक दलले सहमति र सहकार्य गरेर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । ‘हामी लड्दा देशमा क्षति भयो, मिल्दा ठूलो सफलता मिलेको छ,’ उहाँले भन्नुभयो, ‘नयाँ यात्रामा पनि सत्तापक्ष र प्रतिपक्षलाई राष्ट्रिय एकता र रचनात्मकताका साथ अगाडि बढ्न अनुरोध गर्छु ।’ ‘अब हामी नेपाल परस्त भएर सबै छिमेकीसँग राम्रो सम्बन्ध राख्नुपर्छ, न भारत परस्त, न चीन परस्त ।’ समृद्धिको सपना पूरा गर्न राजनीतिक संस्कार परिवर्तन गर्नुपर्ने उहाँले बताउनुभयो । ‘हिजोका शासकले विरासत राम्रो छाडेको छैन । राज्य संयन्त्र, कर्मचारी, न्यायालय, सुरक्षा निकायको कार्यशैली समाजवाद उन्मुख यात्रा अनुकूल छैन,’ उहाँले भन्नुभयो, ‘अब सबैले पूरानो संस्कार र कार्यशैली परिवर्तन गरेर देश र जनताको हितमा काम गर्नुपर्छ ।’ रेमिट्यान्समा देश चलेकाले अर्थतन्त्र भयानक अवस्थामा रहेको बताउँदै प्रचण्डले अन्तर्राष्ट्रिय राजनीतिमा फेरबदल हुने बित्तिकै जुनसुकै बेला पनि नेपाली अर्थतन्त्र संकटमा पर्न सक्ने बताउनुभयो । ‘अर्थतन्त्रका सूचकांक नकारात्मक छन्, व्यापार घाटा भयानक छ, यसलाई सन्तुलित गर्ने जिम्मेवारी हाम्रो काँधमा छ,’ उहाँले भन्नुभयो, ‘हामी नयाँ संकल्प गर्दै राष्ट्र र जनताको निम्ति तपस्या र त्याग गर्न तयार छौं ।’ अर्थतन्त्रको भयानक अवस्था क्रमशः सुधार हुँदै जाने बताउँदै प्रचण्डले प्राकृतिक स्रोत, जनशक्ति, कृषि उद्योग, पर्यटन, जलस्रोतका सबै क्षेत्रमा गुणात्मक प्रगति गर्ने सम्भावना रहेको बताउनुभयो । ‘यही मौका हो नयाँ नेपाल बनाउने, विकृति अन्त्य गर्ने यही अवसर हो,’ उहाँले भन्नुभयो, ‘हामी बदलिने र दृढताका साथ नेपाल बनाउने संकल्प गर्नुपर्छ ।’ स्थायित्व, सुशासन, विकास र समृद्धिका लागि बदमासी र ठगी गर्नेलाई दण्ड र निष्ठापूर्वक काम गर्नेलाई पुरस्कृत गरेर नयाँ संस्कार विकास गर्नुपर्ने अध्यक्ष प्रचण्डले बताउनुभयो । छिमेकी देशसँगको सम्बन्धबारे बोल्दै उहाँले भन्नुभयो, ‘अब हामी नेपाल परस्त भएर सबै छिमेकीसँग राम्रो सम्बन्ध राख्नुपर्छ, न भारत परस्त, न चीन परस्त ।’ विदेशमा रहेका लाखौं युवालाई देशभित्र फर्काउन स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो । संविधान गतिशील भएकाले विद्रोह र आन्दोलन नगरीकनै लोकतान्त्रिक विधिबाट परिमार्जन गर्न सकिने उहाँले बताउनुभयो ।