एभरेष्ट दैनिक

सुरक्षा कारबाहीमा दसजना तालिबानको मृत्यु

काठमाडौं, पुस २६ । सरकारी सुरक्षा कारबाहीमा आफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा दस जना तालिबान आतङ्ककारी मारिएका छन् । पछिल्लो समय सरकारी फौंजले तीब्र पारिएको सुरक्षा कारबाहीमा उनीहरु मारिएका हुन । देशको पूर्वी प्रान्त नान्गाहारको खोगीआनी जिल्लामा आतङ्ककारीको आखाडालाई लक्ष्य गरेर गरिएको कारबाहीका क्रममा कम्तीमा दशजना तालिबान लडाकू मारिएका प्रान्तीय सरकारद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । गत २४ घण्टाभित्र जारी कारबाहीका क्रममा ती लडाकू मारिएका बुधबार जारी विज्ञप्तिमा जनाइएको छ । सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा मङ्गलबार बिहानबाट बुधबार बिहानसम्म हवाई कारबाहीसमेत गरिएको जनाइएको समाचारमा उल्लेख छ । यसै महिनाको सुरुबाट नान्र्गाहार प्रान्तको खोगीआनी जिल्लामा आतङ्ककारी विरुद्धको सुरक्षा कारबाही हालसम्म पनि जारी रहेका बताइएको छ । यसैबीच प्राप्त अर्को एक समाचारअनुसार अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको सिरिन तगाब जिल्लामा सुरक्षाबलले गरेको हवाई कारबाहीमा कम्तीमा छ आतङ्ककारी मारिएका छन् ।