एभरेष्ट दैनिक

निर्वाचन खर्च करिब पौने छ अर्ब

काठमाडौं, पुस २३ । गत मंसिर १० र २१ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । दुई चरणमा भएको निर्वाचनको खर्च विवरण सार्वजनिक गर्दै आयोगले ७७ जिल्लामा ४ अर्ब ६ करोड १४ लाख ६ हजार ६ सय ८ रुपैयाँ निकासा भएको जानकारी दिएको हो । यस्तै राजधानीको कान्तिपथस्थित केन्द्रीय कार्यालयबाट ७६ करोड ६ लाख ७८ हजार ६ सय ९१ रुपैयाँ खर्च भएको उल्लेख गरेको छ । निर्वाचन प्रयोजनका लागि सरकारले निकासा गरेको १० अर्ब रुपैयाँ मध्ये ३० करोड रुपैयाँ पुँजीगत खर्चतर्फ रकमान्तर गरिएको थियो । ९ अर्ब ७० करोड रुपैयाँमध्ये चार अर्ब ७ करोड ७८ लाख ५२ हजार ७ सय रुपैयाँ मौज्दात छ । आयोगका सचिव नवराज ढकालद्वारा जारी विज्ञप्तिमा मौज्दात रकमबाट राष्ट्रिय सभा र राष्ट्रपतिरउपराष्ट्रपतिको निर्वाचन गर्ने प्रवन्ध मिलाइएको उल्लेख छ । आयोगले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा दुई लाख १५ हजार जनशक्ति परिचालन गरेको थियो । आयोगको खर्च विवरणमा जनशक्ति परिचालन, निर्वाचन सामग्री, मतपत्र, मतदाता शिक्षा कार्यक्रम लगायत तर्फ अस्ती शुक्रबारसम्म भएको खर्च विवरण समेटिएको छ ।