एभरेष्ट दैनिक

खुल्यो एमबिबिएस भर्नाको बाटो, लामो दबाबपछि त्रिविले सदर गर्‍यो मेडिकल कलेजको कोटा

काठमाडौं- त्रिवि कार्यकारी परिषद्ले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले मातहतका मेडिकल कलेजहरुलाई निर्धारण गरेको सिट संख्यालाई सदर गरेको छ। विद्यार्थी भर्नाका लागि सिट संख्या बढाउने खेलमा लागेका त्रिवि पदाधिकारीले चौतर्फी दबावपछि आइओएमले सिफारिस गरेको सिट संख्यालाई नै सदर गरेको हुन्। कार्यकारी परिषद्को यो निर्णयसँगै एमबिबिएस अध्ययनका लागि नयाँ भर्नाको बाटो खुलेको छ। आइओएमले निर्धारण गरेको सिट संख्यामा पुनर्विचार गराउन त्रिवि पदाधिकारीले लामो समय यसलाई रोकेर राखेका थिए। नियम अनुसार आइओएमको फ्याकल्टी बोर्ड सिट निर्धारण गरेर मेडिकल काउन्सिलमा पठाउँछ र काउन्सिलले निरीक्षणका आधारमा त्यसलाई स्वीकृत गर्छ। त्यसपछि अनुमोदनका लागि त्रिविमा पठाइन्छ। आइओएमले एमबिबिएसमा महाराजगञ्ज मेडिकल कलेजको ७६, किष्ट मेडिकल कलेज ललितपुरको ९०, गण्डकी मेडिकल कलेज पोखराको ९०, नेसनल मेडिकल कलेज वीरगञ्जको ९०, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको १००, चितवन मेडिकल कलेजको ९०, युनिभर्सल मेडिकल कलेज भैरहवाको १०० र जानकी मेडिकल कलेज जनकपुरको ८० सिट निर्धारण गरी त्रिविमा पठाएको थियो। कार्यकारी परिषदले सोही सिट संख्या स्वीकृत गरेको हो। आइओएमले नयाँ विद्यार्थी भर्नाका लागि ‘ओपन हाउस काउन्सिलिङ’ सुरु गर्ने भन्दै सार्वजनिक सूचना समेत निकालिसकेको छ। आइओएमले पुस २६ गतेदेखि विद्यार्थीसँग प्रवेश परीक्षाको योग्यताक्रम (मेरिट)मा अगाडि रहेकालाई परामर्श दिने भएको हो।   स्वास्थ्यखबरबाट