तराइमा भ्रमको खेती गर्दै एमाले, केन्द्रीय नेता रंगेहात समातिएपछि बबाल

काठमाडौं, भदौ २५ । आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन जित्नका लागि सबै दलहरु प्रचार प्रसार अभियानमा जुटेका छन् । प्रमुख प्रतिपक्षी एमाले निर्वाचन जित्नका लागि झुठको खेती गर्दै भ्रम छर्र्दै हिँडिरहेको छ ।

दुई नम्बर प्रदेशमा हुने स्थानीय निर्वाचनमा जित्नका लागि एमालेका एक जना केन्द्रियस्तरका नेताले झुठो प्रचारवाजी गरेका छन् ।

यही शनिवार काठमाडौंबाट बारा जाने क्रममा एमाले निकट युवा संघका अध्यक्ष राजीव पहारी र राजपाका नेता मनीष सूमनसँग त्रिभुवन विमानस्थलमा भयो । उनीहबीच कुराकानी र सेल्फी फोटो सम्म खिचियो । दुवै जना आ–आफ्नो बाटो लागे । तर चुनावको मुखमा एमाले नेता पहारीले उक्त सेल्फीलाई दुरुपयोग गरे । उनले मनीष समूनले मधेसमा एमालेको जित सुनिश्चित रहेको भनेर स्वीकारेको भनी सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरे ।

त्यतिमात्रै होइन् वीरगन्ज लगायतका महत्वपूर्ण नगर र गाउँपालिकामा एमाले विजयी हुने र एमालेले २ नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने कुरा खुलस्त स्विकार गरेको कुरा पनि फेसबुकमा लेखे । साथै एमालेको सहि नीति र नेतृत्वको कारणले एमालेप्रतिको बिश्वास अन्य पार्टीमा पनि बढ्दै गएको कुरा पनि मनीषले भनेको उल्लेख गर्दै उनले फेसबुकमा थप लेखे, मनिषजीलाई पनि एमालेमा छिटै स्वागत गर्न पाइयो ।

आफूसँग खिचेको सेल्फीको दुरुपयोग गर्दै उनले भ्रम फैलाउनेगरी एमालेका युवा नेता राजीव पहारीले झुटो कुरा लेखेपछि मनीष सूमनले पनि फेसबुकबाटै प्रतिवाद गरे । उनले भ्रम फैलाउने काम नगर्न चेतावनी दिँदै मधेसीलाई आमाचाक्री गाली गर्ने, आँप, विहारी भनेर होच्याउने मधेसी विरोधी एमालेलाई लोप्पा खुवाउने भनेर जवाफ दिएका छन् ।

मनीषले लेखेका छन्, ‘सेल्फी खिचाउने रहर बोकेका राजिवजी लाई हेक्का होस, मधेशी नेतालाई आमा,चकारी गाली बक्ने वामदेव गौतमको एमाले, हठका कारण सप्तरी मलेठ मा ५ जना को हत्या गराउने एमाले, मधेशीलाई कालो, लटरम्म आंपबाट झरेका दुई,चार आंप, धोतीजस्ता असभ्य अमर्यादित टिप्पणी गर्ने एमालेले अब मघेसमा लोप्पा मात्र पाउनेछ । भेटघाटमा हुंदै नभएको गफलाई मनोगत रूपले फसबुकमा प्रयोग नगरौं मित्र । मनिष सुमन मघेशवादी थियो, छ र रहनेछ । मघेश विरोधी एमालेले स्वागतको तयारी नगरोस् ।’

उसो त भ्रमको खेती गर्ने, झुटा आश्वासन बाडेर चुनाव जित्ने एमालेको पूरानो परिपाटी नै हो । र, अहिले उसका केन्द्रीय नेता भ्रम फैलाउने क्रममा रंगेहात समातिएका हुन् ।

आम सर्वसाधारण जनता बाहेक कुनै अचल सम्पती छैन : स्वास्थ्यमन्त्री

काठमाडौ, भदौ २३ । स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले आफ्नो नाममा केही बैंक मौजाद, सञ्चार सामाग्री र केही अत्यावश्यक फर्निचरहरु बाहेक कुनैपनि अचल सम्पत्ती नरहेको बताएका छन । शुक्रबार मन्त्री पोखरेलले आफ्नो सम्पती विवरण प्रधानमन्त्री कार्यालयमा बुझाउदा आफ्नो नाममा आम सर्वसाधारण नेपाली जनता बाहेक कुनैपनि अचल सम्पती नरहेको उल्लेख गरेका छन । स्वास्थ्य मन्त्री पोखरेलले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार आफ्नो नाममा एभरेष्ट बैङ्क लिमिटेड पुल्चोक शाखामा आठ लाख १५ हजार दुइसय ६७ रुपैया ७१ पैसा र नेपाल बंगलादेश बैङ्क कमलादी शाखामा १३ हजार नौ सय ९३ रुपैया ८० पैसा बैंक मौज्दात रहेको उल्लेख गरिएको छ । उक्त रकमको प्राप्तीको श्रोत संविधानसभा सदस्य, मन्त्री तथा व्यववस्थापिकाको प्रमुख सचेतकको रुपमा रहँदा प्राप्त पारिश्रमिक हो । मन्त्री पोखरेलको बुबाको नाममा खोटाङ्ग जिल्ला लामीडाँडा गाउँपालिका–२ मा २३ रोपनी जग्गा रहेको छ । जुन सम्पत्ति पैत्रिक सम्पत्तिको रुपमा रहेको छ । उक्त जग्गा मध्ये मन्त्री पोखरेलको अंशमा पर्ने जग्गा कनककुमारी स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको छ । यस्तै स्वास्थ्य मन्त्री पोखरेलले खोटाङ्गस्थित रुपाकोट सामुदायीक रेडियोमा पाँचहजार रुपैया शेयर रहेको सम्पती विवरणमा उल्लेख छ । मन्त्री पोखरेलसंग दुईवटा ल्यापटप, डिजिटल क्यामरा, कम्युटर प्रिन्टर, डेस्कअप कम्युटर, भिडियो क्यामरा र केही फर्निचरका समानहरु रहेका छन् । उक्त सामाग्री संविधानसभाको सदस्य रहँदा र मन्त्री हुदाँ प्राप्त पारिश्रामिकबाट खरिद गरिएको मन्त्री पोखरेलले उल्लेख गरेका छन ।

सिरहा नपाको मेयरमा तीन चिकित्सक प्रतिस्पर्धामा कसले मार्ला बाजी

लहान, भदौ २३ । तेस्रो चरणमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको प्रमुख पदका लागि तीन जना चिकित्सक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । बिरामीको उपचार गर्दै आएका तीनै जना मेडिकल डाक्टर चुनावी एजेण्डासहित चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ । नेपाली काँग्रेसबाट डा सुभाषचन्द्र यादव, नेकपा एमालेबाट डा नवीन यादव र नयाँ शक्ति पार्टीबाट डा दिलीप सदा सिरहा नगरपालिकाको प्रमुख पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन । चुनावी प्रतिस्पर्धामा उत्रिएका तीनै जना डाक्टरबीच नै कडा प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीवीले अनुमान गरेका छन । लामो समयदेखि चिकित्सकसँगै पार्टीको राजनीतिमा सक्रिय डा सुभाषचन्द्र नेपाली काँग्रेसका कोषाध्यक्ष तथा पूर्वमन्त्री सीतादेवी यादवका छोरा हुन । डा सुभासचन्द्र काँग्रेसका महासमिति सदस्यसमेत हुन । उनीे सदरमुकाम सिरहामै स्वास्थ्य क्लिनिक सञ्चालन गरी बिरामीको उपचारसमेत गर्दै आएका छन । यस्तै एमालेबाट प्रमुख पदका उम्मेदवार डा नवीन एमालेका तत्कालीन सांसद हेमनारयाण यादवका छोरा हुन । डा नवीन एमाले छाडेर विसं २०७० को संविधानसभाको निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट निर्वाचन लडेका थिए । त्यसपछि नेकपा माओवादी केन्द्रमा प्रवेश गरे उनी फेरि एमालेमै प्रवेश गरी प्रमुखका उम्मेदवार बनेका हुन । उनले पनि सदरमुकाम सिरहामै स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएका छन । नयाँ शक्तिबाट प्रमुख पदमा उम्मेदवारी दिएका डा दिलीप सदा दलित समुदायको हुन । उम्मेदवारी दिनुअघिसम्म जिल्ला अस्पताल सिरहामा कार्यरत रहेका डा सदा अस्पतालबाट राजीनामा दिएर पहिल्लो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन । चुनावी प्रतिस्पर्धामा देखिएका तीनै जना डाक्टरले आफ्नो जीत सुरक्षित रहेको बताएका छन । तीनै जनाले आफूहरु चुनाव जिते नगरपालिकाको विकास निर्माणको गतिलाई तीव्रता दिने बताएका छन । उहाँहरुसँगै संघीय समाजवादी फोरमबाट अशेश्वर यादव र माओवादी केन्द्रबाट महेश यादव पनि चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । फोरमबाट उम्मेदवार बन्नुभएका यादव पूर्वप्रमुखसमेत हुनुहुन्छ । सिरहा नगरपालिकाको प्रमुख पदका लागि काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राजपा, नयाँ शक्ति, नेकपा मालेका लगायतका दलका तर्फबाट नौ जना र स्वतन्त्र नौ गरी १८ जनाले सिरहा नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दिएको सिरहा मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार सिरहा नगरपालिकाको उपप्रमुख पदमा १० जना, वडाध्यक्ष पदमा १२९ जना, खुला सदस्य पदमा २०१ जना, महिला सदस्यमा ९९ जना र दलित महिला सदस्यमा ९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी मनोनयन दर्ता गराएका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार मत माग्दै जनताको घरदैलोमा पुगिरहेका छन् । नगर र गाउँपालिकाको प्रमुखमा र अध्यक्षमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने तर्क वितर्कसमेत हुन थालेका छन् । गाउँदेखि शहरसम्म चोकचोकमा विभिन्न पार्टीको झण्डा, उम्मेदवारको तुल लगायतले रंगिएका छन् । बाइस वडा रहेको सिरहा नगरपालिकामा ८२ हजार ५३१ जनसंख्या रहेको छ ।

प्रचण्डले भने, ‘माओवादी नयाँ ढङ्गले पूनर्संगठित गरौं’

भरतपुर, भदौ २३ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन र पार्टीलाई पूनर्संगठित गर्नुपर्ने बताएका छन् । शुक्रबार दिउँसो चितवनको भरतपुरमा आयोजित पार्टी प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘वर्गीय समाजमा पार्टी पनि वर्गहरुको हुन्छ । नेपालमा पार्टीहरु वर्गकै प्रतिनिधित्व गर्छन् । हाम्रो पार्टी सर्वहारा श्रमजीवी वर्गको पार्टी हो । बीचमा हामीले वर्ग भुल्यौं, वुर्जुवा, पेटी वुर्जुवा जस्ता देखियौं । अहिले त्यसलाई सच्चाएका छौं । माओवादी पार्टीलाई सर्वहारा श्रमजीवी वर्गको पार्टी बनाएर पूनर्संगठित गर्नुपर्छ।’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादी संसदवादी नभएको उल्लेख गरे । उनले भने, ‘हामी संसदवादी होइनौं । हामीले राजनीतिक प्रतिस्पर्धा मानेका छौं। जनताबाट निर्वाचित कार्यकारी प्रमूखसहित समाजवादमा जाने हाम्रो तयारी छ, हामी यसमा दृढ छौं।’ ‘माओवादी आन्दोलनमा दुई अति देखिए,’ प्रचण्डले भने, ‘एकथरी साथीहरु अब क्रान्ति सकियो भन्ने ठाने र बाहिरिए, अर्कोथरि साथीहरु सबै उपलब्धि अलपत्र पारेर भागे, त्यसरी क्रान्ति हुँदैन ।’ त्यस्तो अतिबाट बचेर मात्र क्रान्ति निष्कर्षमा पुग्ने उनले बताए ।

एमाले ढुलमुले चरित्रको मधेसप्रति अनुदार पार्टी : राजपा

काठमाडौं, भदौ २२ । आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बिहीबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीको अध्यक्ष मण्डलका पाँच जना सदस्यले सार्वजनिक गरेको घोषणापत्रमा प्रमुख तीन दलका कारण देश अनिर्णयको बन्दी भएको आरोप लगाएको छ। राजपा घोषणापत्रमा एमाले र माओवादी केन्द्रप्रति आक्रामक देखिएको छ । भने कांग्रेसप्रति केही नरम । राजपाले घोषणापत्रमा लेखेको छ, ‘कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि संघीयता र समावेशी लोकतन्त्र प्रति प्रतिवद्ध छैन। मधेसमैत्री समेत होइन ।’ त्यस्तै नेकपा एमालेबारे लेखेको छ, ‘नेकपा एमाले संघीयता र समावेशिकरणको विरोधमा रहेको, ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार। यसको नेतृत्व प्रखर मधेस विरोधी पनि छन्।’ त्यस्तै नेकपा माओवादी केन्द्रबारे लेखेको छ, ‘नेकपा माओवादी केन्द्र लोकतान्त्रिक प्रणालीमाथि विश्वास नराख्ने पार्टी हो। शक्तिका बलमा सत्ता कब्जा गर्ने नीति बाट यो पार्टी सञ्चालित छ।

टिकटका विषयमा विवाद : कांग्रेसमा खुकुरी हानाहान, १० घाइते

सिराह । आगामी असोज २ गते हुने स्थानीय तहको चुनाबमा टिकटका विषयलाई लिएर नेपाली कांग्रेस सिराहमा विवाद हुँदा खुकुरी हानाहान भएर १० जना गम्भीर घाइते भएका छन । बुधबार सिराह नगरपालिकाको मेयरमा कांग्रेसले पार्टी कोषाध्यक्ष सितादेवी यादवको छोरा डा. सुवासचन्द्र यादवलाई उठाउने भएपछि पार्टी कार्यालयमा भएको खुकुरी हानाहानमा कांग्रेसका १० कार्यकर्ता घाइते भएका छन् । सिरहा क्षेत्र नम्बर ३ का सभापति संजयप्रकाश यादवले मंगलवार साँझ पार्टी कार्यालयमा सिरहा नगरपालिकामा सिफारिस भएका वडा अध्यक्षहरुको लागि मनोयन पत्र लिन पुुगेका थिए । तर, उनलाई कार्यालयका सचिव रामबाबु यादवले दिएनन् । बुुधवार पुनः मनोयन पत्रका लागि जाँदा पनि कार्यालय सचिव रामबाबु यादवले विवाद गरेपछि झडप भएको सिरहा नगरपालिका मेयरका उम्मेदवार डा यादवले जानकारी दिए । उम्मेदवारी दर्ता गर्ने क्रममा पार्टी सचिव उपेन्द्र यादवले सुवाचन्द्रको विरोध गरेपछि विवाद बढेर झडप भएको बताइएको छ । यादवले सिरहा नगरपालिकामा मेयरको दाबी गरेका थिए । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । थप तनाब हुन सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

चन्द्रपुर नगरपालिकाको मेयरमा ओली र नेपालका दुई आधिकारीक उम्मेदवार

रौतहट, भदौ २१ । रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका दुई नेताले पार्टीको आधिकारिक टिकट लिएर आएपछि कार्यकर्तामा अन्यौल छाएको छ । उम्मेदवारद्वय उद्दव रेग्मी र बाबुराम दाहाल दुवैले टिकट लिएर गएपछि कार्यकर्ता आक्रोशित भएका छन् । दुवैले प्रदेश नम्बर २ संगठन कमिटीका संयोजक सत्यनारायण मण्डलको हस्ताक्षरमा पार्टीको आधिकारीक टिकट पाएका छन । पूर्वप्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्लामा यस्तो अन्यौल भएपछि कार्यकर्ता रुष्ट भएका छन् । टिकट लिएकामध्ये दाहाल माधव नेपाल पक्षका हुन् भने रेग्मी पार्टी अध्यक्ष केपी ओली शर्मा पक्षका हुन् ।

एमाले कार्यालयभित्रै हात हालाहाल

वीरगञ्ज, भदौ २० । नेकपा एमाले पर्सामा उम्मेदवार छनोटमा चरम विवाद भएपछि कार्यालय सचिवमाथि हातपात भएको छ । एमालेका कार्यालय सचिव गंगा खड्का र सचिवालय सदस्य पुरेनकिशोर लाभलाई कार्यालयमा हातपात गरी बाहिर निकालेका छन् । लाभले धर्नामा बस्न आएका आफ्नै कार्यकर्ताहरूले कार्यालयभित्र हातपात गरी बाहिर निकालेको बताए । उम्मेदवार छनौटमा चरम असन्तुष्टि जनाउँदै एमालेका पर्सा–२ का सांसद विचारी यादव नै धर्नामा बसेका छन् । पर्साको वीरगन्ज महानगरपालिकाको वडा नं–२० मा रामकिशोर परागलाई उम्मेदवार बनाउनु पर्ने माग राख्दै धर्नामा बसेका हुन् । सांसद यादवलेले रामगढ्बास्थित पार्टी कार्यालय अघि धर्नामा बसेका हुन् । वडा कमिटीको सिफारिस र सांसदको सल्लाह नमानी शत्रुधन शुक्लालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पर्सा क्षेत्र नं. ३ का अर्का सांसद राजकुमार गुप्ताले पार्टीले आफ्नो निर्णय सच्याएको जानकारी दिएका छन् ।

विवादबीच एमाले सिराहाले लगाएको उम्मेद्वारको टुंगो (सूचिसहित)

लहान, भदौ २० । प्रदेश नं. २ अन्तर्गत तेस्रो चरणको निर्वाचनका लागि सिराहाका १६ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ। एकस्थानमा भने विवादका कारण उम्मेदवारको टुंगो लाग्न सकेको छैन । धनगढीमाई नगरपालिकामा विवाद देखिएपछि त्यहाँको उम्मेदवारबारे पार्टीले थप छलफल गर्ने जनाएको छ । अन्य स्थानमा विवाद नभएको पार्टील दावी गरेपनि स्थनीय कमिटिहरुले भने छनौट गरिएका उम्मेदवारहरुमाथि प्रश्न उठाएका छन् । कतिपय उम्मेदवारहरुले अन्य पार्टी प्रवेश गर्ने तयारी गरेको समेत बताए । यस्ता छन् अन्य स्थानका उम्मेदवार सिरहा नगरपालिका प्रमुख: डा.नवीन यादव उपप्रमुख: डा.नविता यादव मिर्चैया नगरपालिका प्रमुख: प्रदीप महासेठ उपप्रमुख: शोभा साह सुखीपुर नगपालिका प्रमुख: रामअवतार यादव उपप्रमुख: रेणुदेवी साह गोलबजार नगरपालिका प्रमुख: श्याम श्रेष्ठ उपप्रमुख: कर्जन्हा नगपालिका प्रमुख: रामदयाल महतो उपप्रमुख: अञ्जु राई लहान नगरपालिका प्रमुख स् मुनि साह उपप्रमुख स् सरियार चौधरी कल्याणपुर नगरपालिका प्रमुख: रामपुकार साह उपप्रमुख: सखुवा नन्कारकट्टी गाउँपालिका अध्यक्ष: केदार यादव उपाध्यक्ष: अमला यादव भगवानपुर गाउँपालिका अध्यक्ष: उग्रनारायण यादव उपाध्यक्ष: विन्दादेवी यादव नवराजपुर गाउँपालिका अध्यक्ष: सुरेन्द्र यादव उपाध्यक्ष: सोनितादेवी यादव बरियारपट्टी गाउँपालिका अध्यक्ष: रामसोगारथ यादव उपाध्यक्ष: देवशरणदेवी यादव औरही गाउँपालिका अध्यक्ष: सुवरण यादव उपाध्यक्ष: आशादेवी यादव लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष: देवनारायण साह उपाध्यक्ष: गीता चौधरी नरहामा गाउँपालिका अध्यक्ष: रामशरण यादव उपाध्यक्ष: गुलावदेवी चौधरी अर्नमा गाउँपालिका अध्यक्ष: चन्देश्वर मण्डल उपाध्यक्ष: रामकुमारी महतो विष्णुपुर गाउँपालिका अध्यक्ष: सत्यनारायण यादव उपाध्यक्ष: ममताकुमारी सिंह

यस्ताे बनायाे राजपाले निर्वाचन घोषणा–पत्र

काठमाडौं, भदौ २० । राष्ट्रिय जनता पार्टीले चुरे क्षेत्र र नदीको व्यवस्थापनसहित डुबान क्षेत्रको विकासका लागि डुबानपीडित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गर्ने नारासहित निर्वाचन घोषणा–पत्र तयार गरेको छ । राजपाको निर्वाचन घोषणा–पत्र तयारी समितिको मस्यौदामा चुरे क्षेत्रको व्यवस्थापन, स्थानीय कला, संस्कृति, पर्यटनलाई जोड दिएको छ । घोषणा–पत्र राजपाको पदाधिकारी बैठकमा छलफल भए पनि औपचारिक रूपमा सार्वजनिक भने भएको छैन । घोषणा–पत्रका कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसकेन्द्रित दललाई हेर्ने दृष्टिकोणबारे पनि व्याख्या गरिएको छ । दाइजो प्रथाको विरोध राजपाको निर्वाचन घोषणा–पत्रको मस्यौदामा ‘दाइजो प्रथालाई फौजदारी अपराधको दायरामा ल्याउने’ प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, उसले लैंगिक आधारमा हुने भ्रूण पहिचान तथा भ्रूण हत्याका लागि कठोर कानुनको निर्माण तथा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उल्लेख गरेको छ । सेनामा सामूहिक प्रवेश  राजपाको निर्वाचन घोषणा–पत्रमा नेपाली सेना र प्रहरीमा मधेसीको जनसंख्याका आधारमा सामूहिक प्रवेशका साथै समानुपातिक समावेशी गराइने उल्लेख गरेको छ । साथै, उसले भनेको छ, ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रादेशिक प्रहरीको संरचना प्रदेशको जनसंख्या प्रतिनिधित्वसरहको हुनेछ ।’ भ्रष्टाचारको नेतृत्वकर्ता माओवादी राजपाको निर्वाचन घोषणा–पत्रमा माओवादी केन्द्र लोकतान्त्रिक प्रणालीमाथि विश्वास नराख्ने पार्टी भनेर व्याख्या गरेको छ । उसले माओवादी केन्द्र अधिनायकवाद र सर्वसत्तावादमा विश्वास राख्ने हुनाले संघीयता विरोधी भनेर निष्कर्ष निकालेको छ । माओवादीबारे मस्यौदामा भनिएको छ, ‘मुलुकमा व्याप्त दण्डहीनता, भ्रष्टाचार, असुरक्षा, अशान्ति एवं अराजकता मुख्य रूपले नेकपा माओवादी केन्द्रकै कारण हावी भएको हो ।’ दुई फोरम कस्ता ? राजपाले मधेसकेन्द्रित पार्टीहरूमा संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकलगायत पार्टीहरू व्यक्तिगत स्वार्थमा केन्द्रित दलको रूपमा व्याख्या गरेको छ । उनीहरूले मधेस र मधेसीको बेइजती गरेको गम्भीर आरोप पनि लगाइएको छ । जम्माजम्मी तीन वाक्य लेखेर राजपाले ती दलबारे ‘थप उल्लेख गरिरहनु हामी आवश्यक ठान्दैनौँ’ भनेर टुंग्याएको छ । राजपाका संकल्प -बाढीबाट हुने क्षतिलाई दीर्घकालीन समाधान गर्न चुरे क्षेत्रमा वृक्षरोपण गर्ने, वन कटानीलाई रोक्ने, चुरे वनदेखि सीमासम्म खोलाहरूमा दुवैतर्फ तटबन्ध गर्ने, प्रत्येक दुई वर्षमा सबै खोलाहरूलाई खन्ने र यस वर्ष बाढीबाट भएको क्षतिको यकीन गरी तत्काल बाढीपीडित पुनर्निर्माण प्राधिकरण गठन गरी मधेसमा आधुनिक भवनहरू निर्माण गर्ने । – मधेसको भूमि कृषिजन्य भएको हुनाले प्रत्येक गाउँपालिका÷नगरपालिकामा मलखाद, बिउविजन सेन्टर, बाली पशु चिकित्सक र चिकित्सकको निम्ति भेटनरी सेवा उपलब्ध गराउने । – प्रत्येक गाउँपालिका, नगरपालिकाको प्रत्येक वडा कार्यालयमा लाइब्रेरी, इन्टरनेट र वाइफाईको सेवा उपलब्ध गराउने । -सिँचाइका लागि नहर, डिपबेल र स्यालो ट्युबबेलको व्यवस्था गर्ने । -सबै सरकारी विद्यालयमा छात्रछात्राका लागि पौस्टिक आहारको व्यवस्था गर्ने । -गरिबीको रेखामुनि रहेका र दलित परिवारहरूलाई सहिद आवास योजनाअन्तर्गत आवासको व्यवस्था गर्ने । – बिदेसिएका युवालाई स्वदेशमै फर्काउन घर–घर रोजगारअन्तर्गत आफ्नो कुशलताअनुसार रोजगार गर्न केही अनुदान र ब्याजरहित ऋण उपलब्ध गर्ने । – आमा र शिशु मृत्युदर घटाउन प्रत्येक गाउँपालिका नगरपालिकाका प्रत्येक वडाहरूमा बर्थिङ सेन्टरको स्थापना गर्ने । – दहेजविरुद्ध अभियान चलाउन विनालेनदेन आदर्श विवाह गर्ने जोडीलाई २५ हजार सहायता प्रदान गर्ने । – कल, ह्यान्ड पम्पबाट आउने पानीलाई आर्सेनिक, आइरन र म्यागनिजमुक्त गर्न उपायहरू अवलम्बन गर्ने । – शारीरिक व्यायाम र स्वास्थ्यको निम्ति खेलकुद आवश्यक भएको हुनाले प्रत्येक गाउँपालिका र नगरपालिकाहरू को वडामा खेलकुद -लामखुटेबाट विभिन्न रोगहरू लाग्ने हुनाले त्यसको न्यूनीकरणको निम्ति स्प्रेको व्यवस्था गर्ने । – लोडसेडिङमुक्त मधेस हाम्रो संकल्प हो । -प्रत्येक वडास्तरमा पोलहरूमा सोलार लाइटको व्यवस्था गर्ने । मधेसमैत्री नभएको पार्टी कांग्रेस घोषणा–पत्रमा कांग्रेसप्रति राजपा सकारात्मक देखिएको छ । अरू पार्टीबारे लामो व्याख्या गरेको राजपाले कांग्रेसबारे भने जम्मा एक वाक्य लेखेको छ । ‘कांग्रेस लोकतान्त्रिक पार्टी भएर पनि संघीयता र समावेशी लोकतन्त्रका लागि प्रतिबद्ध छैन र मधेसमैत्रीसमेत होइन,’ घोषणा–पत्रमा लेखिएको छ । संघीयता विरोधी एमाले राजपाको विश्लेषणमा एमाले संघीयता र समावेशीकरणका विरोधमा रहेको ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार पार्टी हो । उसले एमालेलाई संघीयता विरोधी भनेर टिप्पणी गर्दै शासक वर्गहरूकोे वर्चस्व भएको मधेस विरोधी पार्टी भनेर लेखेको छ । मदरसा शिक्षालाई मान्यता राजपाले आफ्नो घोषणा–पत्रमा उच्चस्तरीय स्थायी मदरसा शिक्षा समिति गठन गराउन प्रयत्न गर्ने उल्लेख गरेको छ । राजपाले भनेको छ, ‘मदरसाबाट प्राप्त प्रमाण–पत्रलाई समकक्षी स्कुल, कलेज र विश्वविद्यालयहरूको प्रमाण–पत्रसरह मान्यता प्रदान गराइनेछ । साथै राजपाले हजरत मोहम्मदको जन्मदिन, सबै बारात तथा मोहर्रमका अवसरमा सार्वजनिक बिदा घोषणा गराइने पनि उल्लेख गरेको छ ।

संघ र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक पारित

काठमाडौं, भदौ १९। बहुप्रतिक्षित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी अलगअलग विधेयकलाई व्यवस्थापिका–संसद्ले पारित गरेको छ । ती विधेयक पारित भएसँगै निर्वाचन आयोगलाई प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न बाटो खुला भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अगामी मंसिर १० र २१ गते हुँदैछ । निर्वाचन आयोगले छिटोभन्दा छिटो ती कानूनको माग सरकारसित गर्दै आएको थियो । व्यवस्थापिका–संसद्को आजको तेस्रो बैठकले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनसम्बन्धी छुट्टाछुट्टै विधेयक पारित गरेको थियो । गृहमन्त्री जनार्दन शर्माले ती विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सदनसमक्ष प्रस्तुत गरेका थिए । विधेयकमा के छ त ? प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयकमा समानुपातिकतर्फ तीन प्रतिशत मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था गरेको छ । यस प्रावधानले तीन प्रतिशत मत प्राप्त नभएमा समानुपातिक सदस्य हुन नपाइने भएको छ । भ्रष्टाचार, नैतिक पतनलगायतका अभियोग लागेकाहरु प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था विधेयकले गरेको छ । यसैगरी नो भोटको व्यवस्थालाई विधेयकमा राखिएको छैन । समानुपातिक उम्मेदवारको बन्दसूचीका लागि समावेशी आधार विधेयकमा रहेको छ । दलित १३.८, आदिवास जनजाति २८.७, खस आर्य ३१.२, मधेशी १५.३, थारु ६.६, र मुस्लिम ४.४ प्रतिशत राखिएको छ । बन्दसूची पेश गर्दा जनसंख्या र सो दलले प्राप्त गरेको सिट संख्याका आधारमा दलित, आदिवासी, जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिमको प्रतिनिधित्व हुने गरी सूची पेश गर्नुपर्ने प्रावधान विधेयकमा रहेको छ । यसैगरी विधेयकमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारको नामका वर्णानुक्रमका आधारमा उम्मेदवारको निर्वाचन चिह्न प्रदान गर्ने, प्रतिनिधिसभामा प्रतिनिधित्व नगर्ने दलको हकमा निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमको आधारमा दलको उम्मेदवारको निर्वाचन चिह्न तथा निर्वाचन हुनुभन्दा तत्काल अघि कायम रहेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको त्यस्तो प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको संख्याका आधारमा निर्वाचन चिह्न प्राप्त हुने विधेयकमा रहेको छ । यसअघि विधेयकमाथिको छलफलमा श्यामकुमार श्रेष्ठ, जनकराज जोशी, प्रेम सुवाल, चित्रबहादुर केसी, वैजनाथ चौधरी थारु, परशुराम तामाङ, चूडामणि जंगली विक, शक्तिबहादुर बस्नेतले भाग लिएका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सफल बनाउन आह्वान : गृहमन्त्री शर्मा गृहमन्त्री शर्माले छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्न विधेयक आएको हो भभने। निर्वाचनपछि राजनीतिक स्थायित्व आउने र संविधान कार्यान्वयनसमेत हुने उनले बताए । गृहमन्त्री शर्माले भने, “प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति घोषणा भएको छ, निर्वाचनलाई सफल बनाउन म राजनीतिक दललाई आह्वान गर्छु ।” राज्य व्यवस्था समितिको आजको बैठकले ती विधेयकलाई सर्वसम्मतिले पारित गरेको थियो । यसैगरी आजको बैठकले आनुवंशिक स्रोतहरुमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शिता र समन्यायिक बाँडफाँडसम्बन्धी नागोया अभिसन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो । सभामुख ओनसरी घर्तीले सो अभिसन्धिलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गरेकी थिइन । व्यवस्थापिका–संसद्को अर्को बैठक भदौ २३ गते शुक्रबार दिनको १ बजे बस्नेछ । रासस

हात्ती दुब्लाएर बाख्रो हुँदैन : ओली

काठमाडौं, भदौं १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई कसैको बैशाखी आवश्यक नरहेका दावी गरेका छन । उनले एमाले हात्ती भएको तर्क गर्दै ‘हात्ती दुब्लाएर बाख्रो हुँदैन’ भने । माओवादी केन्द्र र नेपाली कांग्रेसलाई बैशाखी चाहिने अवस्था आएको भन्दै एमालेलाई कसैको बैशाखी नचाहिने बताएका छन । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित २ नम्बर प्रदेशका अगुवा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दैै ओलीले भने, ‘ बैशाखी त्यतिबेला चाहिन्छ । त्यतिबेला कमजोर हुन्छ । एमाले कमजोर छैन, बैशाखी चाहिँदैन ।’ भेलामा ओलीले दुई नम्बर प्रदेशमा एमाले पहिलो बन्ने दाबी गर्दै चुनावमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिए । भेलामा नेताहरु माधव नेपाल, इश्वर पोखरेल, विष्णु पौडेललगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

चुनाव जित्ने रणनीति बनाउन माओवादी केन्द्रको सचिवालय बैठक पर्सामा

पर्सा, भदौ १७ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालय वैठक पर्साको वीरगन्जमा सुरु भएको छ । बैठकमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नारायणकाजी श्रेष्ठ ‘बादल’लगायत शीर्ष नेताहरु तथा केन्द्रीय सचिवालय सदस्यहरुको उपस्थिति रहेको छ । त्यस्तै भर्खरै माओवादी केन्द्रमा प्रवेश गरेका नेताहरु नेताहरु देवेन्द्र पौडेल, रामचन्द्र झा, रामकुमार शर्मा, रामेश्वर राय यादव, पासांग शेर्पा, बलावती शर्मा, परशुराम तामांग लगायतका नेताहरुको पनि सहभागिता रहेको रहेका छन् । बैठकमा २ नम्वर प्रदेशको स्थानीय तहको निर्वाचन, उम्मेदवार छनोट, आगामी संघ र प्रदेशको निर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

क्रान्तिकारीको मतगणना जारी: अध्यक्षमा शर्मा अगाडि, कसले कति मत पाए ?

काठमाडौं, भदौं १६ । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि अहिले मतगणना जारी छ । जारी मत गणनामा अध्यक्षमा अनिल शर्मा रञ्जित तामाङ भन्दा ७ मतले अगाडि छन । प्रदेश नं.१,२,४,६,७ को गणना सकिंदा शर्माले ४०५ र तामाङले ३९८ मत प्राप्त गरेका छन । यसअघि तामाङले लिड गरिरहेका थिए । उनीहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ । अन्य पदाधिकारीमा कसले कति मत प्राप्त गरेका छन त ? उपाध्यक्ष सुरेन्द्र बस्नेत -३७८ उद्वव भट्टराई -२८९ पुरन केसी – २७९ तिलक भण्डारी -२७४ दिपक देवकोटा -२७३ विजय गौतम -२१२ महासचिव खेमवहादुर सिह-२७४ उत्तम अधिकारी-२२६ राजेश्वरी सुवेदी -२२१

माओवादी सचिवालय बैठक बीरगञ्जमा

काठमाडौं, भदौं १४ । माओवादी केन्द्रको सचिवालय बैठक आगामी शुक्रबार वीरगञ्जमा बस्ने बताइएको छ । यस अघि राजधानीमा बस्ने तय भएपनि अध्यक्ष प्रचण्ड लगायतका शीर्षनेता मधेसमा रहेकाले बीरगञ्ज बस्न लागेको एक नेताले बताए । बीरगञ्जमा बस्ने सचिवालय बैठकले दुई नम्बर प्रदेशका उम्मदेवारहरुको टुंगो लगाउने माओवादी उच्चस्रोतले जनाएको छ । अध्यक्ष प्रचण्डलगायत माओवादीका शीर्षनेता पछिल्लो समय तराई–मधेसमा स्थानीय तह तेस्रो चरणका चुनाबी अभियानमा सक्रिय छन ।

क्रान्तिकारीको नेतृत्वका लागि मतदान शुरु, ३० पदमा १५७ प्रतिस्पर्धी

काठमाडौं, भदौं १४ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को निर्वाचन शुरु भएको छ । बुधबार दिउसो तीन बजेबाट मतदान शुरु भएको र मतदान प्रक्रिया साँझ ७ बजेसम्म चल्ने निर्वाचन समितिका संयोजक रमेश मल्लले एभरेष्ट दैनिकलाई बताए । भदौ ७ गतेदेखि राजधानीमा जारी एकताको २१ औं राष्ट्रिय सम्मेलनमा सहमति नजुटेपछि इतिहासमै पहिलो पटक क्रान्तिकारीमा पदाधिकारीका लागि निर्वाचन भएको हो । त्रिभुवन विश्वविद्यालयको हलमा अबको केहि बेरमा निर्वाचन शुरु हुने बताइएको छ । २०५१ सालदेखि अस्तित्वमा आएपछिको अखिल क्रान्तिकारीले पनि पहिलोपटक निर्वाचनको प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न लागेको हो । माओवादी घटक संगठनहरूबीच नेतृत्व चयनका लागि अन्तरपार्टी चुनावी प्रतिस्पर्धा यो पहिलोसमेत हो । सम्मेलनमा देशभरबाट २ हजार २२ जना प्रतिनिधि रहेका छन् । को-को छन प्रतिस्पर्धामा  पार्टी र संगठनका पूर्वअध्यक्षहरुले पटक–पटक सहमति प्रयास गरेपनि असफल भएपछि क्रान्तिकारीको निर्वाचन हुने भएको हो । अध्यक्ष पदका लागि २ जना रञ्जित तामाङ र अनिल शर्माबीच निर्वाचन हुँदैछ । त्यस्तै ८ जना उपाध्यक्षका लागि २५ जना चुनावी मैदानमा उत्रिएका छन् । खुला उपाध्यक्षमा ४ जनाका लागि १२, छात्रा १ का लागि २ जना, मधेसी १ का लागि ६ जना, आदिवासी/जनजाति १ का लागि ३ जना, दलित १ का लागि २ जना प्रतिस्पर्धि रहेको छ । मल्ललेका अनुसार एक जना महासचिव पदका लागि ४ जना चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै ३ उपमहासचिव पदका लागि २० जना प्रतिस्पर्धी रहेका छन् । त्यसैगरि सचिव खुला २ का लागि २५, सचिव छात्रा २ का लागि १३, सचिव मधेसी १ का लागि ७, सचिव आदिवासी जनजाति १ का लागि १०, सचिव मुस्लिम १ का लागि २, सचिव दलित १ का लागि ८ जना चुनावी मैदानमा उत्रिएको मल्लले जानकारी दिए । मल्लका अनुसार प्रत्येका प्रदेशमा एक सचिवका लागि प्रदेश नम्बर १ मा ५, प्रदेश नम्बर २ मा ४, प्रदेश नम्बर ३ मा ७, प्रदेश नम्बर ४ मा २, प्रदेश नम्बर ५ मा ८, प्रदेश नम्बर ६ मा ३, प्रदेश नम्बर ७ मा २ जना चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरि विश्वविद्यालय, सिटिभिटि, केन्द्रीय कार्यालय र विभागका लागि १ सचिवका लागि ४ जना चुनावमा उत्रिएका छन् । कोषाध्यक्ष एक पदको लागि ६ जना चुनावमा गएका छन् ।