एमालेले बागी उम्मेदवारलाई दियो यस्तो चेतावनी (विज्ञप्तिसहित)
काठमाडौं, कात्तिक १८ । नेकपा एमालेले पार्टीलाई असहयोग हुने गरि दिइएको बागी उम्मेदवारी फिर्ता लिन अनुरोध गर्दै पार्टी निर्दैशन नमान्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
अनुशासन आयोगले एक विज्ञप्ति जारी गर्दै आ–आफ्ना असन्तुष्टि र गुनासो पार्टीमा राख्न पाउने व्यवस्था विधानमा उल्लेख रहेको भन्दै पार्टी विधानको पालना र सम्मान नगरे आयोग अन्तिम निर्णयमा जान बाध्य हुने बताएको छ ।
‘पार्टीको विधि, पद्धति, प्रक्रिया र अनुशासनलाई उल्लंघन गर्ने आवेगपूर्ण कार्य कही कतैबाट नहोस् भनी आयोग विनम्रताका साथ सबैलाई सचेत गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएकोउको छ, ‘अन्यथा पार्टी विधानको पालना र सम्मानको निमित्त आयोग अन्तिम निर्णयमा जान बाध्य हुने व्यहोरा समेत जानकारी गराउँदछौं ।’
विज्ञप्ति मार्फत एमालेले बागी उम्मेदवारीले विपक्षीहरूलाई फाइदा पुग्ने भन्दै पार्टी हितलाई मनन गर्न आम नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेको छ ।
प्रेस वक्तव्य
यतिखेर मुलुक आम निर्वाचनको ऐतिहासिक प्रक्रियामा छ । आम मतदाता, पार्टीका नेता, कार्यकर्ताहरू निर्वाचनको विभिन्न कार्यमा उत्साहका साथ सहभागी भइरहेका छन् । संविधान सभाबाट नयाँ संविधान जारी भएपछि त्यसलाई कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने यो अत्यन्त महत्वपूर्ण ऐतिहासिक क्षण हो । यसलाई सफल बनाउन पार्टीका सम्पूर्ण शक्ति एकताबद्ध भई लाग्न पार्टीको अनुशासन आयोग सबैसँग हार्दिक आग्रह गर्दछ ।
हामी अहिले देशलाई स्थायित्व, शान्ति र समृद्धिको बाटोमा लान वामपक्षीय लोकतान्त्रिक गठबन्धन संयुक्त रुपमा चुनावी मैदानमा छौं । एउटै शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ आज नेकपा (एमाले) र नेकपा माओवादी–केन्द्रबीच चुनावी तालमेल भएको छ र साझा उम्मेदवारीका साथ हामी चुनावी अभियानमा छौं । समयको चाप र परिस्थितिका कारण पार्टीभित्रका सबै इच्छुक, आकांक्षी उम्मेदवारहरूको आवश्यकता र चाहनालाई व्यवस्थापन गर्नु पार्टीका लागि अत्यन्त कठिन र चुनौतीपूर्ण कार्य भएको सबैलाई विदितै छ ।
पार्टीले सबैको योग्यता, क्षमता, योगदान र आवश्यकतालाई मध्यनजर गरी सिट संख्याको सीमा भित्र रहेर उम्मेदवार चयन गरी मनोनयन गर्ने काम सम्पन्न गरिसकेको छ । यसो गर्दा कैयन महत्वपूर्ण व्यक्तिहरुलाई उम्मेदवारको रुपमा समावेश गर्न सम्भव हुन सकेन । यो पार्टीलाई पनि महसुस भएकै कुरा हो । यस सन्दर्भमा विभिन्न कमरेडहरुको आ–आफ्ना असहमति हुनसक्छन् । चित्त नबुझेका कुराहरु भन्ने र बहस गर्ने वातावरण पार्टीले बनाउने नै छ । तर यतिखेर पार्टीले उम्मेदवारको निर्णय गरिसकेपछि उनीहरुको विरुद्ध हाम्रा असहमति र असन्तुष्टिले विपक्षीहरूलाई फाइदा पुग्ने हुँदा यसलाई मनन गर्न आम शुभेच्छुक, कार्यकर्ता र सदस्यहरुलाई आयोग आग्रह गर्दछ ।
तसर्थ निर्वाचनको प्रक्रियामा प्रवेश गरेपछि असन्तुष्टिका नाममा कतिपय ठाउँमा पार्टी निर्णयका खिलाफ सार्वजनिक अभिव्यक्ति दिने, निर्वाचन गतिविधिमा असहयोग गर्ने र पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी विद्रोही’ उम्मेदवार हुने वा दिन लगाउने जुन समाचारहरू सार्वजनिक भएको छ, यो अत्यन्त दुःखद् र गम्भीर विषय हो । यस विषयमा पार्टी अनुशासन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेकपा एमाले संघर्षको लामो गौरवपूर्ण इतिहास भएको अनुशासित पार्टी हो । सबैले आआफ्ना असन्तुष्टि तथा गुनासाहरूलाई आफू सम्बन्धित पार्टीमा राख्न पाउने हाम्रो विधानको व्यवस्था छ । पार्टीले पनि सबैको कुरालाई धैर्यताका साथ सुनिदिनुपर्दछ । पार्टीमा सबैले आफ्नो इतिहास र योगदानलाई ख्याल नगरी यो निर्वाचन नै अन्तिम निर्वाचन जस्तो ठानी पार्टीको विधि, पद्धति, प्रक्रिया र अनुशासनलाई उल्लंघन गर्ने आवेगपूर्ण कार्य कही कतैबाट नहोस् भनी आयोग विनम्रताका साथ सबैलाई सचेत गराउन चाहन्छ । अन्यथा पार्टी विधानको पालना र सम्मानको निमित्त आयोग अन्तिम निर्णयमा जान बाध्य हुने व्यहोरा समेत जानकारी गराउँदछौं ।
हाम्रो पार्टी चौतर्फी चुनौतीको दृढतापूर्वक सामना गर्दै निर्वाचनमा अघि बढेको छ । यस्तो स्थितिमा निर्वाचनमा विजयको निमित्त सबैको एकताको खाँचो आवश्यक हुन्छ ।
त्यसैले संविधानको मर्म र भावना अनुसार समृद्ध समाजवादी समाज निर्माण गर्ने ऐतिहासिक अभिभारा पुरा गर्ने कार्यमा उत्साह र गतिका साथ एकताबद्ध भई निर्भयताका साथ संयुक्त वामपक्षीय लोकतान्त्रिक गठबन्धनको पक्षमा निर्वाचन कार्यमा सहभागी बनौं । हाम्रो केन्द्रीय अनुशासन आयोग सबैसँग यही अनुरोध गर्दछ ।
अमृतकुमार बोहरा
अध्यक्ष, केन्द्रीय अनुशासन अायाेग
२०७४।०७।१८
‘चितवनकाे विकासका लागि माअाेवादी केन्द्रमा अाएँ’ : कांग्रेस नेता पाैडेल
भरतपुर, कार्तिक १८ । नेपाली कांग्रेसका युवा नेता नारायण पाैडेलले चितवनकाे विकासका लागि माअाेवादी केन्द्रमा प्रवेश गरेकाे बताएका छन् । नेपाली कांग्रेस परित्याग गर्दै युवा नेता पाैडेलले भने “सानैदेखि बुवाले रुखमा भाेट हाल्नुहुन्थ्याे, मैले त्याे देखें। बुवाले रुखमा भाेट हालेकाे देखेर म कांग्रेस भएँ। कांग्रेसले केही पनि सिकाएन, रुखमा भाेट हाल्न मात्र सिकायाे। अाज मेराे अाँखा खुलेकाे छ, देशकाे विकास, समृद्धि र जनताकाे हितका लागि लड्ने बाम शक्तिमा अाएकाे छु।” “अब कुनै पनि रुख सिधा रहने छैनन्, सबै ढल्ने छन्, नेता पाैडेलले भने, “कमरेड प्रचण्ड चितवन अाउनु भएकाे छ, उहाँ देशकाे मात्रै नभएर अन्तरास्ट्रिय नेता हुनुहुन्छ, उहाँलाई अत्याधिक मतले जिताउँछौं। कहिले सूर्य, कहिले हसिया हथौडा र कहिले हलाेमा भाेट हाल्ने कांग्रेस अब चितवनमा रहँदैन। हामी प्रचण्डलाई यसरी जिताउने छौ कि अर्काेपटक प्रचण्डसँग काेही पनि चुनाव लड्ने अाँट नगरुन्।” भरतपुर १४ शिबनगरमा अायाेजित कार्यक्रममा कांग्रेसका स्थानीय नेताहरु गुमान बहादुर खड्का, लालबहादुर घिसिङ लगायतका ८९ जना कार्यकर्ता बाम गठबन्धनमा सहभागी भएका छन्। हिजाे मात्रै नयाँशक्ति पार्टी नेपालको सिंगो जिल्ला समिति माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नयाँशक्तिका केन्द्रीय परिषद सदस्य गोपाल परियार, हिमकला गैंरे र अमृत थिङ तामाङको नेतृत्वमा दुई सयबढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन । पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी आन्दोलन कमजोर हुँदा किसान, मजदुर, दलित, महिला, उत्पीडित समुदायका मुद्दा कमजोर हुने भएकाले एकतामा आउन सबैलाई आग्रह गरे । हिजो हामी कमजोर हुँदा संविधानमा समेत सबै मुद्दालाई संस्थागत गर्न नसकिएको बताउर्दै प्रचण्डले अब समाजवादको आधार निर्माण र क्रान्तिको तयारीका लागि सबै एक हुन पर्नेमा जोड दिए । कार्यक्रममा नयाँ शक्तिका नेताहरुले राष्ट्रिय पार्टीबाट मात्र समृद्धि र समाजवाद सम्भव भएको र चितवनबाट प्रचण्डलाई जिताएर देशको नेतृत्व लिन आफूहरु माओवादी केन्द्रमा आएको बताए ।
प्रकाश दाहालकाे प्रष्टिकरण -‘म समानुपातिकमा परेकाे छैन्’
काठमाडौं, कात्तिक १८ । नेकपा माअाेवादी केन्द्रका केन्द्रिय सदस्य प्रकाश दाहालले अाउँदाे प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिकमा नपरेकाे प्रष्टिकरण दिएका छन् । केहि मिडियामा पार्टी अध्यक्ष प्रचण्डले आफ्नो छोरालाई उमेद्वार बनाएको समानुपातिकमा राखेको भन्नेसम्म जस्ता समाचार सम्प्रेषण गरेपछि शुक्रवार साँझ सामाजिक सञजालबाट अफवाह नफैलाउन अाग्रह गरेका छन् । फेसबुकमा उनले लेखेका छन् ‘म संसद समानुपातिक वा प्रत्यक्ष कतैको उमेद्वार होईन र थिईन किनकी म भन्दा धेरै सिनियर र कृयाशिल कमरेडहरुको त्यहां भूमिका बढी छ तर केहि मिडियामा प्रचण्डले आफ्नो छोरालाई उमेद्वार बनाएको समानुपातिकमा राखेको भन्नेसम्मको कुरा ल्याईयो ।’ दाहालले अाफु भन्दा सिनियर र कृयाशिल नेताहरुले जिम्मेवारी पाउनुपर्छ र पार्टीले दिएकाे जिम्मेवारी पुरा गर्न लाग्ने बताएका छन् । उनी थप लेख्छन ‘मेरो सुरुदेखि (२०५६ साल) एउटै उद्धेश्य थियो पार्टी र नेतृत्वलाई आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने र म कहि कतै पद प्रतिष्ठाको आकांक्षी हैन र त्यो दौडमा छैन ।’ पार्टीले व्यक्तिकाे क्षमता अनुसार जिम्मेवारी दिनुपर्ने र दिनेमा उनी विश्वस्थ रहेकाे तर्क गर्छन । ‘पार्टीले मेरो क्षमता अनुसार जहां जिम्मा दिन्छ म त्यो बहन गर्न तयार छु र अहिले जहां छु पार्टीकै निर्देशनमा छु।’ भन्छन ‘कृपया अनर्गल प्रचारबाजीमा नलाग्न म सबैलाई अनुरोधपनि गर्दछु ।’ यसअघि पनि अाफु र अाफ्नाे परिवारका सदस्यलार्इ जाेडेर अनावश्यक अफवाह फैलार्इएकाे भन्दै दाहालले सच्चिन अाग्रह गर्दै अाएका छन् । केहि महिना अगाडी माओवादी नेता तथा प्रचण्डका छोरा प्रकाश दाहालले आफ्ना २७ महीने छोराका बारेमा प्रकाशित समाचारका बिषयमा कडा टिप्पणी गरेका थिए । प्रकाश दाहालका छोरा पजेरो चढेर राजधानिको एक बोर्डिंग स्कूल पढ़ने गरेको आशयको समाचार एक अनलाइनमा प्रकाशित भएपछि प्रकाशले अबोध बालकमाथि समेत आरोप लगाएको भनेर टिप्पणी गरेका हुन । स्थानीय तहको निर्वाचन अघि ४,५ महिना कंचनपुरको पुनर्वासमा आमा बिना मगरसँग नै छोरा समेत रहेको प्रकासले बताएका छन । अहिले पनि संगठन र चुनावका लागि आमाक बिना मगर कंचनपुरमा खटीएको र छोरा प्रणव समेत उतै रहेको भएपनि आरोप लागाउनु नाजायज़ भएको उनले जनाए । कंचनपुरको क्षेत्र न १ बाट गत संबिधानसभाको निर्वाचनमा झिनो मतले पराजित बिना मगर अधिकांश समय संगठनकै काममा ज़िल्लामा रहने र छोरा प्रणव समेत उनिसंग नै रहने प्रकाशले बताए । अहिले अखिल क्रान्तिकारीको सम्मेलन चलिरहेको संदर्भ पारेर नियोजितरूपमा आफ़नो र अबोध छोराको चरित्रहत्त्या गर्न खोजेको प्रकाशले टिप्पणी गरे । प्रकाश दाहालले फ़ेसबुकमा लेखेका थिए : ‘आफ्नो आमासंग सुदुरपश्चिमको संगठन सुदृढी गर्न र चुनाव मध्यनजर अहिले देखि उतै खटिएर बसेका आमा छोरालाई पजेरो चढेर स्कूल जाने भनेर न्युज लेख्नु कति जायज हो ? ए त्यो लेख्ने महाशय पहिला बच्चा कहां छ के छ सोध्नु कर्तव्य हैन र ? हामीलाई त आरोपको चांग लगाएर राखेका छौ हूंदा हूंदा यो अवोध बालकमाथीपनि आरोपको चांग लगाएयौं ??? कुरा रहयो विधार्थी संगठनसंग जोडेर पजेरो चढेर स्कूल जाने म त्यतिनै चिन्तित कहां छु भने यिनको आमा जो चुनाव भन्दा ४ महिना अगाडीनै कार्यक्षेत्रमा होमिईन् ( जो कुनै नेता कार्यकर्ता खटिएको छैन र जाने रुचिपनि राखेका छैनन) उनले गर्दा यि बालकको पढाईपनि आफ्नै बाउ जस्तो हुने त हैन ??’ दाहालले थपे ‘यस्ता न्युज शेयर गरेर आनन्द लिनेहरु कुन कार्यक्षेत्रमा खटिनु भएको छ र तपाई आफ्नो सन्ततीको पढाई धरी नगराई संगै क्षेत्रमा लिएर हिड्नु भएको छ । लेख्न पत्रकार यि बालक डेढ वर्ष हैन २७ महिना भए । र तपाईले भनेको पजेरो देखाईदिन पर्यो ! नभए यि अबोध बालकलाई अन्याय गर्ने तपाई जस्ता भाडाका पत्रकारलाई कुनै अधिकार छैन । तपाईहरुको पेसा यहि हो ?? ‘ याे पनि पढाैँ प्रकाश दाहालको चर्को आक्रोश: ‘भाडाका पत्रकार’लाई कसले दियो यस्तो अधिकार ? ‘प्रकाश दाहाल अर्थात एक कुशल व्यवस्थापक’
पैसावाललाई टिकट दिएको भन्दै कांग्रेसका पुराना नेताद्वारा पार्टी परित्याग
बुटवल, कात्तिक । आसन्न चुनाबका लागि उम्मेदवार छनोटमा पैसाको चलखेल भएको भन्दै नेपाली कांग्रेसका पुराना नेताले पार्टी परित्याग गरेका छन । पार्टीमा पुर्याएको योगदान भन्दा पैसावालालाई टिकट दिएको भन्दै कांग्रेसमा चर्को असन्तुष्टी देखिएको छ । आफ्नो फिक्स भएको टिकट अन्तिम समयमा अर्कैले पाएपछि रुपन्देहीका पुराना कांग्रेस नेताले पार्टी परित्याग गरेका हुन । कांग्रेसका महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेलले पत्रकार सम्मेलन गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरे । ‘मेरो टिकट आर्थिक चलखेलकै कारण अरुलार्इ दिइयो,पार्टी कसैको पेवा होइन हामी कसैका गोटी होइनौं’ उनले भने । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० निवासी पौडेलले आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ को ‘ख’बाट उम्मेदवारी दर्ता गराएपछि आफूमाथी भएको अन्याय र अत्याचार सहन नसकेर उम्मेदवारी दर्ता गराएको तथा पार्टी परित्याग गरेको जानकारी गराए । २०३४ सालमा पार्टीको साधारण सदस्यता प्राप्त गरी राजनीति आरम्भ गरेका पौडेल २०३६ सालमा क्रियाशील सदस्य भएका थिए । उनले आफूले पार्टीका लागि धेरै योगदान गरे पनि आफ्नो योगदानको पार्टीमा कुनै मुल्याङ्कन नभएको र पैसावाला तथा नवप्रवेशीहरुको हातमा पार्टी पुगेको आरोप लगाए ।
राजदूत छोडेर आएका उपाध्यायलाई वागी उम्मेदवारको कडा चुनौती
कपिलबस्तु, कात्तिक १७ । राजदूत पदबाट राजिनामा दिएर कपिलबस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायलाई ठूलो झड्का लागेको छ । सोही क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादीका प्रभावशाली नेता चक्रपाणी खनाल उम्मेदवार बनेका छन । स्थानीयस्तरमा लोकप्रीय रहेका कांग्रेसका नेता दुर्गा सेनले उपाध्यायविरुद्ध बागी उम्म्ेदवारी दिएपछि उनमाथि ठूलो चुनौती खडा भएको छ । संगठनमा इमान्दार कार्यकर्ता भन्दा पनि गुटबन्दी गरेर पार्टीलाई नै धरासायी बनाएको भन्दै उनले उपाध्यायविरुद्ध बागी उम्मेदवारी दिएका हुन्। प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेशसभा क्षेत्र नम्बर २ मा पनि कांग्रेसले देउवा पक्षका राजेश आचार्यलाई उम्मेदवार बनाएपछि युवा नेता अमित पाण्डेले स्वतन्त्र उम्मेदवारी मनोनयन गराएका छन्। कांग्रेसमा ७ जनाविरुद्ध बागी उम्मेदवारी परेपछि कपिलवस्तुमा कांग्रेसका उम्मेदवार तथा कार्यकर्ताहरु चिन्तित बनेका छन्। वाम गठबन्धनकै उम्मेदवारसँग कडा चुनौती रहेको अवस्थामा पार्टीभित्रकै असन्तुष्ट नेताहरुले धमाधम उम्मेदवारी दिएपछि कांग्रेसलाई निकै गाह्रो हुने अनुमान गर्न थालिएको छ । तीनवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा ५६ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्रमा १३० जनाले उम्मेदवारी दिएका छन्।
५ नं. प्रदेशको राजधानी दाङ वाम गठबन्धन
दाङ, कात्तिक १७ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले निर्वाचनपछि नेपालमा एउटा मात्रै कम्युनिस्ट पार्टी अस्तित्वमा रहने बताएका छन । साथ ५ नं. प्रदेशको राजधानी दाङ बनाउन वाम गठबन्धनले पहल गर्ने बताए । शुक्रबार प्रेस सेन्टर र प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले चुनावी एकता मात्र नभएर चुनावपछि पार्टी नै एक हुने उल्लेख गरे। उपप्रधानमन्त्रीसमेत रहेका महराले अर्को प्रसंगमा अबको एजेन्डा भनेको आर्थिक समृदि भएको बताउँदै दाङलाई प्रदेशको राजधानी बनाउन वाम गठबन्धनले भूमिका खेल्ने बताए। त्यस्तै, नेकपा एमालेका स्थायी कमिति सदस्य शंकर पोखरेलले मुलकलाई आर्थिक, सामजिक सम्बृद्ध बनाउन वाम गठबन्धनले भूमिका खेल्ने बताए । नेता पोख्रेलले संविधानले प्रदान गरेका अधिकार प्रयोग गर्दै आर्थिक समृद्धिमा केन्द्रित हुने समय आएको उल्लेख गरे। उनले एउटै घोषण पत्र बनाएर माओवादी र एमाले चुनावमा जानु दीर्घकालीन महत्व रहेको बताए। महरा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि वाम गठबन्धनका साझा उम्मेदवार हुन । भने पोखरेल क्षेत्र नं. २ प्रदेशसभा क का उम्मेदवार हुन ।
सत्ताको दुरुपयोग नगरी स्वच्छ प्रतिस्पर्धा गर्न कांग्रेसलाई ओलीको चुनौती
झापा, कात्तिक १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दललाई चुनाबमा राज्यशक्तिको दूरुपयोग नगरी स्वच्छ प्रतिस्पर्धा गर्न चुनौती दिएका छन । एमाले अध्यक्ष ओलीले निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने र जनचाहना अनुसारको शासनसत्ता सञ्चालन हुने बताएका छन । झापाको दमकमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने– “अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि हो, निर्वाचनपछि जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुन्छ र मुलुक समृद्धिको दिशामा जान्छ ।” अध्यक्ष ओलीले वाम गठबन्धन यही स्वार्थ पूर्तिका लागि मात्र भएको छ भन्दै मुलुकमा रहेको बेरोजगारी अन्त्य र गरिब, विपन्न एंव उत्पीडितको हकअधिकारको संरक्षण गर्ने गरी वाम गठबन्धनले यही सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताए । उनले नेपाली काँग्रेसलगायतका दललाई चुनावमा स्वच्छ प्रतिस्पर्धा गर्न, गलत लाञ्छना लगाउने काम नगर्न र सत्ताको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन नगर्नसमेत आग्रह गरे ।
दोस्रो चरणको चुनाबमा यी क्षेत्र विशेष
काठमाडौं, कात्तिक १७ । चुनाब भन्ने वित्तिकै त्यो आफै विशेष हुने गर्छ । तर कहीले कहीँ उम्मेदवारको लोकप्रीयता,आचरण र व्यवहारले त्यो अझै विशेष हुने गर्छ । दोस्रो चरणमा मंसिर २१ गते प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ क्षेत्रमा निर्वाचन हुँदैछ । यीमध्ये केही क्षेत्र धेरै चर्चामा छन् । शीर्ष र केही चर्चित नेताहरुको उम्मेदवारीका कारण । दोस्रो चरणका प्रतिनिधिसभा निर्वाचनमा चर्चामा रहेका क्षेत्र: चितवन ३ यति बेला नेपाली राजनीतिको चर्चाको शिखरमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस क्षेत्रबाट उम्मेदवारी दिएका छन । उनको उम्मेदवारीका कारण चितवन चर्चित छ । उनी वाम गठबन्धनका साझा उम्मेदवार हुन । उनीका प्रतिस्पर्धी कांग्रेसको समर्थनमा राप्रपाका विक्रम पाण्डे छन । झापा ३ यस क्षेत्रमा कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङदेनले उम्मेदवारी दिनुभएको छ । लिङदेनलाई वाम गठबन्धनको समर्थन छ । अरु ठाउँमा कांग्रेसले राप्रपासँग तालमेल गरेपनि यहाँ सिटौला र लिङदेनले छाड्न नमानेपछि राप्रपा र वाम गठबन्धनको तालमेल भएको हो । मोरङ ६ एमालेका चर्चित नेता लालबाबु पण्डित र कांग्रेसका डा शेखर कोइराला दुवैले यस क्षेत्रबाट उम्मेदवारी दिएका छन । धनुषा ३ यस क्षेत्रमा कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोले प्रतिस्पर्धा गर्दै छन । काठमाडौं १ यहाँ विवेकशील साझा पार्टीका तर्फबाट रवीन्द्र मिश्र, कांग्रेसबाट प्रकाशमान सिंह र वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा उम्मेदवार छन । यो क्षेत्रलाई कांग्रेसको प्रभाव भएको मानिन्छ । काठमाडौं २ यस क्षेत्रमा वाम गठबन्धनबाट एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेसबाट दीपक कुईंकेल र विवेकशील साझा पार्टीबाट डा. सूर्यराज आचार्य उम्मेदवार छा । काठमाडौं ४ यस क्षेत्रबाट कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले उम्मेदवारी दिए छन । उनसँग वाम गठबन्धनबाट एमालेका युवा नेता राजन भट्टराई प्रतिस्पर्धा गर्दै छन । काठमाडौं ५ यहाँ वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेसबाट डा प्रकाशशरण महत र विवेकशील साझा पार्टीबाट उज्जवल थापा उम्मेदवार छन । सप्तरी २ यहाँ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र वाम गठबन्धनबाट माओवादीका उमेश यादव प्रतिस्पर्धामा छन । झापा १ वाम गठबन्धनबाट माओवादीका राम कार्की र कांग्रेसबाट युवा नेता विश्वप्रकाश शर्माले यो क्षेत्रबाट उम्मेदवारी दिएका छन । गुल्मी २ यस क्षेत्रमा वाम गठबन्धनबाट एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीबिच प्रतिस्पर्धा हुँदैछ ।
देशले खुद्रा पसल जस्तो धेरै पार्टीहरु धान्न अव सक्दैन : रायमाझी
अर्घाखाँची, कात्तिक १७ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीले देशले खुद्रा पसल जस्तो धेरै पार्टीहरु अब धान्न नसक्ने भएकोले दुई पार्टी पद्धती राम्रो हुने बताएका छन । त्यसैकारणले अहिले वाम एकता शुरु भएको बताए । बिहीबार प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुले जिल्लालाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । रिपोर्टस क्लब नेपाल अर्घाखाँचीले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उम्मेदवारहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । बाम गठबन्धनका उम्मेदवार टोपबहादुर रायमाझी माओवादी केन्द्रका नेता तथा बाम गठबन्धनका तर्फबाट अर्घाखाँचीबाट उम्मेदवारी मनोनयन गरेका टोपबहादुर रायमाझीले राजनीतिक क्रान्ति सम्पन्न भई आर्थिक समृद्धीको लागी आफनो उम्मेद्धवारी दर्ता भएको बताएका छन् । जिल्लालाई नमुना जिल्ला बनाउनको लागि मैले उम्मेदवारी दिएको हुँ उनले भने, ‘निर्वाचनमा जनताको मन जित्ने कुरा ठूलो हो, हामी देशको मूल कानुन बनाएर स्थानीय तहको निर्वाचन गरि केन्द्र र प्रदेशको निर्वाचनमा जाँदै छौ । यो संविधान कार्यान्वयनको चरण हो । अब देशले खुद्रा पसल जस्तो धेरै पार्टीहरु धान्न नसक्ने भएकोले दुई पार्टी पद्धती राम्रो हुन्छ । ’ नेपाली कांग्रेसका उम्मेदवार डा. रामबहादुर बिसी नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार डा। रामबहादुर बिसीले अर्घाखाँचीका जनताको स्वास्थ्य क्षेत्रको विकास गर्नका लागि आफू लागि पर्ने बताए । जिल्लाको विकास गर्नका लागि आफूले उम्मेदवारी दिएको उनले बताए । उनले पनि जिल्लालाई नमुना जिल्ला बनाउने अभियानमा लाग्ने आश्वासन दिए । केही साथीहरु गणितीय हिसाबले अगाडि भए पनि जनताले यस पटक फरक व्यक्ति खोजेकोले मैले जिल्ने निश्चित छ उनले भने । राष्ट्रिय जनमोर्चाका उम्मेदवार शेरबहादुर बिसी राष्ट्रिय जनमोर्चाका उम्मेदवार शेरबहादुर बि।सीले देशलाई बैदेशिक हस्तक्षेपबाट बचाई राख्न र संघियताको खारेजीकालागी आफूले उम्मेदवारी दिएको बताएका छन् । ‘संविधान संशोधन गर्ने र देशलाई टुक्राउन खोज्नेसंग हाम्रो चुनावी तालमेल हुँदैन’ उनले भने । ‘बाम गठबन्धनसंग चुनावी तालमेलबारे छलफल भैरहेको छ, कुरा मिलेमा आफूले उम्मेद्धवारी फिर्ता गर्नसक्ने सम्भावना छ’ उनले भने । नयाँ शक्तिका छन्द पन्थी नयाँ शक्ति नेपालका प्रतिनिधी सभाका उम्मेदवार छन्द पन्थीले आर्थिक सम्बृद्धिका लागि नयाँ बिकल्पको रुपमा नयाँ शक्तिले देश भरबाट विजयी हासिल गर्ने बताए । विवेकशील साझा पार्टीका बिष्णुप्रसाद मिश्र विवेकशील साझा पार्टीका बिष्णुप्रसाद मिश्रले नयाँ सोचका साथ आफूहरु अर्घाखाँचीको चुनावी मैदानमा उत्रिएको बताए । उनले आफ्नो पार्टी अन्य पार्टीभन्दा फरक तरिकाबाट अगाडि बढ्ने भएकाले यस पटक आफूले जित्ने दाबी गरे ।
रुपन्देहीमा वामगठबन्धनबाट विश्वकर्मा, पौडेल, भुसाल, गुल्जारी र आचार्यको उम्मेदवारी दर्ता
बुटवल, कात्तिक १६ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि आज रुपन्देहीमा उत्साहपूर्णरुपमा मनोनय दर्ता भएको छ । पाँच निर्वाचन क्षेत्र भएको रुपन्देहीमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि २५० जनाभन्दा बढीेले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नं १ मा वाम गठबन्धनबाट एमाले पोलिटब्युरो सदस्य छविलाल विश्वकर्मा र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका जिल्ला सभापति रहनुभएका खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाक गद्दीले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमाले उपमहासचिव तथा पूर्वमन्त्री विष्णु पौडेल र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका महासमिति सदस्य युवराज गिरीले उम्मेदवारी दर्ता गराउनुभयो । क्षेत्र नं ३ मा वाम गठबन्धनबाट एमालेका अर्का उपमहासचिव घनश्याम भुसाल र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष तथा स्वास्थ्यमन्त्री दीपक बोहराले उम्मेदवारी दर्ता गराउनु भएको छ । क्षेत्र नं ४ मा राजपा नेपालबाट सोहि पार्टीका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला, वाम गठबन्धनबाट ओमप्रकाश यादव गुल्जारी र लोकतान्त्रिक गठबन्धनबाट प्रमोद यादवले उम्मेदवारी दर्ता गराउनुभयो । क्षेत्र नं ५ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता डिलाराम आचार्य र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका नेता भरतकुमार शाहले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कूल मतदाता पाँच लाख २२ हजार ६०२ रहेको रुपन्देहीमा २०८ मतदानस्थल र ५९८ मदतान केन्द्र तोकिएको छ ।
प्रमुख तीन दलबाट १० प्रतिशत मात्रै महिला उम्मेदवार
काठमाडौं, कात्तिक १६ । पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा प्रत्यक्षतर्फ न्यून महिला उम्मेदवार उठाएका प्रमुख तीन दलले दोस्रो चरणको निर्वाचनमा भने तुलनात्मकरुपमा केही बढी महिला उम्मेदवार उठाएका छन् । पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि ३७ क्षेत्रमा हुने निर्वाचनमा नेपाली काँग्रेसबाट दुई र नेकपा माओवादी केन्द्रबाट एक गरी जम्मा तीन जना मात्रै महिला उम्मेदवार उठाएका थिए । तर दोस्रो चरणअन्तर्गत १२८ क्षेत्रमा हुने निर्वाचनमा प्रमुख तीन दलबाट १५ जना महिलाले आज उम्मेदवारी मनोनयन दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका छन् । दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसबाट सबैभन्दा बढी सात जना, नेकपा९एमाले०बाट पाँच र नेकपा माओवादी केन्द्रबाट तीन जना महिला उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । यसरी काँग्रेसबाट उम्मेदवारी दिनेमा तेह्रथुमबाट सीता गुरुङ, महोत्तरी–२ बाट किरण यादव, मकवानपुर– २ बाट महालक्ष्मी ९डीना० उपाध्याय, काठमाडौँ–३ बाट अम्बिका बस्नेत, दाङ–१ बाट सुशीला चौधरी, कैलाली– १ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली–५ बाट डा आरजु राणा हुनुहुन्छ । यसैगरी नेकपा ९एमाले०ले झापा–२ बाट पवित्रा खरेल, सुनसरी–३ बाट भगवती चौधरी, उदयपुर–१ बाट मञ्जु चौधरी, स्याङ्जा–२ बाट पद्माकुमारी अर्याल र कैलाली–१ बाट गरिमा शाहलाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले ललितपुर– ३ बाट पम्फा भुसाल, पर्सा–४ बाट उर्मीला अर्याल र कञ्चनपुर–१ बाट बिना मगरलाई उम्मेदवार बनाएको छ । तीमध्ये कैलाली– १ मा महिला/महिला उम्मेदवारबीच नै रोचक प्रतिस्पर्धा हुनेभएको छ । सो क्षेत्रमा काँग्रेसकातर्फबाट ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनकोतर्फबाट एमालेका गरिमा शाहले उम्मेदवारी दिनुभएको छ । यसअघि समानुपातिकबाट सांसद रहनुभएका दुवै जना अहिले प्रत्यक्षबाट उम्मेदवारी दिनुभएको हो । यस्तै केहीअघि राप्रपा छोडी नेकपा एमाले प्रवेश गर्नुभएकी गायिका तथा सञ्चारकर्मी कोमल ओलीले दाङ– ३ बाट तथा पूर्वसांसद सञ्जय साहकी पत्नी रंगीला साहले धनुषा–३ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । यसअघि पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा काँग्रेसले खोटाङबाट सरस्वती बजिमय र बागलुङ– १ बाट चम्पादेवी खड्का तथा माओवादीकी कमला रोक्का पूर्वी रुकुमबाट उम्मेदवारी दिनुभएको थियो । समग्रमा प्रतिनिधि सभाको १६५ सिटका लागि प्रमुख तीन दलबाट पहिलो चरणमा तीन र दोस्रो चरणमा १५ गरी कुल १८ जना मात्रै महिला उम्मेदवारी परेको छ । जसमा सबैभन्दा बढी काँगे्रसबाट नौ जना र वाम गठबन्धनका एमालेका पाँच र माओवादी केन्द्रका चार जना गरी नौ जनाले उम्मेदवारी दिएका छन् । संविधानले संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले प्रत्यक्षतर्फ महिलाले टिकट कम पाएपछि अब सो संख्या समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दललाई आउनेछ । निर्वाचन जित्नेमा महिला उम्मेदवार ढुक्क ललितपुर–३ बाट उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका प्रवक्तासमेत रहनुभएका पम्फा भुसालले आफ्नो जित निश्चित रहेको बताउनुहन्छ । यसअघि पनि विसं २०६४ को संविधानसभा निर्वाचनमा आफूले सोही क्षेत्रबाट जितेको र यसपटक वाम गठबन्धन भएका कारण झनै जित सुनिश्चित रहेको उहाँको भनाइ छ । आफू सधैँ सो क्षेत्रको विकास निर्माण र जनताको सुख, दुःखमा साथ रहेकाले पनि आफू जित्नेमा ढुक्क रहेको उहाँले राससलाई बताउनुभयो । महिलाको हकअधिकारको आवाज बुलन्द गर्नुका साथै महिलाले पनि देशको नेतृत्व लिन सक्षम छन् भन्ने सन्देश दिनका लागिसमेत आफ्नो जित आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । मकवानपुर–२ बाट काँग्रेसको उम्मेदवार बन्नुभएकी काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले आफ्नो उम्मेदवारीले मकवानपुरवासी र सो क्षेत्रका महिलामा उत्साह थपिएकाले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो । आफू विसं २०४८ मा पनि सोही क्षेत्रबाट निर्वाचन लडिसकेको र केन्द्रीय तहमा रहेर राजनीति गरिरहेकाले सो क्षेत्रको विकासका लागि आफूप्रति सबैको आशा, भरोसा र सद्भाव रहेको उहाँको भनाइ छ । कैलाली–१ बाट उम्मेदवार रहनुभएका एमालेका केन्द्रीय सदस्य गरिमा शाहले आफ्नो पार्टीले अघि सारेको आर्थिक समृद्धि र राष्ट्रिय एकताको एजेण्डा तथा वाम गठबन्धनका कारण आफ्नो जित सुनिश्चित रहेको धारणा व्यक्त गर्नुभयो । आफूले यसअघि संविधानसभामा संविधान मस्यौदा लेखन समितिको सदस्यकारुपमा खेलेको भूमिका, कैलालीको विकासका लागि तथा ७ नं प्रदेशलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्न खेलेको भूमिकाका कारण साझा व्यक्तित्वका रुपमा यो क्षेत्रमा आफूले पहिचान बनाइसकेको उहाँको भनाइ छ । रासस
भक्तपुरबाट नारायणमान उम्मेदवार बनेनन, प्रेम सुवालको उम्मेदवारी
भक्तपुर, कात्तिक १६ । लामो समयदेखि भक्तपुरबाट चुनाब जित्दै आएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे यसपटक उम्मेदवार नबन्ने भएका छन । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट २०४८ सालदेखि निर्वाचित हुँदै आउका विजुक्छेले यस वर्ष चुनावमा प्रतिस्पर्धा नगर्ने भएका हुन्। नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर १ मा नेता प्रेम सुवाल उम्मेदवार बनेका छन्। भक्तपुर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट निरज लवजु र २ बाट सुरेन्द्र गोसाइ उम्मेदवार बनेका छन्। त्यस्तै भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अनुराधा थापामगर उम्मेदवार बनेकी छन्। उनी यसअघिको संसदमा समानुपातिक पद्धतितर्फबाट संसद थिइन्। भक्तपुर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा सरोज गोसाइ र २ मा प्रेमजंग थापाले उम्मेदवारी दर्ता गराएका छन्।
रामचन्द्र पौडेलविरूद्ध गोविन्दराज जोशीको बागी उम्मेदवारी
तनहुँ, कात्तिक १६ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीले तनहूँ क्षेत्र नम्बर १ बाट रामचन्द्र पौडेलविरूद्ध बागी उम्मेद्वारी दिएका छन्। बिहीबार भव्य र्यालीसहित निर्वाचन आयोगमा गएर जोशीले तनहूँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन । तनहुँ १ बाट नेपाली कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउदैं छन । आफूलाई पार्टीले टिकट नदिएपछि नेपाली कांग्रेसको लसंसदीय बोर्ड नै बैधानिक नरहेको बताउँदै उनले उम्मेद्वारी दिएका हुन्। कांग्रेसको विधानअनुसार बोर्डमा जम्मा १४ जना हुनुपर्नेमा २४ जनाको जम्बो टोली बनाएर अवैधानिक तरिकाले टिकट वितरण गरिएको हुनाले आफूले कांग्रेसको जनमत अनुसार उम्मेद्वारी दिएको जोशीले बताए। यसअघिनै पौडेललाई तनहूँ क्षेत्र नम्बर १ बाट निर्वाचन नलड्न जोशीले सल्लाह दिएका थिए। नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा पौडेल र २ मा केन्द्रीय सदस्य शंकर भण्डारीलाई आधिकारिक रूपमा टिकट दिएको थियो। आफूलाई पार्टीले टिकट नदिए पछि उनले तनहूँ क्षेत्र नम्बर १ का जनताले आफूलाई टिकट दिइसकेको भन्दै उनीहरुकै बलमा चुनाव जित्ने दावी गरेका छन्।
एमाले उपाध्यक्ष बामदेव गौतमद्वारा बर्दिया १ बाट उम्मेदवारी दर्ता
बर्दिया, कात्तिक १६ । वाम गठबन्धनका तर्फबाट नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष बामदेब गौतमले बर्दिया १ र माओवादीका नेता सन्तकुमार थारुले बर्दिया २ बाट उम्मेदवारी दर्ता गरेका छन । त्यसैगरी, नेपाली कांगे्रसका तर्फबाट बर्दिया १ बाट सिंचाई मन्त्री सञ्जय गौतम र २ बाट गोपाल दहितले उम्मेदवारी दिने तय भएको छ ।
एमाले अध्यक्ष ओलीद्वारा झापा ५ बाट उम्मेदवारी दर्ता
काठमाडौं, कात्तिक १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट उम्मेदवार दर्ता गराएका छन । झापा ५ बाट ओलीे वाम गठबन्धनका साझा उम्मेदवार हुन । भने कांग्रेसका तर्फबाट उक्त क्षेत्रमा खगेन्द्र अधिकारी उम्मेदवार बन्ने छन । अधिकारी चुनाब लड्नका लागि त्रिबिको अध्यापक पदबाट राजिनामा दिए गएका हुन ।
विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रद्वारा काठमाडौं १ बाट उम्मेदवारी दर्ता
काठमाडौं, कात्तिक १६ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज ४५ जिल्लामा उम्मेदवारको मनोनय पत्र दर्ता शुरु भएको छ । देशका विभिन्न निर्वाचन क्षेत्रमा प्राय सबै जसो दलका शीर्ष नेताहरुले आज उम्मेदवार दर्ता गर्दै छन । काठमाडौं क्षेत्र नम्बर १ बाट विवेकशील साझा पार्टी नेपालका संयोजक रवीन्द्र मिश्रले मनोनयपत्र दर्ता गराएका छन । मनोनय पत्र दर्तापछि संक्षिप्त प्रतिक्रिया दिदै मिश्रले भने, ‘सम्बृ मुलक निर्माणका लागि आफ्नो पेसा परिबर्तन गरी राजनीतिमा आएको छु जित निश्चित छ । जनता उत्साहित छन ।’ लामो समय बिबिसी नेपाली सेवामा प्रमुखका रुपमा काम गरेका मिश्र केही समय अघि राजिनामा दिएर राजनीति यात्रा शुरु गरेका हुन ।