यस्ताे बनायाे राजपाले निर्वाचन घोषणा–पत्र
राजपाको निर्वाचन घोषणा–पत्र तयारी समितिको मस्यौदामा चुरे क्षेत्रको व्यवस्थापन, स्थानीय कला, संस्कृति, पर्यटनलाई जोड दिएको छ । घोषणा–पत्र राजपाको पदाधिकारी बैठकमा छलफल भए पनि औपचारिक रूपमा सार्वजनिक भने भएको छैन । घोषणा–पत्रका कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसकेन्द्रित दललाई हेर्ने दृष्टिकोणबारे पनि व्याख्या गरिएको छ ।
दाइजो प्रथाको विरोध
राजपाको निर्वाचन घोषणा–पत्रको मस्यौदामा ‘दाइजो प्रथालाई फौजदारी अपराधको दायरामा ल्याउने’ प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, उसले लैंगिक आधारमा हुने भ्रूण पहिचान तथा भ्रूण हत्याका लागि कठोर कानुनको निर्माण तथा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उल्लेख गरेको छ ।
सेनामा सामूहिक प्रवेश
राजपाको निर्वाचन घोषणा–पत्रमा नेपाली सेना र प्रहरीमा मधेसीको जनसंख्याका आधारमा सामूहिक प्रवेशका साथै समानुपातिक समावेशी गराइने उल्लेख गरेको छ । साथै, उसले भनेको छ, ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रादेशिक प्रहरीको संरचना प्रदेशको जनसंख्या प्रतिनिधित्वसरहको हुनेछ ।’
भ्रष्टाचारको नेतृत्वकर्ता माओवादी
राजपाको निर्वाचन घोषणा–पत्रमा माओवादी केन्द्र लोकतान्त्रिक प्रणालीमाथि विश्वास नराख्ने पार्टी भनेर व्याख्या गरेको छ । उसले माओवादी केन्द्र अधिनायकवाद र सर्वसत्तावादमा विश्वास राख्ने हुनाले संघीयता विरोधी भनेर निष्कर्ष निकालेको छ । माओवादीबारे मस्यौदामा भनिएको छ, ‘मुलुकमा व्याप्त दण्डहीनता, भ्रष्टाचार, असुरक्षा, अशान्ति एवं अराजकता मुख्य रूपले नेकपा माओवादी केन्द्रकै कारण हावी भएको हो ।’
दुई फोरम कस्ता ?
राजपाले मधेसकेन्द्रित पार्टीहरूमा संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकलगायत पार्टीहरू व्यक्तिगत स्वार्थमा केन्द्रित दलको रूपमा व्याख्या गरेको छ । उनीहरूले मधेस र मधेसीको बेइजती गरेको गम्भीर आरोप पनि लगाइएको छ । जम्माजम्मी तीन वाक्य लेखेर राजपाले ती दलबारे ‘थप उल्लेख गरिरहनु हामी आवश्यक ठान्दैनौँ’ भनेर टुंग्याएको छ ।
राजपाका संकल्प
-बाढीबाट हुने क्षतिलाई दीर्घकालीन समाधान गर्न चुरे क्षेत्रमा वृक्षरोपण गर्ने, वन कटानीलाई रोक्ने, चुरे वनदेखि सीमासम्म खोलाहरूमा दुवैतर्फ तटबन्ध गर्ने, प्रत्येक दुई वर्षमा सबै खोलाहरूलाई खन्ने र यस वर्ष बाढीबाट भएको क्षतिको यकीन गरी तत्काल बाढीपीडित पुनर्निर्माण प्राधिकरण गठन गरी मधेसमा आधुनिक भवनहरू निर्माण गर्ने ।
– मधेसको भूमि कृषिजन्य भएको हुनाले प्रत्येक गाउँपालिका÷नगरपालिकामा मलखाद, बिउविजन सेन्टर, बाली पशु चिकित्सक र चिकित्सकको निम्ति भेटनरी सेवा उपलब्ध गराउने ।
– प्रत्येक गाउँपालिका, नगरपालिकाको प्रत्येक वडा कार्यालयमा लाइब्रेरी, इन्टरनेट र वाइफाईको सेवा उपलब्ध गराउने ।
-सिँचाइका लागि नहर, डिपबेल र स्यालो ट्युबबेलको व्यवस्था गर्ने ।
-सबै सरकारी विद्यालयमा छात्रछात्राका लागि पौस्टिक आहारको व्यवस्था गर्ने ।
-गरिबीको रेखामुनि रहेका र दलित परिवारहरूलाई सहिद आवास योजनाअन्तर्गत आवासको व्यवस्था गर्ने ।
– बिदेसिएका युवालाई स्वदेशमै फर्काउन घर–घर रोजगारअन्तर्गत आफ्नो कुशलताअनुसार रोजगार गर्न केही अनुदान र ब्याजरहित ऋण उपलब्ध गर्ने ।
– आमा र शिशु मृत्युदर घटाउन प्रत्येक गाउँपालिका नगरपालिकाका प्रत्येक वडाहरूमा बर्थिङ सेन्टरको स्थापना गर्ने ।
– दहेजविरुद्ध अभियान चलाउन विनालेनदेन आदर्श विवाह गर्ने जोडीलाई २५ हजार सहायता प्रदान गर्ने ।
– कल, ह्यान्ड पम्पबाट आउने पानीलाई आर्सेनिक, आइरन र म्यागनिजमुक्त गर्न उपायहरू अवलम्बन गर्ने ।
– शारीरिक व्यायाम र स्वास्थ्यको निम्ति खेलकुद आवश्यक भएको हुनाले प्रत्येक गाउँपालिका र नगरपालिकाहरू को वडामा खेलकुद
-लामखुटेबाट विभिन्न रोगहरू लाग्ने हुनाले त्यसको न्यूनीकरणको निम्ति स्प्रेको व्यवस्था गर्ने ।
– लोडसेडिङमुक्त मधेस हाम्रो संकल्प हो ।
-प्रत्येक वडास्तरमा पोलहरूमा सोलार लाइटको व्यवस्था गर्ने ।
मधेसमैत्री नभएको पार्टी कांग्रेस
घोषणा–पत्रमा कांग्रेसप्रति राजपा सकारात्मक देखिएको छ । अरू पार्टीबारे लामो व्याख्या गरेको राजपाले कांग्रेसबारे भने जम्मा एक वाक्य लेखेको छ । ‘कांग्रेस लोकतान्त्रिक पार्टी भएर पनि संघीयता र समावेशी लोकतन्त्रका लागि प्रतिबद्ध छैन र मधेसमैत्रीसमेत होइन,’ घोषणा–पत्रमा लेखिएको छ ।
संघीयता विरोधी एमाले
राजपाको विश्लेषणमा एमाले संघीयता र समावेशीकरणका विरोधमा रहेको ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार पार्टी हो । उसले एमालेलाई संघीयता विरोधी भनेर टिप्पणी गर्दै शासक वर्गहरूकोे वर्चस्व भएको मधेस विरोधी पार्टी भनेर लेखेको छ ।
मदरसा शिक्षालाई मान्यता
राजपाले आफ्नो घोषणा–पत्रमा उच्चस्तरीय स्थायी मदरसा शिक्षा समिति गठन गराउन प्रयत्न गर्ने उल्लेख गरेको छ । राजपाले भनेको छ, ‘मदरसाबाट प्राप्त प्रमाण–पत्रलाई समकक्षी स्कुल, कलेज र विश्वविद्यालयहरूको प्रमाण–पत्रसरह मान्यता प्रदान गराइनेछ । साथै राजपाले हजरत मोहम्मदको जन्मदिन, सबै बारात तथा मोहर्रमका अवसरमा सार्वजनिक बिदा घोषणा गराइने पनि उल्लेख गरेको छ ।
क्रान्तिकारीको मतगणना जारी: अध्यक्षमा शर्मा अगाडि, कसले कति मत पाए ?
काठमाडौं, भदौं १६ । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि अहिले मतगणना जारी छ । जारी मत गणनामा अध्यक्षमा अनिल शर्मा रञ्जित तामाङ भन्दा ७ मतले अगाडि छन । प्रदेश नं.१,२,४,६,७ को गणना सकिंदा शर्माले ४०५ र तामाङले ३९८ मत प्राप्त गरेका छन । यसअघि तामाङले लिड गरिरहेका थिए । उनीहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ । अन्य पदाधिकारीमा कसले कति मत प्राप्त गरेका छन त ? उपाध्यक्ष सुरेन्द्र बस्नेत -३७८ उद्वव भट्टराई -२८९ पुरन केसी – २७९ तिलक भण्डारी -२७४ दिपक देवकोटा -२७३ विजय गौतम -२१२ महासचिव खेमवहादुर सिह-२७४ उत्तम अधिकारी-२२६ राजेश्वरी सुवेदी -२२१
माओवादी सचिवालय बैठक बीरगञ्जमा
काठमाडौं, भदौं १४ । माओवादी केन्द्रको सचिवालय बैठक आगामी शुक्रबार वीरगञ्जमा बस्ने बताइएको छ । यस अघि राजधानीमा बस्ने तय भएपनि अध्यक्ष प्रचण्ड लगायतका शीर्षनेता मधेसमा रहेकाले बीरगञ्ज बस्न लागेको एक नेताले बताए । बीरगञ्जमा बस्ने सचिवालय बैठकले दुई नम्बर प्रदेशका उम्मदेवारहरुको टुंगो लगाउने माओवादी उच्चस्रोतले जनाएको छ । अध्यक्ष प्रचण्डलगायत माओवादीका शीर्षनेता पछिल्लो समय तराई–मधेसमा स्थानीय तह तेस्रो चरणका चुनाबी अभियानमा सक्रिय छन ।
क्रान्तिकारीको नेतृत्वका लागि मतदान शुरु, ३० पदमा १५७ प्रतिस्पर्धी
काठमाडौं, भदौं १४ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को निर्वाचन शुरु भएको छ । बुधबार दिउसो तीन बजेबाट मतदान शुरु भएको र मतदान प्रक्रिया साँझ ७ बजेसम्म चल्ने निर्वाचन समितिका संयोजक रमेश मल्लले एभरेष्ट दैनिकलाई बताए । भदौ ७ गतेदेखि राजधानीमा जारी एकताको २१ औं राष्ट्रिय सम्मेलनमा सहमति नजुटेपछि इतिहासमै पहिलो पटक क्रान्तिकारीमा पदाधिकारीका लागि निर्वाचन भएको हो । त्रिभुवन विश्वविद्यालयको हलमा अबको केहि बेरमा निर्वाचन शुरु हुने बताइएको छ । २०५१ सालदेखि अस्तित्वमा आएपछिको अखिल क्रान्तिकारीले पनि पहिलोपटक निर्वाचनको प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न लागेको हो । माओवादी घटक संगठनहरूबीच नेतृत्व चयनका लागि अन्तरपार्टी चुनावी प्रतिस्पर्धा यो पहिलोसमेत हो । सम्मेलनमा देशभरबाट २ हजार २२ जना प्रतिनिधि रहेका छन् । को-को छन प्रतिस्पर्धामा पार्टी र संगठनका पूर्वअध्यक्षहरुले पटक–पटक सहमति प्रयास गरेपनि असफल भएपछि क्रान्तिकारीको निर्वाचन हुने भएको हो । अध्यक्ष पदका लागि २ जना रञ्जित तामाङ र अनिल शर्माबीच निर्वाचन हुँदैछ । त्यस्तै ८ जना उपाध्यक्षका लागि २५ जना चुनावी मैदानमा उत्रिएका छन् । खुला उपाध्यक्षमा ४ जनाका लागि १२, छात्रा १ का लागि २ जना, मधेसी १ का लागि ६ जना, आदिवासी/जनजाति १ का लागि ३ जना, दलित १ का लागि २ जना प्रतिस्पर्धि रहेको छ । मल्ललेका अनुसार एक जना महासचिव पदका लागि ४ जना चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै ३ उपमहासचिव पदका लागि २० जना प्रतिस्पर्धी रहेका छन् । त्यसैगरि सचिव खुला २ का लागि २५, सचिव छात्रा २ का लागि १३, सचिव मधेसी १ का लागि ७, सचिव आदिवासी जनजाति १ का लागि १०, सचिव मुस्लिम १ का लागि २, सचिव दलित १ का लागि ८ जना चुनावी मैदानमा उत्रिएको मल्लले जानकारी दिए । मल्लका अनुसार प्रत्येका प्रदेशमा एक सचिवका लागि प्रदेश नम्बर १ मा ५, प्रदेश नम्बर २ मा ४, प्रदेश नम्बर ३ मा ७, प्रदेश नम्बर ४ मा २, प्रदेश नम्बर ५ मा ८, प्रदेश नम्बर ६ मा ३, प्रदेश नम्बर ७ मा २ जना चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरि विश्वविद्यालय, सिटिभिटि, केन्द्रीय कार्यालय र विभागका लागि १ सचिवका लागि ४ जना चुनावमा उत्रिएका छन् । कोषाध्यक्ष एक पदको लागि ६ जना चुनावमा गएका छन् ।
अखिल क्रान्तिकारीको विधान पारित, नेतृत्वका लागि आइतबार निर्वाचन
काठमाडौं, भदौं १० । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रले राजनीतिक तथा सांगाठनिक प्रतिवेदन र विधान संशोधन प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । बर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले प्रस्तुत गरेको प्रस्तावमा राष्ट्रिय सम्मेलनको तेस्रो दिनको बन्द सत्रमा विभिन्न २१ वटा समूहका टोली नेताले राखेका सुझाव र धारणाको जवाफ अध्यक्षले दिएपछि हलले सर्वसम्मतिले प्रतिवेदनहरु पारित गरेको हो । विधान पारित भए लगत्तै निर्वाचन समितिले नयाँ नेतृत्व चयन प्रकृया अघि बढाएको छ । समितिले शनिबार मतदाता नामवली प्रकाशित र आइतबार निर्वाचन हुने निर्वाचन समिति संयोजक रमेश मल्लले एभरेष्ट दैनिकलाई बताए । निर्वाचन समितिका अनुसार सम्मेलनमा कुल २ हजार ३४ मतदाता छन् । संशोधित विधान अनुसार ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने छन ।
काँग्रेसद्वारा बाढीपीडितका लागि रु एक करोड संकलित
काठमाडौं, भदौं ९ । नेपाली काँग्रेसले बाढीपहिरो पीडित जनताको सहयोगका लागि रु एक करोड छ लाख ९० हजार ६४० संकलन गरेको छ । केही दिन अगाडि मुलुकका विभिन्न भागमा परेको अविरल वर्षा र पहिराका कारण पीडामा परेका जनतालाई सहयोगस्वरुप पार्टीका सांसदको एक महिनाको तलबबाट उक्त रकम संकलन गरेको हो । सो रकम आज पार्टी केन्द्रीय कार्यालय सानेपामा काँग्रेस संसदीय दलका सचिव धुव्र वाग्लेले पार्टीका कावा सभापति विमलेन्द्र निधिलाई हस्तान्तरण गरे । उक्त रकम कांग्रेस बाढीपीडित कोषको खाता नं ०१३५–११–००१००७५ मा जम्मा गरिने नेता निधिले जानकारी दिनुभयो । रासस
मेयरकाे टिकट पाउन राजपाको कार्यालयमै कुटाकुट
काठमाडौं, भदौ ९ । आगामी असोज २ गते हुने स्थानीय निर्वाचनका लागि मेयरको टिकट कसले पाउने भन्ने विषयमा विवाद हुँदा वीरगन्जस्थित राष्ट्रिय जनता पार्टी (राजपा)को कार्यालयमै कुटाकुट भएको छ । राजपाका आन्तरिक दुई समूहबीच टिकट पाउने विषयलाई लिएर झडप भएको हो । मेयरको टुंगो लगाउन होटेल कुमु प्यालेसमा बैंठक बसीरहेको समयमा छलफल चलिरहेको समयमा विमल श्रीवास्तबले वरियताको हिसावले नै आफू पुरानो मान्छे भएका र स्थानीयको समस्याका बारेमा पनि जानकार रहेकाले टिकटको लागि दावी गरेका थिए भने राजेशमान सिंहले पनि आफूले टिकट पाउनु पर्ने अडान राखेका थिए । यसै विषयमा विवाद भइरहँदा दुई पक्षका कार्यकर्ताहरु भने झडपमा उत्रिएका थिए । केही बेरको हानाहानीपछि केही कार्यकर्ता घाइते पनि भएको बुझिएको छ । पहिलो र दोस्रो चरणको चुनावमा भाग नदिएको राजपाले तेस्रो चरणको चुनावमा भने भाग लिने जनाएको हो । स्थानीय तहको निर्वाचनका लागि ६ पार्टी सम्मिलित राजपाले कसलाई लागि मेयर पदमा उम्मेदवार बनाउने विषयले पनि टुंगो पाएन ।
राप्रपाका नेताविरुद्ध सर्वोच्चमा अपहेलनाको मुद्दा
काठमाडौं, भदौं ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताद्वय राजेन्द्र लिङदेन र कुन्तीकुमारी शाहीविरुद्ध अदालतको अपहेलनासम्वन्धी सर्वोच्चमा मुद्दा परेको छ । अधिवक्ताद्वय जनार्दन बञ्जाडे र शिव सुवेदीले बुधबार सर्वोच्चमा अदालतको अपहेलनासम्वन्धी मुद्दा दायर गरेका हुन् । दुबैलाई संविधानको धारा १२८ को उपधारा ४ र न्याय प्रशासन ऐनको दफा १७ को १ को ४ बमोजिम एक वर्ष कैद र १० हजार जरिवाना माग दावी गरिएको छ । सर्वोच्च अदालतले गएको सोमबार राप्रपा प्रजातान्त्रिकलाई निर्वाचन आयोगमा दल दर्ताको पक्षमा फैसला गरेपछि सांसद शाहीले न्याय जसले सक्यो उसले किन्ने गरेको र महामन्त्री लिङदेनले सर्वोच्च पैसा र विदेशीको प्रभावमा चलेको ट्वीट गरेका थिए । अधिवक्ताद्वयले उनीहरुको अभिव्यक्तिले अदालतको अपहेलना गरेको दावी गर्दै मुद्दा दायर गरेका हुुन ।
राजपाद्वारा निर्वाचनमा जाने औपचारिक निर्णय
काठमाडौ, भदौ ७ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल स्थानीय तह तेस्रो चरणको निर्वाचनमा सहभागी हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दुई दिनसम्म चलेको लामो पदाधिकारी बैठकले चुनावमा सहभागी हुने औपचारिक निर्णय गरेको हो । राजपालाई पनि सहभागी गराउन भन्दै सरकारले दुई नम्बर प्रदेशमा निर्वाचन बारम्बार सार्दै आएको थियो । संविधान संशोधन विधेयक ब्यवस्थापिका संसदबाट अस्वीकृत भएपनि राजपाले निर्वाचनमा सहभागी हुने निर्णय भने गरेको हो । राजपाको आधार क्षेत्र मानिएको प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन हुँदैछ । राजपाले संविधान सशोधन विधेयक संसदबाट असफल भएपनि सरकारका तर्फबाट गर्नुपर्ने कामबारे दबाब मुलुक कार्यक्रम जारी राख्दै निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।
कमल थापाबाट कार्यकर्ता जोगाउन हारगुहार गर्दै सर्वोच्चको शरणमा राणा
काठमाडौं, भदौं २ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाविरुद्व राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक पशुपतिशम्शेर राणाले सर्वोच्चमा रिट दायर गरेका छन् । अध्यक्ष थापाले आफ्ना नेता कार्यकर्तालाई अपहरण गरेको, धाकधम्की देखाएको तथा बन्धक बनाएको आरोप लगाउदै राणाले शुक्रवार सर्वोच्चमा थापाविरुद्व रिट दायर गरेका हुन् । रिटको आइतबार पेशी तोकिएको छ । साथै दायर रिटमा थापाले अपहरण गरेर हेटौडामा राखेका आफ्ना पार्टीका केन्द्रीय सदस्यहरुको रिहाइको र सुरक्षाको माग गरिएको छ ।
राप्रपा फुट्नुमा केटीको दोष !
काठमाडौं, साउन २४ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन राप्रविसंका महासचिव राज बस्नेतले राप्रपा फुट्नुमा केटीको पनि दोष रहेको बताएका छन्। बस्नेतले भनेको केटी कुनै स्त्री जाति नभएर कमल थापा हुन। कमल थापालाई आगामी दशक सम्मको निर्विकल्प अध्यक्ष मान्दा पनि उसले एकै पटक सबै निल्न खोज्दा सर्किएर यस्तो भएको हो पार्टीको फुटलाई इङ्गित गर्दै बस्नेतले भने। थापालाई कुनै कार्यकर्ताले पनि अध्यक्षको विकल्पका रूपमा हेरेका थिएनन तर कार्यशैली परिवर्तनको आवस्यकता औलाएका थिए। पार्टी फुट्नु आफैमा राम्रो हैन तर राजतन्त्रको नारा बोकेकै भरमा अहिलेको मान्छेले हुकुमी शासन नमान्ने कुरा अध्यक्षले बुझ्नु भएन र फलस्वरूप हुकुमीका विरूद्ध विस्फोटन हुन पुगेर नया पार्टीले जन्म लियो।साथै अध्यक्ष थापाले निती सहित नेतृत्व जित्दा पनि आफैले थापेको एम्बुसमा आफै फसेको भन्दै बस्नेतले भने”अध्यक्षले एकलौटी केन्द्रीय सदस्य मनोनित गरेर अरूका विरूद्ध एम्बुस थापेपनी मनोनित गरेकै केन्द्रीय सदस्य थापाको विरूद्ध पड्किए र आज यो स्थिती भयो”
देउवा सरकारमा सहभागी नहुने राप्रपाको निर्णय, पार्टी विवाद झन चुलियो
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीले देउबा सरकारमा सहभागी नहुने निर्णय गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउबाले मन्त्रीपरिषद बिस्तार गरे लगत्तै राप्रपाको यस्तो निर्णय सार्वजनिक भएको हो । सरकार विस्तार गर्दा मन्त्रालय छनौटबारे आफूहरुसँग सल्लाह नगरेको राप्रपाको आरोप छ । राप्रपाले उपप्रधानसहित ५ मन्त्री मागेपनि देउवाले चार मन्त्रालय भन्दा बढी दिन नसकिने बताएपछि राप्रपा सहभागी भएको थिएन । आन्तरिक विवादले थला परेको राप्रपाले संविधान संशोधनमा भने आफ्नो सैद्दान्तिक सहमतिको अडान कायमै रहेको जनाएको छ । पार्टीभित्रको विवादलाई टुंग्याउन प्रदेश स्तरीय परिषद बैठक गर्ने निर्णय समेत राप्रपाले गरेको छ । यसका लागि मिति समेत आज बसेको राप्रपा पदाधिकारी बैठकले तय गरेको छ । जस अनुसार, प्रदेश नम्बर १ को झापा, ३ को हेटौंडा, ४ को पोखरा, ५ को नेपालगञ्ज, ६ को सुर्खेत र प्रदेश नम्बर ७ को कञ्चनपुरमा बैठक गरिने छन् ।
परिवर्तनका लागि कांग्रेस–माओवादी विच सहकार्यः नेता रायमाझी
प्रेम सुनार गुल्मी, असार १० । पुर्व उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले सरकार देखि स्थानिय तह सम्म देशको समग्र विकास र परिवर्तनका लागि माओवादी केन्द्रले नेपाली कांग्रेस संग सहकार्य गरिएको बताएका छन् । गुल्मीको छत्रकोट र रुरु गाउँपालिकामा नेपाली कांग्रेस माओवादी केन्द्रको संयुक्त चुनावी आम सभालाई सम्वोधन गर्दै नेता रायमाझीले यस्तो वताएका हुन् । रुरु गाउँपालिका र छत्रकोट गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र विच मात्रै चुनावी तालमेल भएको होईन नेता रायमाझीले भने शान्ति प्रकृयाको १२ बुँदे सहमति , १९ दिने जनआन्दोलन , संविधान निर्मार्ण र कार्यन्यन गर्न ,नेपाली कांग्रेस संग सहकार्य हुँदै आएको हौं । उनले नेकपा एमाले संग पनि सहकार्य गर्न खोजिएकै हो तर उ हामी संग भन्दा पुर्व राजा ज्ञानेन्द्र र राजावादीहरु संग साँठ गरे पछि कुरा गम्भीर हुन सक्ने लागेर देश विकास र परिवर्तनका लागि कांग्रेस र माओवादी विच सहकार्य गरिएको हो । एमाले फिते र तमसुके उनले नेकपा एमालेको राष्ट्रवाद मंण्डले राष्ट्रवाद भएको आरोप समेत लगाए । उनले एमाले नेताहरुलाई गफाडी , फिते र तमसुकेहरुको संज्ञा दिए । उनले भने–‘उहाँहरु चुनावताका गाउँमा मोटरबाट र खानेपानीका पाईपहरु फिता लिएर नाप्दै हिड्ने र रातमा जनताको घरै दलैमा वसेर यस्तो गर्दिन्छौ उस्तो गर्दिन्छौ भन्दै तमसुक गर्ने तर चुनाव पछाडी भने फर्केर आउँदैनन् , त्यस्ता फिते र तमसुकेहरुलाई अब जनताले चिन्नै पर्दछ ।’ ‘१९ दिने जन आन्दोलनमा हामी कांग्रेस एमाले सवै संग सहकार्य गरेर गणतन्त्र स्थापना गरेका थियौं , यसर्थ संविधान र स्थानिय तह कार्यन्वयनका लागि हुन त हामीले एमाले संग पनि सहकार्य गरौं भनेका थियौं, तर हामीले राजावादीहरुका पछाडी लाग्न थाले पछि कांग्रेस संग मात्रै सहकार्य गरेका हौं । ’ – उनले यस अर्थिक वषमा गुल्मीका ४ अरव रुपैया विनियोजन गरिएको बताउँदै विकासका लागि सवै संग सहकार्य हुनु पर्नेमा जोड दिए । गणतन्त्र माओवादीले नै ल्याएको होः कांग्रेस नेता चन्द्र भण्डारी दुई वटै गाउँपालिकाको संयुक्त चुनावी सभामा माओवादी नेता रायमाझी संगै सम्वोधन गर्न आएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले माओवादीकै जनयुद्धका कारण देशमा गणतन्त्र आएको बताएका छन् । २००७ सालमा कांग्रेसले क्रान्ति गरेको ईतिहाँस छ , २०३६ , २०४६ र २०६२ ÷०६३ मा पनि कांग्रेसले १९ दिने जन आन्दोलनको नेतृत्व गरेको ईतिहाँस छ , माओवादीले पनि १० वर्षे सशस्त्र युद्ध गरेको ईतिहाँस छ नेता भण्डारीले भने एमालेको कुनै ईतिहाँस छ ? ‘तर एमालेले माओवादीले १० वर्षे जनयुद्ध गरेर ल्याएको यो परिवर्तन हो भनेर समेत स्वीकार्न सक्दैन उनले मञ्चमा आसिन माओवादी नेता रायमाझी तर्फ फर्किदै भने ‘टोपबहादुर जि, हामी स्वीकार गर्दछौं र एमालेले पनि स्वीकार गर्नै पर्दछ गणतन्त्र माओवादी जनयुद्धले नै ल्याएको हो । ’ ‘ एमालेलाई बृद्ध भत्ता वाहुनको कुश नै भयो ’ एमालेले बृद्ध भत्ता भन्दा अरु केहि गर्न नसकेरै होला खाली बृद्ध भृद्ध भत्ता–भत्ता भन्दै हिडेको र एमालेले नजिते कांग्रेस माओवादीले नदिने भन्दै भ्रम छरेको भन्दै नेता भणडारी कडा रुपमा प्रस्तुत भए । उनले भने नेपालमा बृद्ध भत्ताको परिकल्पना त कांग्रेस नेता कृष्ण प्रसाद भट्टराईको हो । ‘त्यही परिकल्पना मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा लागु गरिएको हो ’– उनले भने–‘ एमालेले सय रुपैयाँ बनाएको बृद्ध भत्ता कांग्रेसले एक पटक ५ सय र दोश्रो पटक कांग्रेस माओवादी सरकारमा छँदा एक हजार बृद्धि गरेको र तेश्रोबाट माओवादीका नेता अर्थमन्त्री छँदा मासिक २ हजार बृद्धि गरेको हो । उनले व्याङ्ग गर्दै भने–‘ पुजा मण्डममा वस्दा जसरी वाहुले यहाँ पनि कुश उहाँ पनि कुश र जति वेला पनि कुश..कुश..कुश … भनिरहन्छन् त्यस्तै एमालेको पनि चाल त्यस्तै छ खाली बृद्ध भत्ता .. बृद्ध भत्ता मात्रै गरिरहन्छ । ) माओवादी युद्धमा गए पछि र शान्ति प्रकृयामा आए पछि मात्र एमाले साईजमा आएको र शान्तिपुर्ण रुपमा सवैले राजनीति गर्न पाईएको प्रशंग निकाल्दै उनले हिजो एमालेको पकड रहेको रुरु र छत्रकोट गाउँपालिका अन्तर्गतका साविकका गाविमा उसले भोट हाल्न पाउने अधिकारबाट समेत कांग्रेजजनलाई बञ्चित गर्ने गरको कार्याकर्ताहरुलाई स्मरण गराउँदै अव डटेर भोट हाल्न र राजनैतिक गतिविधी गर्न निर्देशन दिए । उनले एमालेका लागि माओवादी कहिले अवसरा र कहिले विखण्डकारी र राष्ट्रघाति हुने गरेको टिप्पणी गरे । शान्ति सम्झौता गर्दा , माधव नेपाल झलनाथ खनाल र केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा माओवादी ठिक , जव कांग्रेस संग सहकार्य गर्छ तव उ बेठिक र राष्ट्रघाती र विखण्डनकारी हुने , यो कस्तो अचम्व हो ? उनले प्रतिप्रश्न गरे । अझ अवसरा नै अरु बेला चाँही उ , बिखण्डकारी र राष्ट्रघाती हुने ? भनेर प्रतिप्रश्न गरे । उनले नेपालमा खास कम्युनिष्टको झण्डा माओवादी संग मात्रै भएको र एमालेले आफ्नो झण्डा गुमाएको बताए । भने–‘ उसको झण्डा त माओवादीले आफ्नो चुनाव चिन्ह बनाएर लगी सक्यो , खोसी सक्यो आफ्नो झण्डा समेत जोगाउन नसक्ने एमालेले कांग्रेस माओवादीलाई चुनाप पछि खोज्नु पर्दछ भन्ने केपी ओलीलाई मैले यहि भनेर जवाफ दिई सकेको बताए । छत्रकोट गाउँपालिकामा कांग्रेस माओवादी केन्द्रको तर्फबाट गाउँप्रमुखका उमेदवार अनन्तराम पौड्याल र उपप्रमुखमा रामप्रसाद पाण्डे एमालेका मधुकृष्ण पन्तको प्यानल संग चुनावी मैदानमा छन् । चुनावी सभामा एमाले विरुद्ध आज दिगाम , हर्दिनेटा र रिडी बजारमा रुरु गाउँपालिकाको चुनावी सभामा कांग्रेस माओवादी केन्द्रले ठुलै शक्ति प्रदर्शन गरेको थियो । रुरु गाउँपालिकामा कांग्रेस माओवादीको संयुक्त प्यानलबाट जिल्लाका सवै भन्दा कान्छा उमेदवार यदु ज्ञवाली प्रमुख र देवेन्द्र मल्ल उप प्रमुख उमेदवार रहेका छन् । एमालेको तर्फबाट निलकण्ठ गौतम प्रमुख पदका उमेदवार छन् । यि दुवै गाउँपालिकामा एमाले र कांग्रेस माआवादी गठबन्धन विच कडा टक्कर हुने देखिएको छ ।
छान्यो माओवादी केन्द्रले ललितपुरका नगर र गाउँपालिकाको उम्मेदवार
काठमाडौँ, वैशाख १६ । आगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले जिल्लाको महालक्ष्मी नगरपालिका, बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिकाको उम्मेदवारको टुंगो लगाइएको माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हरि दाहालले जानकारी दिएका छन् । उनका अनुसार बाँकी रहेका एक महानगर र १ नगरपालिकाको टुंगो भोलीसम्म लगाइसक्ने जानकारी दिएका छन । नेकपा (माओवादी केन्द्र) ललितपुर स्थानीय तह निर्वाचन २०७४ का लागी उम्मेदवारहरुको विवरण- महालक्ष्मी नगरपालिका मेयर: शिव प्रसाद कट्टेल उपमेयर: लक्ष्मी सिंह महर्जन वडा नं. १ अभिसेक केसी वडा नं. २ सुरेश महर्जन वडा नं. ३ सुमन केसी वडा नं. ४. कृष्ण बहादुर थापा वडा नं. ५. सरथ राना मगर वडा नं. ६. महेन्द्र श्रेष्ठ वडा नं. ७. अर्जुन थापा वडा नं. ८. कान्छा श्रेष्ठ वडा नं. ९. मोहन तण्डुकार वडा नं. १०. बलराम लामा बागमती गाउँपालिका अध्यक्ष : राजु आले मगर उपाध्यक्ष: कमला थापा मगर वडा नं. १ ज्ञानबहादुर लामा वडा नं. २ रिना चन्द्र भोलान वडा नं. ३ दीपक घिमिरे वडा नं. ४. जुवार लाल लामा वडा नं. ५. ओम प्रसाद तिमल्सिना वडा नं. ६. रामशरण घिमिरे वडा नं. ७. कृष्ण बहादुर बल महाँकाल गाउँपालिका अध्यक्ष: बुद्ध बहादुर नंगी उपाध्यक्ष: बिमला आचार्य वडा नं. १ खुम प्रसाद गौतम वडा नं. २ संजय तामाङ वडा नं. ३ राजेन्द्र न्यासुर वडा नं. ४. माधव दुलाल वडा नं. ५. तुलसी बजगाई वडा नं. ६. माधव बन्जरा कोन्जोसोम गाउँपालिका अध्यक्ष: गोपीलाल सिंस्ताङ उपाध्यक्ष: मिन्मा लामा वडा नं. १ सन्तलाल तामाङ वडा नं. २ ध्रुव घिमिरे वडा नं. ३ उद्धव घिमिरे वडा नं. ४. कपिल लामा वडा नं. ५. सुबिन्द्र बल
चुनावबारे कैलालीका राजनीतिक दलहरुको मिश्रीत प्रतिक्रिया
लोकेश धामी ,कैलाली, वैशाख १३ । प्रदेश नम्बर सात सहित ४ वटा प्रदेशमा स्थानीय तहको चुनाव सार्ने सत्तारुढ दल र मधेसी दलहरुबीच भएको सहमतिप्रति केही दलले विरोध जनाए पनि केहिले भने चुनावी गतिविधि बढाउन समय पाएको प्रतिक्रिया दिएका छन् । चुनाव सार्ने निर्णयले मधेसी मोर्चा पनि चुनावमा आएको र यसले स्थानीय तहको चुनावमा सबैको सहभागिता हुने र शान्तिपूर्ण हुने देखिएको यहाँका कतिपय नेताहरुले बताएका छन् । सबैलाई मिलाएर चुनाव दुई चरणमा गर्नु सकारात्मक भएको नेपाली काँग्रेस कैलालीका सचिव पुर्ण कँवुरले बताए । उनले सबैलाई मिलाएर लैजाने गरि भएको निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै चुनाव केही दिन पर सरेपछि प्रचारप्रसारका लागि दलहरुलाई प्रर्याप्त समय मिलेको प्रतिकृया दिए । उनले राजनैतिक दलले जनताको घरदैलोसम्म जाने समय पाएको भए पनि जनतामा भने चुनाव नहुने हो की होईन भन्ने आशंका छाएको बताए । सरकारले चुनावको मिति सारेपछि जनताहरुमा चुनाव हुने÷नहुने भन्ने आशंका पैदा गराएको नेकपा एमालेका जिल्ला सचिव रणबहादुर चन्दले बताए । सत्ताको खेलका कारण चुनाव सारिएको भन्दै उनले चुनाव हुन नदिने खेल हो की भन्ने आशंका पैदा भएको उनको भनाई छ । उनले उम्मेदवारहरुलाई चाँही जनताको घरदैलोसम्म पुग्न प्रर्याप्त समय मिलेको बताए । नेकपा मोओवादी केन्द्रका केन्दिय सम्मेलन आयोजक समिति सदस्य रमेश धामीले सरकारले चुनावको मिति सारेर दलहरुलाई फाईदा नै भएको बताउँदै समय प्रशस्त मिलेका कारण चुनाव गतिविधि बढी भन्दा बढी गर्न समय मिलेको प्रतिकृया दिए । स्थानिय तहको पहिलो चरणको निर्वाचन बैशाख ३१ गते क्षेत्र नम्बर ३, ४, ६ तथा दोस्रो चरणमा जेठ ३१ गते १, २, ५ र ७ नम्बर प्रदेशमा गर्ने निर्णय सरकारले गरेको छ । दोस्रो चरणमा निर्वाचन गर्ने प्रदेशहरु जेष्ठ ५ गतेसम्मका लागि निर्वाचन गतिविधि रोकिएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहन प्रसाद अर्यालले बताए । उनले सबै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने भए पनि निर्वाचन गतिविधि जेठ ५ गतेपछि मात्रै सुचारु गरिने जानकारी दिए ।
चुनावको मिति घोषणासँगै डडेल्धुरावासी हर्षित
डडेल्धुरा, फागुन १२ । नेपाल सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै डडेल्धुराका स्थानीयवासी खुसी हुनाका साथै घोषणाको स्वागत गरेका छन् । दुई दशकपछि हुन लागेको स्थानीय निकायकोे चुनावको मिति घोषणा भएको भन्दै डडेल्धुरावासी खुसी भएका हुन् । झन्डै दुई दशकपछि स्थानीय जनप्रतिनिधि पाउनुका साथै नेपालको संविधान कार्यान्वयन हुने भन्दै जिल्ला सदरमुकामदेखि गाउँगाउँका स्थानीयवासी खुसी भएका अजमेरका पूर्वगााविस अध्यक्ष हिक्मतबहादुर ऐरले जनाएका छन् । नेपालको संविधान कार्यान्वयनको पहिलो आधारका रुपमा स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै चिया पसलदेखि बजारका चोकचोकमा स्थानीय छलफलमा व्यस्त रहेका छन् । तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गर्नसमेत डडेल्धुरावासीले माग गरेको वेलापुर गाविस–९ का समाजसेवी तथा किसान नेता धनबहादुर साउदले बताए । चुनावको मिति घोषणासँगै जिल्लाको गाउँगाउँमा समेत चुनावको चहलपहल बढेको छ । उम्मेदवार चयनका लागि जिल्लास्तरका राजनीतिक दलसमेत छलफलमा व्यस्त हुन थालेका छन् । लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न पाउने भन्दै डडेल्धुरावासी खुसी भएका गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष टेकराज पाण्डेयले बताएका छन् । साथै, जनप्रतिनिधिमा कस्लाई र कुन पार्टीको उम्मेदवारलाई भोट दिने भन्ने बारेमा समेत छलफल गर्न थालेका छन् । साथै, आन्दोलनको घोषणा गरेका मधेसवादी दललाई समेत लामो समयपछि हुन लागेको स्थानीय निकायको चुनावमा सहभागी गराउन ठूला राजनीतिक दललाई डडेल्धुरावासीले आग्रहसमेत गरेका छन् ।