गुटबन्दी नहोस्, भेला र छलफललाई स्वाभाविक रूपमा लिनुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महाधिवेशनमा भेला, छलफल हुनुलाई अन्यथा लिन नहुने बताएका छन् । उनले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा नेता–कार्यकर्ताबीच भेटघाट, छलफल हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीका सबै नेता–कार्यकर्ताले एकताबद्ध भएर महाधिवेशन सम्पन्न गर्ने संकल्प लिएको उल्लेख गरे । महाधिवेशनमा गुटबन्दी नहोस् भन्ने नेता–कार्यकर्ताको चाहना प्रशंसनीय रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा माधव नेपालको भनाइ पढ्नोस्–
पद भएन भने त कुनै संगठन नै रहँदैन । तपाईंको पत्रकार संगठनमा छैन पदहरू ? कम्युनिस्ट पार्टीमा पद चाहिँदैन ? त्यसो हुनाले पदको व्यवस्थापन स्वाभाविक रूपमा हुन्छ । सानो पार्टी हुन्छ, थोरै पदले काम चल्छ । पार्टी ठूलो हुँदै जान्छ, धेरै पदको आवश्यकता पर्छ । यसरी बुझे पनि भयो । त्यसो हुनाले पदको विषयलाई अन्य हिसाबले लिन जरुरी छैन । तपाईंले दोस्रो सोध्नुभयो, कहाँ–कहाँ भेला भइरहेको छ ? अनि, भेला नभएर के गर्छन् त, घरमा नै लुकेर बस्छन् त कोही ? बस्छन्, कुराकानीहरू हुन्छन् । छलफल हुन्छ । कोही रेस्टुराँमा जान्छन्, कोही होटेलमा जान्छन् । छलफल गर्दछन् । चिया खान्छन् । भेटघाट हुन्छ । यत्रा कार्यकर्ता छन् हामीकहाँ । देशभरिका कार्यकर्ता आउँदा त झन् ज्यादा होटेलका होटेलहरू पनि भरिएका होला । त्यो होटेलमा किन गए भन्नु त भएन । तपाईंहरूको भनाईंको अर्थ के हो भने गुटबन्दी नहोस् । नेताहरू मिलेर अघि बढून । गुटले धेरै ठूलो क्षति पुर्‍याएको छ। विगतमा पनि गुटले गर्दाखेरि कम्युनिस्ट आन्दोलनले ठूलो धक्का खानुपरेको छ । त्यो नहोस् भन्ने तपाईंहरूको सद्भाव, तपाईंहरूको सद्भावना, चाहना अवश्य पनि प्रशंसनीय छ । त्यसकारण तपाईंहरूलाई धन्यवाद पनि छ । हामी महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्प गरेका छौँ । नेता–कार्यकर्ताहरू त्यही दिशामा अघि बढिरहनुभएको छ । तयारीको काम लगभग अन्तिम, अन्तिम चरणमा पुगेको छ । कम खर्चमा यो समारोहलाई भव्यताका साथ सम्पन्न गर्ने योजनामा छौँ । 

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक जारी छ ।बैठकमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा.मुकुल ढकालले तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदनबारे छलफल गर्न असर १९ गते बुधबार केन्द्रीय समितिको बैठक बोलाएको बोलाएको छ। इलाममा सम्पन्न उपनिर्वाचनमा पार्टीको नराम्रो हारसँगै रास्वपाले देश भरका नेता तथा कार्यकर्ताको धारणा बुझेर प्रतिवेदन बनाउन महामन्त्री ढकाललाई कार्यादेश दिए अनुसार प्रतिवेदन बनाएर सभापति रवि लामिछानेलाई बुझाइसकेका छन्। बैठक असार १९ गते बिहान ८ बजेदेखि बस्ने महामन्त्री ढकालले जानकारी दिएका छन्।महामन्त्री ढकालले तयार गरेको प्रतिवेदनमा रास्वपाको जनमत कमजोर बनेको र अहिलेको जस्तै गरि अगाडि बढिरहेमा रास्वपा विवेकशील साझा पार्टीको बाटोमा जाने निष्कर्ष निकालेका छन्। उनले प्रतिवेदनमा पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथमा सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्य गर्नु हितकर हुने समेत सुझाव दिएका छन्।  महामन्त्री ढकालले आम कार्यकर्ताबाट व्यक्त भएका भावनालाई प्रतिवेदनमा समेटेको र यसलाई कार्यान्वयन गर्न आफूले नेतृत्वलाई आग्रह गर्ने बताएका छन्।  आफूले जन्माएको पार्टी भएका कारण आफूले प्रतिवेदनमा यथार्थ उल्लेख गरेको बताउँदै उनले यसका लागि आफ्नो महामन्त्री पद समेत जान सक्ने उल्लेख गरेका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संवाद बढाउन प्रमुख दल सहमत

काठमाडौँ । प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन सहमत भएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा रहेको विधेयकलाई अगाडि बढाउने सहमति भएको हो । प्रतिनिधिसभाको कानुन समितिमा विचाराधीन विधेयकका विवादित विषयमा छलफल गरी उपसमितिले अधिकांश विषयमा सहमति जुटाएको छ।समितिले शीर्ष सहमति खोजेको विषयमा पनि प्रमुख दलहरू सहमति नजिक पुगेका थिए । तर त्यही बेला सत्ता गठबन्धन फेरिएपछि यो विषय ओझेलमा परेको थियो । गठबन्धन फेरिए पनि प्रधानमन्त्री प्रचण्डले काँग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुबीच संवाद गरिरहेका थिए ।आजको बैठकले विधेयक अगाडि बढाउने र सहमति जुट्न नसकेका विषयमा सहजीकरण गर्न तीन दलले एकएक जना नेतालाई तोक्ने सहमति समेत गरेको छ ।

राजनीति नसुधारी अन्य क्षेत्र सुधार्न असम्भव : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको बताएकी छन् । बिहीबार काठमाडौंमा नेपाल साहित्यिक पत्रकार संघको १८औँ स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले राजनीति देशको मूल नीति भए पनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति भएको बताइन् । उनले राजनीति देशको माउ नीति भएको राजनीति नसुधारिकन अन्य क्षेत्र सुधार गर्छु भनेर सम्भव नरहेको बताइन् । उनले राजनीतिलाई सुधार गर्न सबैले सोच विचार गर्न आवश्यक रहेको बताइन् । मन्त्री शर्माले साहित्यिक क्षेत्रबाट पनि राजनीतिक सुधारका लागि आवश्यक काम हुुनपर्नेमा जोड दिइन् । उनले अहिले समाज भ्रष्टीकरणमा गइरहेको बताए । उनले सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारीलाई पूरा गर्नु सबै नागरिकको दायित्व भएको बताइन् ।  मन्त्री शर्माले भनिन्, “आज आएर राजनीतिभन्दा किन सबैले नाक खुम्च्याउने विषय बन्दैछ । आखिर राजनीति त देशको मूल नीति हो । यो माउ नीति हो । यो मुल नीति, माउ नीति नसच्चिएसम्म यो नसुध्रिकन अरु तमाम क्षेत्र सुधार्छु भनेर सम्भव छैन । त्यसकारण यसलाई कसरी सुधार गर्ने, कसरी अघि बढाउने भन्ने विषयमा हामी सबैले घोत्लिएर सोच्नुपर्ने हो कि । हिजो जसरी समाज परिवर्तनमा तपाईंहरुले हामीलाई हात समाएर डो¥याउनुभयो । त्यसैगरी आज पनि आवश्यकता छ । अहिले समाज जुन ढंगले स्खलित भएको छ, जसरी भ्रष्टीकरणमा जान खोज्दै छ । सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारी हाम्रो हो । साहित्य क्षेत्रमा लाग्नुभएका व्यक्तिहरुले प्ररित गर्नुपर्ने हुन्छ ।’  

एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष थप्ने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वरिष्ठ उपाध्यक्ष पद थप्ने भएको छ। बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो ।  अब नेकपा (एकीकृत समाजवादी)ले वरिष्ठसहित सात उपाध्यक्ष, सचिव सातदेखि ९ जनासम्म हुने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने छ। एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौंमा हुँदै छ। 

प्रमुख तीन दलका नेताहरू छलफलमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलगायत शिर्ष नेताहरुको वालुवाटारमा छलफल भैरहेको छ ।  शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको बिहीबार छलफल भएको हो।  'शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।' प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस् : सांसद पौडेल

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले आर्थिक वर्ष सकिने बेलामा असार महिनामा मात्रै विकास निर्माणको काम सम्पन्न गर्ने प्रवृत्ति रहेको बताएका हुन्। उनले अघिपछि बिस्तारै काम गर्ने र आर्थिक वर्ष सकिने बेलामा बिल फर्स्यौटका लागि छिटोछिटो काम सम्पन्न गर्ने गरिएको भन्दै त्यस प्रकारको प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। उनले यस्तो प्रवृत्ति अन्त्यका लागि सम्बन्धित मन्त्रालयहरूलाई ध्यानाकर्षण गराए। सांसद पौडेलले विपद् पूर्वतयारीमा सरकारको काम अपूर्ण रहेको भन्दै स्रोत, साधन र जनशक्तिको पर्याप्त व्यवस्थासहितको तयारी गर्न आग्रह गरे। उनले राजनीतिक दलका कार्यकर्ताहरूलाई पनि विपद् व्यवस्थापनमा परिचालन गर्नुपर्ने बताए। ‘‘असारे विकासको चर्चा दिनहुँ चल्ने गर्छ। अहिले बजेट पास हुने र अर्को सालको असारमा काम गर्ने र निर्माणका कामहरू, निर्माण व्यवसायीले पैसा नपाएको गुनासो गर्दै हिँड्ने र सम्बन्धित शीर्षकमा विनियोजन भएको बजेटको राम्रो भएपनि नराम्रो भए पनि छिटोभन्दा छिटो काम सम्पादन गरेर बिल फर्छ्यौट गर्नुपर्ने यो प्रणालीको अन्त्य गर्नको निम्ति सम्बन्धित मन्त्रालयको विशेष ध्यानाकर्षण गराउन चाहन्छु।,’’ सांसद पौडेलले भने, ‘‘बजेट कार्यान्वयन गर्न सम्बन्धित निकायले लिङगरिङ गर्नुहुँदैन। बाढी पहिरोले ठुलो जनधनको क्षति गरिरहेको छ । सरकारको तयारी अपूर्ण छ। पार्टीको कार्यकर्ताहरूलाई पनि तत्काल सम्बन्धित पार्टीहरूले निर्देशन दिनुपर्छ।’’ सांसद पौडेलले गृह मन्त्रालयले घटना हुनासाथ तत्काल उद्धार गर्न सकिने व्यवस्था गर्नुपर्ने बताए। उनले दुध र उखु किसानहरूको पैसा तत्काल भुक्तानी गर्न पनि सरकारलाई आग्रह गरे।

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। सङ्घीय संसद्अन्तर्गतको  प्रतिनिधि सभा बैठक सुरु भएको छ। बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने कार्यसूची रहेको छ। त्यस्तै,  सभामुख घिमिरेले संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने र प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर हुने कार्यसूची छ । यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभामा उत्पत्ति भएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदनसहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको आज सचिवालय बैठक बस्दैछ । दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठानिक दस्तावेजको टुंगो लगाइने स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । उनका अनुसार आजको बैठकमा पार्टीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारी, विभिन्न दस्ताबेज अनुमोदन तथा प्रतिनिधिको नामावली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा हुनेछ । असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्नेछ । एकीकृत समाजवादीले आसन्न राष्ट्रिय महाधिवेशनमा करिब दुई सय स्वयंसेवक परिचालन गर्ने भएको छ । पार्टी निकट राष्ट्रिय खेलकुद महासङ्घ, मजदुर सङ्गठन र भूतपूर्व सुरक्षाकर्मीलाई समावेश गरी स्वयंसेवक परिचालन कमिटी गठन गरिएको हो । महाधिवेशन स्थलको व्यवस्थापन, सबै प्रतिनिधि तथा विशिष्ट नेताको सुरक्षा, प्रतिनिधिलाई आवाससम्म लैजाने र ल्याउने, भीड व्यवस्थापन, शुभकामना दिन आउने विभिन्न पार्टीका नेतागण, पर्यवेक्षकलगायतको सुरक्षा व्यवस्थापनलगायत कामको जिम्मा दिइएको कमिटी संयोजक केशव विष्टले जानकारी दिए । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले मातहतका अन्य १३ कमिटीले गरेका सम्पूर्ण कामहरू महाधिवेशन केन्द्रित गर्न भनिएको छ । उक्त समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीले देशभरबाट एक हजार ८४९ प्रतिनिधि छनोट गरेको छ । छनोट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशत अर्थात् ९५ जना प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ। केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने जनाइएको छ ।

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ ।  प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।  सभामुखले विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८’ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।  ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  त्यसैगरी आज बस्ने राष्ट्रियसभाको बैठकमा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी गराउने, राष्ट्रियसभाका सचिवले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ ।  अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्ने र उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ । 

गोरखा मिडियामा रकम प्रवाह गर्ने सहकारीको विवरण माग

काठमाडौँ । सहकारीको रकम अपचलन, दुरुपयोग र हिनामिनाबारे छानबिन गर्न गठित विशेष छानबिन समितिले छानबिनका लगि तोकिएका अनुसूची २ का ९ वटा सहकारीको विवरण माग गरेको छ।  बुधबार बसेको समितिको बैठकले अनुसूची २ मा रहेका ९ वटा सहकारीका कागजात सम्बन्धित निकायबाट माग्ने निर्णय गरेको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए।  साथै बैठकले गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न सहकारीबाट प्रवाह भएको रकम सन्दर्भमा चासो केन्द्रित भएको सभापति थापाको भनाइ छ। उनले यसअघिका विभिन्न समितिहरूका प्रतिवेदनहरू प्राप्त भएको भन्दै ती प्रतिवेदनहरू समितिका सदस्यहरूलाई अध्ययनका निम्ति वितरण गरेको बताए।  सहकारीको समग्र विषयको अध्ययनलाई सम्पन्न गर्दै कार्यदेशले तोकिएअनुसार समितिले अध्ययन गरिरहेको भन्दै समिति सभापति थापाले सहकारीको घोटला प्रकरणको दुधको दुध पानीको पानी बनाउने बताए।

झलनाथले छोडे पार्टी अध्यक्षको दाबी, घनश्यामलाई समर्थन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन् । यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । तर बुधबार बिहान आफ्नै निवास डल्लु आएका भूसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएका हुन्। यता अध्यक्ष माधवकुमार नेपालले पनि पुनः नेतृत्वमा निरन्तर रहन प्रयत्न गरिरहेका छन्। अध्यक्ष नेपालले सर्वसम्मति नभएर चुनाव लडेर भएपनि नेतृत्वमा रहनेगरी तयारी गरिरहेका बेला खनालले महासचिव भूसाललाई अगाडि सारेपछि समाजवादीको नेतृत्व चयन रोचक हुने देखिएको छ । चार दिनपछि नयाँ नेतृत्व चयन गर्नेगरी सुरु हुने महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

एमालेका ३० नेता चीन प्रस्थान

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० सदस्यीय उच्चस्तरीय प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको छ। उक्त टोली १० दिने भ्रमणका लागि आज राति बेईजिङ प्रस्थान गरेको एमाले परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएका छन्।

समाजवादी आन्दोलनको नयाँ प्रवाह सुरू भयो :  झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी आन्दोलनको नयाँ प्रवाह सुरु भएको बताएका छन्।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै झलनाथ खनालले यस्तो बताएका हुन् । झलनाथ खनालले आफ्नो पार्टीले अघि सार्ने कार्यदिशा र कार्यक्रमले नयाँ प्रवाह ल्याउने बताए। उनले ठूलो लडाईं गर्नुपर्ने आवश्यकता अब नरहेको भन्दै सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्ने बताए। उनले सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्नेकुरा आफूहरुको कार्यभार रहेको बताए। झलनाथ खनालले महाधिवेशनले सहमतिका साथमा नीति र दृष्टिकोणका आधारमा नयाँ नेतृत्व निर्माण गरेर अघि बढ्ने बताए । उनले अब नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ तरंग सिर्जना हुने दाबी गरे। सम्मानित नेता खनालले दक्षिणपन्थी यथास्थितिवादका विरुद्धमा भूकम्प सिर्जना गर्ने बताए।