खराब सहकारीलाई कारबाही र राम्रोलाई प्रोत्साहन गर्ने सरकारको नीति छ : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले खराब सहकारीलाई छानविन गरी कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताएका छन् ।बिहीबार विनियोजित मन्त्रालयत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्न दिँदै मन्त्री अधिकारीले यस्तो बताएका छन् ।

मन्त्री अधिकारीले पछिल्लो समय सहकारीमा देखिएका बेथितिहरु सहकारीको मर्म भावना र उद्देश्य अनुरुप काम नगरेर व्यापारको रुपमा काम गरेको विषयलाई मध्येनजर गर्दै एक व्यक्ति एक सहकारी सदस्य रहने कानूनी व्यवस्था गरेको बताए। उनले सहकारीका अहिले देखिएको विचलनले सबै सहकारी एकै हुन् भन्ने भ्रम परेको बताए।

मन्त्री अधिकारीले खराब सहकारीलाई छानविन गरी कारबाही गर्ने र सहीलाई प्रोत्साहन गरेर जाने प्रक्रियामा ध्यान सरकारको रहेको बताए। उनले केन्द्र सरकारसँग देशभर १४५ र २७ सय बढी सहकारी प्रदेशमा तथा बाँकी स्थानीय तहमा दर्ता रहेको बताए। उनले स्थानीय तहमा दर्ता भएका स्थानीय तह, प्रदेशमा दर्ता भएकालाई प्रदेश सरकारले नियमन गर्ने भएकाले केन्द्र सरकारले नियमन हेर्न नमिल्ने भएकाले सबैलाई नियमन गर्नेगरी अधिकार सम्पन्न प्राधिकरण बनाउने प्रक्रिया अगाडि बढाएको बताए। उनले अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि कार्यविधि बनाएर अगाडि बढाउने बताए। उनले भूमि सम्बन्धि एकीकृत ऐन ल्याउन जरुरी रहेको बताए।

मन्त्री अधिकारीले काम गर्न खोज्दा अन्तरमन्त्रालय बाझिएर काम गर्न नसकिएको भन्दै भूमि सम्बन्धि अहिलका समस्या समाधान गर्न एकिकृत ऐन ल्याउन जरुरी रहेको बताए। उनले सहकारीमा देखिएका समस्या समाधान गर्न सहकारी ऐन ल्याउन जरुरी रहेकाले ऐनको मस्यौदा तयार बनाउने काम सरकारले गरिरहेको बताए।

टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले टिकापुरमा जनधनको अपुरणीय क्षति भएको बताएका हुन्। “टिकापुर घटना एउटा दुखद घटना हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो,” प्रधानमन्त्री प्रचण्डले भने, “घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुन बमोजिम नै हुनेछ ।” कैद माफि मिनाहाको विषय पनि कानुन बमोजिम नै हुने उनले स्पष्ट पारे । थारुलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोही आधारमा आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमार्फत सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । “सरकारले आवधिक बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन, बजेट तर्जुमा दिग्दर्शन एवं प्रणाली अनुरूप छलफल तथा स्वीकृति गर्ने प्रकृयामा सबै जनप्रतिनिधिको अहम भूमिका रहनेमा दुईमत छैन”, प्रधानमन्त्रीले भने। सङ्घीय संसदमा नीति तथा कार्यक्रममा पर्याप्त छलफल भएर बजेट निर्माण हुने अपेक्षा गरिए पनि संसदको कार्यवाही नियमित हुन नसक्दा नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रक्रियामा अपेक्षा गरेबमोजिम रुपान्तरण हुन नसके बताउँदै उहाँले नीति तथा कार्यक्रमका विषय सम्बन्धित सबै पक्षसँग गहन छलफल गरी बजेटमा तादाम्यता कायम गरेको बताए। प्रधानमन्त्रीले सङ्घीयता र गणतन्त्रको रक्षा एवं संविधानले निर्दिष्ट गरेका मार्गचित्र बमोजिम सबै भौगोलिक क्षेत्र, वर्ग र समुदायको समानुपातिक, सन्तुलित र समन्यायिक विकास, सुशासन एवं समृद्धिलाई मुख्य आधार लिएर बजेट तर्जुमा गरिएको विषय बजेटका प्राथमिकता तथा क्षेत्रगत विनियोजनबाट प्रष्ट हुने जानकारी दिए। ‘शिक्षा क्षेत्रमा रुपान्तरणको लक्ष्य लिइएको छ’प्रधानमन्त्री प्रचण्डले देशैभरी गम्भीरतासाथ शिक्षा क्षेत्रमा रुपान्तरण गर्ने लक्ष्य लिएको बताए। उनले शैक्षिक सूचकाङ्कमा पछाडि परेका मधेस प्रदेशमा शैक्षिक गुणस्तर सुधारका लागि सरकार गम्भीर रहेको स्पष्ट पारे। शिक्षातर्फ वित्तीय हस्तान्तरणमार्फत मधेश प्रदेशका स्थानीय तहमा २० अर्ब ४४ करोड बजेट व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले जुन शिक्षातर्फ स्थानीय तहमा दिइएको सशर्त अनुदानको १५ प्रतिशत भएको स्पष्ट पारे। विद्यालय भवन निर्माणका लागि वित्तिय हस्तान्तरण तर्फको २ अर्ब ५३ करोडमध्ये १ अर्ब २ करोड रकम मधेशका स्थानीय तहहरूका लागि छुट्टयाइएको जानकारी दिँदै उनले यसका अतिरिक्त आगामी आर्थिक वर्षको बजेटमा साक्षर भैसकेका स्थानीय तहका लागि आजीवन सिकाइ कार्यक्रममार्फत बजेट प्रवाह भएको उल्लेख गरे। “सरकारले मधेश मात्रै नभएर देशैभरी गम्भीरतासाथ शिक्षा क्षेत्रमा रुपान्तरणको लक्ष्य लिएको छ,” प्रधानमन्त्रीले भने, “जातीय,  लैगिक लगायतका विभेदका कारण उपेक्षित तथा उत्पीडित समुदायको शिक्षामा पहुँच कायम गर्न छात्रवृति, दिवाखाजालगायत कतिपय विशेष कार्यक्रम कार्यान्वयनमा रहेका र आगामी आर्थिक वर्षको बजेटमा थप कार्यक्रमसमेत तर्जुमा गरिएका छन् ।” उनले  शैक्षिक वातावरण सुधारका लागि समुदाय, राजनीतिक दल, नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहने भएकाले त्यसतर्फ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन्। सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सो जानकारी गराएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा भाग लिन मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्डले गत जेठ २७ र २८ गते भारतको भ्रमण गर्नुभएको हो । उक्त भ्रमण कुनै पूर्वनिर्धारित कार्यसूचीका आधारमा नभई फरक ढङ्गको भएको उनले स्मरण गराए। प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम संसदमा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री दाहालले दिए। आजकै बैठकमा विनियोजन विधेयक, २०८१ माथि भएका छलफलमा क्रममा उठेका प्रश्नमाथि विभिन्न आठ मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं ।संघीय संसदको प्रतिनिधिसभा बैठक शुरु भएको छ । आजको बैठकमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रश्नोत्तर हुँदैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।  वर्णानुक्रमअनुसार सांसदहरूले यसघि नै टिपाएका प्रश्न सोध्नेछन् भने प्रधानमन्त्रीले ती प्रश्नको जवाफ दिनेछन्। जवाफ चित्त नबुझेमा एक पटकका लागि स्पष्टिकरण प्रश्न सोध्न पाउने व्यवस्था पनि छ। 

राजनीतिक परिवर्तनमा महिलाको ठूलो योगदान छ : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिक परिवर्तनमा महिलाको ठूलो योगदान रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्। उनले आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरुको अग्रणी भुमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ्न सक्ने बताए। सभापति देउवाले महिलालाई अहिले समावेशी, समानुपातिकको रुपमा ठाउँ दिइएको उल्लेख गर्दै महिलाहरुको भुमिका अझ बढी र प्रभावकारी, सशक्त हुने विश्वास व्यक्त गरे। उनले नेपाली काँग्रेसभित्र महिलाहरुमा अन्तरघातको रोग रहेको जिकिर गर्दै पार्टीमा अन्तरघातको रोगबाट मुक्त गरेको खण्डमा महिलालाई अझ बढी मौका मिल्ने विश्वास व्यक्त गरे। सभापति देउवाले अहिले संसारभर नै महिलाहरुको अधिकार, समावेशीकरण, समानुपातिक विकासका लागि आवाज उठिरहेको र नेपालमा महिला राष्ट्रपति विद्यादेवी भण्डारी भइसकेको उल्लेख गर्दै उहाँ जस्तै योग्य बन्न आग्रह गरे। उनले निर्वाचनमा पार्टीबाट महिलालाई सिटको व्यवस्था गर्न आफूसँग कुरा गरेको उल्लेख गर्दै नेपाली काँग्रेसले उठाएका उम्मेदवारहरु चुनावमा पराजय हुने भएकाले पराजय हुने कुरालाई कसरी जित दिलाउने भन्नेतर्फ सोच्न आग्रह गरे। ‘महिलाहरुको धेरै ठूलो योगदान रहेको छ, नेपाली राजनीतिक परिवर्तनमा । भोलिको दिनमा नेतृत्व विकासमा पनि महिलाहरुको अग्रणी भुमिका रहेको खण्डमा सबै ठाउँमा महिलाहरुलाई अहिले समावेशी, समानुपातिकको रुपमा महिलाहरुलाई ठाउँ दिइएको छ। त्यसले गर्दा महिलाहरुको भुमिका अझ बढी र प्रभावकारी, सशक्त हुने कुरामा मलाई विश्वास छ । महिलाहरुलाई हाम्रो पार्टीमा अन्तरघातको रोग छ। यसबाट मुक्त गराउनसके महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास लिएको छु ।’ सभापति देउवाले भने। सभापति देउवाले भने, ‘अहिले संसारभर नै महिलाहरुको अधिकारका लागि महिलाहरुको समावेशीकरणका लागि, समानुपातिक विकासका लागि संसारभर नै एउटा आवाज उठेको छ। त्यही हिसावमा नेपालमा पनि महिला राष्ट्रपति समेत नेपालमा हुनुभएको छ। विद्या भण्डारीजी दुई पटक हुनुभएको छ। भोलिका दिनमा पनि यस्तै ठाउँहरु महिलाहरुले पाउनु हुनेछ। महिलाहरुले त्यस किसिमको योग्य र सक्षम र सबै किसिमको तयारीका साथ अघि बढ्नुपर्छ। महिलाहरुको कुरा उठेको छ। केही महिलाहरुलाई सिटको व्यवस्था गर्नुपर्छ, चुनावमा नत्र समस्या पर्छ भन्नेकुरा छ। त्यो गरेर जान सकिने कुरा हो तर हाम्रो त महिला हारिहाल्छ समस्या पर्छ के। अरु पार्टीका महिला जित्ने हाम्रोका हार्ने। त्यो कसरी हार्न नदिने र पार्टीलाई महिला कसरी जिताउने भन्ने किसिमको तयारी गर्नुपर्छ। महिला सशक्तिकरणको अभियान तपाईंहरु अघि बढाउनुस्।’ सभापति देउवाले महिला सशक्तिकरणको अभियानलाई अघि बढाउन आग्रह गरे।

बागमती प्रदेशको बजेटमाथि आजदेखि छलफल

हेटौँडा । बागमती प्रदेशसभा बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे सुरु हुनेछ। बैठकमा आजदेखि आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटमाथि छलफल सुरु हुनेछ। प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमाथि छलफल हुने बताए। असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ। यही असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षका लागि लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गरेका थिए।

प्रतिनिधिसभा बैठक : सांसद्का प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा बैठकमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रश्नोत्तर हुँदैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।  वर्णानुक्रमअनुसार सांसदहरूले यसघि नै टिपाएका प्रश्न सोध्नेछन् भने प्रधानमन्त्रीले ती प्रश्नको जवाफ दिनेछन् । जवाफ चित्त नबुझेमा एक पटकका लागि स्पष्टिकरण प्रश्न सोध्न पाउने व्यवस्था पनि छ ।  आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले जवाफ दिने कार्यसूची छ। त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले आ—आफ्ना मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेछन्।

गृहमन्त्री र सिचुवान प्रान्तका उपगर्भनर हनविङ्गबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगर्भनर ये हनविङ्गबीच भेटवार्ता भएको छ। बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो। भेटवार्तामा सुरक्षा क्षेत्रमा सामूहिक सहभागीता, विपद जोखिम न्यूनिकरण र पूर्वाधार क्षेत्रकमाथि केन्द्रित वर्षौं पुरानो सम्बन्धमाथि छलफल भएको थियो । उपगर्भनर ये हनविङ्ग सुरक्षा सम्बन्ध मजबुत बनाउन र द्वीपक्षीय सहकार्य बढाउन सहमत भएको गृहमन्त्रालयले जनाएको छ । विपद व्यवस्थापन सम्बन्धी सहमतिको कार्यन्वयन, नेपाली सुरक्षा निकायलाई सहयोग र सुदृढ सीमा व्यवस्थापनका विषयमा विशेष पनि कुराकानी भएको बताइएको छ । मन्त्रालयका अनुसार गृहमन्त्री लामिछानेले नेपालको पूर्वाधार विकास क्षेत्रमा चिनियाँ लगानीप्रति कृतज्ञता व्यक्त गरेका थिए।

विपद् जोखिम न्यूनीकरण गर्न समयमै सही सूचना दिने व्यवस्था मिलाउन मन्त्री शर्माको आग्रह

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बाढी पहिरो लगायत विपद् जोखिम न्यूनीकरण गर्न आम नागरिकलाई समयमै सही सूचना दिने व्यवस्था मिलाउन माताहतका निकाय तथा सरोकारवालाहरुलाई आग्रह गरेकी छन् । मनसुनजन्य विपद्का घटना बढ्न थालेको बेला इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर (ईटिसी)को बैठक आव्हान गरेर मन्त्री शर्माले सबैलाई तयारी अवस्था रहन आग्रह गरेकी हुन् । उनले आफ्ना सबै संरचनाहरु तयारी हालतमा राखेर नागरिकलाई तत्काल सूचना दिने गरी पूर्वतयारी थाल्ने सरोकारवालाहरुलाई आग्रह गरे । ‘आपतकालीन अवस्थामा सञ्चार नै प्रमुख कुरा हो, समयमै सही सूचना भयो भने एकातिर जनधनको क्षति रोक्न सकिन्छ भने अर्कोतिर उद्धार, उपचार र राहतका काम पनि प्रभावकारी बनाउन सकिन्छ’– उनले भने– ‘विपद्को बेलामा सञ्चार पूर्वाधारमा कुनै समस्या आउन नदिएर सेवा प्रवाह गर्ने र आवश्यक सूचना प्रचारप्रसार गरेर क्षति न्यूनीकरण गर्ने पनि सञ्चार क्षेत्र नै भएकाले यो क्षेत्र थप गम्भीर र संवेदनशील हुन आवश्यक छ ।’ विपद्का घटना हुनुअघि पूर्व सूचना दिने र स्वयं सञ्चारसम्बद्ध निकाय तथा संस्थाहरुले आफूलाई विपदबाट बचाएर सेवा प्रवाह गर्ने दुबै तरीकाले सोच्नुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले हरेक निकायले आपतकालीन उद्धार समूहहरु बनाएर अघि बढ्नुपर्ने बताइन्। टेलिफोन र इन्टरनेट सेवा प्रदायकहरुलाई संभावित जोखिमस्थलहरुको पहिचान गरेर घटनापछि सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्थापन गर्न आग्रह गरिन्।  नेपाल विपद्का हिसाबले विश्वमै जोखिमयुक्त मुलुक भएकाले एउटा विपदबाट बच्ने तयारी गरिरहँदा अर्को विपद आउनसक्ने भएकाले दीर्घकालीनरुपमा नै विपद्बाट बच्नका लागि सञ्चार व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिइन् । उनले यस्तो अवस्थामा आम सञ्चारका माध्यमको सबैभन्दा प्रभावकारी भूमिका हुने र त्यसमा पनि अझ जस्तो विपद्को बेलामा पनि सुन्न सकिने रेडियोहरुले क्षणक्षणमा सही सूचना दिनुपर्ने बताइन्। यसका लागि सरकारले के गर्नुपर्ने, सरकार माताहतका सञ्चार क्षेत्रले के गर्नुपर्ने, निजी क्षेत्रका सेवा प्रदायक र सामुदायिक तथा निजी क्षेत्रका सञ्चारमाध्यहरुले के गर्नुपर्ने भन्ने विषयमा छलफल गरेर ठोस तयारीका लागि इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टरको बैठक बोलाइएको जानकारी दिंदै उनले सबै क्षेत्रले आ–आफ्नो तर्फबाट राम्रै तयारी गरेको भए पनि यसलाई एकीकृत र समन्वयकारी रुपमा अघि बढाउन आवश्यक रहेको बताइन्। संकटको बेलामा सरकार, समुदाय, गैरसकारी र निजी क्षेत्रको बीचमा कुनै भिन्नता नहुने स्पष्ट गर्दै सबै एकीकृत रुपमा आधारित तथा सही सूचनाका आधारमा अघि बढ्नुपर्नेमा मन्त्री शर्माले जोड दिए। बैठकमा दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलका प्रमुख तथा प्रतिनिधिहरुले बाढी पहिरोको जोखिमस्थल क्षेत्रका सेवाग्राहीलाई विपद जोखिमको सूचना दिन एसएमएस गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका थिए । त्यस्तै सरकारी स्वामित्वका सञ्चारमाध्यम, अकोराब, बानलगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले विपद्जन्य जोखिमबाट बच्नका लागि सचेतनाका कार्यक्रम र सूचनाहरु नियमित रुपमा प्रवाह गरिरहेको बैठकमा जानकारी गराएका थिए ।

कांग्रेस संसदीय दलको बैठक शुक्रबार

काठमाडौँ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक यही असार ७ गते शुक्रबार बस्ने भएको छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हल नयाँ बानेश्वरमा अपराह्न ३ः०० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ।

चीनको चेतावनीबीच अमेरिकी टोलीले भेट्यो दलाई लामा

काठमाडौं। चीनको विरोधका बाबजुद अमेरिकी कंग्रेसको उच्चस्तरीय प्रतिनिधिमण्डलले बुधबार चीनका धार्मिक नेता दलाई लामालाई भारतमा भेट गरेको छ। अमेरिकी कंग्रेसमा विदेश मामिलासम्बन्धी समितिका रिपब्लिकन सभापति माइकल म्याककाउलको नेतृत्वको सो टोलीमा पूर्वसभामुख न्यान्सी पेलोसी समेतका सातजना सामेल थिए । दलाई लामालाई भेट्न टोली मंगलबार भारतको हिमाञ्चल प्रदेश पुगेको थियो । लामा त्यही धर्मशालामा सन् १९६० को दशकदेखि बस्दै आएका छन् । अमेरिकी प्रतिनिधिमण्डलले तिब्बतको प्रवासी सरकारको कार्यालय समेत भ्रमण गरेको थियो । सो कार्यालयले तिब्बतलाई चीनबाट स्वायत्त बनाउनका लागि भूमिका खेल्दै आएको छ । चीनले अमेरिकी कंग्रेस प्रतिनिधिमण्डलले दलाई लामासँग भेट्नुअघि नै कडा वक्तव्य जारी गरेर तिब्बतको मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको थियो । द सेटल टाइम्स

राष्ट्रपतिद्वारा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनीसँग आग्रह

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनी सरकारसँग आग्रह गरेको बताएका छन्। जर्मनी भ्रमणका क्रममा उनले जर्मनीका राष्ट्रपति डा.फ्रैङ्क–वाल्टर स्टाइनमायेरसँगको भेटमा यस्तो आग्रह गरेका हुन् । बुधबार बिहान स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको स्विट्जरल्याण्ड र जर्मनी भ्रमणबारे जानकारी गराउँदै परराष्ट्रसचिव सेवा लम्सालले जर्मनी भ्रमणका क्रममा राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सर्भिस सुचारु गर्न र युरोपेली आकाशमा रहेको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गरेको जानकारी दिइन्। उनले भनिन्, ‘‘जर्मनीका महामहिम राष्ट्रपतिलाई नेपाल भ्रमणको औपचारिक भ्रमणका लागि निमन्त्रणा गरे। जर्मनीसँग भएको भेटमा लुफ्थान्सा एयरलाइन्सको सर्भिस सुचारु गर्न र युरोपेली आकाशमा रहेको प्रतिवन्ध फुकुवा गर्न अनुरोध गर्नुभएको छ । दुईपक्षीय सम्बन्ध थप सुदृढ र मजबुत बनाउन थप मद्दत पुगेको छ ।’’ परराष्ट्रसचिव लम्सालले जर्मन भ्रमणमा जर्मनीका राष्ट्रपति स्टाइनमायरसँग दुई पक्षीय भेटवार्ता भएको र विकास सहयोग, व्यापार, लगानी, पर्यटन, व्यवसायिक तालिममा केन्द्रित हुँदै दुवै पक्षबाट नेपाल–जर्मन सम्बन्धका सम्पूर्ण पक्षहरुमा छलफल भएको बताइन्। ‘‘नेपाल—स्विट्जरल्याण्ड सम्बन्धका विविध पक्षमा छलफल गर्नुभयो । दुईपक्षीय सम्बन्धको विद्यमान अवस्थाका बारेमा सन्तोष व्यक्त गर्नुभयो । नेपाल र स्विट्जरल्याण्डबिच विकास सहयोग, उच्चस्तरिय भ्रमणको आदनप्रदान, सांस्कृतिक एवम् जनस्तरको सम्बन्ध विस्तार लगायतका दुईपक्षीय सम्बन्धका सबै पक्षमा कृषि, उर्जा तथा दिगो पर्यटन विकासका क्षेत्रमा लगानीका सम्भावना तथा जलवायु परिवर्तनका नकारात्मक असरहरु विरुद्ध लड्ने र पर्वतीय पर्यावरण बचाउने विषयमा छलफल केन्द्रित भयो ।,’’  सचिव लम्सालले भनिन्, ‘‘राष्ट्रपतिले नेपालको सामाजिक, आर्थिक विकास, सङ्घीयताको कार्यान्वयन र शान्ति प्रक्रियामा गरेको सहयोगका लागि स्विट्जरल्याण्ड सरकारलाई धन्यवाद दिनुभयो । स्विट्जरल्याण्डका महामहिम राष्ट्रपतिले नेपाल समृद्धितर्फ अघि बढिरहेकोमा सन्तोष व्यक्त गर्नुभयो ।’’ कृषि, पर्यटन र जलस्रोत लगायतका विकास प्राथमिकताका बारेमा प्रकाश पार्दै यी क्षेत्रमा जर्मनीको सहयोग र लगानीका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्नुभएको उनले बताइन्। त्यस्तै स्विट्जरल्याण्डको भ्रमणका क्रममा भियोला एमहर्डसँग भेटवर्ता गरेका थिए । भेटका क्रममा नेपाल—स्विट्जरल्याण्ड सम्बन्धका विविध पक्षमा छलफल भएको सचिव लम्सालले बताइन्। उनले दुवै पक्षबाट दुई पक्षीय सम्बन्धको विद्यमान अवस्थाका बारेमा सन्तोष व्यक्त गरिएको जानकारी दिए। नेपाल र स्विट्जरल्याण्डबिच विकास सहयोग, उच्चस्तरिय भ्रमणको आदनप्रदान, सांस्कृतिक एवम् जनस्तरको सम्बन्ध विस्तार लगायतका दुईपक्षीय सम्बन्धका सबै पक्षहरुमा कृषि, उर्जा तथा दिगो पर्यटन विकासका क्षेत्रमा लगानीका सम्भावना तथा जलवायु परिवर्तनका नकारात्मक असरहरु विरुद्ध लड्ने र पर्वतीय पर्यावरण बचाउने विषयमा छलफल केन्द्रित भएको बताए। ‘‘उहाँले जनस्तरमा विस्तारित सम्बन्ध, दुई मुलुकबिचको भौगोलिक समानता तथा उच्चस्तरीय भ्रमण आदानप्रदान लगायतका विषयमा आफ्ना धारणा राख्नुभयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिले स्विट्जरल्याण्डका महामहिम राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिनुभयो । असार १ गते राष्ट्रपतिले जर्मनीको बलिन भ्रमण गर्नुभयो । असार ३ गते राष्ट्रपतिले जर्मनीका राष्ट्रपति महामहिम डा। फ्रयांक वाल्टर स्टाइनमायरसँग दुई पक्षीय भेटवार्ता गर्नुभयो । राष्ट्रपतिको सम्मानमा गार्ड अफ अनर दिइएको थियो ।,’’ उनले भनिन्, ‘‘दुई पक्षीय भेटवार्ताको क्रममा विकास सहयोग, व्यापार, लगानी, पर्यटन, व्यवसायिक तालिममा केन्द्रित हुँदै दुवै पक्षबाट नेपाल–जर्मनी सम्बन्धका सम्पूर्ण पक्षहरुमा छलफल भयो । कृषि, पर्यटन र जलस्रोत लगायतका विकास प्राथमिकताका बारेमा प्रकाश पार्दै यि क्षेत्रमा जर्मन सहयोग र लगानीका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्नुभयो । दुवै देशका प्रमुखले जलवायु परिवर्तन, अल्पविकसित मुलुकबाट नेपालको स्तरोन्नति, कानुनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था तथा साझा चासोका क्षेत्रहरुमा संयुक्त राष्ट्रसङ्घलगायतका बहुपक्षीय मञ्चहरुमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल गर्नुभयो ।’’ उनले स्विट्जरल्याण्डका राष्ट्रपतिसँगको भेटमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक, आर्थिक विकास, सङ्घीयताको कार्यान्वयन र शान्ति प्रक्रियामा गरेको सहयोगका लागि स्विट्जरल्याण्ड सरकारलाई धन्यवाद व्यक्त गरेको बताइन्। स्विट्जरल्याण्डका राष्ट्रपतिले नेपाल समृद्धितर्फ अघि बढिरहेकोमा सन्तोष व्यक्त गरेको बताइन्। दुवै देशका राष्ट्रपतिसँगको भेटमा पौडेलले दुवै देशका राष्ट्रपतिलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएको पनि सचिव लम्सालले जानकारी दिइन् ।

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । प्रतिनिधिसभा बैठक जारी छ ।जारी बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ।कार्यसूचीमा उल्लेख भएअनुसार सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तंगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने छन् ।

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किएका छन् । राष्ट्रपति बुधबार बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै स्वदेश आइपुगेका हुन् ।  राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ लगायतको उपस्थिति रहेको थिय।  राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते काठमाडौंबाट प्रस्थान गरेका थिए। राष्ट्रपतिमा निर्वाचित भएपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो। 

भौतिक मन्त्रालयको बजेटप्रति सांसदहरू रुष्ट

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटप्रति सांसदहरूले रोष व्यक्त गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८१ माथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले भौतिक पूर्वाधारमन्त्रीले एकलौटी ढङ्गले आफ्नो क्षेत्रमा केन्द्रित बजेट विनियोजन गरी विभेद गरेको आरोप लगाएका छन्। पहुँचका आधारमा बजेट बाँडिएको र विनियोजनमा विभेद भएको भन्दै सत्तापक्षकै सांसदहरुले पनि प्रश्न उठाए। सांसद तेजुलाल चौधरीले मधेस प्रदेशका जिल्लामा बजेट विनियोजनमा विभेद भएको तथा मधेस, कर्णालीलगायतका क्षेत्रलाई उपेक्षा गरिएको बताए। उनले सञ्चालित आयोजना र बोलपत्र आह्वान प्रक्रियामा रहेका आयोजनाको पनि बजेट काटिएको गुनासो गरे। सांसद चौधरीले सप्तरीमा एउटा पनि योजनाका लागि बजेट विनियोजन नभएको भन्दै बजेटको रातो किताब फिर्ता गरे। सांसद प्रभु हजाराले मधेस प्रदेशमा तुलनात्मक रुपमा बजेट बढी विनियोजन भएको जिकिर गरे। उनले बजेट जनताको पक्षमा रहेपनि यसलाई सन्तुलित र वस्तुनिष्ठ बनाउन जरुरी भएको बताए। सांसद पूर्णबहादुर तामाङले भने, “समयमै विकास बजेट कहाँ–कहाँ लाने भनेर छलफल गरेको भए आज बजेटको किताब च्यात्ने र किताब बुझाउने परिस्थिति आउने थिएन होला। भौतिक पूर्वाधारमन्त्रीले आफ्नो जिल्लामा बजेट केन्द्रित गर्नुभएको छ।” सांसद ऐनबहादुर शाही ठकुरीले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले सडक पूर्वाधारले नछोएको जिल्लामासमेत बजेट विनियोजन नगरेर विभेद गरेको आरोप लगाए। सांसद रामकृष्ण यादवले सीमा सुरक्षार्थ खटिने प्रहरीको सेवा सुविधालाई ध्यान दिन माग गरे। उनले हुलाकी राजमार्ग चाँडो कालोपत्र गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद बद्रीप्रसाद पाण्डेले समन्यायिक विकासमाथि प्रहार गर्ने काम बजेटले गरेको तर्क गरे। उनले दुर्गम र पछाडि परेका क्षेत्रलाई बजेटले सम्बोधन नगरेकाले देशलाई समृद्धिको बाटोमा लैजान बजेट सक्षम नहुने बताए। सांसद महेश बर्तौलाले मकवानपुरको विकासलाई बजेटले प्राथमिकता दिन नसकेको गुनासो गरे। चित्लाङ–थानकोट सडकमार्ग चाँडो निर्माण सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गर्न माग गरे। राष्ट्रिय गौरवको आयोजना भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणलाई गति दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। खुला सिमानामा तारबार लगाएर सीमालाई सुरक्षित बनाउन गृहमन्त्रीको ध्यानाकर्षण गराए। सांसद लीलादेवी बोखिम लिम्बूले प्राथमिकताप्राप्त आयोजनालाई बजेटले प्राथमिकता दिनुपर्ने बताए। 

रुसी राष्ट्रपति पुटिनलाई किमद्वारा उत्तर कोरियामा स्वागत

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमणमा निस्केका छन् । पुटिनलाई उत्तर कोरियाली नेता किम जोङ उनले स्वागत गरेका छन् । मध्यरातमा प्योङयाङ पुगेका पुटिनलाई नेता किमले सुनाम अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। प्योङयाङमा पुटिनको स्वागतमा सांस्कृतिक कार्यक्रम र सैन्य परेडको तयारी गरिएको छ । यस्तै, किम इल सुङ स्क्वायरमा सैन्य परेडका लागि भव्य तयारी गरिएको छ । त्यस पछि कूटनीतिक वार्ता हुनेछ । वार्तामा अर्थ तथा सैन्य सम्बन्धका विषयमा गहन छलफल र केही सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको बीबीसीले जनाएको छ । यस्तै, आजै अर्थोडक्स चर्चको भ्रमण लगायतका कार्यक्रमहरु पनि रहेका छन् । यी दुई नेताबीच पछिल्लो पटक सेप्टेम्बरमा सुदूर पूर्वी रुसमा भेट भएको थियो । तर सन् २००० पछि पुटिनको प्योङयाङको यो पहिलो भ्रमण हो।