राष्ट्रपति पौडेल दोहाबाट जेनेभा प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुने सिलसिलामा आज बिहान कतारको राजधानी दोहाबाट त्यसतर्फ प्रस्थान गरेका छन् ।  

मंगलबार राति दोहा पुगेको राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डललाई हमाद इन्टरनेसनल विमानस्थलमा कतारका लागि नेपालका राजदूत नरेशविक्रम ढकाल, कतारी विदेश मन्त्रालय र नेपाली राजदूतावासका कर्मचारीले बिदाइ गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 


राष्ट्रपति पौडेलले आज स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भोलि ९बिहीबार० उनले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् । भोलि नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ०का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट बर्लिनतर्फ प्रस्थान गर्नेछन् । संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टाइनमायेरको निमन्त्रणामा राष्ट्रपति पौडेल जर्मनीको औपचारिक भ्रमणमा जान लागेका हुन् । उनले असार ३ गते आफ्ना जर्मन समकक्षीसँग औपचारिक वार्ता गर्नेछन् । 

जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्स्टिच्युट, जर्मन रिसर्च फर जियो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ । साथै सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

असार २ गते गैरआवासीय नेपाली संघ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा उनले जर्मनीमा रहेका नेपालीलाई सम्बोधन गर्नेछन् ।  

राष्ट्रपतिले असार ३ गते जर्मनी ‘ट्रेड एण्ड इनभेष्ट’मा आबद्ध उद्योगी व्यापारीसँग भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कनेछन् । 

चीनसँग सीमा र पाकिस्तानसँगको आतंकवाद मुद्दा समाधान गर्ने जयशंकरको विश्वास

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले दोस्रोपटक विदेश मन्त्रालयको कार्यभार सम्हालेपछि दुई छिमेकी चीन र पाकिस्तानसँगको सम्बन्धका बारेमा प्रतिक्रिया दिएका छन् ।  जयशंकरले समाचार संस्था एएनआईसँग भनेका छन्, “खासगरी लोकतन्त्रमा कुनै पनि सरकार लगातार तीन पटक बन्छ भने यसले यो सन्देश दिन्छ कि– भारतमा राजनीतिक स्थिरता छ। जनता आफ्नो प्रधानमन्त्रीमाथि विश्वास गर्छन्।”  सो क्रममा विश्वसामु भारतको हित अगाडि बढाउने दाबी उनले गरे । “चीन र पाकिस्तान अलग देश हुन्। उनीहरूसँगको सम्बन्ध अलग छ। समस्या पनि अलग छन् । चीनसँग सीमासम्बन्धी केही मुद्दा बाँकी छन् । समाधान गर्ने हामी कोसिस गरिरहेका छौँ । पाकिस्तानसँग वर्षौंदेखि सीमा आतंकवाद मुद्दा छ । हेरौँ हामी यसको समाधान कसरी गर्छौँ,” जयशंकरले भने । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार जयशंकरलाई मन्त्री नियुक्त गरेका थिए। सोमबार मोदीले उनलाई दोस्रोपटक विदेशमन्त्रीको जिम्मेवारी दिएका हुन्।

संसद्‌मा खेलकुदमन्त्री नआएपछि...

काठमाडौं । प्रतिनिधिसभा बैठकमा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको खोजीको भएको छ । मंगलबारको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफल गर्ने कार्यतालिकामा उल्लेख छ । सोहीअनुरुप सांसदहरुले मन्त्रालयगत खर्च कटौती प्रस्ताव पेस गरिरहेका थिए ।  सोही क्रममा कांग्रेस सांसद रामहरि खतिवडाले खेलकुदमन्त्रीको खोजी गरे । उनले मन्त्रालयगत बजेटमा उठेको प्रश्नको जवाफ मन्त्रीले दिनैपर्ने भन्दै अनिवार्य उपस्थितिबिना बैठकअघि बढ्न नसक्ने बताए ।  उनले बैठक स्थगन गरेर मन्त्री आएपछि बैठक अघि बढाइनुपर्ने माग राखे । त्यसपछि सभामुख देवराज घिमिरेले खेलकुद मन्त्रालयसम्बन्धी छलफल कार्यसूचीबाट हटाए ।

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक जारी छ । मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन्। यसैगरी, सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए, प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शिर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् । त्यस्तै, डा.अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् । त्यसैगरी आजको बैठकमा पुष्पबहादुर शाहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बद्रीप्रसाद पाण्डेले विनियोजन विधेयक, २०८१ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने, रमा कोइराला पौड्यालले विनियोजन विधेयक, २०८१ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने, सञ्जयकुमार गौतमले विनियोजन विधेयक, २०८१ अन्तर्गत कृषि तथा पशुपंक्षी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस् तुत गर्नुहुने र विनियोजन विधेयक, २०८१ को विभिन्न शिर्षकहरुमाथि प्रारम्भ हुने छलफलअन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको शीर्षकमाथि छलफल हुनेछ ।

उपेन्द्रको प्रतिवेदन  : सङ्घर्षको आँधीबेहरी सिर्जना गर्ने (पूर्णपाठ)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिलो एकता महाधिवेशन जनकपुरमा जारी छ ।सोमबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र मङ्गलवारबाट सुरु भएको छ । महाधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।  प्रतिवेदनमा अध्यक्ष यादवले पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकता सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सुशासन, पहिचान, धर्मनिरपेक्षता, सामाजिक न्यायका पक्षधर र समाजवादी शक्तिहरू, सिद्धान्त, विचार र नीति मिल्ने दलहरूसँग एकीकरण अथवा पार्टी एकता गर्नुपर्नेमा जोड दिएका छन् । सङ्घीय सरकारमा हेरफेर हुने बित्तिकै प्रदेश सरकारहरूमा उथलपुथल एवं सरकार परिवर्तन हुने कार्यले गर्दा राज्य झन् अस्थिर भएको निष्कर्ष निकालेका अध्यक्ष यादवले पहिचानवादी शक्तिहरू र क्रान्तिकारी परिवर्तनकारी शक्तिहरूसँग सहकार्य वा एकता गरेर सङ्घर्षको आँधीबेहरी सिर्जना गर्नुपर्ने दस्ताबेजमा उल्लेख गरेका छन् ।

मधेस प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

जनकपुर । मधेस प्रदेश सरकारले आज मङ्गलवार प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ। सरकारको तर्फबाट मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।  नीति तथा कार्यक्रम प्रस्तुतिका लागि आजै दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाएको प्रदेश सभाका प्रवक्ता तथा सचिव अरुणकुमार झाले जानकारी दिए।  संघीय सत्ता समीकरणका कारण प्रदेश सरकार नयाँ प्रदेश सरकार गठनमा भएको ढिलाइले नीति कार्यक्रम प्रभावित भएको थियो। प्रत्येक वर्ष जेठ १५ गतै नै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै आएको छ। यस वर्ष १४ दिन ढिलोमा नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। 

राष्ट्रपति आज साँझ जेनेभा जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गरेका छन् । उनले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । नेपालका राष्ट्र प्रमुख र स्वीस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ । भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट सङ्घीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्ने मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क-वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नेछन् । राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहनेछन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनेछन्। राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किनेछन्।

फ्लोर क्रस गर्ने प्रदेशसभा सदस्यलाई माओवादीले कारबाही गर्ने

गण्डकी । फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलका सदस्य फणिन्द्र देवकोटालाई सो दलले कारबाही गर्ने भएको छ। संसदीय दलको ह्वीप उल्लङ्घन गरेकाले उहाँलाई कारबाहीको प्रकृया अगाडि बढाइएको माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । “प्रकृया पूरा भएपछि सभामुखलाई कारबाहीको सूचना दिन्छौँ”, उनले भने, “संसदीय दलको निर्णय विपरीतको क्रियाकलाप गरेपछि उनलाई कारबाही गर्नुपर्ने अवस्था आएको हो ।” नेपाल समाजवादी पार्टी (नेसपा)मा आबद्ध देवकाटा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा–२ (क) बाट निर्वाचित भएका थिए । राजनीतिक दल फरक रहेपनि प्रदेशसभामा उनी माओवादी केन्द्रको संसदीय दलको सदस्यका रुपमा रहेका छन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ मा दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिनसक्ने तर जुन दलले बढी सिट प्राप्त गर्छ त्यही दलका नाममा एउटा मात्र संसदीय दल गठन हुने व्यवस्था छ । यसैबीच नेपाल समाजवादी पार्टीका प्रवक्ता कृष्णा शर्माले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई दिएको विश्वासको मत संविधानसम्मत् भएको दाबी गरे । “निर्वाचनपश्चात निर्वाचन आयोगले उहाँलाई नेपाल समाजवादी पार्टीको विजयी सांसदका रुपमा प्रमाणपत्र र परिचयपत्र दिएको हो । निर्वाचन आयोगमो अभिलेखमा समेत नेपाल समाजवादी पार्टीका प्रदेशसभा सदस्य भनेर उल्लेख गरेको अवस्था छ । तसर्थ गण्डकी प्रदेशसभामा पार्टीले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी विश्वासको मत दिएको हो”, विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन २०७९–८० तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९–८० सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, अर्थमन्त्री वर्षमान पुनले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव तथा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल तथा सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

पञ्चेश्वर अघि बढ्ने, यस्ता छन् प्रधानमन्त्रीको भारत भ्रमणका ११ बुँदे उपलब्धि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको दुई दिने औपचारिक भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किएका छन् । उनले स्वदेश फर्किएलगत्तै दुई दिने भारत भ्रमणबारे ११ बुँदे वक्तव्य जारी गरेका छन्।प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँ दिल्ली पुगेका थिए। दिल्लीबाट फर्किएपछि उनले जारी गरेको वक्तव्यमा समकक्षी मोदीसँगको भेटघाटमा अन्य कुराका अलावा नेपाल(भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनबारे कुरा भएको बताए । उनले सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भएको जनाएका छन् । आफूले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको पनि उनले बताएका छन्। मोदीले उपयुक्त समयमा भ्रमण गर्ने जवाफ दिएको प्रचण्डले बताएका छन् । ‘यस भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको मैले विश्वास लिएको छु। त्यसका अतिरिक्त दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको छ’, उनले भनेका छन्, ‘आगामी दिनमा उच्च स्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा सम्बद्ध द्विपक्षीय संयन्त्रहरू समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबर्द्धन गर्न मार्गदर्शन गरेको छ ।’ हेर्नुस् विज्ञप्तिको पूर्णपाठ सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’ ज्यूले भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँको सपथ ग्रहण समारोहमा भाग लिने सिलसिलामा २०८१ जेठ २७-२८ तदनुसार ९-१० जुन २०२४ गर्नुभएको भारतको औपचारिक भ्रमण समापन गरेर स्वदेश फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी गरिएको प्रेस नोट (२०८१ जेठ २८) सञ्‍चारकर्मी मित्रहरू, १. मित्रराष्ट्र गणतन्त्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँको तेश्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी भई प्रतिनिधिमण्डलसहित म आज स्वदेश फर्केको छु। २.भ्रमणका अवसरमा भएका गतिविधिहरूका बारेमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीबाट जारी प्रेस विज्ञप्ति समेत मार्फत् यहाँहरु अवगत नै हुनुहुन्छ। ३.भ्रमणका दौरान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा २०८१ जेठ २७ गते (तदनुसार ९ जुन २०२४) का दिन आयोजना गरिएको एक विशेष समारोहकाबीच हालै भारतमा सम्पन्न आम निर्वाचन पश्चात् प्रधानमन्त्री पदमा पुनः नियुक्त हुनुभएका महामहिम श्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा म सहभागी भएँ। उक्त समारोहमा विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरू समेत सहभागी हुनुहुन्थ्यो। समारोह पश्चात् भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुद्वारा राष्ट्रपति भवनमा आयोजित रात्रीभोजमा म सहभागी भएँ। त्यसअघि भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु, महामहिम उपराष्ट्रपति श्री जगदीप धनखड़ तथा महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग मेरो भेटघाट भयो।  ४.महामहिम श्री नरेन्द्र मोदीसँगको भेटघाटमा अन्य कुराका अलावा नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भयो।  ५.मैले मोदीजीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु । उहाँले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ। ६.त्यसैगरी, २०८१ जेठ २८ गते (तदनुसार १० जुन २०२४) का दिन भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुसँग मैले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरें। भेटका अवसरमा नेपाल र भारतबीचको सदियौँ पुरानो एवं घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप मजबुत तुल्याउने बारेमा छलफल भयो।  ७.सोही दिन भारतका नवनियुक्त संघीय मन्त्री महामहिम डा. एस. जयशंकरले मसँग शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र भारतबीच विविध पक्षमा रहेको सहयोगात्मक सम्बन्धलाई सुदृढ गर्दै जाने बारेमा छलफल तथा विचारको आदान प्रदान भयो ।  ८.यसका साथै Federation of Indian Chambers of Commerce and Industry (FICCI) अध्यक्ष र अन्य प्रतिनिधिहरूले मसँग भेटघाट गर्नुभयो । उहाँहरूसँग नेपाल र भारतबीच व्यापार विस्तार लगायत नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा भारतीय लगानी बढाउने बारेमा सकारात्मक कुराकानी भयो।  ९.नयाँ दिल्लीमा रहँदा नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुका साथै भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका मित्रहरू तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग समेत मेरो भेटघाट एवं समसामयिक विषयमा विचारको आदान प्रदान भयो। केही सञ्चारकर्मीहरूसँग नेपाल-भारत सम्बन्ध एवं नेपाल सरकारका नीति एवं प्राथमिकता समेतका सम्बन्धमा कुराकानी भयो।   १०.यस भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको मैले विश्वास लिएको छु। त्यसका अतिरिक्त दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको छ। साथै, आगामी दिनमा उच्च स्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा सम्बद्ध द्विपक्षीय संयन्त्रहरू समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबर्द्धन गर्न मार्गदर्शन गरेको छ।  ११. अन्त्यमा, यस भ्रमणको अवधिमा भारत सरकारबाट प्राप्त आतिथ्यता तथा न्यानो स्वागतका लागि भारतका प्रधानमन्त्री एवं भारत सरकार, सम्बद्ध पदाधिकारी एवं भारतीय जनताप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै,  भ्रमणका विषयमा समाचार सम्प्रेषित गर्नुहुने सम्पूर्ण पत्रकार मित्रहरू एवं सञ्चार माध्यमहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। धन्यवाद !  

प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतको दुई दिवसीय औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। प्रधानमन्त्री प्रचण्ड उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ गएका थिए । प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरे।  सो अवसरमा प्रधानमन्त्रीको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो।       भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभएको थियो भने  नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए । उनले राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीसँग नेपाल–भारतबीचका आपसी हित र चासोका विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए ।

मिडिया काउन्सिल विधेयकबारे दफावार छलफल गर्न समितिमा पठाइयो

काठमाडौँ । राष्ट्रियसभाको सोमबार बसेको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पारित गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पेस गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। पत्रकारिता क्षेत्रमा पेसागत तथा व्यावसायिक आचरण कायम राख्न, स्वनियमनलाई प्रवर्द्धन गरी स्वच्छ, स्वतन्त्र र जबाफदेही पत्रकारिताको विकास तथा संरक्षण गर्न स्वायत्त नियामक निकायका रूपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालन गर्न नयाँ कानुनको आवश्यकता रहेकाले यो विधेयक गत वैशाख १३ गते राष्ट्रियसभामा दर्ता गरिएको थियो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो विधेयक दर्ता गराएकी हुन्। राष्ट्रियसभाको सोमबारको बैठकमा राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गरेका थिए। नेपालको संविधान, २०७२ अनुसार सङ्घीय सरकारको एकल अधिकार क्षेत्रभित्र रहेको सुरक्षित छापाखाना स्थापना तथा सुरक्षण मुद्रण सामग्रीको देशभित्रै सुरक्षित, भरपर्दो र गुणस्तरीय मुद्रण केन्द्रको स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा उपयुक्त कानुनी व्यवस्था गर्न तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले २०७७ असार २४ गते यो विधेयक राष्ट्रियसभामा दर्ता गराएका थिए। यो विधेयकमा सुरक्षण मुद्रण केन्द्रको स्थापना गरी सुरक्षण मुद्रणको कार्य सञ्चालन गर्ने व्यवस्था तथा सुरक्षण मुद्रणको कार्य गरेबापत प्राप्त हुने शुल्क, नेपाल सरकारबाट प्राप्त अनुदान तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट प्राप्त सहयोग परिचालनसम्बन्धी व्यवस्थाहरू राखिएका छन्। यस्तो शुल्क, अनुदान तथा सहयोगबाट प्राप्त हुने रकम राख्न सुरक्षण मुद्रण केन्द्रको छुट्टै कोष रहने र मुद्रण केन्द्रका तर्फबाट गरिने सम्पूर्ण खर्च कोषमा जम्मा भएको रकमबाट व्यहोरिने व्यवस्था विधेयकमा गरिएको छ। राष्ट्रियसभाको अर्को बैठक यही जेठ २९ गते मङ्गलबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ।

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सीआईबीको प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्च अदालतले प्रमाण झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले लामिछानेविरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरीसहित सहकारी ठगी प्रकरणमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपी झिकाउने आदेश भएको रिट निवेदक अधिवक्ता अनुपम भट्टराईले जानकारी दिए ।  उनका अनुसार लामिछानेको सचिवालयले समाचार आएका आधारमा खण्डन गर्दै पठाएको पत्रसमेत झिकाउन सर्वोच्चले आदेश दिएको छ । 

सभामुखसँग नर्वेजियन राजदूतको भेट

काठमाडौं । सभामुख देवराज घिमिरेसँग सोमबार नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेट गरेकी छन्।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान, विकास सहयोग लगायतका विषयमा छलफल भएको छ। भेटमा सभामुख घिमिरेले सन् १९७३ मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीच उच्चस्तरीय राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदान प्रदान भएको, विकास सहयोग, जनस्थरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन लगायतका क्षेत्रमा सहकार्य भएको बताए। ‘विकास साझेदारकोरुपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ,’ उनले भने, ‘नर्वे सरकारले नवीकरणीय ऊर्जा, शिक्षा तथा सुशासनका क्षेत्रमा गरेका कामहरू हाम्रा लागि पनि उपयोगी भएका छन् ।’  लामो राजनीतिक संक्रमणकालपछि नेपालमा अहिले दिगो आर्थिक विकास तथा शान्ति र स्थायित्वको अभियान सुरु भएको सभामुखको भनाइ थियो । नर्वेजियन राजदूत तोरुन ड्रामडलले सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि सन् १९५० देखि नै दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताइन्। उनले आफ्नो मुलुकले नेपालका विभिन्न क्षेत्रमा ३ करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोग गरेको उल्लेख गरिन्। राजदूत ड्रामडलले दुई मुलुकबीच समय समयमा उच्चस्तरीय भ्रमण भइरहेको स्मरण गर्दै आगामी सेप्टेम्बरमा नर्वेको परराष्ट्र तथा रक्षा सम्बन्धी संसदीय समितिले नेपाल भ्रमण गर्न लागेको जानकारी दिइन्। सभामुख घिमिरेले पनि नेपालको संसदीय संसदमा नेपाल–नर्वे संसदीय मैत्री समूह गठन भएको जानकारी दिँदै आगामी सेप्टेम्बरमा नर्वेको परराष्ट्र तथा रक्षा सम्बन्धी संसदीय समितिको नेपाल भ्रमणले संसदीय आदान प्रदानलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।

सुदूरपश्चिम सरकार बिस्तारको तयारी

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज सरकार बिस्तारको तयारी गरिएको छ । आज एमाले, माओवादी र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री दीर्घबहादुर सोडारीले तयारी गरेका छन् । एमालेले सरकारमा सहभागी हुनेहरूको नाम टुङ्गो लगाइएको छ । एमाले स्रोतका अनुसार सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्की मन्त्री बन्ने लाइनमा छन् । पालले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने स्रोतको दाबी छ । अन्य दुई जनाको मन्त्रालय टुङ्गिएको छैन्। एमालेले मन्त्रीको टुङ्गो लगाउँदा माओवादी केन्द्रबाट भने मन्त्रिहरुको टुंग्गो लागेको छैन्। माओवादी केन्द्रले सुरुमा ओम विक्रम भाट ‘सरल’ र अक्कल रावललाई मन्त्री बनाउने तयारी गरेको थियो । तर, हिजो बसेको संसदीय दलको बैठकमा माओवादीबाट सबैजसो सांसदले मन्त्रीको आकाङ्क्षा गरेपछि मन्त्रीको नाम टुङ्गो लगाउन समस्या भएको बैठकमा सहभागी माओवादीका एक सांसदले जानकारी दिए । माओवादीबाट रमेश धामी, ‘सरल’ र लक्ष्मी विक मध्ये एक जना मन्त्री बन्ने छन् भने शिव ओली, झपट साउद र अक्कल रावल मध्ये एक जना मन्त्री बन्ने छन्। आजै माओवादी संसदीय दलका नेता मानबहादुर धामीले मन्त्रीको नाम टुङ्गो लगाउने नभए इन्चार्ज गिरिराजमणि पोख्रेललाई जिम्मा दिने छलफल गरिएको थियो ।स्वतन्त्र सांसद डा. तारा जोशीलाई सरकारमा ल्याउने तयारी गरिएको छ।

प्रधानमन्त्री प्रचण्डसँग भारतका नवनियुक्तमन्त्री जयशङ्करको शिष्टाचार भेट

काठमाडौँ । छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड बसेकाे होटल ताजमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको छ।  सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशङ्करलाई हार्दिक बधाई एवं कार्यकालको शुभकामना व्यक्त गरे। उनले आगामी दिनमा दुई देशबीच रहीआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे।  त्यसैगरी मन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएकोमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई धन्यवाद व्यक्त गरे। उनले दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराएका थिए । भेटमा प्रधानमन्त्रीका सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत भारतस्थित नेपाली राजदूतावासका उच्च अधिकारीको सहभागिता रहेको थियो भने भारतको विदेश मन्त्रालयका उच्चअधिकारीहरू सहभागी थिए ।