गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन

काठमाडौं । संघीय संसद् सचिवालयले गैरसरकारी संस्थाको सहयोग नलिन आफू मातहत समितिहरूलाई निर्देशन दिएको छ। मंगलबार सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले निर्देशन दिँदै संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन दिएका हुन् । 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको निर्देशनमा सचिवालयले मंगलबार समितिका सचिव र सबै समितिलाई पत्र लेखेरै सो विषयमा ध्यानाकर्षण गराएको हो । 

आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गैरसरकारी संस्थाका कर्मचारी खाजासहित उपस्थित भएपछि बैठक नै स्थगित भएको थियो । 

यसपछि सचिवालयले उक्त निर्देशन दिएको हो । निर्देशनपत्रमा उल्लेख गरिएको छ, “संघीय संसद्को संस्थागत जानकारी एवं अनुमतिबिना कतिपय गैरसरकारी संस्था (एनजीओरआईएनजीओ)हरूले संघीय संसद्अन्तर्गतका समितिहरु तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सदस्यहरूको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको भन्ने गुनासाहरू सुनिने गरिएको सन्दर्भमा समय समयमा सतर्क गराउँदै आएको भए पनि यस्ता गुनासाहरू पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराउने भन्ने प्रतिनिधिसभाका सम्माननीय सभामुख र राष्ट्रियसभाका सम्माननीय अध्यक्षबाट निर्देशन भएअनुसार जानकारी गराइएको छ ।”

patra-parliament-1718713013.jpg

राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै संसदको रोष्टममै बजेट पुस्तिका च्यातेका छन् ।  मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयगत बजेटको पुस्तिका च्यातेका हुन् ।

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक जारी छ ।मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा मन्त्रालयगत बजेटका शीर्षकमाथि छलफल जारी छ ।  आजको बैठकमा सांसद डा. अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने, बुद्धिमान तामाङले विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने र रोशन कार्कीले विनियोजन विधेयक, २०८१ अन्र्तगत परराष्ट्र मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्य सूची रहेको छ । सांसद राजेन्द्रप्रसाद लिङदेनले विनियोजन विधेयक, २०८१ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने, सांसद ज्ञानबहादुर शाहीले विनियोजन विधेयक, २०८१ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने र सांसद ध्रुवबहादुर प्रधानले “विनियोजन विधेयक, २०८१ अन्तर्गत राष्ट्रिय योजना आयोग शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्। यसैगरी, सांसद विना लामाले विनियोजन विधेयक, २०८१ अन्तर्गत उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने र विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी छलफलअन्तर्गत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयमाथि छलफल हुनेछ ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सञ्चार तथ सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै मन्त्री शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटका शीर्षकमाथि छलफल जारी रहने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहनेछ । आज गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय अन्तर्गत बजेटका शीर्षकमाथि छलफल हुनेछ । बैठकमा सांसदहरु डा. अमरेश कुमार सिंह, प्रेम सुवाल, बुद्धिमान तामाङ, रोशन कार्की, राजेन्द्र प्रसाद लिङ्देन, ज्ञानबहादुर शाही, ध्रुवबहादुर प्रधान र विना लामाले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव पेश गर्ने छन् ।

नेकपा एकीकृत समाजवादीभित्र कुनै मतभेद छैन : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेका छन् । पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।  अध्यक्ष नेपालले पार्टीले नेता, कार्यकर्ताहरूको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक लगायतका दस्ताबेजहरू तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको पुष्टि हुन गएको तर्क गरे । उनले पार्टीले आगामी महाधिवेशनबाट नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रूपमा अगाडि सार्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।   अध्यक्ष नेपालले आफ्नो पार्टीले नै स्थापनाका बेलामा समाजवादी कार्यक्रमलाई अघि सारेको भन्दै आगामी महाधिवेशनले त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले पार्टीले महाधिवेशनका लागि तयार पारेका राजनीतिक, सांगठानिकलगायत दस्तावेजहरुको अध्ययन गरेर त्यसलाई अझ समृद्ध बनाउने काममा पनि सबैको भूमिकाको अपेक्षा गरिएको बताए ।  उनले भने, ‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन । किनभने समाजवादी कार्यक्रमलाई झन्डा फहराउँदै अघि सार्ने हाम्रो पार्टीको नाम नै हो नेकपा कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) यो समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौँ भनेर पहिलो दिनदेखि नै पाइला त्यतैतिर सारेका छौँ ।’ अध्यक्ष नेपालले मुलुकलाई समाजवादी बाटोमा दृढतापूर्वक अघि बढाउनका लागि आफूहरूले समाजवादी मोर्चा निर्माण गरेर अघि बढेको पनि स्पष्ट पारे । 

व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नैपर्छ : प्रधानमन्त्री

रामपुर, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै कर्ममा समर्पित हुन आग्रह गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत स्वार्थ र निजी भविष्यका लागि मात्र नभइ देशको भविष्यमा ध्यान दिन अपिल गरे। “राज्य, राजनीतिक दल र आम जनसमुदायबीच सहकार्य र एकता कायम हुँदा हामीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सक्छौँ र बदल्नै पर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “तसर्थ, म सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा विशेष अपील गर्छु– राष्ट्रिय शब्दमा होइन, कर्ममा व्यक्त हुनुपर्दछ । हाम्रा गतिविधिहरू व्यक्तिगत स्वार्थ र निजी भविष्यका निम्ति मात्र होइन, सिङ्गो देशको प्रतिष्ठा र भविष्यका निम्ति समर्पित हुनुपर्दछ।”  उत्पादन, उत्पादकत्व वृद्धि र देशभित्रै रोजगारीका नयाँ–नयाँ अवसरहरूको सिर्जना गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि र सूचना–प्रविधिको क्षेत्रलाई सर्वाधिक महत्त्व दिएको स्पष्ट पारे।  नेपालजस्तो देशका निम्ति अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र र नेतृत्वदायी क्षेत्र सूचना–प्रविधि हुनुपर्नेमा जोड दिँदै प्रधामन्त्रीले यस वर्ष उत्पादकत्व वृद्धि र रोजगार प्रवर्द्धन गर्ने कार्यक्रम र सूचना–प्रविधिमा स्टार्टअप कार्यक्रमका निम्ति पर्याप्त बजेटको बिनियोजन गरिएको जानकारी दिए।  “आगामी दशकलाई ‘कृषिमा लगानी दशक’ र ‘सूचना–प्रविधि दशक’ घोषणा गरी यस क्षेत्रमा लगानी केन्द्रित गर्ने, लगानी आकर्षित गर्ने, कृषि र प्रविधिमा पुँजी, प्रविधि र जनशक्तिलाई केन्द्रित गरी रोजगारी सिर्जना एवं सूचना प्रविधिमा वस्तु तथा सेवाको निर्यात गर्ने लक्ष्य राखिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसबाट हाम्रो अर्थतन्त्रमा महत्त्वपूर्ण फड्को हान्नेछ ।”  सूचना प्रविधिको युग हुनुका कारण विश्वका अवसर र चुनौतीबारे जान्ने, बुझ्ने र सोहीअनुरूप आफ्नो भविष्यको योजना निर्माण हुनु स्वाभाविक भएको बताउँदै प्रधानमन्त्रीले राष्ट्रियता, देशभक्तिपूर्ण भावना, भावी पुस्ताको भविष्य र मातृभूमिको हितबारे सोच्नैपर्ने हुन्छ भने। “भूमण्डलीकृत विश्वासमा अनेकौँ अवसरहरू हुन्छन् । तर, हामीले अवसरलाई मात्रै हेरेर पुग्दैन, हाम्रो राष्ट्रियता, देशभक्तिपूर्ण भावना र भावी पुस्ताको भविष्यबारे पनि गहिरो गरी विचार गर्नुपर्ने हुन्छ,” प्रधानमन्त्रीले भने, “आज विकसित भनिएका सबै मुलुकहरू इतिहासको विभिन्न कालखण्डमा ठूलठूला चुनौतीहरूको सामना गरेर यहाँसम्म आएका छन् । तसर्थ, हामीले विकसित मुलुकहरूको प्रगतिको कुरा गर्दा उनीहरूको विगत, समृद्धिका लागि गरेको सङ्घर्ष र ती देशका नागरिकमा जागृत देशभक्तिपूर्ण भावनाको समेत अध्ययन गर्नुपर्दछ ।” उनले विकसित देशका  उदाहरण र अनुभवहरूबाट सिकेर देशको विकास र समृद्धिलाई नयाँ उचाइमा पुर्‍याउन सकिने विश्वास व्यक्त गरे। 

संवैधानिक परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले विभिन्न संवैधानिक आयोगमा रिक्त सदस्य तथा राजदुतको नियुक्तिलगायतका विषयमा छलफल गर्न परिषद्को बैठक बोलाएका हुन्। बैठकमा प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना र प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ सहभागी छन् 

प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी)का उपाध्यक्ष बार्टरले आज शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुसी व्यक्त गरे। उनले नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने तथा महत्त्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिए ।  प्रधानमन्त्री प्रचण्डले दुई देशबीच भएको अन्य सम्झौता पनि क्रमशः कार्यान्वयन हुँदै जाने विश्वास व्यक्त गरे। चीन र नेपाल बीचको संसदीय अभ्यासको आदानप्रदान आगामी दिनमा थप विस्तार तथा निरन्तरता दिने गर्ने बारेमा पनि उनीहरूबीच छलफल भएको थियो।  सो अवसरमा सिपिपिसिसीका उपाध्यक्ष बार्टरले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्त्व दिँदै आएको र आगामी दिनमा थप अभिवृद्धि हुने विश्वास दिलाए। भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटा, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल र परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी थिए भने चिनियाँ तर्फबाट त्यहाँको कृषि तथा ग्रामीण क्षेत्रसम्बन्धी समितिका उपाध्यक्ष छिटला र नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायत सहभागी थिए। 

जिल्ला समन्वय समिति खारेज गर्न प्रेम सुवालको माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जिल्ला समन्वय समिति खारेज गर्न सरकारसँग माग गरेका छन्।  आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै उनले सो माग गरेका हुन्। सांसद सुवालले स्थानीय तहको काममा संघ र प्रदेश सरकारले हस्तक्षेप गर्न नहुने बताए। स्थानीय तहलाई पूर्ण रूपले स्वायत्तता प्रदान गर्नुपर्ने उनको भनाइ थियो। सांसद सुवालले स्थानीय तहमा जल संकट आउन नदिनका लागि आवश्यक व्यवस्था मिलाउन समेत सरकारलाई सुझाए। उनले भने,  ‘जिल्ला समन्वय समितिको भूमिका स्पष्ट नहुँदा खारेज गर्ने, स्थानीय तहको विकासको काममा संघ र प्रदेशको सरकारले हस्तक्षेप नगर्ने र पूर्ण रुपले स्वायत्तता र विकेन्द्रीकरण प्रदान गर्ने। अहिले भारतको राजधानी दिल्लीमा जल संकटको अवस्था छ। नेपालको ७५३ स्थानीय तहमध्ये कुन, कुन तहमा जल संकटको अवस्था छ। र समाधानको उपाय के छ? मन्त्रीज्यूले यहाँ पेश गर्न उपयुक्त हुनेछ।’

देवघाटमा बाँध बाँधेर पूर्वी चितवन र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन सांसद् पाण्डेको प्रस्ताव

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले चितवनको देवघाटमा त्रिशूली नदीमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिम क्षेत्रमा सिँचाइको सुविधा पुर्‍याउन प्रस्ताव गरेका छन्। आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालय अन्तर्गतको विनियोजन शीर्षकमाथिको छलफलमा उनले तराई तथा पहाडका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याएर कृषि उत्पादन तथा रोजगारी वृद्धि गर्न सकिने बताएका हुन्। “बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गरौँ, त्यससँगै देवघाटमा बाँध बाँधेर चितवन हुँदै पूर्वतर्फ र नवलपुर हुँदै पश्चिमतर्फ नहरमार्फत तराई–मधेसका सिँचाइ समस्या हल गर्न सबैको ध्यान जानुपर्छ”, मुख्य सचेतक पाण्डेले भने, “तराई–मधेसका सम्म फाँट, पहाडका टारमा सिँचाइ सुविधा पुर्‍याउनुपर्छ, यसबाट कृषिजन्य उत्पादन र उत्पादकत्व वृद्धिका साथ रोजगारी सिर्जना हुन्छ।” आगामी आवको बजेटमा सिँचाइतर्फ बजेट वृद्धि भएकामा खुसी व्यक्त गर्दै उहाँले सिँचाइ प्रणालीलाई ‘डिजिटलाइजेसन’ गर्न आग्रह गरे। “खेतीयोग्य भूभागमा बाह्रै महिना सिँचाइको सुविधा पु¥याउनुपर्छ, स्थानीय साधनस्रोतको प्रयोग गरी पानीको पुनर्भरण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ”, मुख्य सचेतक पाण्डेले भने। जलवायु परितर्वनका असरलाई ख्याल गरी जलस्रोतका सबै आयोजनाको डिजाइनलाई नै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले यसका लागि दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका छन। उनले आयोजनाको डिजाइन स्थान, मौसमअनुसार हुनुपर्ने बताए। पूँजीगत खर्च वृद्धिमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै उनले हाइड्रोजन ऊर्जा, पोड–वेलगायत ऊर्जा र यातायातका नयाँ प्रविधिको प्रयोगमा विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

राज्य व्यवस्था समितिको बैठकमा एनजीओको खाजा, बैठक स्थगित

काठमाडौँ ।  प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गैरसरकारी संस्था (एनजीओ)का कर्मचारी खाजासहित उपस्थित भएपछि बैठक स्थगित भएको छ । बिहान ८ बजेदेखि जारी बैठकमा आएको खाजाबारे सांसदहरू समेतले चासो राखेको र छलफलका क्रममा एनजीओको कर्मचारीसमेत सभा कक्षभित्रै रहेको थाहा भएपछि बैठक स्थगित गरिएको हो । नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु एनजीओको सहयोगमा विदेश भ्रमण गर्ने, नीतिगत तहमा एनजीओबाट प्रभावित हुने गरेको आरोप लाग्दै आएको सन्र्दभमा समितिको  छलफलमा एनजीओका कर्मचारी खाजासहित उपस्थित हुने विषयले ठुलो अर्थ राख्ने भएकाले यसरी जनताको हित केन्द्रित रहेर कानुन बनाउन नसकिने सांसदहरुले बताएका थिए ।  सोही कारण बैठक औपचारिकतामा प्रवेश गर्न नगरेको बताइएको छ ।समितिको आइतबारको बैठकमा संघीय निजामती ऐन संशोधन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । तर बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन । सांसदहरूका अनुसार एनजीओका प्रतिनिधिलाई आजको बैठकमा बोलाइएका कारण उनीहरू उपस्थित भएका थिए ।

शहीद रीतबहादुर खड्का गतिशील क्रान्तिकारी नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता भएको र क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको बताएका छन् । शहीद रीतबहादुर खड्काको स्मृति दिवसका अवसरमा आज नेकपा (माओवादी केन्द्र) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले छोटो समयमा राम्रो प्रगति गर्नुभएको बताए । “रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो,” प्रधानमन्त्री प्रचण्डले भने, “उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो । उहाँको शहादतबाटअपूरणीय क्षति भयो ।”  शहीद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने बताउँदै प्रधानमन्त्रीले उहाँलाई देश र पार्टीले सधैँ स्मरण गरिरहने बताए ।  

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन् । उनी आफ्ना समकक्षी डा फ्यांक–वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपराह्न बर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का तथा उनकी धर्मपत्नी, जर्मनीका राष्ट्रपतिको संघीय परराष्ट्रमामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गरेको बर्लिनस्थित नेपालको राजदूतावासले आज जनाएको छ । राष्ट्रपति पौडेलका साथ परराष्ट्र मामिलाविज्ञ डा. सुरेशचन्द्र चालिसे, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रपतिको कार्यालयका सचिव डिल्लीराम शर्मा तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू छन् । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि सोमबार औपचारिक भेटवार्ताको कार्यक्रम रहेको उक्त दूतावासले जनाएको छ । विसं २०४३ पछि राष्ट्रप्रमुखको तहमा नेपालबाट भएको यो पहिलो भ्रमण हो । नेपाल र जर्मनीबीच २०१४ साल चैत २२ गते कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीचको सम्बन्ध  आपसी समझदारी र सहयोगका आधारमा प्रगाढ बन्दै गएको छ । राष्ट्रपति पौडेल यही असार ५ गते स्वदेश फर्कन कार्यक्रम छ ।

दुई संसदीय समितिको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठक आज बिहान ८ बजे समितिको सभाकक्षमा बस्ने जनाइएको छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिने कार्यसूचीमा उल्लेख छ। त्यस्तै, राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्था समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बेठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि प्रेस काउन्सिलसँग छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथिको छलफल जारी, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्दै छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ। बैठकमा सांसद रामहरि खतिवडाले विनियोजन विधेयक २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खचए रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । त्यस्तै, सांसदहरू अमरेशकुमार सिंह, प्रेम सुवाल, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद लिङदेन, रोशन कार्की, श्यामकुमार घिमिरेले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसैगरी आज संघीय मामिला तथा सामान्य प्रशाासन मन्त्रालय, उर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने छ।