भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन्। 

सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबीच नेपाल–भारतबीच सदियौंदेखि रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी उहाँहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको थियो । 

प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए। सपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र उहाँका समकक्षी मोदीबीच भेटवार्ता भएको थियो । 

सो भेटमा प्रधानमन्त्रीले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकामा प्रधानमन्त्री मोदीलाई बधाइ दिँदै उनको आगामी कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास व्यक्त गरे।

आइतबार साँझ नै राष्ट्रपति मुर्मुले आयोजना गरेको रात्रीभोजमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए ।

प्रधानमन्त्री प्रचण्ड आइतबार भारतको नयाँ दिल्ली गएका हुनन् ।

प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि रहेका छन् । प्रधानमन्त्री प्रचण्ड आज साँझ  स्वदेश फर्कने कार्यक्रम  छ ।   

फ्रान्समा संसद् भंग, राष्ट्रपतिले गरे चुनावको घोषणा

पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले संसद भंग गर्दै संसदीय चुनावको घोषणा गरेका छन् । आफ्नो प्रतिद्वन्द्वी मरिन ले पेनको पार्टी नेसनल र्‍यालीको युरोपियन युनियनको चुनावमा राम्रो जित आएपछि राष्ट्रपति म्याक्रोनले अचानक संसदीय चुनावको घोषणा गरेका हुन् ।  संसद भंग गरिएको घोषणा गर्दै उनले चुनावका लागि यही जुन ३० र आउँदो जुलाई ७ को मिति समेत घोषणा गरेका छन् । टेलिभिजन सम्बोधनमार्फत उनले चुनावको घोषणा गरेका हुन् । युरोपियन युनियनको फ्रान्सको मतदान सम्पन्न भएपछि एक्जिट पोलको नतिजा आउनेबित्तिकै उनले एलिसी प्यालेसबाट चुनावको घोषणा गरेका हुन् ।  एक्जिट पोललाई मान्ने हो भने अति दक्षिणपन्थी पार्टी नेसनल र्‍यालीलाई ३२ प्रतिशत मत प्राप्त हुन सक्नेछ । जुन राष्ट्रपतिको रेनेसा पार्टीलाई भन्दा दोब्बर बढी हो । रेनेसा पार्टीलाई १३ प्रतिशत मात्रै मत मिल्ने पूर्वानुमान गरिएको छ ।  म्याक्रोनको दोस्रो कार्यकाल पूरा हुन अझै दुई वर्ष बाँकी रहेको अवस्थामा संसदीय चुनाव घोषणा गरिएको हो ।बिबिसिबाट

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता, एकमुखे रुद्राक्ष उपहार

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाइ दिँदै उनको तेश्रो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास व्यक्त गरे ।साथै सो क्रममा प्रधानमन्त्री प्रचण्डले नव नियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमै उत्पादित एकमुखे रुद्राक्ष उपहार समेत दिएका छन्। भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उनहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्ड आइतबार नै भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्री प्रचण्डका साथमा प्रधानमन्त्रीकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि रहेका छन्  । प्रधानमन्त्री प्रचण्ड आज साँझ  स्वदेश फर्कने कार्यक्रम रहेको छ ।   

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको शपथमा सहभागी

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गर्ने समारोहमा सहभागी भएका छन् । तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले भारतको प्रधानमन्त्री पदको शपथ लिएका हुन् । उक्त शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आजै भारत गएका हुन् । यो सपथसँगै मोदी लगालग तीन पटक प्रधानमन्त्री बन्न सफल स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुको हाराहारीमा पुगेका छन् । आफ्नो सपथ सँगै मोदीले ७२ मन्त्रीहरुको शपथ गराएका छन् ।  भारतको राजधानी नयाँ दिल्लीको राष्ट्रपति भवनमा भएको शपथग्रहण कार्यक्रममा नेपाल लगायतका विभिन्न राष्ट्रका सरकार तथा राष्ट्र प्रमुख तथा भारतका उच्च संवैधानिक, राजनीतिक, कूटनीतिक तथा सार्वजनिक क्षेत्रमा व्याक्तित्वहरुको उपस्थिती रहेको थियो ।

स्याङ्जा-काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा प्रितम गैह्रे

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) स्याङ्जा काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा पिताम्बर गैर्हे (प्रितम) निर्वाचित भएका छन्। सम्पर्क समन्वय समितिको प्रथम सम्मेलनले गैर्हेको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । काठमाडौँको पर्दशनी मार्गमा शनिबार सम्पन्न  सम्मेलनले चयन गरेको कार्यसमिति उपाध्यक्षमा शिव पोख्रेल, नितु क्षेत्री, त्यसैगरी सचिवमा सुरेन्द्र पौडेल(सुरेस),  त्यसैगरी सह-सचीव लाल ब. विश्वकर्मा र राजन कार्की निर्वाचित भएका छन् ।  माओवादी केन्द्रका सम्पर्क समन्वय समिति सह-इन्चार्ज एंव स्थायी समति सदस्य यसोदा सुवेदी, अनेमसंघ (क्रान्तिकारी)का अध्यक्ष एंव स्थायी समिति सदस्य अमृता थापामगर, केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरे,  सम्पर्क समन्वय समिति गण्डकी  प्रदेश अध्यक्ष रामप्रसाद भन्तनालगायतको उपस्थितिमा सम्मेलन सम्पन्न गरिएको हो। 

माओवादीको सम्पर्क समन्वय समिति अध्यक्षमा साँवा

ताप्लेजुङ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ताप्लेजुङ-काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा धनजित साँवा चयन भएका छन्। सम्पर्क समन्वय समितिको नवौँ अधिवेशनले साँवाको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।  काठमाडौँको चाबहिलमा शनिबार सम्पन्न अधिवेशनले चयन गरेको कार्यसमिति उपाध्यक्षमा निरोज लिबाङ, दावा इलावा र बिमला वनेम रहनुभएको छ। यस्तै सचिवमा प्रोसेष गौतम, सहसचिवमा दिनेश साँवा र कोषाध्यक्षमा सुवास नाल्बो चयन भएका हुन् ।   माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय समिति सह-इन्चार्ज झक्कुप्रसाद सुवेदी, केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री, केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय समिति कोशी प्रदेश इन्चार्ज करुणा बस्नेत, सचिव नन्द वनेमलगायतको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको हो। 

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा महासेठ

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नु अघि प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यका लागि उपप्रधानमन्त्री महासेठलाई जिम्मेवारी तोकिएको हो। राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री महासेठले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री आइतबार दिउँसो दिल्ली गएका हुन् । दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश मन्त्रालयको स्पेसल डिउटी महाशाखाका अधिकारीले स्वागत गरेका परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । मोदीले आइतबार (आज) बेलुका सवा ७ बजे राष्ट्रपति भवनमा विशेष समारोहबीच तेस्रो कार्यकालका निम्ति शपथ लिँदै छन् । शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार नै त्यसतर्फ प्रस्थान गरेका थिए। प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम र परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना पनि दिल्ली गएका छन् । प्रधानमन्त्री प्रचण्ड सोमबार (भोलि) बेलुका ६ बजे स्वदेश फर्कने तय छ ।

प्रतिनिधिसभाको आज र भोलिको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ।सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो। विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधि सभामा आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २९ गतेदेखि नियमित छलफल हुनेछ । सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए । बैठकमा मुख्य सचिव डा.बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी थिए ।

उपेन्द्र यादवको रिट टुग्यांउने इजलास बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टी फुटविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको रिट सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो। अब यही इजलासले टुग्यांउने छ। कानुन नै नभएको समयमा निर्वाचन आयोगको आफ्नो पार्टी फुटाउनेहरूलाई वैधता दिएको भन्दै आयोगको निर्णय बदर गर्न माग गर्दै यादवले गत वैशाख ३१ मा रिट दायर गरेका थिए। यादवको रिटमा न्यायाधीश विनोद शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्वाचन आयोगका निर्णय यथावत् राख्न आदेश गरेको थियो। त्यसयता लगातार तीनवटा पेसीमा सुनुवाइ हुन सकेन। यादवले उस्तै प्रकृतिको अर्को रिट समेत जेठ ६ गते दायर गरेका छन्। शर्माको इजलासले जेठ ९ मा नै दुवै रिट एकसाथ सुनुवाइ गर्नेगरी पेसी मिति समेत तोकेको थियो । त्यसपछिका तीनवटा पेसीमा सुनुवाइ हुन नसकेको यादवको रिटमा आज सुनुवाइ भएको हो। यादवले निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित पार्टी छोडेको सात सांसदलाई समेत विपक्षी बनाएका छन्। उनले अन्तरिम आदेशमार्फत आयोगको निर्णयक कार्यान्वयनमा रोक लगाउँदै पार्टी फुटाएकाहरूलाई सांसद र मन्त्री पदबाट निलम्बित गर्न माग गरेका छन्।

मोदीको शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको मैत्रीपूर्ण मिन्त्रणामा आज नयाँदिल्ली जाँदै छन् । भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्रीमा तेस्रो कार्यकालको शपथग्रहण गर्ने समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दिउँसो साढे १ बजे नेपाल एयरलाइन्सबाट नयाँ दिल्ली जान लागेका हुन् । मोदीलाई आज अपराह्न राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूले शपथ गराउने कार्यक्रम छ। प्रधानमन्त्रीका साथ कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री छोरी एवं स्वकीय सचिव गंगा दाहाल तथा परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु गौतमलगायत रहने छन् । शपथग्रहण समारोहपछि प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारत सरकारले शपथग्रहण समारोहमा नेपालसहित बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्सलगायतका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको छ । प्रधानमन्त्री प्रचण्ड सोमबार अपराह्न स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभा बैठक : मन्त्रालयगत छलफल हुने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा आज बस्दै छ ।आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुने संसद् सचिवालयले जनाएको छ। बैठकमा वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ।   बैठकमा प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै, सांसद अमरेशकुमार सिंहले “विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन्। सांसद पुष्पबहादुर शाहले “विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्”  भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्। अर्का सांसद बद्रीप्रसाद पाण्डेले “विनियोजन विधेयक, २०८१ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय जानकारी दिए। त्यसैगरी सांसद रमा कोइराला पौड्यालले “विनियोजन विधेयक, २०८१ अन्र्तगत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

उपप्रधानमन्त्री नारायणकाजी र नेकपाका महासचिवबिच भेट

माडी । माओबादी केन्द्र का बरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपाल कम्युनिष्ट पार्टीका नेकपाका महासचिव नेत्र विक्रम चन्द्र विप्लव ‘सी’बिच माडीमा भेटवार्ता भएको छ।  उहाँहरुबिच पार्टी एकता लगायतका राजनैतिक  विषयमा छलफल भएको हो।   पछिल्लो समय पूर्व माओवादीहरुबिच एकताको प्रयास भइरहेका बेला दुई नेताबिचको भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ।  दुबै नेता आज माडीमै रहने  छ ।  उहाँहरुबिच पार्टी एकता लगायतका विषयमा छलफल हुने बुझिएको छ।   यसैबिच उपप्रधानमन्त्री श्रेष्ठले स्थानीयहरुसँगसमेत भेटघाट गरेका  छन्।  घेटका क्रममा माडीका स्थानीयहरुले माडीमा बजेट कम विनियोजन भएको   लगायतका गुनासोहरु राखेका थिए।  माअ‍ेवादी केन्द्रका युवा नेता सन्तोष पनेरुका अनुसार बसन्तपुरमा  हुने भुवानि प्रसाद पौडेल सातौं स्मृति जिल्ला स्तरिय अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाईनल खेलको अवलोकन समेत गर्ने कार्यक्रम रहेको छ।

सरकारले लोकप्रिय काम गरेको छ : मन्त्री शर्मा

काठमाडौं। नेकपा माओवादी केन्द्रकी स्थायी कमिटि सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनता माँझ जानका लागि सामाजिक संघ सस्थाको महत्वपूर्ण भुमिका हुने बताएकी छन्। पार्टी कमिटीको समाज कल्याण विभागद्धारा आयोजित दुई दिने सामाजिक अभियन्ताहरुको राष्ट्रिय भेला तथा अन्तरक्रिया कार्यक्रमको समापन समारोहलाई संवोधन गर्दै सरकारका प्रवक्ता मन्त्री शर्माले जनयुद्धमा पार्टीले नै सामाजिक संघ सस्थाको काम गरेको तर, शान्ति प्रक्रिया पछि जनता माझ पुग्नका लागि समाज कल्याण विभागमार्फत् काम गरिरहेको बताइन्। उनले माओवादी केन्द्र नेतृत्वको सरकारले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै लोकप्रिय कामहरु गरिरहेकाले त्यसलाई समाजमा स्थापित गर्न भूमिका निर्वाह गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिइन्।

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्ड शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगेका हुन् । उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भेटमा अरू समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्ड उनका भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार ९भोलि० नयाँ दिल्ली जाँदै छन् ।

जसपाले महाधिवेशन जनकपुरमा गर्ने

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपाको प्रथम राष्ट्रिय महाधिवेशनमा २० हजार मान्छेको उपस्थित रहने आयोजकले जनाएको छ ।  जसपा नेपालले यही जेठ २८ गते जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा २० हजार मान्छे सहभागी हुने पार्टी प्रवक्ता मनिस सुमनको बताएका छन् ।  जसपाले महाधिवेशनमा अन्य पार्टीका नेताहरूलाई पनि निमन्त्रणा दिएको छ । उनका अनुसार अहिलेसम्ममा केन्द्रका नेताहरू नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवले महाधिवेशनमा आउने निर्णय गरिसकेका छन् ।  एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछाने र जनमतका अध्यक्ष सिके राउतलाई निमन्त्रणा पठाइसकेको बताइएको छ ।