सुपर ओभरमा नामिबियासँग ओमान पराजित

काठमाडौं । आइसिसी टी २० विश्वकपअन्तर्गत आज भएको खेलमा नामिबिया विजयी भएको छ। लो स्कोरिङ गेममा निर्धारित २० ओभरमा दुवै टोलीले बराबरी रन बनाएका थिए। ​ओमनले दिएको १०९ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेट गुमाउँदै अन्तिम बलमा १०९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।  

सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य पाएको थियो। तर ओमानले १० रन मात्र बनाउन सक्यो। ओमानका बिलाल खानले तीन चौका र एक छक्कासहित २१ रन खर्चिएका थिए।त्यसअघि १ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो।

नामिबियाका लागि जान फ्राइलिंकले सर्वाधिक ४५ रन बनाए। निकोलास डाभिनले २४ रन जोडे।  ओमानका लागि मेहरन खानले ३ विकेट लिए भने बिलाल खान, अकिब इलियास र आयान खानले १–१ विकेट लिए।

बारबाडोसको किङ्सटन ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो।  पहिलो दुई बलमा दुई विकेट गुमाएको ओमानले १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो। रुबेन ट्रम्पलम्यानको घातक बलिङसामु ओमान निरीह देखिएको थियो।

त्यसपछि खालिद काइल र जिसान मक्सुदले ओमानको इनिङ्स सम्हाले। खालिद ३९ बलमा ३४ रन बनाए भने मक्सुदले २० बलमा २२ रन जोडे। 

त्यस्तै,आयान खानले १५ रन तथा शकिल अहमदले ११ रनकोको योगदान दिए।नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए। उनले ४ ओभरमा मात्र २१ रन खर्चिए। उनको करियरको सबैभन्दा उत्कृष्ट बलिङ प्रदर्शन थियो भने विश्वकपमा नामिबियाका लागि पनि सबैभन्दा प्रदर्शन थियो। डेभिड विसाले ३ तथा जेर्हार्ड इरास्मसले २ विकेट लिए। बर्नार्ड स्कोल्ट्जले १ विकेट हात पारे।
जितसँगै समूह बीमा रहेको नामिबियाले महत्वपूर्ण २ अंक जोडेको छ। 

प्रतियोगिता अन्तरगत आज राति श्रीलंका र दक्षिण अफ्रिका आमने सामने हुनेछन्। समूह एमा रहेको नेपाल र नेदरल्याण्ड्सको खेल भोलि राति हुनेछ।  

असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो : अध्यक्ष ओली

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन्। आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। सञ्चारकर्मीहरूले बजेटप्रति असन्तुष्टि हो ? भन्ने प्रश्नमा असन्तुष्टि नरहेको तर, छलफल गरेर बजेट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिएका हुन्। 'असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो,' उनले भने । सदनमा आजबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ ।

वर्षात्‌को जोखिम कम गर्न सांसद सापकोटाद्धारा ध्यानाकर्षण

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले वर्षात्‌बाट हुने जोखिम कम गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले भने, ‘आउँदै गरेको वर्षात्‌को जोखिम र त्यसका पूर्वतयारीका बारेमा सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण होस्। सरकारले यसबारेमा सोचोस्।’ २०७८ साल असारमा बाढी, पहिरोले इन्द्रावती र मेलम्ची क्षेत्रका बासिन्दाहरू प्रभावित भएको उल्लेख गर्दै क्षतिपूर्ति र राहत लगायतका विषय सम्बोधन नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे। संसद्‌मा जलवायु परिवर्तनको असर, प्रभाव र त्यसको न्यूनीकरणको सम्बन्धमा समेत छलफल हुनुपर्ने उनले बताए।

गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरूलाई दिएको अभिव्यक्तिमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ लिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद् एवं महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले आफ्ना नेताहरूलाई लगाएको आरोपहरू रेकर्डमा हटाउन समेत माग गरे। ‘कि प्रधानमन्त्रीले वन गर्नु, (स्वामित्व लिनुस्) । होइन भने सदनबाट हटाउन भन्नुस्’ थापाले भने, ‘होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ। यही सदनमा लिइन्छ।’ यही जेठ ६ गतेको प्रतिनिधि सभाको बैठकमा थापालाई लक्षित गर्दै गृहमन्त्री लामिछानेले विदेशीलाई सूचना बेचेको गम्भीर आरोप लगाएका थिए।यस्तै उनले सहकारी गठी प्रकरणमा गठित संसदीय विशेष समितिले गर्ने काम महत्वपूर्ण हुने बताए। सांसद थापाले समितिले गृहमन्त्री लामिछाने,महान्यायाधिवक्ता र आईजीपीको समेत बयान लिने बताए।

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं। सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठक आज बिहान ११ बजेबाट सुरु भएको हो । प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। त्यसपछि आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ। दिउँसो सवा एक बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसपछि आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदार भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ।

रोजगारी सिर्जना गर्न उद्योगी, व्यवसायीलाई श्रममन्त्रीको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले देशमा रोजगारीको ठूलो समस्या रहेको बताएका छन्। रोजगारी सिर्जना गर्न उद्योगी, व्यवसायीसँग उनले आग्रह गरेका छन् । शनिबार जनकपुरमा श्रमाधान मेलाको उद्घाट गर्दै उनले यस्तो बताएका हुन्। देशभरको तुलनामा मधेस प्रदेशमा रोजगारीको समस्या विकराल रहेको उनले उल्लेख गरे। उनले रोजगारीको खोजीमा युवापुस्ता भौँतारिरहेको बताए । यस्तो अवस्थालाई हेरेर स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। उनले मेलाले श्रमिक र रोजगारदाताका समस्या, आवश्यकताबारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका निम्ति महत्न्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। मन्त्री अर्यालले देशको युवापुस्ता बाध्य भएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहेको बताए। देशको श्रमबजारको आवश्यकताअनुसार सीप सिकेर अवसरको सदुपयोग गर्न उनले आग्रह गरे। 

काठमाडौंको नीति तथा कार्यक्रम ३२ जेठमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम ३२ जेठमा ल्याउने भएको छ। बुधबार बसेको कार्यपालिका बैठकले ३२ जेठमा १५औं अधिवेशन मिति तोकेको हो। कार्यपालिका बैठकले ‘कानुन तर्जुमा र स्थानीय राजपत्र तथा नीतिगत दस्तावेज सम्पादन एवम् प्रकाशन कार्यविधि(२०८१’, ‘श्रम बैंक सञ्चालन कार्यविधि–२०८०’ को पहिलो संशोधन र ‘टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि–२०८०’ मा पहिलो संशोधनका लागि सैद्धान्तिक सहमति दिएको छ । यस्तै ‘फार्मेसी सञ्चालन तथा नियमन सम्बन्धी निर्देशिका–२०८१’ र ‘साथी महानगर सञ्चालन कार्यविधि–२०८१’ संशोधनसहित पारित भएको महानगरले जनाएको छ । बैठकले ६० वर्ष उमेर पूरा भएका र १० वर्ष सेवा गरेर स्वेच्छिक अवकाशमा जान चाहने स्वयंसेविकालाई सुविधासहित सेवाबाट अलग हुने अवसर प्रदान गर्ने बैठकले निर्णय गरेको छ । यस्तै सहरी योजना आयोगको सदस्यमा इन्जिनियर शैलेन्द्र झा र प्रसुनरत्न बज्राचार्यको नियुक्तिलाई अनुमोदन गरेको छ ।

२३ वर्ष पछि दरबार हत्याकाण्डको बहस

काठमाडौं । दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ । दरबार हत्याकाण्डमा तत्कालीन राजा विरेन्द्रको वंशनाश भएको थियो । उक्त हत्याकाण्ड छानविन गर्न तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा उच्चस्तरीय छानविन समिति बनेपनि विश्वसनीय प्रतिवेदन दिन सकेन । दरबार हत्याकाण्डका बारेमा अहिले पनि अनेकौं अनुमान लगाइन्छ ।  रिपोर्टर्स क्लब नेपालले आज (शनिबार) तत्कालीन समयमा दरबारको नजिक मानिएका डा. सुन्दरमणि दीक्षित सहितको उपस्थितिमा अन्तरक्रिया गरेको छ ।  कार्यक्रममा नागरिक समाजका अगुवा डा. दीक्षितले राजा विरेन्द्रलाई असल र नम्र व्यक्तिको रुपमा सम्झिए । उनले दरबार हत्याकाण्ड दिपेन्द्रले नै गराएको दाबी गरे । उनले दरबार हत्याकाण्ड हुनुको मुख्य कारण दिपेन्द्रको लभ अफयर नै रहेको दाबी गरे ।  दरबार हत्याकाण्डलाई उनले यसरी सम्झिए, ‘त्यो दिन शुक्रबारको दिन थियो । राज परिवारको जमघट हुने दिन थियो । त्यहाँ दिपेन्द्रले कम्ब्याट ड्रेस लगाएर आएर गोली हानेको छ । राजा विरेन्द्रलाई गोली हानिसकेपछि अरुलाई हान्दै गए, फेरि फर्किएर आएर राजा मरेका छन् कि छैनन् ? हेरेको छ । त्यो बेलासम्म राजाको स्वर्गीय भएको थिएन । त्यस बेलामा राजाको शीर उहाँको बहिनी (शोभा) को काखमा राखेर उहाँको बहिनीले हेरविचार गरिराख्नुभएको थियो । त्यस बेलामा दिपेन्द्र आएर फेरि गोली हानेर हत्या भएको छ । यो हत्या दिपेन्द्रले गरेको हो । कारण सबैलाई थाहा छ, कारण लभ अफयर नै हो । बिहेको सम्बन्ध हो । दिपेन्द्रको मुकुटधारी मान्छे आयो भने । त्यो होईन । दिपेन्द्रले वंशनाश गरेको हो ।’  त्यस बेलाको राजनीतिक नेतृत्व पूरै प्यारालाइज हुँदा छानविन हुन नसकेको उनको भनाइ छ । दिपेन्द्रले हत्या गरेको कुरामा विवाद नरहेको दाबी गर्दै उनले ज्ञानेन्द्रको परिवारलाई केही नहुनुको रहस्य समेत खुलाए ।  उनले ज्ञानेन्द्र घटना हुनुभन्दा केही दिनअघि नै पूर्वनिर्धारित कार्यक्रम अनुसार बाहिर गएको बताए । घटना भएपछि मात्रै ज्ञानेन्द्रलाई सो बारेमा उनकी आमाले फोन मार्फत जानकारी गराएको उनको दाबी छ । ज्ञानेन्द्रको श्रीमती कोमल सो घटनामा घाइते भएको उनले बताए । सो घटनामा कोमलको मृत्यु नहुनुमा एउटी राजकुमारी गोली लागेर ढलेपछि त्यसमाथि कोमल र कोमल माथि पुन अर्की राजकुमारी ढल्दा उनीलाई केही नभएको बताए ।  ‘दिपेन्द्रले गोली हान्दै जाँदा एकपछि अर्को ढल्दै गए । एउटा दिदी ढलिन्, त्यसमाथि कोमल ढलिन र अर्की राजकुमारी पनि त्यहीमाथि ढल्दा उनी बचिन् । आजको दिनसम्म पनि पूर्वरानी कोमलको छातीमा गोली छ । त्यो निकाल्न सकिएको छैन । त्यो निकालियो भने उनको मृत्यु हुनसक्छ,’– दीक्षितले भने ।  दिपेन्द्रको लभ अफयर चलिरहँदा उनको पक्षमा निराजन र पारस रहेको दीक्षितको दाबी छ । अरु सबै परिवार रानीको पक्षमा रहेकाले दिपेन्द्रले छानीछानी गोली हानेको उनले बताए । पारसलाई दिपेन्द्रले नै छाडेको उनको भनाइ छ । दिपेन्द्रले सबै जनालाई मारेपछि निराजन जाइ लाग्दा उनलाई पनि मारेको दीक्षितले दाबी गरे ।  अहिले एडीसीले के हेरेर बसेको भन्ने प्रश्न आइरहेको भन्दै उनले राज परिवारको जमघटमा कुनै एडीसी छिर्न नपाउने बताए । विरेन्द्रका निकट रहेका तत्कालीन एडीसी सुन्दर राना मगरले विरेन्द्रलाई हस्पिटल पुर्याएको उनले बताए । विरेन्द्रको वंशनाशपछि अहिलेसम्म आइपुग्दा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपनि अब देशले यसलाई धेरै दिन झेल्न नसक्ने उनले बताए । गणतन्त्र आउँदा आफूले पनि दीप प्रज्वलन गरेको स्मरण गराउँदै उनले अब यो व्यवस्था फ्याक्नुपर्ने अवस्था आइपुगेको तर्क गरे ।  प्राध्यापक डा. सुरेन्द्र केसीले दरबार हत्याकाण्डमा जनताले  ज्ञानेन्द्रमाथि ठूलो आशंका गरेको बताए । ज्ञानेन्द्रमाथि जनताले आशंका गरेपनि घटनाबाट बचेका गोखर शमशेरले पनि यसमा दिपेन्द्रकै हात रहेको बताएको उनले सुनाए ।  सेना, प्रहरीले, शाही परिवार र दरबारसँग जोडिएका राणाहरुले उक्त घटना युवराज दिपेन्द्रले नै गराएको दाबी गरिरहेको उनले बताए । आफूलाई भने सबै घटना दिपेन्द्रले गराएकोमा विश्वास नरहेको बताए । उनले विरेन्द्रलाई हान्नेसम्म चाहीँ दिपेन्द्रले गरेको र त्यसपछि अरु कोही संलग्न भएको आशंका व्यक्त गरे । दरबार निकटका कलाकार नीर शाहले पनि उक्त घटना दिपेन्द्रकै कारण घटेको भनी अन्तरवार्ताहरु दिएको केसीले स्मरण गराए । दिपेन्द्रलाई सो घटनामा आफ्नो पनि ज्यान जाँदैछ भन्ने कुरा थाहा नभएको डा. कसीको दाबी छ । दिपेन्द्रले गोली चलाएर विरेन्द्र ढलेपछि त्यसपछिको घटनालाई अरुले टेकओभर गरेको उनको उनको अनुमान छ ।  संवैधानिक दायरामा आइसकेको राजपरिवारको वंशनाश गर्नुपर्ने नेपाली जनताबाट कुनै खतरा नरहेको उनले बताए । विरेन्द्रको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्रले पाले हुर्काएकाहरुबाट नै राजासंस्थामा खतरा आएको उनले बताए । उनले ज्ञानेन्द्र सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादु थापाको नाम लिए ।  अहिले राजतन्त्रको पक्षमा माहोल बन्दै गएको डा. केसीको भनाइ छ । उनले अहिलेका राष्ट्रपति, प्रधानमन्त्री र नेताहरुको भन्दा बजारमा आफ्नो क्रेज बढी रहेको समेत दाबी गरे ।  सो क्रममा क्लबका सभापति ऋषि धमलाले राजा विरेन्द्रसँग आफ्नो भेटलाई स्मरण गरे । उनले उक्त हत्याकाण्ड अहिलेसम्म रहस्यकै गर्भमा रहेको भन्दै छानविनको माग गरे । सभापति धमलाले पुनः छानविन समितिबनाएर निश्पक्ष छानविन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।  ‘त्यो हत्याकाण्ड त्यसै भएको छैन । छानविन गर्नुपर्छ । दरबार हत्याकाण्ड कसरी भयो, कसले गर्यो ?किन गर्यो ? छानविन गर्नुपर्छ । उच्चस्तरीय समिति पहिला पनि बन्यो । तारानाथ रानाभाट अहिले पनि हाम्रो सामू हुनुहुन्छ । माधव नेपालले समितिमा बस्न मान्नुभएन,’– उनले भने ।

बजेट अध्ययन गरेर सुझाब दिन अध्यक्ष ओलीको आग्रह

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१–८२ को बजेट राम्रोसँग अध्ययन गरेर छुटेका महत्त्वपूर्ण विषयबारे सुझाब दिन आग्रह गरेका छन् । नयाँ बानेश्वरमा शनिबार आयोजित एमाले संसदीय दलको बैठकमा उनले सो कुरा बताएका हुन्। “कुन कुन मन्त्रालयमा कुन कुन शीर्षकमा रकम विनियोजन गरिएको छ, कुनमा नयाँ आयो कुन शीर्षक हटाइएको छ यी सबै विषयमा अध्ययन गरी सुझाव दिनुहोला” अध्यक्ष ओलीले निर्देशन दिए। सरकारमा सहभागी दलबाट पर्याप्त परामर्श गरी ल्याइएको बजेट भए राम्रो बजेट आउँथ्यो होला, तर सरकारले त्यसो गरेन उनले भने।  बजेटले महत्वपूर्ण विषय समेटेको तर केही महत्वपूर्ण विषय समेट्न नसकेको अध्यक्ष ओलीले बताए। बजेटमा कमजोरी रहे पनि त्यसलाई पारित गरेर जानुको विकल्प नरहेको उनले भने। छलफलमा प्रश्न उठाउन सकिन्छ तर पारित गर्नुपर्ने बाध्यता छ उनले भने। बजेटमाथिको छलफलमा विषय उठाउँदा सांसदविच समन्वय गरेर गर्न उनले भने। नयाँ संविधानले मुलुकलाई समाजवाद उन्मुख बनाउने व्यवस्था गरे पनि बजेटमा त्यसबारे स्पष्ट योजना नआएको उनको भनाइ छ। सत्तापक्षसँग छलफल गरेर बजेट ल्याउनुपर्ने तर त्यसो हुन नसकेको उनले टिप्पणी गरे। मुलुकको आर्थिक समृद्धिका लागि बजेट पर्याप्त नभए पनि केही महत्वपूर्ण विषय भने समेटिएको उनको भनाइ छ। 

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र नेपालबिच छलफल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच छलफल भएको छ।  शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबिच भेट भएको हो। भेटका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको अध्यक्ष ओलीले बताए।  भेटमा आइतबारबाट संसदमा सुरु हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पनि छलफल भएको थियो। 

सत्ता समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताएका छन्। सिंहदरबारमा आज बसेको नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा उनले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न आग्रह गरे। वर्तमान सत्ता समीकरणमा रहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरूको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले राख्नुभएको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भने, “सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ ।” आफूले पनि केही दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको सन्दर्भ सुनाउँदै उनले दलका नेताहरूबिच भेटघाट गर्दैमा राजनीतिमा कुनै फरक नपर्ने बताएको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले ठुलो अन्योलको बिचमा सहमति कायम गरेर बजेट प्रस्तुत गर्नुपर्ने चुनौतीलाई चिरेर जनअपेक्षा र पार्टी योजनाअनुसार नै बजेट संसदमा प्रस्तुत भएको उल्लेख गर्दे बजेटमाथिको छलफलमा प्रभावकारीरुपमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिए। “बजेटमा कृषिलाई प्रमुख प्राथमिकतामा दिइएको छ, समय सापेक्षता र मुलुकको अर्थतन्त्रको अवस्थाअनुसार बजेट सन्तुलित छ । बजेट कार्यान्वयन गरेर जानुपर्छ, यसमा सबैको सहयोगको अपेक्षा छ”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मुख्य सचेतक पाण्डेले भने। बैठकमा माओवादी संसदीय दलका नेता एवम् प्रधानमन्त्रीले आगामी आइतबारदेखि बजेटसम्बन्धी छलफल र संसदमा रहेका महत्त्वपूर्ण विधेयकलाई पनि सँगसँगै अघि बढाइने बताएको पाण्डेले जानकारी दिए। बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटका मुख्य विषयवस्तु बारे जानकारी गराएका थिए। उनले बजेटमा पार्टीले दिएको सुझाव तथा जनआकाङ्क्षा समेटिएको स्पष्ट पारे । बैठकमा १२ सांसदले  बजेटका सबन्धमा टिप्पणी गराएका थिए। रासस

राजनीति गर्नेहरूले जनताको चाहनालाई केन्द्रमा राख्नुपर्छ : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीति गर्नेहरूले जनताको चाहनालाई केन्द्रविन्दुमा राख्न सक्नुपर्ने बताएका छन् ।  शुक्रबार काठमाडौंमा लिखुसँग आत्मसमर्पण पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले राजनीति सहज ढंगले अगाडि बढ्नको लागि जिम्मेवारीमा बसेकाहरू राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन् । राज्यका स्रोत साधनहरू जनताको हितमा सोच विचार गरेर परिचालन गर्नुपर्ने उनको भनाइ छ ।  अहिलेको राजनीति भ्रष्टाचारले बिग्रिएको र त्यसको असर समाजका साथै समग्र देशमा परेको उनले बताए । अध्यक्ष नेपालले अहिलेको बजेटमा कृषिका योजनाहरू धेरै राम्रो गरी आएको धारणा राखे ।  उनले राष्ट्रिय राजनीतिलाई सहज रूपमा अघि बढाउन ध्यान पुर्‍याउँदै संवेदनशील हुनुपर्ने बताए । 

कार्यव्यवस्था परामर्श समिति बैठकले टुङ्ग्यायो जेठ मसान्तसम्मको कार्यतालिका

काठमाडौँ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा सम्पन्न भएको छ। बैठकले जेठ मसान्तसम्मको बैठकको कार्यतालिका टुङ्ग्याएको छ।  बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले बैठकलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सकारात्मक सहयोग गर्न सबै दलहरूलाई आग्रह गरेका छन् । 

गठबन्धन तलमाथि हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन तलमाथि नहुने बताएका छन् ।  शुक्रबार सिंहदरबारमा बसेको नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा बिफ्रिङ गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन तलमाथि नभइ एकढिक्का भएर जाने बताएको सांसद माधव सापकोटाले जानकारी दिए ।  माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भने, “गठबन्धन तलमाथि हुँदैन। एकढिक्का भएर जान्छ। माधव कमरेडको कुनै समस्या हुँदैन। कुराकानी भइरहेको छ, बजेटको डिफेन्स गर्नुस् ।” 

सत्ता समीकरण मिसन–८४ सम्म कायम राख्न चाहन्छौँ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण मिसन–८४ सम्म कायम राख्न चाहेको बताएका छन्।एमालेको आयोजनामा भएको राष्ट्रिय महिला भेलाको समापन समारोहलाई आज सम्बोधन गर्दै उनले भने, “जे कारणले हामीलाई घेराबन्दी गर्ने काम भयो। जनताले हामीलाई रोज्दारोज्दै हामीलाई विमुख पार्ने काम भयो । त्यसको अन्त्य हामी मिसन–८४ मा गर्न चाहन्छौँ।” उनले मिसन–८४ का लागि पार्टी बलियो बनाएर एमालेलाई भविष्यको निर्णायक शक्तिको रूपमा स्थापित गर्ने बताए।महासचिव पोखरेलले चुनावी प्रतिस्पर्धामा महिलाको सहभागिता अब निर्णायक शक्तिको रूपमा रहनुपर्नेमा जोड दिए। “पुरुषभन्दा महिला मतदाताको सङ्ख्या धेरै छ । गाउँमा कुनै कार्यक्रम गर्न थाले महिलाको उपस्थिति धेरै देखिन्छ,” उनले भने। उनले पार्टी सदस्यता प्राप्त गर्ने सवालमा महिलाको सहभागिता अझै कम रहेकाले बढाउनुपर्नेमा जोड दिए। “संविधानतः हामीले ४० प्रतिशत प्रतिनिधित्व स्थानीय तहमा सुनिश्चित गरेका छौँ। तर पार्टी सदस्यताको हिसाबले महिला सहभागिता अहिले पनि २० प्रतिशत छ,” उनले भने, “संविधानको सीमाभित्र पनि हामीले पार्टी सदस्यता विस्तार गर्न सकेका छेनौँ।” उनले महिलाको राजनीतिक सशक्तीकरणको आरम्भ पार्टी सदस्यताको विस्तारबाट हुने बताए। महिलाका लागि मात्र नभई सिंगो समाजको नेतृत्वकर्ता महिला बन्नुपर्ने उनको धारणा छ। कार्यक्रममा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले महिला आन्दोलनको सशक्तीकरणको पक्षमा महिलासँगै रहने प्रतिबद्धता व्यक्त गरे। भेलामा आज विभिन्न १२ समूहमा सात वटा विषयमा छलफल गरिएको थियो। हिजोदेखि सुरु भएको भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुका तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी पाँच हजार जना सहभागी थिए। रासस