गृहमन्त्रीविरुद्ध रिटको पेसी आज

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ ।गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो।

अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत रिटमा माग गरिएको छ।

रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ।

रिटमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनु्चित प्रभाव र प्रतिकूल असर पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरित समेत रहने भएकाले अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्नु भनि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको नाउँमा अन्तरिम प्रकृतिको उपयुक्त आदेश माग गरिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा कुनै पनि उजुरी नपरेको पत्र पठाएपछि अधिवक्ता भट्टराईले गृहमन्त्री र महान्याधिवक्ताविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए। तर, अदालत प्रशासनले उक्त रिट दरपीठ गरेपछि भट्टराईले अर्को रिट दायर गरेका थिए ।

उक्त रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न अदालत प्रशासनलाई आदेश दिएको थियो।

महान्यायाधिवक्ताको कार्यालयले रुपन्देहीको सुप्रिप बचत तथा ऋण सहकारी संस्था, चितवनको साहारा सहकारी संस्था तथा कास्कीको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनासम्बन्धी लामिछानेविरुद्ध कुनै उजुरी, जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नदेखिएको जनाएको थियो ।

बजेट भाषणको समय सर्‍यो, ३ बजे संयुक्त बैठक बस्ने

काठमाडौं । संघीय संसद्को संयुक्त बैठकको समय सारिएको छ । मंगलबार दिउँसो १ बजेका लागि तय भएको बैठकको समय २ घण्टा पछि सारिएको हो।  सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि ३ बजेसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनेछ ।  

कार्यदलसहित शीर्ष नेताबीचको सहमति कांग्रेसले गर्‍यो अनुमोदन

काठमाडौं । नेपाली कांग्रेसले सोमबार बालुवाटारमा कार्यदलसहित शीर्ष नेताहरूबीचको बैठकमा भएको ‘सहमति’ अनुमोदन गरेको छ। आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकबाट सहकारी बचत अपचलन प्रकरणबारे बालुवाटारमा भएको सहमति अनुमोदन गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।कार्यादेश तय गर्न गठित कार्यदलले त्यसलाई अन्तिम रूप दिने लेखकले जानकारी दिए। पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा उपस्थित हुन नसकेकाले राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बैठक बसेको उनले बताए।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद् बैठक अहिले केही बेरमा बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।  आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्ने छ । मंगलबार दिउँसो १ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै छन् ।  अर्थमन्त्रीले सांसदमार्फत सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद्बाट बजेट प्रस्तुत सम्बन्धी प्रस्ताव स्वीकृत गराउनुपर्छ । अर्थमन्त्रीले बजेटका प्राथमिकताबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गर्नेछन् । 

सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध छ :  प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  गणतन्त्र दिवसका अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न भएको बताए। “संविधानले परिलक्षित गरेबमोजिम हामीले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकाशं कार्य सम्पन्‍न गरेका छौँ”, प्रधानमन्त्री प्रचण्डले भने, “शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा सङ्‍क्रमणकालीन न्यायका बाँकी काम समेत यथाशीघ्र सम्पन्‍न गर्न सरकार दृढ छ।” उनले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपालले गरेको अभ्यास विश्‍वसामु नवीन उदाहरणका रूपमा स्थापित भएको उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले सशस्‍त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपाङ्‍गता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, रोजगारी, स्वरोजगारका अवसर, आर्थिक सहायता, पुनस्स्थापना र परिपूरणको व्यवस्था मिलाइएको जानकारी दिए।  विश्‍वव्यापीरूपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त, मान्यता र नेपाली समाजको विशेषता अनुकूलका चरित्रसहितको ‘सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रु नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्‍ने तथ्य स्थापित हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानबमोजिम तीनै तहमा निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्‍न निर्वाचनले मुलुकमा सङ्‍घीय शासन प्रणालीलाई सुदृढ बनाएको स्पष्ट पारे ।उनले आवधिक निर्वाचनबाट गठन भएका तीन तहका सरकारहरू नागरिकको हित र उन्‍नतीका लागि क्रियाशील रहेको बताए। “राष्‍ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप देशमा समाजवादउन्मुख आर्थिक सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्‍ट्रिय आकाङ्क्षा पूरा गर्न सरकार प्रतिबद्ध छ,” प्रधानन्त्रीले भने, “नेपाली जनताको सुख र समुन्‍नतिका लागि सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवं व्यावसायिक निराशालाई चिर्दै जनतामा आशा र भरोसा जगाउने गरी सरकारले कार्य गरिरहेको छ।”   सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन र सेवा प्रवाहमा जनताले अनुभूति गर्न सक्नेगरी सुधारका लागि सरकार स्पष्‍ट मार्गचित्रका साथ अघि बढेको बताउँदै प्रधानमन्त्रीले संविधान कार्यान्वयन, सङ्‍घीयता सबलीकरण, अर्थतन्त्र सुधार र पुनरुत्थान, सुशासन प्रर्वधन, सार्वजनिक सेवाप्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री शासनको स्थापना तथा भ्रष्‍टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकता भएको बताए।  “देशमा भएको युगान्तकारी परिवर्तनको फलस्वरूप रैती भएर युगौंदेखि हेपिएका वर्ग तथा समुदाय अहिले अधिकार र सम्मानका साथ राज्यका विभिन्‍न निकायमा नेतृत्व तहमा रहेका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “कल्पनाभन्दा पर रहेको, आँगनमा उभिँदा समेत छोइछिटो सहनुपर्ने समुदाय अहिले देशैभरिका ६ हजार ७ सय ४३ वडालगायत राज्यका विभिन्‍न तहका निकायमा निर्णायक भूमिकामा रहेका छन्। आधा आकाशको उपमा पाएका तर चुलोचौकोमा सीमित महिलाहरूले ७५३ स्थानीय तहका प्रमुख वा उपप्रमुखको रूपमा नेतृत्व गरिरहनुभएको छ ।” सार्वजनिक क्षेत्र मात्र नभइ सबै राजनीतिक दल, सामाजिक सङ्‍घसंस्था लगायत हरेक तहका निकायका एक तिहाइ महिलाको सहभागिता सुनिश्‍चित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले वञ्‍चितीकरणमा परेका वर्गको मूलप्रवाहीकरण एवं लक्षित समूहको अधिकार संरक्षणका लागि स्थापित संवैधानिक आयोगहरू क्रियाशील रहेको बताए । उनले नेपाली समाजमा व्याप्‍त यिनै सामाजिक, सांस्कृतिक, आर्थिकलगायतका विभेद र वञ्‍चितीकरणको  अन्त्य गर्दै समृद्धिको जग बसाल्ने सफल दिनका रूपमा हामीले आजको दिनलाई स्मरण गरिरहेका छौँ भने।

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताएका छन्। सत्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिनका रूपमा रहेको उल्लेख गरेका छन्।  “आफूले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरूलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्र पाइन्छ। कहिलेकाहीँ हामी गलतलाई चुन्न सक्छौँ, तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन”, अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन्, “गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ। जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफै गलत छ । हामीले अधिकार पाएका छौँ। सँगसँगै कर्तव्य पनि नभुलौँ।”

विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे संसद् भवनमा देउवाको कार्यकक्षमा हुने देउवाको सचिवालयले जनाएको छ ।  बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरूलाई बोलाइएको छ । संसद्को बजेट अधिवेशन प्रारम्भ भएदेखि नै निरन्तर संसद् अवरोध गर्दै आएको काँग्रेसले मंगलबार सरकारले बजेट पेश गर्ने कार्यक्रम रहेकोमा सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा सहमतिका लागि छलफल गरिरहेको छ ।  बजेट पेश गर्ने कार्यसूचीसहित संघीय संसद्का दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले सरकारको आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यसूची छ । 

जनमुखी विकासका लागि प्रेरणा मिलोस् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले गणतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गर्नुपर्ने बताएका छन् ।    सभामुख घिमिरेले १७औँ गणतन्त्र दिवस–२०८१ को अवसरमा जारी गरेको शुभकामना सन्देशमा नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।    “शासन व्यवस्थाहरूमध्ये सबैभन्दा उत्तम गणतन्त्रमा जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका पक्षमा एकाकार हुन आह्वान गर्दछु”, सन्देशमा भनिएको छ, “यसै कुरालाई हृदयंगम गरेर सम्पूर्ण राजनीतिक शक्तिहरू विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखेको छु ।”   लोकतान्त्रिक गणतन्त्रको जगमा लामो समयसम्मको राजनैतिक अस्थिरता एवं संक्रमणपछि मुलुकमा लोकतान्त्रिक पद्धतिबाट संविधान निर्माण भई कार्यान्वयनमा आइसकेको उनले बताएका छन् ।  नयाँ संविधान बमोजिम २०७४ र २०७९ सालमा तीनवटै तहका निर्वाचन सम्पन्न भएको, गणतन्त्रले नेपालको राजनीतिक प्रणाली र शासन व्यवस्थामा धेरै परिवर्तन ल्याएको भए पनि जनताको जीवनमा भने अझै गुणात्मक अन्तर ल्याउन अझै बाँकी रहेको सन्देशमा उल्लेख छ । रासस  

आज गणतन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौ । आज विभिन्न कार्यक्रम गरी देशभर गणतन्त्र दिवस मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ। दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ ।विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो। विसं २०६२ साल मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए ।अन्ततः तत्कालीन राजा ज्ञानेन्द्र शाह आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्न बाध्य भए । विसं २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो। उक्त बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो।यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गरेको थियो । सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा यही जेठ १ गते सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ गठन गरेको थियो।

प्रधानमन्त्रीको सार्थक पहल : खुल्यो संसद् अवरोध

काठमाडौं । लामो समयदेखिको संसद् गतिरोध अन्त्य गर्ने प्रधानमन्त्रीको प्रचण्डको पहलले सार्थकता पाएको छ ।सत्ता पक्ष र प्रतिपक्षबीच दुरी बढिरहेका बेला प्रधानमन्त्री प्रचण्डले सत्ता पक्ष र प्रतिपक्षबीच सँगै र छुट्टाछुटै चरण चरणमा छलफल गरेर सहमतिको वातावरण बनाएका हुन्। परिणामतः हिजोको छलफलले सकारात्मक निष्कर्ष दिएको छ ।सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि ७ सदस्यीय संसदीय समिति गठन गर्ने सहमति भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति सम्पन्न शीर्ष नेतृत्वको बैठकले सहकारी प्रकरण छानबिनका लागि सात सदस्यीय संसदीय समिति गठन गर्ने सहमति जुटेको हो ।बैठकमा सहभागी नेपाली कांग्रेसका एक नेताले भने, ‘७ सदस्यीय समिति गठन गर्ने सहमति भएको छ ।’ उक्त समितिमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा एमालेबाट दुई–दुई, सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक–एक जना सदस्य रहने छन्। ती नेताका अनुसार उक्त समितिलाई छानबिनका लागि तीन महिनाको समयावधि निर्धारण गर्ने पनि दलहरुबीच सहमति जुटेको हाे। दलहरुबीच सहकारी ठगी प्रकरणमा  पप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरेर छानबिन अघि बढाउनेसमेत सहमति भएको छ। आज बिहान ११ बजे हामी कार्यदलको बैठक बस्ने छ । उक्त बैठकले कार्यादेशमा हस्ताक्षर गरेपछि सहमतिले अन्तिम रुप प्राप्त गर्नेछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्रीसहित कार्यदल सदस्य र कांग्रेस नेताहरूबीच भएको छलफलले कार्यादेशलाई अन्तिम रुप दिएको हो ।यससँगै आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले निर्वाध रुपमा बजेट भाषण गर्ने निश्चित भएको छ । ।

कार्यादेशबारेको बैठक सहमति नजिक

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर)मा सत्ता पक्ष र विपक्षबीच सहमति नजिक पुगेको छ । आज बालुवाटरमा बसेको सत्ता र प्रतिपक्षीका नेताहरूबीचको छलफल सहमति नजिक पुगेको हो ।सहमति कायम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वनिर्धारित मन्त्रिपरिषद्को बैठक स्थगित गरी दलदहरुसँग चरण चरणमा छलफल गरेका थिए । आजको बैठक सकारात्मक भएको र भोलि मात्रै निष्कर्षमा पुग्ने नेताहरुले बताएका छन् ।भोलि बिहान ११ बजे कानून मन्त्रालयलमा कार्यदलको बैठकले आजको समझदारीलाई औपचारिकता दिएर हस्ताक्षर गरेपछि कार्यादेशबारेको छलफलले निष्कर्ष प्राप्त गर्नेछ ।भोलिबाट सदनका नियमित कामहरू निर्वाधरूपमा अगाडि बढ्ने नेताहरुले बताएका छन् ।

देउवाले बोलाए विपक्षी दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन् । भोलि (मंगलबार) बिहान १० बजे बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा बैठक बस्ने राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका उपनेता बुद्धिमान तामाङले जानकारी दिए।  भोलि आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । सहकारी बचत अपचलन प्रकरणमा सत्ता र प्रतिपक्षको कुरा नमिल्दा सदनको गतिरोध अन्त्य हुन सकेको छैन । बजेटको दिन कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि बैठक बस्न लागिएको तामाङले जानकारी दिए ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति संविधानसम्मत भएन : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति तथा विश्वासको मत लिएको प्रक्रियालाई खारेज गरेको छ । सभामुखको समेत समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएको र विश्वासको मतसमेत दिएको भन्दै उनको नियुक्तिलगायतका प्रक्रिया बदर गर्न कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए। गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसको तर्फबाट २७ जना, नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तर्फबाट २२ जना, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका ८ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ जना र नेपाल कम्युनिस्ट पार्टी नेकपा (एस)का १ जना गरी जम्मा ६० जना सांसद रहेका छन् । सभामुखले आफ्नो मत सुरक्षित रहेको बताउँदै खगराज अधिकारीलाई मख्यमन्त्री घोषणा गरेका थिए । बहुमत नपुगेको भन्दै सर्वोच्चले उक्त निर्णय खारेज गरेको हो ।न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार पाण्डेको रिट जारी गरेको हो ।

यस्तो छ बागमती प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ)

हेटौडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ।  प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेको १८६ बुँदाको नीति तथा कार्यक्रममा प्रदेशमा प्रदेश योजना बैंक स्थापनादेखि विद्युतीय सबारीलाई प्रोत्साहानको कार्यक्रम, खेलकुद क्षेत्रको भौतिक निर्माणलाई प्राथमिकता लगाएतका विषय समेटिएको छ। स्वरोजगारमा संल्ग्न तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूले आर्जन गरेका ज्ञान र सीपलाई मान्यता प्रदान गर्न परिक्षणलाई निरन्तरता दिँदै उद्यमशीलतालाई प्रोत्साहन गरिने उल्लेख छ। यस्तो छ बागमती प्रदेशको नीति तथा कार्यक्रम  

कार्यादेशमा सहमति जुटाउने प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेशमा सहमति जुटाउन प्रयासरत छन् । पूर्वनिर्धारित मन्त्रिपरिषद्को बैठक स्थगित गरी प्रधानमन्त्री प्रचण्डले भोलि(जेठ १५ गते) सार्वजनिक हुने आगामी आर्थिक वर्षको बजेट भाषण अगाडि नै दलदहरुबीच सहमति बनाउने प्रयासमा जुटेका हुन् । सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएपछि सत्तारूढ दलबाट प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एंव रास्वपा सभापति रबि लामिछानेबीच बालुवाटारमा छलफल गरेका थिए ।  भने कांग्रेसले पनि हालका पदाधिकारी र पूर्व पदाधिकारीहरूबीच बूढानीलकण्ठमा छलफल गरेको थियो । त्यस लगत्तै प्रधानमन्त्री प्रचण्ड संसदीय समितिको कार्यादेश (टीओआर) तय गर्न बनेको समतिसँग गृहमन्त्री सहित छलफलमा छन् । स्रोतका अनुसार आजै सहमति गर्ने गरी छलफल अगाडि बढेको छ ।

एकीकृत समाजवादीको सचिवालय बैठकले गर्यो पाँच निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को  ८३ औं सचिवालय बैठक सम्पन्न भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले संसदको गतिरोध अन्त्य गर्नका लागि गरिएको संवादबारे छलफल गरेको छ।  बैठकले केन्द्रीय कमिटीको आठौं बैठकले दिएका सुझावका आधारमा सचिवालयले परिमार्जन गरेको दस्तावेज मातहत कमिटीलाई पठाउने निर्णय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकले कृष्ण नेपालीलाई मुस्ताङ र अमरराज शर्मालाई स्याङ्जाको इन्चार्ज बनाउने निर्णय पनि गरेको छ।  महाधिवेशनका लागि प्रतिनिधि छनोटबारे आगामी सचिवालय बैठकले निर्णय गर्ने भएको छ। अर्वन एण्ड रुलर डेभलपमेन्ट, पोलिसी, प्लानिङ, अनुभव आदान प्रदान गर्ने, कार्यक्रममा पार्टी उपाध्यक्ष तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रमेश हमालको नेतृत्वमा सात जना नेताको टोली जेठ १६ गते पाँचदिने चीन भ्रमणमा जाने निर्णय भएको खतिवडाले बताए।