जनअपेक्षा विपरीतका गतिविधि र सङ्गठनको हित प्रतिकूलका कार्य क्षम्य हुँदैन  : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनअपेक्षा विपरीतका गतिविधि र प्रहरी सङ्गठनको हित प्रतिकूलका कार्य कहिल्यै क्षम्य नहुने बताएका छन्। 

नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १ १८२ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विधिको शासन र कानुनको सर्वोच्चतालाई शीरमा राखेर सरकारको नीति, तथा कार्यक्रम र योजनालाई अक्षरशः पालना गर्न निर्देशन दिए। 

उप्रधानमन्त्री लामिछानेले शान्ति सुरक्षा प्रवर्द्धन, अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा सङ्गठनको प्रतिबद्धता ख्याल गरेर नागरिकमैत्री सेवा दिन ध्यानाकर्षण गराए। सङ्गठनको लामो इतिहासको जगेर्ना गर्ने नवप्रवेशी अधिकृतको काँधमा रहेको उल्लेख गर्दै उनले आर्थिक तथा पदीय उन्नतिका लागि परिवारले दिने दबाब र प्रभावमा नपर्न निर्देशन दिए। 

“प्रहरी कर्मचारीको वृत्ति विकासलाई न्याय सङ्गत र सेवा सुविधालाई समयानुकूल बनाउन तथा सरुवा बढुवालाई स्वचालित प्रणालीमा लैजान गर्नुपर्ने नीतिगत सुधार र परिमार्जनमा सरकारले उच्च प्राथमिकता दिएको छ”, उनले भने । सीमित स्रोत साधनमा असीमित काम गर्नुपर्ने परिस्थितिलाई मनन् गरेर काम गर्न आग्रह गर्दै उपप्रधानमन्त्री लामिछानेले नीतिगत, कानूनी, व्यावसायिक र व्यवहारिक रूपमा प्राथमिकता निर्धारण गरी आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताए। 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले तथ्यपरक तथा प्रमाणमुखी अनुसन्धानका लागि प्रविधिको प्रयोग विधिसम्मत, वैज्ञानिक र कार्यविधिगत प्रक्रियाको पालना गरी सङ्कलित तथ्यको विश्लेषण गर्दै मानवअधिकारको अन्तर्राष्ट्रिय मापदण्डलाई शिरोधार्य गरी कार्यक्षेत्रमा खटिन निर्देशन दिए। उनले लैङ्गिक संवेदनशीलताको मर्मलाई मनन् गर्दै विशेष जोखिमपूर्ण, सीमान्तकृत र पीडित वर्गको रक्षकका रूपमा प्रहरी सङ्गठन खरो रूपमा उत्रिनुपर्ने बताए। 

समारोहमा प्रशिक्षणमा विभिन्न विधामा सर्वोत्कृष्ट हुने प्रहरी निरीक्षक पवनकुमार परियार, सगुन खड्का, आयुष ढुङ्गाना र गोकुलकुमार धानुकलाई पुरस्कार प्रदान गरिएको थियो। सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले दीक्षित भई कार्यक्षेत्रमा जाने प्रहरी अधिकृतलाई शपथ ग्रहण गराएका थिए। 

समारोहमा प्रशिक्षार्थीले प्रधानमन्त्री, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा प्रहरी महानिरीक्षकलगायतलाई राष्ट्रिय सलामी अर्पण गरेका थिए। 

राष्ट्रियसभा बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ।दिउँसो १ बजेका लागी बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ। संसद्को बैठक आज बस्न लागेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध भएन कायम रहेको छ।कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा सामेल रहेको भन्दै संसदीय समितिको गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ। संसदीय समिति गठन गर्न सहमति भएपनि समितिको कार्यादेशको विषयमा भने अझै सहमति हुन सकेको छैन । कार्यादेश बनाउन कार्यदल बनाए पनि पटक पटक भएका बैठक निष्कर्षमा पुगेको छैन। कार्यदलमा संसदीय छानबिन समितिले गृहमन्त्री रवि लामिछानेको नाम तोकेर छानबिन गर्ने विषयमा विवाद छ। कांग्रेसले लामिछानेको नाम तोकेर छानबिन गर्नुपर्ने अडान लिएको छ भने एमाले र रास्वपा व्यक्तिको नाम तोकेर संसदीय छानबिन नहुने अडानमा रहेका छन्।

प्रतिनिधि सभा बैठक : नीति तथा कार्यक्रम पारित गर्ने तयारी

काठमाडौं । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।  बैठक आज बिहान ११ बजे बस्ने बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति तथा कार्यक्रममा हालसम्म छलफल हुन सकेको छैन। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ। सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन्। त्यसपछि पारित गर्ने सभामुखको तयारी छ।

संसदीय छानबिन समितिको बैठक बस्दै, कार्यादेश टुङ्गो लगाइने

काठमाडौं । सहकारी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) को टुङ्गो लगाउन गठित कार्यदलको बैठक बस्दै आज पनि बस्दै छ।  समितिको कार्यादेश तय गर्न गठित कानुनमन्त्री पदम गिरी संयोजकत्वको कार्यदलको बैठक  आज बिहान साढे ८ बजे बस्दै छ।  हिजो बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेकाले शीर्ष नेताहरूको परामर्शपछि आज बिहान पुनः बैठक बस्न लागेको हो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान राखेको छ। 

कांग्रेसको तरुण दलले निकाल्यो गृहमन्त्री लामिछानेविरुद्ध राँके जुलुस

काठमाडौं । नेपाल तरुण दलले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै राँके जुलुस निकालेको छ। बिहीबार बेलुका काठमाडौंस्थित कोटेश्वरमा निकालिएको राँके जुलुसमा तरुण दलका अध्यक्ष विद्वान गुरुङ, केन्द्रीय सदस्यहरू सुशील बुढाथोकी, अशोक झालेसहितका नेताहरू सहभागी थिए। राँके जुलुसका क्रममा गृहमन्त्री लामिछानेको राजीनामा मागेका उनीहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई रिहा गर्न माग समेत गरेका थिए ।

गणतन्त्रमा पूर्वाधारले बिस्तारै फड्को मार्दै छ : मन्त्री शर्मा

काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले पूर्वाधारमा बिस्तारै फड्को मार्न थालेको बताएकी छिन्। गणतन्त्र स्थापनाको अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले काठमाडौँको भद्रकालीमा ‘गणतन्त्रका उपलब्धि समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले गणतन्त्र स्थापना भएको १५ वर्षमा ठुला पूर्वाधार विकास निर्माण भएकाले निक्कै धेरै काम भएको चर्चा गरिन्।  सरकारले जेठ १५ गते गणतन्त्र स्थापना भएको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। सोही अवसरमा राससले समेत बिहीबार९जेठ १० गतेदेखि जेठ १६ गतेसम्म गणतन्त्र स्थापना भएपछि निर्माण भएका पूर्वाधार विकासका ९० तस्बिर राखेर आफ्नै प्राङ्गनमा प्रदर्शनी राखेको छ । मन्त्री शर्माले सरकारले सामाजिक न्याय र सुशासनको नारा ल्याएपछि धेरै काम गर्न सफल भएको उल्लेख गरिन । “हामीले लडेर जुन व्यवस्था स्थापना गर्न सफल भयौँ । यो व्यवस्था र परिवर्तनको पक्षमा सकारात्मक भाष्य निर्माण गर्न सफल भयौँ । हामीले गणतन्त्र दुख र कष्ट गरेर प्राप्त गरेका हो ।संविधान र कानुनमा धेरै राम्रा व्यवस्था उल्लेख छन् । त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न कानुन निर्माण गर्नुपर्ने छ” उनले भनिन्, “गणतन्त्रमा जतिसुकै पदीय हैसियतमा भए पनि गल्ती गर्छ भने छुट हुँदैन भन्ने जर्बस्त भाष्य निर्माण गर्न सफल भयौँ।  आमजनतामा बढ्दै गएको निसासा चिर्न सफल भयौँ । गणतन्त्र भएकाले कानुन छ भन्ने स्थापित गर्न सफल भयौँ ।” उनले गणतन्त्र भएकैले सबैलाई कानुनी दायरामा ल्याउन सफल भएकोले गल्ती गर्ने छुट कसैलाई नभएको उल्लेख गरिन्। राजतन्त्रमा बोल्न, लेख्न र स्वतन्त्रपूर्वक हिड्डुल गर्न नपाउने भएकाले जनताको बलमा गणतन्त्र ल्याएकाले सबैले निर्भिकतापूर्वक स्वतन्त्रता उपभोग गर्न पाएको उनले बताइन् ।  तत्कालीन सञ्चार मन्त्री कृष्णबहादुर महरा हुँदा ‘हात हातमा मोबाइल घरघरमा इन्टरनेट ’भन्ने नारा ल्याउँदा धेरैले नपत्याएको उल्लेख गर्दै मन्त्री शर्माले अहिले हात हातमा ल्यापटप हुँदै प्रविधि एआई सम्म पुगेको बताइन्। मन्त्री शर्माले भनिन्, “अहिले गाउँघर टोल टोलमा बाटाहरू र विकास निर्माणका पुगेका छन् । त्यसमा सबैभन्दा बढी भूमिका स्थानीयता र प्रदेशको छ । हामीले सोचे जति विकास गर्न नसके पनि धेरै सुविधा गाउँमा पु¥याउन सफल भयौँ ।”   भारत र चीन दुई छिमेकी देशमा एउटै व्यक्तिले लामो शासन गरेर विकासमा धेरै फड्को मारेको बताउँदै मन्त्री शर्माले नेपालमा एउटै व्यक्तिले तीन वर्षसम्म पनि शासन गर्न नपाउँदा धेरै काम गर्न नसकिएको स्वीकार गरिन्। उनले अब कहीँ न कहीँ नेपालको शासकीय स्वरूप फेर्नु पर्छ कि भन्ने बहस गर्नुपर्ने अवस्था आएको उल्लेख गरिन्।

कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने

काठमाडौँ। सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बिहीबार बसेको बैठक निष्कर्षविहीन बनेको छ।  सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशका बारेमा छलफल भएको  नेकपा (एमाले)को संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्षविहीन भएको उनको भनाइ छ। कार्यदलको बैठक शुक्रबार बिहान फेरि बस्ने तय भएको उनको भनाइ छ। “बैठक निष्कर्षविहीन भयो”, उनले भने, “सहमति जुटन नसकेपछि निष्कर्षविहीन भएको हो। आजको बैठकबाट करिब करिब ठ्याकै टुङ्गो चाहिँ भोलि बिहान ८ः३० बजे लगाउने गरी समितिको केही कार्यादेश विषयमा नजिक पुग्यौँ। ”  नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकमा सरकारपक्षबाट राखिएको मौखिक प्रस्तावमा नाम नराखी छानबिनको दायरा अघि बढाउनसक्ने आशय आफूहरूलाई स्वीकार्य नभएको बताए। “विपक्षी दलले उपप्रधान एवं गृहमन्त्री लामिछाने। छानबिन सम्बन्धित व्यक्तिकै बारेमा छानबिन नगरीकन  कांग्रेसले कार्यदलमा सहमति गर्ने अवस्था छैन”, उनले भने, “हामीले स्पष्ट रूपमा भनेका छौँ, यसकाबारे छानबिन समिति बनाउनुपर्छ भनेर उठाएका हौँ, जबसम्म त्यहाँ पुग्दैन हामी मान्दैनौँ भनेर भनेका छौँ। स्पष्ट रूपमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने स्वतः अपचलनमा सहभागी हुनुहुन्छ। आजको बैठकमा सरकार पक्षलाई यही कुरा राखेको छु।”  प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको छ। सभाको बैठक अघि कार्यदलले सहमति जुटाउन बैठक बस्ने जनाएको छ। उक्त कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख सचेतक बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल, कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र नेता परियार रहेका छन् ।

शुक्रबारको संसद् बैठकबाट नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवायलयले शुक्रबारको बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची तय गरेको छ । संसद् सचिवालयले शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी सम्भावित कार्यसूची तय गरेको हो ।यसअघि जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सम्भावित कार्यसूचीअनुसार भोलिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ । नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ। सहकारीको रकम अपचलनबारे गृहमन्त्रीको नाम नै तोकेर संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले आफ्ना माग पूरा नभएसम्म संसद् चल्न नदिने बताउँदै आएको छ। तर, पछिल्लो समय कांग्रेसको नाराबाजीका बीच सभामुखले संसद् बैठक अगाडि बढाइरहेका छन् ।

कैलाश पक्राउ पर्दा सञ्चारको हक खोसिँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुलाई सरकारले सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने बताएका छन् । उनी कुनै समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर पक्राउ परेको ओलीले बताए। ‘किन यो समाचार प्रकाशित गर्‍यो, किन यस्तो बोल्यो भन्ने विषय त होइन, विषय अर्कै छ, त्यस सम्बन्धमा फौजदारी कुरा होला। यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने ‘अनि कोही मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदा कराउन नपर्ने, हल्लिन नपर्ने, डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त एक जना मिडिया हाउसका मान्छे गिरफ्तार हुँदा ?’, बिहीबार झापामा एक सडक उद्घाटका कार्यक्रममा उनले सञ्चार माध्यमलाई प्रतिक्रिया दिए । उनले सिरोहिया पक्राउ सही हो वा गलत हो भन्नेबारे र उनलाई पक्राउ गर्ने समय ठीक भयो कि भएन भन्नेबारे भने टिप्पणी नगर्ने बताए । तर उनी पक्राउ पर्दा लोकतन्त्र खतरामा नपर्ने, सञ्चारका हकहरु नखोसिने भन्दै कसैले पनि गलत व्याख्या गर्न नहुने ओलीको धारणा छ ।

सहकारी अपचलन प्रकरण : कार्यदलको बैठक बस्दै

काठमाडौं ।सहकारी अपचलन  प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)बारे छलफल गर्न कार्यदलको बैठक आज बस्दै छ। बैठक दिउँसो तीन बजे सिंहदरबारस्थित कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने तय भएको कार्यदल सदस्य जीवन परियारले जानकारी दिए।सहकारी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्ष छानबिन समिति बनाउन सहमत भए पनि कार्यक्षेत्रबारे टुंगो लागेको छैन । विपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा संलग्न रहेकाले नामै तोकेर समिति बनाउनु पर्ने अडान लिएको छ भने सत्ता पक्ष मुद्दा केन्द्रीत समिति बनाउने अडानमा रहँदा  समाधान निस्कन सकेको छैन । सत्ता पक्ष र विपक्षी दल आआफ्नै अडानमा रहँदा कांग्रेसको नाराबाजी र अवरोधकाबीच संसदको काम कारबाहि अगाडि बढेको छ । सहकारी ठगी प्रकरणमा समस्या समाधानका लागि संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको छ । जसमा कांग्रेसबाट जीवन परियार, एमालेबाट महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल सदस्य छन् । यस्तै, बैठकमा नेपाली कांग्रेसका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुँदै आएका छन् ।

कर्णालीका नवनियुक्त कृषिमन्त्री शाहले लिए शपथ

काँर्केविहार। कर्णाली प्रदेश सरकारका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बुधबार प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ गराएका हुन् । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्री पदमा नियुक्त भए पनि शाहले पद तथा गोपनीयताको शपथ लिएका थिएनन् । रासस

सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत धनुषाले कैलाश सिरोहियामाथि अनुसन्धानका लागि भन्दै तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि अनुसन्धान गर्नको लागि जिल्ला अदालत धनुषाका प्रवक्ता डम्बरप्रसाद घिमिरेका अनुसार जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएका हुन्। यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले भने अनुसन्धानको लागि ५ दिन म्याद थप गर्न अदालतसँग माग गरेको थियो। सिरोहियालाई प्रहरीले हिजो काठमाडौंबाट नागरिकता प्रकरणमा पक्राउ गरी धनुषा लगेको थियो। सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले आज अदालतमा उपस्थित गराएको छ।

कांग्रेसद्वारा गृहमन्त्रीविरुद्ध सडक आन्दोलन घोषणा, शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सडक आन्दोलनको घोषणा गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सडक आन्दोलनमा जाने निर्णय गरेको केन्द्रीय सदस्य डा.डिला संग्रौलाले बताइन् । संग्रौलाका अनुसार बैठकको निर्णयअनुसार प्रथम चरणमा यही शुक्रबार काठमाडौंको भृकुटीमण्डप बृहत्त प्रदर्शनको तयारी थालिएको छ । त्यसपछि मधेश प्रदेशसहित सहकारी ठगीबाट बढी प्रभावित जिल्लामा आन्दोलन थालिने कांग्रेसले जनाएको छ ।सहकारी प्रकरण प्रभावित सहरहरू पोखरा, चितवन, रुपन्देही हुँदै देशभर आन्दोलन गर्ने रणनीति कांग्रेस बनाएको हो । उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरेर प्रेस स्वतन्त्रता हनन गरिएको निष्कर्ष पनि बैठकले निकालेको बताएकी छन् । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्ने विषयलाई पनि प्रमुख एजेन्डा बनाएर अहिले छलफल गरिरहेको छ।

कैलाश सिरोहियामाथिको अनुसन्धान प्रेस स्वतन्त्रता हनन होइन : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियामाथिको अनुसन्धान प्रेस स्वतन्त्रतामाथिको हनन नभएको बताएको छ। पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालले विज्ञप्ति जारी गर्दै धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले सिरोहियालाई पक्राउ गरिएको भन्दै विधिको शासनलाई सरकारले ख्याल गरेको उल्लेख गरेका छन् । यस्तो छ विज्ञप्ति

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ। बैठकमा नेपाल प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा समेत छलफल हुने बताइएको छ ।

दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ। अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लोगेको हो।  दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । कार्यसूचीमा विविध विषय पनि उल्लेख  छ।  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक मध्याह्न साढे १२ बजे बस्नेछ । बैठकमा समितिको आन्तरिक काम कारबाही तथा विविध विषयमा छलफल हुने कार्यसूचीमा उल्लेख छ।