कांग्रेसले गृहमन्त्रीलाई दोषी करार गर्‍यो : रास्वपा सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने दोषी भएजसरी नेपाली कांग्रेसले प्रस्ताव ल्याएको बताएका छन् ।

उक्त प्रकरण छानबिनका निम्ति बनाउने भनिएको संसदीय समितिको ‘टीओआर’ तयार पार्न आइतबार दिउँसो सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि उनले यस्तो बताएका हुन् ।

समितिको कार्यादेश बनाउँदा नै व्यक्तिलाई दोषी मान्न नसकिने उनले उल्लेख गरे । “समितिले कसलाई दोषी करार गर्छ, त्यो एउटा कुरा हो । आजको दिनमा नै एउटा व्यक्तिलाई दोषी करार गरेर छानबिन गर्नुपर्छ भन्ने न्यायसंगत हुँदैन,” उनले भने ।

उनले सबै सहकारीपीडितलाई न्याय दिने गरी छानबिन गरिनुपर्ने आफूहरूको भनाइ रहेको स्पष्ट पारे । आजको संसद् बैठकमा गृहमन्त्री लामिछानेले जवाफ दिने र त्यसपछि फेरि कार्यदलको बैठक बस्ने उनले जानकारी दिए ।

उपेन्द्रले हाले प्रधानमन्त्रीको विश्वास मत रोक्न सर्वोच्चमा रिट

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने भनिएको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा बैठकमा लिने भनिएको विश्वासको मत रोक्न माग गर्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन्। यसअघि पार्टी विभाजनविरुद्ध परेको रिटमा सर्वोच्चले जसपा विभाजन भएर बनेको पार्टीको दर्ता प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको थियो।सोही आदेशमा टेकेर अध्यक्ष यादवले सर्वोच्चमा रिट दायर गरेका हुन् । वैशाख २३ गते यादव नेतृत्वको जसपा विभाजन भएको थियो। प्रधानमन्त्री प्रचण्डले केही दिनअघि सोमबारका दिन प्रतिनिधि सभामा विश्वासको मत लिनको लागि संसद् सचिवालयलाई पत्राचार गरेका थिए।जसपा विवादको टुंगो लागिनसकेको अवस्थामा प्रचण्डले संसद्मा लिने विश्वासको मतले वैद्यता नपाउने भएकाले रोक्न रिटमा माग गरिएको जसपाले जनाएको छ।

दोस्रो पटक प्रतिनिधिसभा बैठक स्थगित, साढे ४ बजे बस्ने

काठमाडौँ ।संसदीय छानबिन समितिका लागि कार्यविधि तय गर्ने विषयमा सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दलबिच कुरा नमिल्दा प्रतिनिधि सभा बैठक दोस्रो पटक सरेको छ।

राष्ट्रिय सभा बैठक नबसिकनै स्थगित

काठमाडौं। संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।सोमबार दिउँसो सवा १ बजे बस्ने गरी राष्ट्रिय सभा बैठक स्थगित भएको हो ।  यसअघि आइतबार दिउँसो सवा १ बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै दिउँसो सवा ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । राष्ट्रिय सभाका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक जेठ ७ गते सोमबार दिउँसो सवा १ बजेका लागि निर्धारण गरिएको उल्लेख छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा आइपर्ने कार्य जटिलता हटाउन ऐन संशोधन गर्नुपर्ने बताएकी छन्।सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा खड्कालाई दोस्रो पटक अध्यक्ष पदमा नियुक्त गरेको हो। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। दुई वर्षअघि अध्यक्ष हुँदादेखि नै नेपाली पत्रकारितालाई अगाडि बढाउन थुप्रै जटिलता रहेको बताउँदै आएको अध्यक्ष खड्काको भनाइ छ। ती जटिलता हटाउन सबैभन्दा पहिला १७ वर्ष पुरानो समितिको ऐनलाई संशोधन गर्नुपर्नेमा उनले जोड दिइन् ।त्यस्तै, समितिले मिडिया अनुगमन गर्न पाउने तर, सुनुवाइ गर्न नपाउने ऐनगत व्यवस्थाले गर्दा प्रभावकारी काम हुन नसकेको अध्यक्ष खड्काले बताइन्। उनका अनुसार सीमित स्रोत र साधनमा समिति सञ्चालन गर्नुपर्दा थुप्रै कठिनाइ आएका छन्। ‘कानूनी जटिलता र सीमित स्रोतसाधनको समस्या हटाएर समिति अगाडि बढाउने योजनामा छु’, उनले भनिन्, ‘अनुगमन र सुनुवाइ दुवै अधिकार समितिमै हुनुपर्छ ।’

संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंग्याउन फेरि बस्यो कार्यदल

काठमाडौं । सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिना छानबिन गर्न गठित संसदीय समितिको कार्यादेशबारे छलफल गर्न कार्यदलको बैठक पुनः बसेको छ। कार्यदलको बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरू भएको हो।यसअघि कार्यदल बैठक बिहान साढे ८ देखि दिउँसो २ बजेसम्म सिंहदरबारमा बसेको थियो। छानबिन समितिको क्षेत्राधिकारमै दलहरूबीच कुरा मिल्न बाँकी रहेका कारण आन्तरिक छलफलका लागि कांग्रेसले थप समय मागेका कारण बैठक केहि समय स्थगित भएको थियो ।

कार्यदलको बैठक केहि समय स्थगित

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश आइतबार बेलुकासम्म टुंग्गो लगाउने तयारी गरिएको छ। कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यसमेत रहेका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कार्यादेशका विषयमा धेरै अन्तर नरहेको बताए। उनका अनुसार कांग्रेसले छलफलका लागि २० मिनेटको समय माग गरेको छ। “सैद्धान्तिक सहमति भएको छ । विषयगत रूपमा बुँदागत रुपमा टुंग्याउन उहाँहरू (कांग्रेस नेता)ले केही समय मागेको हुँदा अब बस्ने बैठकले थप निर्णय गर्ला । आज बेलुकासम्म टुंगो लाग्ला,” उनले भने ।  बर्तौलाका अनुसार सहमतिको नजिक पुगिएको छ । कार्यदलको बैठक बिहानैदेखि कानुन मन्त्रालयमा बसेको हो। सहकारी प्रकरणबारे छानबिन गर्न समिति बनाउने सहमति शनिबार भएको थियो । टीओआरबारे टुंगो नलाग्दा प्रतिनिधिसभाको बैठक अनिश्चित भएको छ।

प्रतिनिधिसभा बैठक २ बजेलाई सर्यो

काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । आइतबार बिहान ११ बजेका निम्ति बोलाइएको बैठकको समय सारिएको हो । बैठक आजै दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

कार्यदलको बैठक लम्बिँदा प्रतिनिधिसभा बैठकमा ढिलाइ

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक लम्बिँदा प्रतिनिधि सभाको बैठक शुरु हुन ढिलाइ भएको छ । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक बसिरहेको हो । सिंहदरबारमा कार्यदलको बैठक बसिरहँदा नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलहरूको बैठक बसेको थियो । उक्त बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ संसद्‌मा सुन्ने निर्णय गरिसकेको छ । कार्यदलले संसदीय समितिको कार्यादेश टुंगो लगाए संसद् कार्यसूचीमा प्रवेश गर्न सक्ने नेताहरू बताएका छन् । शनिबार सत्ता र प्रतिपक्ष दलहरूबीच सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । कार्यादेश टुंगो लगाउन एमालेका नेता एवं कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ। उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् । सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार छानबिन समिति गठनसम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म बैठक नचलाउन विपक्षी दलहरूले आग्रह गरेका छन् ।

फेरि बढ्यो काठमाडौंमा प्रदूषण

काठमाडौं । गएको साता घटेको काठमाडौं उपत्यकाको वायु प्रदूषणको मात्रा शनिबारदेखि फेरि बढेको छ। आइतबार काठमाडौंका तीन स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) आइतबार १०० भन्दा माथि छ। वातावरण विभागको रेकर्डमा बिहान ११ः३० बजे ललितपुरको भैँसेपाटीको एक्यूआई सबैभन्दा धेरै १६७ मापन भएको छ। यस्तै, शंखपार्कको एक्यूआई १५१, खुमलटारको एक्यूआई १०३ र भक्तपुरको एक्यूआई ८७ मापन भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानको एक्यूआई १०२ देखि १९७ सम्म मापन भएको छ। गएको साता काठमाडौंका अधिकांस स्थानमा एक्यूआई ५० भन्दा तल झरेको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार वायु स्वस्थकर हुन एक्यूआई ५० भन्दा कम हुनुपर्दछ। १५० देखि २०० सम्म रहेको वायु ‘अस्वस्थकर’ र २०१ देखि ३०० सम्म भएमा ‘अति अस्वस्थकर’ हुन्छ। वायुमा खराब ग्यास तथा कणहरूको मात्रा (पीएम २.५, पीएम १०) लगायतका आधारमा एक्यूआई मापन गरिन्छ।

संसदीय समितिको ‘टीओआर’मा गृहमन्त्री लामिछानेको नाम अनिवार्य गर्न कांग्रेसको सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समितिको कार्यक्षेत्राधिकार ‘टीओआर’मा गृहमन्त्री रवि लामिछानेको नाम अनिवार्य गर्न सुझाव दिएको छ ।  आज बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय पदाधिकारी बैठकले संसदीय समितिको ‘टीओआर’ निर्माण समितिका सदस्य जीवन परियारलाई लामिछानेको नाम नराख्दासम्म सहमति नजनाउन सुझाव दिएको हो ।

गृहमन्त्रीको जवाफ संसदमा सुन्ने विपक्षी दलहरुको निर्णय

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो। गृहमन्त्रीले जवाफ दिइसकेपछि त्यसमा चित्त बुझे संसद कार्यसूचीमा अगाडि बढ्ने नभए प्रधानमन्त्रीले भोलि लिने विश्वासको मत समेत प्रभावित हुने नेपाली कांग्रेसले जनाएको छ । विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका थिए। सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको थियो । कांग्रेसको यो मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन् । गतिरोध अन्त्यको प्रयासमा शनिबार बसेको सत्ता पक्ष र प्रतिपक्ष दलहरुको संयुक्त बैठकमा संसदीय समिति गठन गर्ने सहमति भएको थियो। तर संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लागेको छैन्। कार्यादेश टुंगो लगाउन एमाले नेता एवम् कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको छ। कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।

संसद् बैठक अगाडि प्रतिपक्षी दलहरू छलफलमा

काठमाडौं । संसद् बैठक बस्नुअघि प्रतिपक्षी दलहरू छलफलमा जुटेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा नेपाली कांग्रेससहित प्रतिपक्षी दलको बैठक बसिरहेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जानकारी दिए।  बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका प्रतिपक्षी दलका नेताहरू सहभागी छन्। सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । सोही क्रममा बिहीबार संसद् बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच धकेलाधकेल भएपछि प्रतिपक्षी दलहरू एकठाउँमा उभिएका हुन् । उनीहरूले सभामुख देवराज घिमिरेको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । 

सहकारी प्रकरणको छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी

कार्यदलमा कानूनमन्त्री पदम गिरीको संयोजक,सदस्यहरुमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहेका छन् ।

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् । अध्यक्षले विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्नेछन् । राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै, कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभासमक्ष पेस गर्नेछन् । सञ्चारमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक र विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले सुरक्षित कारोबारसम्बन्धी प्रतिवेदन सभामा पेस गर्ने कार्यसूचीमा उल्लेख छ । 

प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ। त्यस्तै, सभामुखले प्रतिनिभिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननी सदस्यहरूको मनोनयन गर्नेछन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो । शनिबार बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेको छ ।उक्त सहमतिसँगै आजको बैठक नियमित रुपमा नै संञ्चालन हुने बताइएको छ ।