राष्ट्रियसभामा कांग्रेसको अवरोध , जेठ ६ गतेसम्मकालागि बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेको छ।सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली कांग्रेसका सांसदहरूले सभा अवरुद्ध गरेका हुन् ।

बैठकमा कांग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाका प्रक्रियाहरू अघि बढाउन नसकिएको भन्दै सभालाई सहज रूपमा सञ्चालन गर्न व्यवस्था दिन आग्रह गरे ।

उनले समस्या राष्ट्रियसभामा उत्पत्ति नभएकाले विरोध नगरिदिन आग्रह गरे । सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर धन्यवाद ज्ञापन समेत गर्न नपाएको र राष्ट्रपति कार्यालयबाट प्राप्त सूचनाहरू समेत पढेर सुनाउन नसकेको स्थिति बनेको भन्दै सहज रूपमा अघि बढाउने माहोल निर्माण गरिदिन आग्रह गरे ।

राष्ट्रियसभाको अर्को बैठक जेठ ६ गते आइतबार दिउँसो १ः१५ बजे बस्नेगरी स्थगित भएको छ । 

सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ। दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०(४० प्रतिशत सदस्य चाहिने पूर्ववत् व्यवस्था लागू हुनेगरी अगाडि बढाइएको विधेयक फिर्ता भएको हो।  सरकारले चाहे जुनसुकै बेला पनि विधेयक फिर्ता लिनसक्ने कानुनी व्यवस्था छ। संशोधन विधेयक फिर्ताका लागि पत्र आइसकेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए।   यो विधेयक संसद्‌मा दर्ता भइसकेको थियो। यसमा छलफल गर्न पटक(पटक दैनिक कार्यसूचीमा चढे पनि छलफलका लागि पेस हुन सकेको थिएन।यो विधेयक बिहीबारको कार्यसूचीमा पनि समावेश गरिएको भए पनि कांग्रेसको अवरोधका कारण बैठक चल्न सकेन। 

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौँ।  राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन्।  ‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायापालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आजदेखि सुरू भएको तीनदिने सम्मेलनको राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन् ।  उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको उपस्थिति रहेको छ ।  नेपाल बार एशोसिएशनका अनुसार जेठ ४ देखि ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरका करिब सात हजार कानुन व्यवसायीको सहभागिता रहने छ । रासस

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ। कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका हुन्। साथै, कांग्रेसले सहकारीको रकम ठगी गरेका मानिसहरूलाई बचाउन सरकार लागेको भन्दै त्यस्तो नगर्ने चेतावनी समेत दिएको छ। त्यसैगरी कांग्रेसले बिहिबार संसद्‌मा भएको घटनाको जिम्मेवारी सभामुखको भएको निष्कर्ष निकालेको छ। सिंगो विपक्षी दल विरोधमा रहेको बेला सभामुखले संसद् अगाडि बढाउन नसक्ने परम्परा विपरित कार्य गरेको कांग्रेसले आरोप लगाएको छ। कांग्रेसले सभामुखलाई दलीय आवद्धता त्यागेर निष्पक्ष भएर बैठक सञ्चालन गर्न आग्रह समेत गरेको छ। नेता लेखकले बिहीबार प्रतिपक्ष संसदमा उभिएको बेला सत्ता पक्ष उठेर विरोध गर्नु संसदीय मर्यादा विपरीतको गतिविधि भएको बताए।

विपक्षी दललाई एकत्रित गरी सदन चल्न नदिने रणनीतिमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ।  त्यस लगत्तै कांग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठक जारी रहेको र त्यस लगत्तै जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायतका नेताहरुलाई बैठकमा बोलाएको जानकारी दिए।  कांग्रेस प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको संयुक्त बैठक बसी संसद् अवरुद्ध गर्ने रणनीतिमा लागेको हो । बैठकले संसद् अवरुद्ध गर्ने संयुक्त उद्देश्य बनाउने छ । बैठक बिहान ११ बजे बोलाइएको छ। 

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा चौँथो पटक विश्वासको मत लिन लागेका हुन्।  प्रतिनिधिसभा बैठक नेपाली कांग्रेसले अवरुद्ध गरिरहेका बेला अचानक सत्तापक्षले विश्वासको मत लिने भएको हो। गत वैशाख २३ गते जनता समाजवादी पार्टी नेपाल जसपा विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।  सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार विश्वासको मतका लागि प्रधानमन्त्रीको सचिवालयले संसद् सचिवालयलाई पत्र पठाइसकेको छ। सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बिहानलाई संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।  कांग्रेसले शुक्रबार बिहान ८ः ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने जानकारी दिएको छ । बैठकमा संसद्‍मा भएको तनाव र नयाँ रणनीतिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगिको छानबिनको माग गर्दै संसदीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि संसद्को अवरोध जारी राखेको छ ।

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले आज एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रूपमा बन्द रहने जानकारी दिएका हुन् । उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ मा लोकसभाको निर्वाचन हुने भएकोले शनिबारदेखि सोमबारसम्म ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्ण रूपमा बन्द गरिने बताए । विज्ञप्तिमा रेल्वे सेवा जेठ ८ गतेदेखि नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसको अवरोध कायमै रहने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ।बिहीबारको बैठकमा पनि प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजे बैठक बस्नेगरी स्थगित गरिएको थियो।  बिहीबार कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि  तनाव उत्पन्न भएको थियो ।आज पनि संसद्मा  अवरोध जारी रहने कांग्रेसले बताएको छ।  हिजोको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएको थियो।एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच विवाद भएपछि घम्साघम्सीको अवस्था आएको हो।सत्तापक्षसँग प्रतिनिधिसभा बैठकमा बिहीबार मुठभेडको अवस्था सिर्जना भएपछि गत चैत ६ गतेदेखि गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा रहेको संलग्नता छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै आइरहेको कांग्रेस र सत्तापक्षबीचको दूरी झन् बढेर गएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन मागसहित संंसद् अवरोध गर्दै आएको छ।सभामुख देवराज घिमिरेले गृहमन्त्री रबि लामिछानेलाई संसद्मा बोल्न आग्रह गरेपनि प्रतिपक्षीले अवरोध गरेका थिए। यता गृहमन्त्रीले आफू संसद्मा बोल्न पाउनुपर्ने माग गर्दै आएका छन् ।  पछिल्लो समय संसद्को विवादमा दलहरूबीच सहमति हुन नसकेपछि यसले झनै उग्र रूप लिन लागेको छ । 

राष्ट्रियसभा बैठक आज बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः १५ बजेका लागि बोलाइएको छ ।  संसद् सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।  सार्वजनिक सम्भावित कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पढेर सुनाउने, राष्ट्रपतिबाट भएको संबोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको संबोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने, समिति सदस्यको नाम मनोनयन, अध्यादेश पेसलगायत ८ बुँदा छन् । 

युवा संघले जलायो देउवा र धनराज गुरुङको पुत्ला

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल धनुषाले जनकपुरधाममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति धनराज गुरुङको पुत्ला जलाएको छ । संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि काँग्रेस उपसभापति गुरुङले औला ठड्याएर दुर्व्यवहार गरेका थिए । सो घटनाको विरोधमा यूवासंघका कार्यकर्ताहरूले जनकपुरमा प्रदर्शन गरेका छन् । संघका केन्द्रीय नेता सञ्जीव झा ’सुरज’को नेतृत्वमा प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा संघका कार्यकर्ताहरूले काँग्रेस सभापति देउवा र उपसभापति गुरुङको पुत्ला जलाएका थिए । एमालेका केन्द्रीय सदस्य समेत रहेका झाले काँग्रेस संसदमा गुरुङले उद्दण्डता मच्चाएको बताए । उनले सामाजिक सञ्जालमा चेतावनी दिएका छन्, ‘प्रेत आत्माको भोटबाट जितेको धनराज गुरुङ आफ्नो हैसियतमा बसे हुन्छ । सदन होइन, सडकमै हिसाब किताब हुन्छ ।’

प्रतिनिधि सभामा धकेलाधकेल, बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठकमा तनाव सिर्जना भएको छ । सभामुख घिमिरेले नाराबाजीमै राष्ट्रपति कार्यालयको पत्र पढ्दै कार्यसूचीमा प्रवेश गरेका थिए । सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधकेल भएको हो। सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सम्बोधनका निम्ति बोलाएपछि आक्रमक बनेका विपक्षी कांग्रेसका सांसदहरुले एमाले अध्यक्ष केपी ओली, एमाले प्रमुख सचेतक महेश बर्तौला लगायतलाई धकेलेका थिए। ओली लगायत एमाले नेताहरु रविलाई रोष्ट्रमसम्म जाने बाटो बनाउन अघि सरेका थिए । कांग्रेसका उपसभापति तथा पूर्व मन्त्री धनराज गुरुङलगायतले लामिछानेलाई छेकेरा बाटो बन्द गरे।   सो लगत्तै सभामुख देवराज घिमिरेले संसद्को आजको बेठक स्थगित भएको घोषणा गरेका छन् ।

सदनमा कांग्रेसको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ। निर्धारित समयभन्दा दुई घण्टापछि बसेको बैठकमा कांग्रेसले अवरोध गरेको हो ।  बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरी अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको थियो । बैठक दुई घण्टापछि मात्रै बसेको हो ।  सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ । सत्तापक्ष लामिछानेलाई बोल्न दिएपछि मात्रै समिति बनाउने पक्षमा देखिएको छ । कांग्रेसका सांसदहरूले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग राख्दै सदनमा नाराबाजी गरेका छन् ।

कांग्रेसले बोलायो पत्रकार सम्मेलन

काठमाडौँ । नेपाली कांग्रेसले पत्रकार सम्मेलन बोलाएको छ । पत्रकार सम्मेलनमा पार्टीको तर्फबाट महामन्त्री गगन थापाले धारणा राख्न लागेका हुन। बिहीबारको प्रतिनिधिसभा बैठकपछि महामन्त्री थापाले प्रतिनिधिसभा बैठकबारे पत्रकार सम्मेलन गर्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान र गरिबन्धु चिया बगानबारेबारे प्रस्ट पार्नै बताइएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ। गिरिबन्धु चिया बगानबारे कांग्रेसले प्रश्न उठाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार ल्होत्से हलबाटै प्रतिवाद गरेका थिए ।

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ  : अध्यक्ष ओली

काठमाडौँ, जेठ ३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको संवर्द्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । मदन(आश्रितको ३१ औँ स्मृति दिवसमा सो पार्टीद्वारा आज मदननगर, बल्खुमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सबै खालका आक्रमणलाई पराजित गर्दै एमाले अपराजेय शक्तिका रूपमा स्थापित हुँदै आएको बताए। आफूहरूले अगाडि बढाएको आन्दोलनलाई जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)ले निर्देशित गरिरहेको र आन्दोलनले सफलता प्राप्त गरिरहेको बताउँदै अध्यक्ष ओलीले अब २०८४ मा हुने निर्वाचनबाट नेपालको राजनीतिले नयाँ मोड लिनुपर्ने विचार व्यक्त गरे। अध्यक्ष ओलीले भने, “त्यो मोड प्रतिगामी होइन, अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउने हुनुपर्छ, जसबाट राष्ट्रिय हित संवर्द्धन, सुशासन र तीव्र विकास अगाडि बढाउन सकियोस् । समाज कल्याण, मानवतावाद र लोककल्याणकारी राज्यको अवधारणा कार्यान्वयन गर्नाका साथै गरिबी अन्त्य गर्न सकियोस् ।’’ सामाजिक न्याय र समानतासहितको मानव समृद्धिका लागि समाजवाद दिवङ्गत नेताहरूको गन्तव्य रहेको स्पष्ट गर्दै अध्यक्ष ओलीले आगामी २०८४ को निर्वाचनमा सफलता प्राप्त गरी त्यस दिशामा अगाडि बढ्न सकिए मदन(आश्रितका सपना थप पूरा हुने आशा व्यक्त गरे। आफूलाई कम्युनिष्ट नेता भन्नेहरू नै आन्दोलनलाई सिद्ध्याउन लागि परेका र राष्ट्रिय शक्तिको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन पछि लागेकाले विगत स्मरण गर्दै अध्यक्ष ओलीले उनीहरूको पत्याउनै नसकिने खालको गतिविधि गरेको आरोप लगाए। उनले भने, “हाम्राविरुद्ध एकपछि अर्को पासो थापियो । ती सबै पराजित गरियो । अब दिगो र सुदृढ विजयको दिशामा अगाडि बढ्नु परेको छ ।’’ देशमा प्रतिगमन हुँदा वा नाकाबन्दीको अप्ठ्यारो परिस्थितिमा पनि आफूहरूले घुँडा नटेकेको स्मरण गर्दै उनले आफू प्रधानमन्त्री रहेको समयमा भएको नाकाबन्दीविरुद्धको लडाइमा जनताको साथ र सहयोग पाएको भन्दै सम्मान प्रकट गरे। कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरू र आश्रितकी धर्मपत्नी माया ज्ञवालीको उपस्थिति थियो । रासस 

कांग्रेसले भन्यो– 'सरकार रबिलाई जोगाउन लाग्यो, सदन चल्दैन'

काठमाडौं । सरकारले सदनको अवरोध खुलाउन प्रयास नगरेको  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध खुलाउने प्रयास स्वरुप छलफल गरिरहेका बेला आज संसद्को अवरोध खोल्ने चर्चाकाबीच कांग्रेसले उक्त धारणा सार्वजनिक गरेको हो । सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संंलग्नताबारे छानबिनका लागि सरकार तयार नभएको भन्दै कांग्रेसले संसद्को अवरोध जारी रहने बताएको हो।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जो व्यक्तिमाथि छानबिन मागेको हो उसलाई जोगाउने गरी हुने छानबिनको अर्थ नहुने र कांग्रेसलाई स्वीकार्य पनि नहुने बताए। उनले सत्तापक्ष निर्लज्ज भएर प्रस्तुत भइरहेको छ भन्दै एउटा अमुक व्यक्तिलाई जोगाउने कुरा खुलेयाम जोगाउन लागेको समेत आरोप लगाए। आज संसद् खुलाउनका लागि डाकिएको बैठकमा सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संलग्नतासहित छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने कांग्रेसले अडान राखेको थियो। सत्ता पक्षले भने कांग्रेसले भनेजस्तो व्यक्ति केन्द्रित भएर भने संसदीय समिति नबनाउने बताएको छ । आज भएको सहमति प्रयासमा यहि विषयमा कुरा नमिलेपछि संसद् सुचारु अनिश्चित भएको छ ।