नीति तथा कार्यक्रम परम्परागत भएको कांग्रेसको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेको छ । 

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले जनताको समस्या समाधान गर्न असक्षम देखिएको कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका हुन् ।

उनले सरकारको कार्यक्रममा कुनै उत्साह नदेखिएको धारणा राखे । सहकारी प्रकरणमा पीडितलाई न्यायका साथै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता नआएको जिकिर गरे । सरकार सहकारी पीडितहरूको मर्काप्रति संवेदनशील नरहेको उनको भनाइ छ । 

उनले सरकारको नीति तथा कार्यक्रममा धेरै महत्त्वपूर्ण विषय छुटेको बताए ।

माधव नेपालले भने -'पार्टी विभाजन गर्ने हल्लाले आत्तियौँ'

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन गर्न लागेको हल्ला चलेपछि आत्तिएको सुनाएका छन् । ललितपुरको बालकुमारीमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले जनता समाजवादी पार्टी विभाजनसँगै आफ्नो पार्टी पनि विभाजन गर्ने चर्चा चलेपछि आफु आत्तिएको बताएका हुन् । “हाम्रो पार्टीको पनि विभाजनको हल्ला चले। अर्को पार्टी खडा गर्नका लागि तयारी भइसकेको भन्ने चर्चा पनि चल्यो। ६ जना जाँदैछन् भन्ने हल्ला चले, चलाइए,” उनले भने, “हामी पनि आत्तियौँ । के हो वास्तविकता ? बसेर फेरि छलफल गर्यौं। छलफल गर्दा जति गणना गर्दा पनि देखिँदैन ।”  अध्यक्ष नेपालले पार्टीभित्र भ्रष्टिकरण र पदलोलुपताको प्रवृत्ति खतरनाक रुपमा देखापरेको बताए ।नेपालले पार्टीमा असन्तुष्टि भए छलफल गरेर टुंगो लगाउन सकिने समेत बताएका छन् ।

नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । पार्टीको आठौँ बैठक मंगलबार ललितपुरको बालकुमारीमा सुरू भएको हो ।  बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनमाथि छलफल हुने एक नेताले बताए । दुई दिनसम्म चल्ने बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल हुने बताइएको छ । एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्दैछ । यस बारेमा पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुने जनाइएको छ ।

एकैपटक ६० जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। सरकारको निर्णयअनुसार मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ। रुद्रप्रसाद पण्डितलाई गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लगिएको छ। बाग्मतीको सामाजिक विकास मन्त्रालयका ससचिव रहेका भीष्मकुमानर भुसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट र नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ।कमलप्रसाद भट्टराई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधामनन्त्री कार्यालयमा सरुवा भएका छन्। हेर्नुस् को कहाँ भए सरुवा

जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र

काठमाडौं।सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो।  जीबी राईको नाममा जारी राहदानी रद्द गर्न पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले जानकारी दिए ।उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिश जारी भएको छ । १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिश जारी भएको थियो। डिफ्युजन नोटिसको आधारमा उनी मलेसियामा लोकेट भएका हुन्। सरकारले उनलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई कूटनीतिक नोट पनि पठाएको थियो।

मन्त्रिपरिषद् बैठक नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारले यस वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । राष्ट्रपति पौडेलले आज दिउँसो ३ बजे संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । मन्त्रिपरिषद बैठकले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना पनि पारित गरेको छ ।

३ बजे प्रदेशसभा बैठक बस्दै

हेटौँडा। बागमती प्रदेश सभाको बैठक आज मङ्गलवार दिउँसो ३ बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची छ।  संसदमा पेस भएको उक्त सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए। उनका अनुसार बैठकमा विशेष समयको व्यवस्था समेत रहेको र उक्त समयमा सांसदहरूले धारणा राखे।  वैशाख ३१ गतेबाट सुरु भएको प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकमा दलगत रूपमा सांसदहरूले शुभकामना व्यक्त गरे भने प्रदेश उच्च शिक्षा ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरिएको थियो।

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्न दिने भएको छ । आज बिहान सिंहदरबारस्थित दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने रणनीति तय गरिएको हो । त्यसपछिका अरू संसदीय प्रक्रिया अघि बढाउन नदिने रणनीति तय गरिएको एक सांसदले जानकारी दिए । बैठक जारी छ । सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठन गर्नुपर्ने माग गरिरहेको छ । लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाइएसम्म संसद् बैठक चल्न नदिने कांग्रेसको अडान छ । आजै बिहान कांग्रेसका नेतालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा संसद् अवरोध नगर्न अनुरोध गरेका थिए ।

गणतन्त्र दिवस मौलिक र रचनात्मक रूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन्। उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ समेत गठन गरेको छ ।  प्रधानमन्त्रीको अध्यक्षतामा रहेको मूल समारोह समितिको सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कि अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत रहेका छन्। सरकारले विसं २०६५ जेठ १५ मा देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ। नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दिपावलीलगायतका मौलिक कार्यक्रमहरू गर्ने निर्णय भएको छ । बैठकले सङ्घीय सरकार तथा केन्द्रीयस्तर, विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावास र प्रदेश राजधानी (केन्द्र), जिल्ला र स्थानीयस्तरमा गरिने कार्यक्रमसमेत तय गरेको छ।   बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन उपसमितिलगायतका विभिन्न उपसमिति गठन गरेको छ । 

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक जारी छ । बिहान ९ः३० बजे सिंहदरबारमा बस्ने भनेको बैठक करिब एक घण्टा ढिलो सिंहदरबारमा सुरु भएको हो। बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बसिरहेको छ ।जसपाका मन्त्रीहरुले सपथ लिएपछिको पहिलो बैठकले आज प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रम पारित गर्ने बताइएको छ । सरकारले आज आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्नेछन् ।

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौं । गणतन्त्र दिवस मूल समारोह समिति, २०८१ गठन गरिएको छ । आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सदस्य सचिव गृहमन्त्रालयका सचिव रहनेगरी गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको हो । जेठ १५, २०६५ देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको सन्दर्भमा जेठ १५, २०८१ मा गणतन्त्र दिवस भव्यतासाथ मनाउन गणतन्त्र दिवस मूल समारोह समिति, २०८१ गठन गरिएको हो । बैठकले जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपाल भित्र र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा दीपावलीलगायतका कार्यक्रमहरु गर्ने तथा जेठ १५ गते गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।  बैठकले गणतन्त्र दिवस मूल समारोह समितिसँगै विभिन्न पाँच उपसमितिहरु गठन समेत गरेको छ । साथै, अहिलेको गणतन्त्र दिवसमा नागरिकहरु पनि सहभागी गराउने गरी तयारी गरिएको छ । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते शैनिक मञ्चमा हुने कार्यक्रमको अध्यक्षता गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्डले गर्नेछन् भने प्रमुख अतिथिको रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।

कांग्रेस संसदीय दलको बैठक सुरु, लचिलो हुने संकेत!

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको दुवै सदनको संयुक्त वैठकमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा अवरोध गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भइरहेको छ। कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर केही समयदेखि संसद अवरुद्ध गर्दै आएको छ।छानबिन समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान राख्दै आएको कारण पनि अहिले बसेको कांग्रेसको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ। कांग्रेसले उठाउँदै आएका मागमा चासो राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहानै कांग्रेस नेताहरुसँग छलफल गरेका थिए। उक्त बैठकमा प्रधानमन्त्रीले समस्या समाधानका लागि प्रतिवद्धता व्यक्त गरेको भन्दै कांग्रेस केही लचिलो हुने संकेत देखिएको छ।

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीचको छलफल, यस्तो छ निष्कर्ष

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको कांग्रेससँगको छलफल सकिएको छ । आज बिहान बालुवाटारमा कांग्रेस नेता रमेश लेखक र गगन थापासँग भएको छलफल सकारात्मक रहेको बैठकमा सहभागी कांग्रेस नेताहरुले बताएका छन् । बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट संसदमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अवरोध नगरिदिन नेपाली कांग्रेसका नेताहरुसँग प्रधानमन्त्रीले आग्रह गरेका छन् । बैठक पछि कांग्रेस मुख्य सचेतक लेखकले प्रधानमन्त्रीले समस्या समाधानका लागि प्रयासरत रहेको बताएको जानकारी दिए। लेखकले समस्या समाधानका लागि कोसिस गरिरहेकाले राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रममा अवरोध नगरिदिन प्रधानमन्त्रीले आग्रह गरेको बताए । प्रधानमन्त्रीले कांग्रेसले उठाइरहेको माग सम्बोधनको विषय रहेकाले समस्याको समाधान गर्ने प्रतिबद्धता जाहेर गरेको उनको भनाइ छ। उनले भने, ‘प्रधानमन्त्रीले पहिलो कुरा राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगरिदिन आग्रह गर्नुभयो भने अर्को कुरा सहकारी प्रकरणको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो। हामी यो व्यवहारमा देख्न चाहान्छौं ।’ प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा समस्या समाधानको लागि पहल गरिरहेको आश्वासन दिएपछि कांग्रेस केही लचिलो देखिएको छ। लेखकले संसद अवरुद्ध खुलाउने विषयमा संसदीय दलको बैठकपछि निस्कर्षमा पुग्ने बताए । कांग्रेस संसदीय दलको बैठक केहीबेरमा बस्दैछ।

पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ। रेग्मीको आज बिहान आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिका गेझबासमा निधन भएको कांग्रेस नेता शेखर कोइरालले जानकारी दिए।  रेग्मी राष्ट्रिय सभाका पूर्वसदस्य हुन्। उनको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजे जिल्ला पार्टी कार्यालय स्याङ्जामा राखिने छ।उनी शिक्षण पेसा हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान ९ः३० बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । जसपाका मन्त्रीहरुले सपथ लिएपछिको पहिलो बैठकले आज प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रम पारित गर्नेछ । सरकारले आज आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्नेछन् ।  

सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

सरकारले आज आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम रहेको छ।