एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।हिजोदेखि जारी बैठकमा आज बोल्न बाँकी रहेका नेताहरूले धारणा राख्नेछन् । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ।

पार्टीका उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले हिजोको बैठकमा पार्टी अध्यक्ष माधव नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमा धारणा राखेका थिए।

यस्तै, महासचिव घनश्याम भुसालले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए।

यसैबीच, स्थायी कमिटी बैठक पछि आजै साँझ पोलिटब्यूरो बैठक पनि बोलाइएको छ।

देशको समृद्धिका लागि सोचेअनुसार काम भएन  : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशको समृद्धिमा सोचेअनुसार काम नभएको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । अध्यक्ष दाहालले साँचो समृद्धिको बाटो अझै सहज नरहेको जिकिर गरे। उनले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतिहरुको सामाना गर्नुपरेको उल्लेख गर्दै अस्थिरताका कारण सोचेअनुरुपको विकास हुन नसकेको बताए। उनले दुर्गम गाउँहरुमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघसंस्थाहरुले महत्वपूर्ण भुमिका रहेको उल्लेख गरे। उनले अध्यक्ष दाहालले नेपाल प्राकृतिक श्रोत, साधन, सम्पदा र अथाह सम्भावना भएको देश रहेको पनि बताए। अध्यक्ष दाहालले अनुभव, अन्तरदृष्टि र उत्कृष्ट अभ्यासलाई साझा र सामुहिक गरेर मात्रै समुन्नत र समतामुलक नेपाल निर्माण गर्न सकिने बताए।

राष्ट्रियहितलाई सर्वोपरि ठानेर नीति तथा कार्यक्रम आउँछ : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले राष्ट्रियहितलाई सर्वोपरि परी ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताएका छन्।नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरूसँग आज भएको छलफलमा अध्यक्ष ओलीले निजी क्षेत्रको समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले जानकारी दिए। त्यसअवसरमा उद्योगी व्यवसायीको मनोबल बढाउनेगरी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सहजजीकरण गरिदिन अध्यक्ष ओलीलाई आग्रह गरेको पनि उनले बताए। अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै त्यसलाई उकास्नेगरी सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन सहजीकरणका लागि आग्रह गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए। अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशतसम्म गिरावट आएकाले शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरण गर्नुपर्नेबारे छलफल गरिएको उनले बताए।  वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान एवम् निजी क्षेत्रको मनोवल उकास्नुपर्ने बेला आएको अग्रवालको भनाइ छ।  अध्यक्ष अग्रवालले सहकारी क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि पनि अविलम्व पहल गर्न अध्यक्ष ओलीसमक्ष आग्रह गरिएको बताए।

एकीकृत समाजवादीको सचिवालय र स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय र स्थायी कमिटी बैठक शनिबार बस्दैछ। सचिवालय बैठक बिहान साढे १० र स्थायी कमिटी बैठक साढे ११ बजे बस्न लागेको हो।  बैठकमा पार्टीको दशौं महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। उनका अनुसार केन्द्रीय सचिवालय बैठकमा स्थायी कमिटी बैठकको सञ्चालन र एजेण्डाबारे छलफल हुनेछ। स्थायी कमिटी बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान र सांगठनिक दस्तावेजमा छलफल हुने छ ।  एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ। स्थायी समितिका निर्णयबारे थप छलफल गर्न भोलि पोलिटब्युरो बैठक बोलाइएको छ। दुवै कमिटीबाट आएका सुझाव संकलन गरेर केन्द्रीय कमिटी बैठकमा पेश गरी साझा धारणा बनाउन लागिएको उपाध्यक्ष पाण्डेले जानकारी दिए।  केन्द्रीय कमिटी बैठक वैैशाख ३१ र जेठ १ गते बस्ने एकीकृत समाजवादीले जनाएको छ। बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर प्रतिनिधि छनोटका कार्यविधि र संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ।  प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार देशभर सांठनिक अवस्था, जनवर्गीय संगठनको कार्य प्रगतिको समीक्षा गरिने बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ। 

संसद्को संयुक्त बैठक मंगलबार, राष्ट्रपति पौडेलले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मंलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। संघीय संसद् सचिवालयले आज एक सूचनामार्फत मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारी गराएको छ । संसद् सचिवालयले सबै सांसदलाई मंगलबार दिउँसो २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भइसक्न आह्वान समेत गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार संयुक्त बैठक आह्वान गरेका हुन् ।मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने सरकारले तयारी गरेको छ ।

ऋण लिएको प्रमाणित गर्न गगन थापालाई रविको चुनौति

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफुले निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको कुरा प्रमाणित गर्न नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई चुनौति दिएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले आफूले हस्ताक्षरसहितको निवेदन दिएर सूर्यदर्शन सहकारीबा ऋण लिएको कुरा प्रमाणित गर्न चुनौति दिएका हुन्। उनले गगन थापाले भनेजस्तै प्रमाण पेश गर्न सकेमा आफूले राजनीति छोड्ने बताए। गृहमन्त्री लामिछानेले प्रमाण दिन नसकेमा गगन थापालाई राजनीति छाड्न चुनौति दिए। उनले संसदीय छानविन समिति बनाउने कुरा सामान्य भएको भन्दै बनाउन सकिने धारणा पनि राखे। उनले आफू प्रमाणसहित कोही आएमा राजनीति छोड्न तयार रहेको भन्दै समिति नबनाउन नभनेको बताए। उनले चुनौति स्वीकार गरेर दुई जनाको राजनीति दाउमा लगाउन तयार हुन थापालाई आग्रह गरे। गृहमन्त्री लामिछानेले आफ्नो कुरा संसदबाट सुन्न काँग्रेस डराएको बताए। आफूले संसदमा बोल्न पाएमा सबै कुरा स्पष्ट ढंगले राख्ने उनको भनाई छ।

सहकारी ठगी प्रकरणमा रबिले सत्ताको दुरुपयोग गरे  : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् ।संसद बैठक चल्न नदिने कुरामा आफू नभई सरकार र यसको कामकारबाही जिम्मेवार रहेको महामन्त्री थापाको जिकिर थियो । शुक्रबार प्रतिनिधि सभा बैठकको शुभारम्भमा बोल्दै महामन्त्री थापाले कांग्रेसले लगाएको आरोप गलत सावित गर्न उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरण छानविन गर्न संसदीय समिति बनाउनुपर्ने आफूहरुको मागलाई इन्कार गरेर सरकार र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि आफूहरुलाई हेप्न खोजेको भन्दै आपत्ति पनि जनाए। उनले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगी गरेको प्रमाण रुपेन्द्रेही प्रहरीले त्यहाँको जिल्ला अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको दाबी समेत गरे । उनले सरकार र सत्तारुढ दलहरुकै नेतृत्वमा छानविन समिति बनाउने भएकाले त्यसमा डराउनुपर्ने कुनै कारण नभएको पनि बताए। महामन्त्री थापाले सो प्रकरण ढाकछोपका लागि रबि लामिछानेले कहिले प्रधानमन्त्री त कहिले प्रहरीलाई बोल्न लगाएको आरोप लगाए । साथै उनले सो प्रक्ररणमा महान्यायाधिवक्ताको कार्यालयलाई समेत दुरुपयोग गरेको जिकिर गरे ।

गण्डकी सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश : 'दीर्घकालीन निर्णय नगर्नू'

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले नवनियुक्त मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारलाई नियमित काम बाहेक दीर्घकालीन असर पर्ने निर्णय नर्गन आदेश दिएको हो । साथै अदालतले विश्वासको मतको बारेमा संबैधानिक ब्याख्याको आवश्यकता रहेको भन्दै जेठ ८ गते पूर्ण सुनुवाई गर्ने मिति तोकेको छ । उक्त दिन अन्तरिम आदेश जारी हुने नहुने टुंगो लाग्ने छ । यस्तै सर्वोच्चले प्रदेश सभा, सभामुख र प्रदेश प्रमुखका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ।प्रदेश सरकारले पाएको विश्वासको मतको संबिधान विपरीत रहेको भन्दै कांग्रेस गण्डकीले सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो । वैशाख २३ गते प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनी गरेको घोषणाविरुद्ध रिट दायर भएको थियो । संविधानको धारा १८८ (३) अनुसार बहुमतको लागि ३१ सांसदको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

अधिवेशन अवधिभरको कार्यतालिका निर्माण गर्न आवश्यक :  अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अवधिभरको कार्यतालिका निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा आफ्ना धाराण प्रस्तुत गर्दै अध्यक्ष दाहालले यस्तो बताए । अध्यक्ष दाहालले सरकारको तर्फबाट संसदमा पेश गर्ने विधेयकहरू निक्र्यौल गरी अधिवेशन प्रारम्भ हुनु अगावै संसदमा दर्ता गर्ने हो भने अधिवेशन अवधिभरको कार्यतालिकालाई मूर्त रुप प्रदान गर्न सहज हुने बताए । उनले सभाका गतिविधिहरूलाई थप व्यवस्थित र पूर्वानुमानयोग्य बनाउन सम्भव हुने जिकिर गरे। अध्यक्ष दाहालले सभाको पन्ध्रौं अधिवेशन अवधिमा दुवै सभाबाट ३ वटा विधेयक पारित भएको र त्यसमध्य दुई वटा विधेयक राष्ट्रिय सभामा नै उत्पत्ति भएका विधेयक रहेको बताए। उनले सभामा दर्ता भएका हालसम्मका ५९ विधेयकमध्ये ३० वटा विधेयक प्रमाणीकरण भइसकेका बताए। उनले २ वटा विधेयक सभाअन्तर्गत विचाराधीन रहेका छन् भने १० वटा विधेयक राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाइएको बताए। अध्यक्ष दाहालले विचाराधीन रहेका १० वटा विधेयक यसै अधिवेशन अवधिमा प्रमाणीकरण हुने आशा व्यक्त गरे।

यस्ता छन् मन्त्रिपरिषद्का २५ वटा निर्णय

काठमाडौं । सरकारले पछिल्लो मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ । बिहिबार बसेको बैठकले गरेका निर्णय आज शुक्रबार सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक गरेकी हुन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २५ वटा निर्णय

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण :  प्रधानमन्त्री

सल्यान । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताएका छन् । दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्षदेखि बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर सङ्घीयता सबल बनाउन लागिएको बताए। “योजनामा देखिएको दोहोरोपना अन्त्य गर्ने, ३ करोडभन्दा साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यी प्रयासहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्नेछन् ।”  आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपश्चात सबैभन्दा बढी ध्यान सङ्घीयता कार्यान्वयनमा लगाइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठकहरू सम्पन्न भई महत्त्वपूर्ण निर्णयहरू भएको बताए। स्थानीय तहले सङ्घीयताको असल अभ्यास गर्न सकेमा प्राकृतिक साधनस्रोतको संरक्षण र बहुआयमिक परिचालन, ग्रामीण अर्थतन्त्रको सशक्तिकरण, सामाजिक सूचकहरूमा बढोत्तरी लगायतका रणनीतिक महत्त्वका कामहरूको साथै सेवाप्रवाहका क्षेत्रमा महत्त्वपूर्ण काम गर्न सकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रदेश र स्थानीय तहको साझा अधिकार सूचिसमेतको सही अभ्यास हुँदा स्थानीय तहले ग्रामीण अर्थतन्त्रको सवलीकरणसहित राष्ट्रिय अर्थतन्त्र निर्माणमा गुणात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे। सरकार भन्नेवित्तिकै नागरिकको मन मस्तिष्कमा स्थानीय जनप्रतिनिधि र कर्मचारीहरू नै अग्रपङ्क्तिमा आउने उल्लेख गर्दै उहाँले स्थानीय जनप्रतिनिधि, कर्मचारी र सुरक्षा अङ्गको सोच्ने तरिकाले नै त्यहाँका सेवाप्रवाह थाहा हुने बताए।  “सेवाप्रवाह कति चुस्त र जनउत्तरदायी छ भन्ने कुराले सरकारको छवि आम नागरिकमा स्थापित हुन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसर्थ, राज्यप्रति नागरिकको आत्मीयता र अपनत्वबोधका निम्तिसमेत स्थानीय सरकार र जनप्रतिनिधिहरूले काम गर्नुपर्दछ ।” दार्माको मुकाम फारूला छोएर रोल्पाबाट सल्यान, रूकुम पश्चिमको चौरजहारी, जाजरकोट हुँदै जुम्ला जिल्लाबाट रारा जोड्ने सडकको कालोपत्रेका लागि सरकारको तर्फबाट आवश्यक पहल लिइने बताउँदै प्रधानमन्त्रीले दुग्ध सहकारीहरूमार्फत दार्मालाई दुध पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम अगाडि बढाउन सङ्घीय सरकारको तर्फबाट सहयोग हुने विश्वास दिलाए। जाजरकोट भूकम्पका लाभग्राहीहरूको आवास निर्माण, विद्युतीकरण, कृषि र पशुपालनको आधुनिकीकरण र व्यवसायीकरण, आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति, समानीकरण अनुदान लगायतका कुरामा सङ्घीय सरकारको गम्भीर ध्यान जाने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे। सत्य निरूपण तथा मेलमिलापसम्बन्धी ऐन जारी हुनेबित्तिकै रोल्पा, रूकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूमा जनसत्ताले रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सहज हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शहीदहरूको सम्मान, द्वन्द्वपीडित परिवारमा राहत, सन्ततिहरूको शिक्षादीक्षा र अभिभावकत्व लगायतका विषयहरूको उचित सम्बोधन हुने बताउनुभयो । उहाँले नेपालको परिवर्तनकारी आन्दोलनमा गुणात्मक योगदान पुर्‍याउँदै आएको सल्यान जिल्ला र दार्मा गाउँपालिकाले परिवर्तनकारी नीति र नेतृत्वका पक्षमा जाहेर गरेको ऐक्यवद्धताप्रति आभार व्यक्त गर्नुभयो । 

गगन थापा भन्छन्, ‘संसदीय छानविन समिति नबन्दासम्म बैठक अबरोध हुन्छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन् ।  विरोध लगत्तै समय लिएर सम्बोधन गरेका काङ्ग्रेस सांसद गगनकुमार थापाले संसदीय छानबिन समिति बनाउन किन डराएको ? भन्दै प्रश्न गरेका छन्।  थापाले कहिले प्रधानमन्त्री र कहिले प्रहरीलाई बोल्न लगाएर गृहमन्त्री रवि लामिछाने डराएको आरोप लगाए।  ‘सहकारीको ठगीका सन्दर्भमा यो संसद्ले छानबिन समिति बनाओस्। यो समिति बनाउँदै गर्दा त्यसबाट सबै दलहरू बस्ने होला, ढिकिजाँतो तपाईंहरूकै हातमा होला,’ उनले भने, ‘समिति बनाइदिए हुन्थ्यो भन्ने लाग्छ, किन डराएको ? किन भागेको ? कहिले प्रहरीलाई बोल्न लगाएको छ, कहिले प्रधानमन्त्रीलाई बोलाएको छ। किन डराएको ? किन आत्तिएको ?’ थापाले छानबिन समिति बनाएर अघि बढ्दा आफूहरू हेरेर बस्ने पनि बताए । संसदीय छानविन समिति नबन्दासम्म काङ्ग्रेसले संसद चल्न नदिने उनले चेतावनी दिए ।

सदनमा कांग्रेसको वेल घेराउ गरेपछि १५ मिनेटका लागि स्थगित

काठमाडौं ।  सदनमा नेपाली कांग्रेसले नाराबाजी गरेको छ। शुक्रबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसले सहकारीपीडितलाई न्याय दिन माग गर्दै नाराबाजी गरेको हो ।  कांग्रेसका सांसदहरूले ‘संसदीय छानबिन समिति गठन गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘सहकारी  ठगलाई कारबाही गर’लगायतका नारा लगाएका छन् ।  संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने कांग्रेसको माग छ । सभामुख देवराज घिमिरेले कांग्रेस सांसदको नाराबाजी चलिरहेका बेला राष्ट्रपतिको पत्र पढेर सुनाउन थालेपछि कांग्रेसका सांसद बेल घेराउमा पुगेका हुन् । उनीहरूले पेलेर जान नपाइने बताए ।  त्यसपछि समामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।  

संसदमा बोल्न कांग्रेस सांसदलाई ‘गृहकार्य’

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा गृहमन्त्री रवि लामिछानेका विषयमा तर्क सहित बोल्न भन्दै आफ्ना सांसदलाई सहकारीको रकम अपचलनबारे रुपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन वितरण गरेको छ ।  शुक्रबार बसेको संसदीय दलको बैठकमा प्रहरीको अनुसन्धान प्रतिबेदन बाँडिएको हो । नेताहरुका अनुसार सभापति शेरबहादुर देउवाले नै रूपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन सांसदहरुलाई दिन भनेपछि वितरण गरिएको हो ।  यो प्रतिवेदनमा रवि लामिछानेको नाम उल्लेख रहेको भन्दै त्यसकै आधारमा टेकेर संसदमा प्रस्तुत हुन देउवाले नै सुझाएका छन् । प्रहरी अनुसन्धानका आधारमा रुपन्देहीको सरकारी वकिलको कार्यालयले वैशाख ३ गते अदालतमा दर्ता गरेको अभियोजनपत्रमा लामिछानेले प्रक्रिया पूरा नगरी कर्जा लिएको उल्लेख छ । यही विवरणका आधारमा संसदमा आफ्ना धारण राख्न कांग्रेस सांसदहरुलाई भनिएको हो। एक नेताका अनुसार देउवाले संसदीय दलको बैठकमा भनेका छन्, ‘प्रतिबेदन अध्ययन गर्नुस्, कुन कुन ऐन आकर्षित हुन्छन्, संसदमा तर्क सहित राख्नुस् ।’

संसदको कार्यसूचि तय गर्न कार्यव्यवस्थाको बैठक बस्दै

काठमाडौं । संसदको कार्यसूचि तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।  सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो साढे १२ बजे बस्ने तय भएको जानकारी दिए । बैठकले आज दुई बजे बस्ने प्रतिनिधि सभाको कार्यसूची तय गर्नेछ । संघीय संसदको बजेट अधिवेशन आज सुरु हुँदैछ ।  शुक्रबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची निश्चित छ । बैठकमा सभामुख घिमिरिेले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउने छन् । अधिवेशनको पहिलो दिन दलीय आधारमा शीर्ष नेताहरुले शुभकामना दिने गरिएको छ । शीर्ष नेताहरु बोलेपछि दुई वटा विधेयक अगाडि बढाउने सम्भावित कार्यसूची रहेको छ ।

ओलीले एमाले सांसदहरुलाई प्रशिक्षित गर्दै

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । संघीय संसदको वर्षे अधिवेशन अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको हो । एमाले संसदीय दलको बैठक साढे ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने गरी तय भएको छ । बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम छ । संसदको वर्षे अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजे सुरु हुँदैछ ।