सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरेको छ ।

सोमबार निर्वाचन आयोगबाट राजनीतिक दल दर्ताको प्रमाणपत्र पाएपछि बसेको संसदीय दलको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको हो ।

आइतबारमात्र तत्कालीन जनता समाजवादी पार्टी नेपालका सात सांसदको समर्थनमा पार्टी विभाजन भएर नयाँ दल दर्ता भएको हो । 

वामपन्थी पार्टीहरुबीच एकताको आवश्यकता छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै वामपन्थी पार्टीहरुका बीचमा एकताको आवश्यकता औल्याएका छन्। लतिलपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित ‘वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’को विमोचन गर्दै उनले सबै वामपन्थी र कम्युनिष्टलाई एमालेमा समाहित हुन आह्वान गरे। “आफूलाई वामपन्थी र कम्युनिष्ट भन्ने सबै व्यक्तिलाई एमालेको सही धारमा छ, । यसै धारमा समाहित हुन म आग्रह गर्न चाहान्छु । सबै आउनुहोस्, सबै एकजुट हौँ”, उनले भने। उनले आफ्नो पार्टी एमाले एकता स्वार्थका लागि नभई सफलताका लागि एकता अभियान सञ्चालन गर्ने । उहाँले मुलुकको राष्ट्रिय शक्तिको रुपमा रहेको एमालेलाई निर्णायक तहमा विकास गर्न आफूले चाहेको बताए। अध्यक्ष ओलीले एमालेको वैचारिक रुपमा स्पष्टता, साङ्गठनिक रुपमा एकता, कुनै भावना बेगर नभई सही विश्लेषण र नीतिकै आधारमा पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। “पार्टीमा गल्ती हुन सक्छन् र ती गल्तीलाई सच्चाइनुपर्दछ । आत्मकेन्द्रित होइन । देश र जनता केन्द्रित भएर हामी चल्न सिक्नुपर्दछ”, उनले भने । अध्यक्ष ओलीले उपनिर्वाचनको परिमाण मिसन–२०८४ को सफलताको सुरुआत रहेको बताए। “हाम्रो पक्षमा उपनिर्वाचनको नतिजा आयो । यो हाम्रो मिसन–८४ तर्फको सफलताको सुरुआत हो । मिसन–८४ लाई हामी सफल पारेर छाड्छौं । यस अभियानमा सही ढङ्गले समाहित हुन साथीहरुलाई आग्रह गर्न चाहन्छु”, उनले भने। उनले सिद्धिलाल ज्ञवाली देश, जनता, पार्टी र आन्दोलनप्रति निष्ठा भएको राजनीतिज्ञ र परिवर्तन साकार पार्नका लागि साच्चै समर्पित भएर रात दिन काम गर्ने व्यक्ति रहेको बताए। “उहाँसँग मेरो धनिष्ट सम्बन्ध रहेको थियो । २०५४ सालतिर अन्तिमतिर पार्टी अलि ठीक ढङ्गले नचल्ने, समस्या पैदा हुने र हेर्दाहेर्दै अनावश्यक ढङ्गले पार्टी विभाजन हुने काम भयो”, उनले भने, “त्यसपछि हाम्रो सम्बन्ध पातलियो र एकअर्कामा स्नेह र सद्भाव कहिल्यै हटेन।” कार्यक्रममा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले एमालेमा प्रवेश गर्न आफू तयार रहेको जानकारी दिए। उनले पार्टीले दिएको जिम्मेवार अहिले पनि आफूले पूरा गर्न सक्ने जनाउँदै भने, “मेरो कमजोरी के रु गल्ती, कमजोरी देखिएका भएका छन् । आत्म आलोचना गरेर पुनः पार्टीमा आएको छु । मान्छेबाट गल्ती, कमजोरी हुन्छन् । आत्म आलोचना गर्न ठूलो कुरा हो ।” उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)पार्टी नफुटाएको स्पष्ट पारे। समारोहमा एमाले उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो।

रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी संसदीय दलको बैठक आह्वान भएको सहमहामन्त्री मनीष झाले जानकारी दिए । २८ वैशाखबाट बस्ने संसद् बैठकको तयारीका लागि संसदीय दलको बैठक बस्न लागेको झाले जानकारी दिए

नयाँ दल दर्ताको निवेदन अवैधानिक भएको जसपाको जिकिर

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टी विभाजनका लागि दिइएको निवेदनलाई अवैधानिक भनेको छ । आइतबार अशोक राईको समूह जसपा विभाजन र नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेको थियो । आज, सोमबार जसपा प्रवक्ता मनीषकुमार सुमनले विज्ञप्ति जारी गर्दै अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेका हुन् । ‘संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा केही विभाजित मनस्थितिका व्यक्ति निर्वाचन आयोगमा गई अवैधानिक निवेदन दिएका आधारमा दल विभाजन हुने अवस्था नरहेको अनुरोध छ ।’

लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गरेका छन्। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको सिष्टम देखिएका समस्या, जनतास्तरमा उठेका विषयहरू र विभागले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रित रहेर विभागसँग छलफल गरेका हुन्। छलफलमा प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिए। प्रधानमन्त्रीले भने, “सवारी चालक अनुमतिपत्रका बारे बाहिर गम्भीर प्रश्नहरू उठेका छन्। यसमा जनताले गम्भीर आलोचना, असन्तुष्टि, आक्रोश देखिन्छ। खासगरी युवाहरूले समयमै सेवा नपाएको लगायतका गुनासो राख्ने गरेका छन्। लाइसेन्स जसरी बितरण हुनुपथ्र्यो, त्यस्तो भएको छैन। नक्कली लाइसेन्स बितरणको कुरा पनि मैले सुनेको छु । यो समस्यालाई मैले गम्भीरतापूर्वक लिएको छु। यो समस्या तत्काल समाधान गर्नुस्।” छलफलमा उनले लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्नसमेत निर्देशन दिए। प्रधानमन्त्रीले भने, “यो नीतिगत समस्या हो कि संरचनागत हो वा हाम्रो नियतमा समस्या हो ? यसको गम्भीरता हेरी सोहीअनुरूप निरूपण गर्नुपर्छ। तसर्थ, जनतास्तरमा उठेका जिज्ञासा र प्रश्नहरूको गम्भीरतापूर्वक समाधान गर्नुस्। भइरहेको सिष्टमलाई अपडेट र अपग्रेड गर्दै नयाँ सिष्टममा अगाडि जाने तयारी गर्नुस्।” सो क्रममा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको समय भएकाले कस्तो नीति र उपायहरू अपनाउँदा यस क्षेत्रको समस्या समाधान हुन्छ, सोबारे ठोस सुझाव प्रस्तुत गर्नसमेत निर्देशन दिए । छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल लगायतका अधिकारीहरूको उपस्थिति थियो।

पञ्चा सिंहसहित ५ जनाविरुद्ध मुद्दा चलाउन प्रमाण नै छैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा नचल्ने भएको छ।जिल्ला सरकारी वकिलको कार्यालय, सुर्खेतले उनीसहित ५ जनाविरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण नभएपछि मुद्दा नचलाउने निर्णय गरेको हो। निर्णय अनुसार सिंहसहित गुराँस भन्ने बालकृष्ण सिंह, टङ्कबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल, अशोक भन्ने अलि कार्कीविरुद्ध मुद्दा नचल्ने भएको हो। अनुसन्धानको क्रममा बुझिएको प्रमाणका आधारमा मुद्दा चलाउनुपर्ने आधारहरु नदेखिएकाले यो निर्णय गरिएको वकिलको कार्यालयको भनाई छ।साथै मृतकका परिवारले समेत तात्कालिन समयमा आफुहरुले मुद्धा दायर गर्दा पञ्चा सिंहलाई पनि घटनामा संलग्न भनि मुछेको भएपनि सो घटनामा उनको संलग्नता नरहेको बयान दिएका छन् । कालिकोटमा २६ फागुन २०६५ मा राजबहादुर मल्लको खुकुरी प्रहार गरी हत्या भएको थियो। यो प्रकरणमा १५ वर्षपछि अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले पक्राउ पूर्जी जारी गरेको थियो।

कांग्रेस र समाजवादीका नेता–कार्यकर्ता माओवादी केन्द्र प्रवेश

काठमाडौं। नेपाली कांग्रेस र एकीकृत समाजवादी लगायत विभिन्न दलका नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। कांग्रेसनिकट स्थापित निर्माण व्यवसायी जीतनारायण बिसी, नेपाली कांग्रेसकी महिला नेतृ रञ्जिताकुमारी थापा, स्वास्थ्यकर्मी रिजा बोहरा, लक्ष्मी बोहरा, एकीकृत समाजवादीका सुर्खेत जिल्ला कमिटी सदस्य प्रेम महतरा लगायत कर्णाली प्रदेशका नेता कार्यकर्ता सोमबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेश गर्ने नेता कार्यकर्तालाई प्रधानमन्त्री एंव नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्नुभएको थियो।

सभामुखद्धारा मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान

काठमाडौं । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक बोलाएका छन् ।बैठक सभामुख घिमिरेले मङ्गलबार बिहान साढे ११ बजे सिंहदरवारमा  सभामुखको कार्यकक्षमा बैठक बोलाएका हुन् । संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई बैठकमा बोलाएका हुन् । सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन् । सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको काम कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् । सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष नेताहरुसँग बैठक गरेका थिए । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग अलग छलफल भएको थियो । संसदको वर्षे अधिवेशन वैशाख २८ गतेदेखि सुरु हुँदैछ ।

माधव नेपालले संसदीय दलको बैठक बोलाए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन्। एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले संसदीय दलको बैठक आज दिउँसो १ बजे संसद भवनको शंकर हलमा बस्ने जानकारी दिए। जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि विकसित घटनाक्रमबारे छलफल गर्न नेपालले दलको बैठक बोलाएका हुन्। बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने चौधरीले जानकारी दिए। उनले भने,  ‘परिस्थिति बदलिएको छ, त्यसबारे छलफल तथा निर्देशन हुन्छ।’

पार्टी विभाजन भएपछि उपेन्द्र यादव नेपाल फर्किंदै

काठमाडौं । पार्टी विभाजनको सूचना पाएपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमण छोट्याएर आज काठमाडौं फर्किने भएका छन् ।  उनी कतारको राजधानी दोहाबाट आज राति काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्यमन्त्री समेत रहेका यादव गएको हप्ता अमेरिका भ्रमणमा गएका थिए । अमेरिकामा पाँच दिन र कतारमा दुई दिन उनको कार्यक्रम थियो । उनी अमेरिकाबाट कतार आएकै दिन जसपाका अशोक राई नेतृत्वको समूहले अलग पार्टी दर्ता गर्न आइतबार निर्वाचन आयोगमा निवेदन दिएको थियो । शुक्रबार अमेरिका उडेका यादव स्वदेश नफर्कदै राई, नवलकिशोर साह सुडी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान र सुशीला श्रेष्ठले दल विभाजन गरेका थिए । सो सूचना पाएलगत्तै अध्यक्ष यादव कतारका कार्यक्रम रद्द गरी काठमाडौं फर्किन लागेको उनको सचिवालयले जानकारी दिएको छ ।  अध्यक्ष यादव आज राति ११ बजे पछि काठमाडौं आइपुग्ने बताइएको छ ।  पार्टी विभाजनपछि उपेन्द्र यादव पक्षका नेताहरु आन्तरिक र अनौपचारिक छलफलमा जुटेका छन् । जसपाका प्रवक्ता मनिष सुमनले पार्टी अध्यक्ष यादव काठमाडौं फर्किएपछि औपचारिक बैठक बसेर पार्टी विभाजनबारे छलफल गर्ने बताए ।

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। बागमती प्रदेश मन्त्रिपरिषद बैठकले नेवाः (नेवारी) र तामाङ भाषालाई व्यवहारिकरुपमा सरकारी कामकाजको प्रयोगमा ल्याइएको अवसरमा आज प्रदेशमा सार्वजनिक बिदा दिने घोषणा गरिएको हो। वैशाख १२ गतेको निर्णयअनुसार आज बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको थियो। काठमाडौँको वसन्तपुरमा आज एक समारोहको  आयोजना गरी प्रदेशभित्र सरकारी कामकाजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई  शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै भाषा सरकारी कार्यालयमा प्रयोगमा ल्याइने लिपिको कार्यान्वयन घोषणा कार्यक्रमको बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ।  

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने छ ।  बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट भएका कामकार्बाही, आर्थिक कुटनीति, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

व्यवस्तताका बाबजुत हुम्ला र मुगुका  ‘छोरी’हरूसँग फुटबल खेल्दै ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेका हुम्ला र मुगुका बालिकाहरु ओली निवास बालकोट आउजाउ गरिरहन्छन् ।  काठमाडौंमै पठनपाठनको व्यवस्था गरिएका उनीहरुलाई ओलीले ‘छोरी’ सम्बोधन गर्छन् भने व्यवस्त समयका बाजजुत उनीहरुलाई समय दिइरहन्छन् ।  यस्तैमा मुगु र हुम्लाका छोरीहरु आइतबार पनि उनलाई भेट्न बालकोट पुगेका थिए ।  ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत हुम्ला र मुगुका छोरीहरुसँग भेट भएको भन्दै एक तस्बिर प्रकाशित गरेका छन् । ओलीका अनुसार ती बालिकाहरु कोही कक्षा ६ मा, कोही ५ मा र कोही १ मा पढ्छन्।   ओलीले उनीहरूसँग एकछिन् घरकै आँगनमा फूटबल खेलिएको भन्दै रमाइलोसँग दिन बितेको जानकारी गराएका छन् । 

प्रधानमन्त्री कार्यालयको प्रतिबद्धतापछि रूसी सेनाका परिवारद्धारा अनसन स्थगन

काठमाडौं ।  रुसी सेनामा आवद्ध नेपालीहरू परिवाजन र अभियान्ताहरुले १७ दिन देखि जारी राखेको अनसन स्थगन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सक्रियता र पहलमा लामो समयदेखि जारी अनसन स्थगित भएको हो ।  विगत १७ दिन देखि ३ जनाको आमरणअनसन र अन्य रिले अनसनमा बसेका थिए । रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ भन्दै बसेको अभियान्ता तथा परिवारको अनसन/मागबारे सहमति जुटाउन  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका जनसंपर्क विज्ञ बुद्धि जिसी सक्रिय थिए। त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेले एक विज्ञप्ति जारी गर्दै रुसी सेनामा आवद्ध नेपालीहरूको उद्धार, लगायतका विषयमा अभियान्ता तथा आफन्तजनहरूले उठाएका मागहरूबारे नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । साथै, आफन्त तथा अभियान्तका मागहरूप्रति सरकारले कुटनीतिक पहल गरिरहेको र उक्त पहललाई सार्थक निष्कर्षमा पुऱ्याउन थप पहल गर्ने प्रतिबद्धता जनाउँदै उक्त विज्ञप्तिमार्फत अनसन स्थगित गर्न आग्रह समेत गरिएको थियो ।  प्रधानमन्त्री कार्यालयले  उद्धार, लगायतका विषयमा भैरहेको पहललाई सार्थक निष्कर्षमा पुऱ्याउन थप पहल गर्ने प्रतिबद्धता गरेपछि अनसन हाललाई स्थगित भएको प्रधानमन्त्रीका जनसंपर्क विज्ञ जिसीले जानकारी दिए ।लामो समयदेखि अनसनरत अभियान्तालाई प्रधानमन्त्री कार्यालयका सचिव पाण्डेले जुस खुवाएर अनसन तोडाएका हुन् ।

डीबी क्षेत्री माओवादी केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा दवर बहादुर क्षेत्री (डीबी क्षेत्री) मनोनीत भएका छन् । पार्टी केन्द्रीय कार्यालय (पदाधिकारी) को वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।  प्रवासमा रहेर उनले पार्टीका लागि खेलेको भूमिकालाई उच्च मूल्यांक गर्दै केन्द्रीय सदस्यमा मनोनीत गरिएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ।  ओमानलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका क्षेत्री प्रवासमा पार्टीको संगठन विस्तारमा सक्रिय हुँदै आएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेता समेत रहेका उनी मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हकहितका लागि सक्रिय रहँदै आएका छन् ।  उनले श्रमिकको पक्षमा काम गर्नका लागि विगतमा हजारे अभियान समेत सञ्चालन गरेका थिए ।

नयाँ दलमा अशोक राई अध्यक्ष, यस्तो छ कार्यसमिति

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन भएको छ । आइतबार बसेको बैठकले राईको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।  पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्षमा राखिएको छ ।नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा इस्तियाक राई रहेका छन् । प्रदीप यादव उपमहासचिव, दीपक कार्की र रञ्जु ठाकुर सचिव तथा डा.वीरेन्द्र महतो कोषाध्यक्ष रहेका छन् ।पार्टी निर्वाचन आयोगमा दर्ता पछि अध्यक्ष अशोक राईले आफुहरु अस्थिरताको कारक बन्ने बताउँदै सरकारलाई समर्थन गरेर अघि बढ्ने बताएका छन् ।यससँगै कांग्रेसले माधव नेपाल नेतृत्वको नेकपा(ऐस) र उपेन्द्र नेतृत्वको समाजवादीसहितको नयाँ गठबन्धन बनाउन खोजेको प्रयास कमजोर बनेको राजनीतिक विश्लेषण हुन थालेको छ ।