राष्ट्रपतिसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएकी जापानकी परराष्ट्रमन्त्री कामीकावा योकोले राष्ट्रपति भवन शीतल निवासमा शीष्टाचार भेट गरेका छन्।

शीतल निवासमा आइतबार भएको सो शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्वन उत्सजन गर्ने विकसित मुलुकहरुले जलवायु परिवर्तनको असर न्यूनिकरणका सन्दर्भमा अत्यन्त गम्भिर भइदिन आग्रह गरेको राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

राष्ट्रपति पौडेलले एशियाका ज्योति गौतम बुद्धको सन्देश प्रवाहित भएदेखिनै नेपाल जापानबीच सांस्कृतिक सम्बन्ध रहिआएको उल्लेख गर्दै दुई देशबीच समस्यारहित सम्बन्ध रहेको र नेपालले सधै जापानको उच्च सद्भाव महशुस गरेको पनि बताएका थिए। 

नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाल र जापानबीचको आर्थिक सहयोग र सहकार्यका क्षेत्रहरू थप विस्तार हुने विश्वास व्यक्त गरेका थिए। 

हामीले जनस्तरको सम्बन्ध फराकिलो बनाउन प्राथमिकता दिनु पर्दछ भन्दै उनले जापानसँगको धार्मिक–सांस्कृतिक समानता एवं नेपालको प्राकृतिक सुन्दरताका कारण नेपालमा थप जापानी पर्यटकहरू आउने विश्वास व्यक्त गरेका थिए।

सो अवसरमा जापानी विदेशमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापानपनि चिन्तित रहेको उल्लेख गर्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताएकी थिइन। उनले सन् २०५० सम्ममा कार्वन उत्सर्जन शून्यमा पुर्‍याउने लक्ष्य राखेको बताउँदै जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि वैकल्पिक उर्जाको प्रयोगका निम्ति प्रविधिमा ठूलो क्रान्ति गर्न सबै मिलेर अगाडि बढाउने बताएकी थिइन्। नेपालको विकास  र स्थिरता यो क्षेत्रकै लागि आवश्यक महशुस गरेर जापानले नेपालको विकासमा हरतरहको सहयोग गर्ने उनले बताइन्।

प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेटमा के भयो छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गरेकी छिन् ।   प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायतका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले जानकारी दिए । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पुर्‍याउँदै आएको र पछिल्लो समय नेपालको ठूला पूर्वाधार निर्माणमा पनि महत्त्वपूर्ण सहयोग गरेको बताए। उनले नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गरे।  “नेपाल–जापानबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ सबल हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “आगामी दिनमा नेपाल र जापान दुवैतर्फबाट उच्चस्तरीय भ्रमण हुने मैले विश्वास लिएको छु ।”    सो अवसरमा जापानी विदेशमन्त्री योकोले नेपाल–जापानबीच सम्बन्ध सदैव सौहार्दपूर्ण रहँदै आएको उल्लेख गर्दै दुई देशबीच रहिआएको समस्यारहित मित्रवत सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाएर लैजानुपर्नेमा जोड दिए। उनले आर्थिक विकासमा नेपालले राखेका लक्ष्य पूरा गर्नका लागि जापान सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, जापानका लागि नेपालका राजदूत डा। दुर्गाबहादुर सुवेदी, नेपालका लागि जापानी राजदूत किकुता युताकालगायतका उच्च अधिकारीको सहभागिता रहेको थियो । 

एक सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयसँग भारत असन्तुष्ट

काठमाडौं । नेपाल सरकारले चुच्चे नक्सासहितको रु एक सयको नोट जारी गर्न लागेकोमा भारतले असन्तुष्टि व्यक्त गरेको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको एकपक्षीय निर्णयले अवस्था नबदलिने बताएका छन् ।  शनिबार ओडिशाको भुवनेश्वरमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्री जयशंकरले स्थापित संयन्त्र हुँदाहुँदै पनि नेपालले एकतर्फी निर्णय गरेको आरोप लगाए ।  ‘नेपालले नयाँ नक्सासहितको नोट निकाल्न थालेको कुरामा भारतको धारणा के हो ?, भन्ने प्रश्नमा विदेशमन्त्री जयशंकरले भने,‘मैले पनि त्यो रिपोर्ट देखेँ । मैले विस्तृतमा भने हेरेको छैन । तर यसमा हाम्रो धारणा प्रस्ट छ । नेपालसँग सीमा मुद्दाबारे स्थापित संयन्त्रमार्फत नै छलफल गर्दै आएका छौँ । त्यहीबीचमा एकपक्षीय ढंगबाट उनीहरूले निर्णय गरे । एकपक्षीय निर्णयले हामीबीचको अवस्था र जमिनी यथार्थ परिवर्तन हुँदैन ।’  अर्थ मन्त्रालयको प्रस्तावमा गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नोटमा नेपालको नयाँ नक्सा समावेश गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनेकी थिइन्, ‘हाल चलनचल्तीमा रहेको रुपैयाँ १ सय दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रुपैयाँ १ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।’ अहिले प्रचलनमा रहेको सय रुपैयाँको नोटमा पुरानै नक्सा रहेको छ ।  नयाँ नक्सा जारी भएपछि सोहीअनुसार डिजाइन परिवर्तन गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् । नेपालले २०७७ जेठ ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो ।   नेपाल सरकारले सुगौली सन्धिअनुसार कालीनदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा लागू गरेको हो ।  भारतीय कब्जामा रहेका ती भूभाग यसअघि प्रचलनमा रहेको नेपालको नक्सामा थिएनन् । नेपालको नयाँ नक्सामा लिम्पियाधुरामाथिबाट बग्ने कालीनदीपूर्वका गुन्जी, नाभी, कुटीलगायतका भूभाग समेटिएको छ । ती क्षेत्र नेपाली नक्सामा समेटिएपनि भोगचलन भने भारतले नै गर्दै आएको छ । 

फुट्यो उपेन्द्र यादवको पार्टी, सात सांसदले नयाँ दल दर्ता गर्दै

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ ।उक्त दलका ७ जना सांसदहरू नयाँ दल दर्ताका लागि अहिले निर्वाचन आयोगमा पुगेका छन् ।गत फागुन २१ गते नेकपा एमाले र माओवादीसँग यादवले सहकार्य गरेपछि जसपामा विवाद बढेको थियो ।विवाद बढिरहेको अवस्थामा अध्यक्ष यादव अमेरिकामा रहेका बेला यता अशोक राई नेतृतवमा पार्टी विभाजन गर्न लागिएको हो । राईसहित प्रदीप यादव, सुशीला श्रेष्ठ र राजकिशोर यादवसहितका सांसद नयाँ पार्टीको पक्षमा उभिएका छन् । उनीहरू सबैजना एमाले(माओवादी गठबन्धन सरकारमा मन्त्री बन्न नपाएपछि रुष्ट थिए।अशोक राई, प्रदीप यादव र राजकिशोराई उपेन्द्रले मिलाएर मन्त्री बनाइदिने आश्वासन दिएका थिए ।पूर्व शिक्षा मन्त्री तथा पार्टीका वरिष्ठ नेता राईले पार्टी फुटाएर नयाँ दल दर्ताका लागि अहिले निर्वाचन आयोग पुगिसकेका छन् । जसपाकी एकजना सांसद सुशील श्रेष्ठले ७ जना सांसद मिलेर नयाँ दल दर्ता गर्न आफूहरू अहिले निर्वाचन आयोगमा पुगिसकेको बताइन् ।अहिले प्रतिनिधिसभामा जसपामा हाल १२ जना सांसदहरु छन् ।राईले आइतबार नै निर्वाचन आयोगमा दर्ता गर्ने गरी गएका छन् । दलकाे नाममा नेपाल हटाएर जसपा मात्रै राखिने बताइएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव अहिले यूएनको कार्यक्रमका लागि अमेरिकामा छन् । उनी अमेरिकाबाट फिरेर अहिले कतार ट्रान्जिटमा छन्।

विश्वासको मत लिन बोलाइएको गण्डकीको बैठक आधा घण्टा स्थगित

काठमाडौं । गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।आज मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन लागेका छन् । सो प्रयोजनका लागि बोलाइएको बैठक  आधा घण्टाका लागि स्थगित भएको हो। मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेपछि माओवादी, कांग्रेस र राप्रपाका नेताहरूले धारणा राखेका छन् ।त्यसपछि सभामुख कृष्ण धितालले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् । आधा घण्टापछि अधिकारीले विश्वासको मत लिने छन् ।

जापानी विदेशमन्त्री कामिकावा र प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेट

काठमाडौं ।जापानी विदेशमन्त्री योको कामिकावाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटका लागि कामिकावा प्रधानमन्त्री कार्यालय सिंहदरबार आएकी थिइन् । भेटका क्रममा दुई देशबीचको मित्रता र आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।  जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज नेपाल आएकी हुन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा योको नेपाल भ्रमणमा आएकी हुन् ।

वैशाख २६ पछि मात्रै एमालेले सोडारीलाई विश्वासको मत दिने

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको मत नदिने भएको छ । वैशाख १५ गते भएको बझाङ प्रदेशसभा १ को निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका दमनबहादुर भण्डारी बुवाको किरियामा रहेकाले २६ गतेयता उनी प्रदेश सभामा आउँदैनन् । सोही कारण तत्काल विश्वासको मत दिन नसकिने एमाले संसदीय दलका नेता राजेन्द्र रावलले बताएका छन् ।

सत्ता गठबन्धन दायाँबायाँ गर्ने पक्षमा छैनौं  : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता समीकरण दायाँबायाँ गर्ने पक्षमा नेकपा एकीकृत समाजवादी नभएको बताएका छन्।आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गरी उनले वामपन्थी गठबन्धन बनाउने विषयमा पार्टीले गरेको संस्थागत निर्णयमा कुनै परिवर्तन नहुने बताएका हुन् ।  उनले पार्टीको निर्णयविपरीत कुनै व्यक्ति विशेषले बाहिर बोल्नुभन्दा पनि आन्तरिक बैठकमा नै छलफल गर्नुपर्ने भनाइ राखेका छन् ।खनालले अहिले पार्टीको ध्यान सत्तामा भन्दा पनि महाधिवेशनतर्फ रहेको बताए ।  

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन लागेका छन् । विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे गण्डकी प्रदेशसभाको बैठक बस्न लागेको गण्डकी प्रदेश संसद् सचिवालयले जानकारी दिएको छ । उक्त बैठकमा अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ । गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सरकारमा दाबी गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने बाटो खुलेको हो। सर्वोच्च अदालतले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत प्राप्त गर्न सक्ने व्याख्या गर्दै सो रिट खारेज गरेको थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् । संवैधानिक व्यवस्था अनुसार पक्ष विपक्षमा बराबर मत भएको अवस्थामा मात्र सभामुखले मत दिन पाउने छन् ।

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं । जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज नेपाल आउँदैछिन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा योको नेपाल भ्रमणमा आउन लागेकी हुन् । विदेशमन्त्री योकोले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै, परराष्ट्रमन्त्री श्रेष्ठसँग द्विपक्षीय औपचारिक वार्ता हुनेछ। वार्तामा नेपाल–जापान सम्बन्धका सबै पक्षबारे पुनरावलोकन हुने बताइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय मञ्चमा पनि सहयोग आदानप्रदानबारे कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।नेपाल र जापानबीच २०१३ साल भदौमा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। यसपछि नेपाल आउने योको चौथो विदेशमन्त्री हुन्।

कानूनसहित तीन समितिको बैठक बस्दै, यस्ता छन् छलफलका विषय

काठमाडौं । संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ । आज कानून, न्याय तथा मानवअधिकार, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार तथा विधायन व्यवस्थापन समिति गरी तीनवटा समितिको बैठक बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ । कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित दफाहरुका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ। यसैगरी, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राज्यको तहगत संरचनामा समन्वय र सबलीकरण, राजनीतिक, वित्तिय तथा प्रशासनिक संघीयता र समितिले संघीयता सबलीकरणका लागि गर्नुपर्ने थप कार्यहरूका विषयमा छलफल हुनेछ । यस्तै, आज विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८० उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक : काङ्ग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको बिकासका लागि घातक रहेको बताएका छन्। शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा.महतले काङ्ग्रेसका कारण मुलुकमा अस्थिरता नभएको भन्दै जसले अस्थिरता निम्ताएको छ यो नेपालको लोकतान्त्रिक आन्दोलन र बिकासका लागि घातक रहेको बताएका हुन्। उनले भने ‘नेपालको राजनीति नेपाली काङ्ग्रेसको कारणले अन्योलग्रस्त भएको होइन । काङ्ग्रेसको कारणले अस्थिरता आएको होइन । जसले अस्थिरता निरन्तर रूपमा निम्ताई रहेका छन् त्यो प्रवृत्ति नेपालको लोकतान्त्रिक आन्दोलनको लागि घातक छ । नेपालको विकासको लागि घातक छ । नेपालको उन्नति र देशमा रोजगारी सिर्जनाको लागि घातक छ ।’  

मुलुकलाई बर्बाद हुनबाट जोगाउन एमाले सरकारमा : महासचिव पोखरेल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको ओरोलो यात्रालाई रोक्न र मुलुकलाई बर्बाद हुनुबाट जोगाउन नेकपा एमाले नयाँ सहकार्य सहित सरकारमा सहभागी भएको बताएका छन् । एमाले काठमाडौँ(प्यूठान सम्पर्क मञ्चको १२ औँ अधिवेशन उदघाटन गर्दै महासचिव पोख्रेलले सो कुरा बताएका हुन् । मुलुकको समृद्धिका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता आवश्यक रहेको उल्लेख गर्दै उनले दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता सुनिश्चित हुन सके मुलुकको समृद्धिलाई कसैले रोक्न नसक्ने बताए।  उनले हालै सम्पन्न उपनिर्वाचनले मुलुकमा अस्थिरता सिर्जना गर्न खोज्ने शक्ति र प्रवृत्ति काम लाग्दैन भन्ने सन्देश दिएको बताए। विकसित देशमा राजनीतिक स्थायित्व पुराना राजनीतिक दलबाट खोज्ने गरिएको उनको भनाइ छ ।  “अमेरिकामा सयौँ वर्षदेखिका तीनै पार्टीबाटै नेतृत्वको विकल्प खोज्ने गरिन्छ । त्यहाँ ती पार्टी पुराना भयो, जनताले नयाँ पार्टी चाहियो भनेर भन्दैनन् । ब्रिटेनमा पनि सयौँ वर्षदेखि पुराना पार्टी आपसमा प्रतिस्पर्धा गर्छन्,” उनले भने, “तर नेपालमा सामाजिक सञ्जालमा चर्चित व्यक्तिलाई अगाडि सारेर पपुलिजमका आधारमा विचारधारा निर्माण गर्ने र पुराना पार्टीको विकल्प खोज्ने दुष्प्रयत्न गरिएको छ । त्यसले नेपाली समाजलाई दिग्भ्रमित गरिरहेको थियो, त्यो सच्चा के हो भन्ने कुरा जनताका बीचमा गएर उपनिर्वाचनले परीक्षण गरेको छ ।”  उनले एमालेलाई मुलुकको समृद्धि र विकासको अगुवा पार्टीका रुपमा अगाडि बढाउन आवश्यक रहेको बताए। अहिले नयाँ समीकरणले देशलाई चमत्कार गर्छ भन्ने विश्वास आफूहरुको नभएको भन्दै मुलुकको ओरोलो यात्रालाई रोक्न र मुलुकलाई बर्बाद हुनुबाट जोगाउन पार्टी सरकारमा सहभागी भएको उनले स्पष्ट पारे। अहिले पनि एमालेको ध्यान मिसन २०८४ तर्फ रहेको र पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नुपर्ने धारणा उनले राखे।  एमाले पोलिटब्यूरो सदस्य तथा सांसद सूर्य थापाले प्यूठानका विकास निर्माणले गति लिएको बताए। कार्यक्रममा एमाले प्यूठानका अध्यक्ष विजयविराट विष्ट, अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीलगायतले प्यूठानको विकासमा सबै एकजुट हुनुपर्ने धारणा राखे।

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ ।  बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने, नीति तथा कार्यक्रममा दलको सुझाब लिने विषयमा छलफल भइरहेको बताइएको छ। साथै, समसामयिक विषय र सरकारको काम कारबाहीका विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।  सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ देखि सुरु हुने गरी सङ्घीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् ।

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ ।  बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । शनिबारको दिन आज बस्ने बैठकमा प्रधानमन्त्री दाहाल प्रचण्डले सरकार र संसद्को बजेट अधिवेशन सञ्चालन, नीति तथा कार्यक्रम निर्माण लगायतका विषयमा सांसदहरुलाई बिफ्रिङ गर्नुका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । 

इन्टरनेट सेवा अवरुद्ध गरे हदैसम्मको कारबाही हुन्छ : प्राधिकरण

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध गर्ने सेवा प्रदायकलाई कारबाहि गर्ने चेतावनी दिएको छ ।  बिहीबार केही प्रमुख इन्टरनेट सेवा प्रदायकको इन्टरनेट करिब ६ घण्टा अवरुद्ध भएको थियो।प्राधिकरणबाट गरिएको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध भएको पुष्टि भएको समेत प्राधिकरणले जनाएको छ। “तत्काल प्राधिकरणबाट लिइएको पहलकदमी र सरोकारवालाहरूबाट भएको सहयोग एवं समन्वयले केही समयभित्र नै इन्टरनेट सेवा सुचारु भएको,” प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ। “आम उपभोक्तालाई निर्वाधरूपमा सेवा उपलब्ध गराउन सम्बन्धित सेवा प्रदायकहरूलाई निर्देशन दिइएको,” प्राधिकरणले भनेको छ, “अन्यथा दूरसञ्चार ऐन, २०५३ लगायत  प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गरिने बेहोरा सम्बन्धित सेवा प्रदायकहरूलाई जानकारी गराइन्छ ।” नेपाल सरकार र प्राधिकरणलाई आरोप लगाएर ब्यान्डविथ खरिदबापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नगरेको भनेर विभिन्न सञ्चार माध्यममा आएका समाचारमा समेत ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ । यस्तो छ विज्ञप्ति  २०८१ साल बैशाख २० गतेका दिन केही इन्टरनेट सेवा प्रदायकहरुको इन्टरनेट सेवा अवरुद्ध भएको सम्बन्धमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ ्र सो पश्चात प्राधिकरणबाट गरिएको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध भएको पुष्टि भएको र तत्काल प्राधिकरणबाट लिइएको पहलकदमी र सरोकारवालाहरुबाट भएको सहयोग एवं समन्वयले केही समयभित्र नै इन्टरनेट सेवा सुचारु भएको व्यहोरा जानकारी गराइन्छ ्र नेपाल सरकार र प्राधिकरणलाई समेत आरोप लगाई विभिन्न सञ्चार माध्यमहरुमा ब्याण्डविथ खरिद वापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नगरेको भनी जनमानसमा भ्रम पार्ने गरी प्रकाशित धारणा, विज्ञप्ति एवं समाचारहरु प्रति प्राधिकरणको ध्यानाकृष्ट भएको छ ्र सेवा प्रदायकहरुले सेवा प्रदान गरे वापत दूरसञ्चार ऐन, २०५३ को दफा ३२ र दूरसञ्चार नियमावली, २०५४  को नियम २६ बमोजिम कूल वार्षिक आम्दानीमा चार प्रतिशत रोयल्टी र नेपाल दूरसञ्चार प्राधिकरण ९ग्रामीण दूरसञ्चार विकास कोष० विनियमावली, २०६८ को विनियम ५९१० बमोजिम दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष रकम बुझाउनुपर्ने व्यवस्था रहेकोमा धेरैजसो सेवा प्रदायकहरुले नियमानुसार तिर्नु बुझाउनु पर्ने रकम भुक्तान गरी निर्वाध रुपमा प्राधिकरणबाट विदेशी मुद्रा सिफारिस लगायतका सहजीकरणका सुविधाहरु लिईरहेको अवस्था रहेको छ ्र तर सीमित सेवा प्रदायकहरुले वर्षौदेखि प्राधिकरणबाट बक्यौता भुक्तानीको लागि स्पष्ट गरी बारम्बार ताकेता गर्दा समेत नियमानुसार बुझाउनुपर्ने बाँकी बक्यौता रकम विभिन्न बहाना गरी हालसम्म भुक्तानी नभएको अवस्थामा दूरसञ्चार उपकरण आयात तथा बिदेशी मुद्रा सटही सिफारिस सम्बन्धी ९कार्यविधि० विनियमावली, २०७६ को ४९घ० बमोजिम विदेशी मुद्रा सिफारिस गर्न मिल्ने नदेखिएको ्र साथै उक्त विषय सम्मानित सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको अवस्थामा दूरसञ्चार जस्तो अत्यावश्यक सेवा गैरजिम्मेवारीपूर्वक अवरुद्ध हुनुलाई स्वाभाविक रुपमा लिन सकिने देखिदैन । इन्टरनेट सेवा अत्यावश्यक सेवा समेत भएको हुँदा दूरसञ्चार ऐन, २०५३ तथा अनुमतिपत्रको शर्त बमोजिम भरपर्दो एवं गुणस्तरीय सेवाको सुनिश्चितता गरी आम उपभोक्तालाई निर्वाध रुपमा सेवा उपलब्ध गराउन सम्बन्धित सेवा प्रदायकहरुलाई निर्देशन दिइएको छ ्र अन्यथा दूरसञ्चार ऐन, २०५३ लगायत  प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गरिने व्यहोरा सम्बन्धित सेवा प्रदायकहरुलाई जानकारी गराइन्छ ्र साथै भरपर्दो तथा गुणस्तरीय दूरसञ्चार सेवा सुनिश्चित गर्न नेपाल दूरसञ्चार प्राधिकरण प्रतिवद्ध रहेकोले आम उपभोक्तालाई विश्वस्त रहन अनुरोध गर्दछौ। सन्तोष पौडेल प्रवक्ता मितिः २०८१/०१/२१