देशभित्र देखिएका चुनौतीको सामना गर्न कांग्रेस एकताबद्ध हुनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको चुनौतीको सामना गर्न पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने बताएका छन् । 

नेपाल लोकतान्त्रिक खेलकुद संघको १०औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अहिले देशभित्र निकै चुनौती देखिएको भन्दै यसलाई सामना गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन्। 

यसअघि जस्तै अहिलेको चूनौती समाधान गर्न कांग्रेस सफल हुने उनको विश्वास छ । सभापति देउवाले देशमा खेलकुदप्रति युवाको आकर्षण रहेको भन्दै खेल क्षेत्रको विकासमा सवै गम्भीर भएर लाग्नुपर्ने बताए । 

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तासाझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार करिब दुई घण्टा भेटवार्ता भएको हो। भेटवार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गरिएको बताए। संसद्को बजेट अधिवेशन बोलाउने विषय संसद् र सरकार सम्बन्धित भएको उनले उल्लेख गरे। छिट्टै अधिवेशन बोलाइने उनले बताए । 

समयमा काम नगर्ने ठेकदारलाई कारबाहि गर्न मन्त्रीसँग सांसद सापकोटाको माग

काठमाडौं। माओवादी केन्द्रका सांसद माधव सापकोटाले सडक पुल आयोजनाको ठेक्का लिएर काम नगर्ने कति ठेकेदारलाई कारबाही गरियो भन्दै प्रश्न गरेका छन्।  बिहीबार प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद सापकोटाले जिम्मेवारी लिएका ठेकेदारले समयमा काम नगर्दा आयोजना पछि परेको बताउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराएका हुन्।  उनले चीनसँग सिमा जोडिएको तातोपानी नाका पुग्ने र वार्षिक हजारौं पर्यटक हिँड्ने अरनिको राजमार्गमा वर्षातको बेला गाडी गुड्न नसक्ने अवस्था रहेको भन्दै ध्यानाकर्षण समेत गराए। उनले अरनिको राजमार्ग स्तरोन्नती गर्नुपर्ने बताए। यस्तै, निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई ध्यान दिन पनि आग्रह गरे।

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा बजेट अधिवेशन बोलाउने विषयका साथै सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बुझिएको छ। मन्त्रिपरिषद बैठक विशेष परिस्थितिमा बाहेक साताको सोमबार र बिहीबार बस्ने गरेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।  यही वैशाख ६ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा ९एमाले०, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री सोडारी प्रदेशसभामा चार सदस्य रहेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेता हुन् । प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री छन् । मुख्यमन्त्रीले प्रदेशसभामा प्रतिनिधित्व गरेको नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिसकेका छन् । मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, पर्यटन वन तथा वातावरण र आर्थिक मामिला मन्त्रालय आफैँसँग राखेका छन् । सत्ता समीकरण फेरिएसँगै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सोडारीलाई एमालेले तत्काल बाहिर बसेर समर्थन गरी सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । सत्ता साझेदार अर्को दल नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक किचलो साम्य हुन सकेको छैन । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११ सदस्यको प्रतिनिधित्व छ । बझाङमा भएको उपनिर्वाचनपछि एमालेको एक सदस्य थप भई ११ पुगेको छ । नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ । रासस

नेपाल र चिनबीच सम्बन्ध थप बलियो बनाउन भ्रमण सफल : देव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले हालै गरेको चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सफल भएको बताए। चीनको दश दिने भ्रमण सकेर हालै फिर्ता भएको महासचिव गुरुङको टोलीले आज आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै भ्रमण सफल भएको दाबी गरे । चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा चीन नेपालको शान्ति,समृद्धी र राजनीतिक स्थायीत्वको लागि सधै तत्पर रहेको बताउँदै गुरुङले भने,“चिनियाँ उच्च अधिकारीहरुसँगको भेटले हामी उत्साहित भयौं कि चीन सधैं नेपालको समृद्धी,शान्ति र राजनीतिक स्थिरताको लागि सहयोग गर्न तयार छ ।” महासचिव गुरुङको नेतृत्वमा ३० जनाले दश दिनसम्म चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको बताउँदै भने,“उहाँहरुले नेपालमा स्थिर सरकार हेर्न चाहनुभएको छ । कम्युनिस्ट पार्टीहरुबीच सहकार्य होस् भन्ने चाहना राख्नुभएको छ ।” भ्रमणले चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धलाई जनस्तरमा पुर्याउन समेत सहयोग पुग्ने विश्वास गुरुङले गरे । भ्रमणको क्रममा चीन सरकारका अन्तर्राष्ट्रिय विभागका मन्त्री, स्कूल विभागको प्रमुखलगायत उच्च तहमा भेट भएको पनि जानकारी दिए । एक अर्को प्रसंगमा गुरुङले अहिलेको सरकार संसदको कार्यकालसम्मै जाने बताए । उनले भने, “संसदको बाँकी समयसम्म यही समिकरण जान्छ । यसमा विभिन्न खेल हुन पनि सक्छन् । तर, अहिलेको समिकरण यो संसदको बाँकी समयसम्म जान्छ ।”   नेपालको निर्वाचन प्रणालीका कारण एउटा दलको बहुमत प्राप्त गर्न नसक्ने अवस्थाका कारण समिकरण परिवर्तन भइरहने अवस्था सिर्जना भएको बताए ।   महासचिव गुरुङले हालै सकिएको तेस्रो लगानी सम्मेलन सफल भएको बताए । उनले देश विकासको लागि मुख्य आन्तरिक पुँजि भएपनि बाह्य पुँजि भित्र्याएर अगाडि बढ्नु पर्ने बताए । “देश विकासको लागि आन्तरिक पुँजि मुख्य कुरा हो तर हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा बाह्य पुँजि भित्र्याएर रोजगारी सिर्जनासँगै देशलाई समृद्ध बनाउन सकिन्छ । त्यही अनुसार सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गरेको हो” गुरुङले भने ।   कार्यक्रममा भ्रमण टोली सदस्य तथा माओवादी केन्द्रका युवा नेता डा। दीपेन्द्र रोकायाले नेपालको विकासको लागि चीनबाट शिक्षा लिन सकिने बताए । भ्रमणको अनुभव सुनाउँदै रोकायाले चीनले जस्तै तीब्र गतिमा विकास गरी नेपाललाई पनि समृद्ध बनाउन सकिने सम्भावना रहेको बताए । मजदूर दिवसको  सन्दर्भमा डा।रोकायाले औद्योगिकरुपमा सम्पूर्ण देशलाई अगाडी बढाउन नसक्दासम्म देश अगडी नबढ्ने बताउँदै भने “वस्तु उत्पादन गरेर निर्यात गर्न सकिएन भने हामी वेरोजगार उत्पादन गर्ने करखाना मात्रै बन्ने हो, त्यसैले यो सरकारले उद्योग खोल्न पहल गर्नु पर्छ ।”

हरिसिद्धीमा गहुँ काट्दै विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले ललितपुरस्थित हरिसिद्धीमा पुगेर गहुँ काटेका छन् ।  आज १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टीले सञ्चालन गरिरहेको कृषि केन्द्रमा लगाइएको गहुँ काटेर उनले दिवस मनाएका हुन् ।  पछिल्लो समय विप्लव खेतीपाती र कृषि कर्ममा व्यस्त भइरहन्छन् ।  पार्टीले सञ्चालन गरेको उत्पादन अभियानमार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय सन्देश दिन खोजेको उनको भनाई छ । विप्लवले सोही सन्दर्भमा श्रमिक दिवसको अवसरमा नेपाल तथा विश्वभरिका श्रमिकहरुलाई शुभकामना दिदै विश्वमा श्रमिकहरुको महत्त्व बढ्दै गएको बताएका छन् ।  उनले श्रमिक र पुजीपति वर्गविचको खाडल सांघुरो बनाउदै लैजानुपर्ने बताए । विप्लवले पुजीवादी वर्गले विश्व राजनीतिमा दादागिरी र हतियार प्रदर्शन गरिरहेको बताउदै त्यसको प्रतिरोध श्रमिक वर्गले गर्ने बताए । हरिसिद्धीमा विप्लवसँगै पार्टी निकट विद्यार्थी संगठनका नेता कार्यकर्ताले गहुँ काटेका छन् ।

रास्वपाले बोलायो केन्द्रीय समिति र सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । पार्टी बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालबिच एकता हुँदै

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालबिच पार्टी एकता हुने भएको छ । बुधवार दिउँसो बानेश्वरमा एकता घोषणा हुने क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख हुकुमबहादुर सिंहले बताए ।  मंगलबार बसेको दुवै पार्टीको संयुक्त बैठकले एकता गर्ने औपचारिक निर्णय गर्दै महाधिवेशन आयोजक समिति गठन गरेको थियो । महाधिबेशन आयोजक समितिको संयोजकमा मोहन वैद्य किरण र सहसंयोजकमा धर्मेन्द्र बास्तोला तथा सन्तबहादुर नेपाली रहेका छन् ।  आयोजक समितिमा २५ सदस्य कार्यालय, ८० सदस्यको सचिवालय गठन भएको छ । यस्तै, ५७८ सदस्यीय आयोजक समिति गठन गरेको छ । बैठकले राजनीतिक प्रतिवेदन र विधान पारित गरिसकेको छ । सिंहका अनुसार घोषणासभाअघि पशुपतिबाट मार्चपास हुँदैछ ।  साउनभित्र महाधिवेशन गर्ने तयारी रहेको उनले जानकारी दिए ।

समितिलाई सभामुखको निर्देशन -'संसद्को अधिवेशनअघि नै विधेयक पारित गर्नू '

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को आगामी अधिवेशनअगावै महत्वपूर्ण विधेयकहरूमाथि छलफल गरी पारित गर्न संसदीय समितिहरुलाई निर्देशन दिएका छन् ।  मंगलबार संसद सचिवालय सिंहदरबारमा विभिन्न विषयगत समितिका सभापतिका साथै राष्ट्रिय दलका मुख्य सचेतक, सचेतकसँग सामूहिक रूपमा छलफल गर्दै सभामुख घिमिरेले आगामी अधिवेशनअगावै विधेयकहरू पारित गर्नेगरी तयारी गर्न ध्यानाकर्षण गराएका हुन् ।  आगामी अधिवेशनमा आउन सक्ने विधेयक, समितिमा विधेयकको अवस्था, आगामी अधिवेशनको तयारी लगाायतका विषयमा छलफल भएको सभामुख घिमिरेले जानकारी दिए । अझै पनि धेरै विधेयकहरू समितिमा टंग्गो लाग्न बाँकी रहेको र छिटो टुंग्याउने काममा गति दिन आफूले आग्रह गरेको उनले बताए । सभामुख घिमिरेले आगामी अधिवेशनको तयारी गर्नुपर्ने र अधिवेशनमा आउन सक्ने अप्ठेराहरु हल गर्न सबैले भूमिका खेल्न आग्रह गरे।  बैठकपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संविधान कार्यान्वयनका निम्ति धेरै विधेयकहरु समितिमा रहेकाले यसलाई छिटोभन्दा छिटो अघि बढाउनुपर्ने जोड दिइएको बताए। आगामी अधिवेशनमा समितिबाट धेरै विधेयकहरु पेस हुने उनको भनाइ छ। उनले सहकारीको समस्या पूर्णरूपमा समाधानका लागि आगामी अधिवेशनबाटै आवश्यक कानुन निर्माण हुने जानकारी दिए। 

इलाममा सुहाङसँग जीतको खुसी साट्दै ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएपछि उनलाई बधाई दिनुका साथै सुहाङ नेम्वाङसँग खुसी साटेका छन् । ओली मंगलबार काठमाडौँबाट दमक हुँदै इलाम पुगेका हुन् । आजै ओलीले विजयी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । वैशाख १५ गते भएको निर्वाचनमा सुहाङले नेपाली काँग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै विजयी हासिल गरेका थिए । सुहाङले २७ हजार ७७२ भोट प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका खड्का २१ हजार ९४२ भोटमा रोकिएका थिए ।

रास्वपाको विज्ञप्ति- 'निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौं'

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने बताएको छ । मत परिणामले पार्टीका प्रयासहरूमा कमी–कमजोरी रहेको इंगित गरेको बताउँदै रास्वपाका महामन्त्री डा. मुकुल ढकालले मंगलबार विज्ञप्ति निकालेर यस्तो बताएका हुन्। ‘पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौं। निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन् कमीकमजोरी रहेको इंगित गरेको छ। सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ। हामीलाई दिनुभएको मतका लागि सम्पूर्ण इलाम क्षेत्र नम्बर २ का मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दछौं। नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं,’ विज्ञप्तिमा महामन्त्री डा। ढकालले भनेका छन्। इलाम–२ को उपनिर्वाचनमा नेकपा (एमाले) का सुहाङ नेम्वाङ निर्वाचित भएका छन्। उनले २७ हजार ७७२ मत ल्याएर निर्वाचित भए। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत ल्याए। तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत ल्याएका छन्।चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत ल्याए।

जित्न सकिएन, सिक्न सकियो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीले जित्न नसके पनि सिकिएको बताएका छन्।  उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभियक्ति दिन आग्रह गरेका छन्। “जित्न सकिएन, सिक्न सकियो ।त्यसैले कुनै इफ बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ,” उनले सामाजिक सञ्जालमा भनेका छन् ।  इलाम–२ को उपनिर्वाचनमा रास्वपाका उमेदवार मिलन लिम्बूले ५ हजार ५० मत मात्रै ल्याएका थिए। उनले निर्वाचित भएका नेकपा ९एमाले० का सुहाङ नेम्वाङलाई बधाई पनि दिएका छन्।

मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पछुताउनुपर्ने छैन : सुहाङ

काठमाडौँ । इलाम २ मा भएको उपनिर्वाचनमा विजय भएपछि एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदातालाई आभार प्रकट गरेका छन् । साथै उनले आफूलाई मत दिएबापत कहिल्यै पछुताउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।  साथै उनले चुनाव प्रचारप्रसारमा अट्ने नेता कार्यकर्ताप्रति पनि ऋणी भएको बताएका छन्।उनले भनेका छन्–‘मकै गोड्ने, चिया टिप्ने, तरकारी रोप्न, अलैँची स्याहार्ने’ अनेकन कामलाई थाँती राखेर निर्वाचन अभियानमा अहोरात्र खट्नुभएका आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु।' हेर्नुहोस् सुहाङको आभार तथा धन्यवाद हार्दिक आभार तथा धन्यवाद  अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु  इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदमा आफ्नो अमूल्य मत दिएर अत्यधिक मतले विजय गराउनुभएकोमा इलाम–२ का अति आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । हजुरहरुको मनमा रहेको हामीप्रतिको अगाध माया, गहिरो विश्वास र भरोसालाई मतमा परिणत गरेर आफ्नो प्रतिनिधिको रूपमा मलाई छनोट गर्नुभएको छ ।   हाम्रा अग्रजहरूले गर्नुभएको कष्टसाध्य सङ्घर्ष, बलिदान र असाधारण त्यागको जगमा आज हामी उभिएका छौँ । इलामको माटोमा जन्मिएर पञ्चायती व्यवस्थाविरुद्ध देशभरी क्रान्तिको उज्यालो फैलाउने आदरणीय शहीदहरु रत्नकुमार वान्तवा, बमप्रसाद वान्तवाप्रति हार्दिक श्रद्धा–सुमन व्यक्त गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणको नेतृत्वकर्ता इलामेली जनताका प्रिय नेता मेरो बुवा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धा–सुमन व्यक्त गर्दछु ।  सर्वप्रथम उहाँले देखाउनुभएको निष्ठाको बाटो र दिएर जानुभएको इमानको उज्यालोलाई शिरमा राखेर ‘समृद्ध इलाम ः  सुखी इलामेली’ हाम्रो साझा सपना र सङ्कल्प पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । इलामको माटोको कसम खाएर म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’ तपाईँ हामीलाई थाहा छ, परिवर्तनको आन्दोलनमा इलामेली अग्रजहरूले गौरवमय इतिहास निर्माण गर्नुभएको छ । उहाँहरूको नाम लिदा सबैको शिर श्रद्धाले झुक्छ । हाम्रो छाती गर्वले चौडा हुन्छ । यही गरिमा र गौरवलाई पछ्याएर हामीले समृद्धिको महाअभियानमा उज्यालो इतिहास निर्माण गर्नु छ । मैले अभियानको दौरानमा हजुरहरुसँग भनेको थिएँ, ‘वैशाख १५ गते इलामको समृद्धिको नयाँ अध्याय आरम्भ गर्ने दिन हो । मलाई एकपटक विश्वास जित्ने मौका दिनुहोस् ।’ हो, त्यो मौका दिनुभएको छ । अब समृद्धिको नयाँ अध्याय सुरु भएको छ ।  ‘मकै गोड्ने, चिया टिप्ने, तरकारी रोप्न, अलैँची स्याहार्ने’ अनकन कामलाई थाँती राखेर निर्वाचन अभियानमा अहोरात्र खट्नुभएका आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु । घर–दैलोको क्रममा वृद्ध आमाबुवाहरूले दिनुभएको आशीर्वादलाई शिरमा सजाएको छु । कलिला नानी बोकेर घर–दैलो गर्नुहुने आमा दिदीबहिनीहरु, भविष्यप्रतिको उज्यालो आशासहित अहोरात्र निर्वाचनमा खट्नुभएका इलामेली नौजवान साथीहरुको समर्पण र साथ अवर्णनीय छ । ‘अल द बेस्ट सुहाङ दादा’ भन्दै मसँग झुम्मिने कलिला नानीहरूका आँखामा प्रतिविम्बित निश्छल माया मनभरी सजाएको छु । समयको सीमाले कति ठाउँमा पुग्न सकिनँ । अभियानको क्रममा भेट्न नसके पनि आँखा रसाउनेगरी पठाउनु भएको भिडियो शुभकामना र सन्देशहरुले भावुक र अवाक बनाएको छ । सबैलाई एकमुष्ट धन्यवाद भन्छु । ती सबै भिडियो सन्देश, शुभकामनाहरू मसँग सुरक्षित छन् । तपाईँहरूसँग सकेसम्म छिट्टै भेट्ने बाचा पनि गर्दछु ।  मेरो हात समाएर ‘बाबु, अब युवाहरु तयार हुनुपर्छ । अब तिमी इलामेली जनताको सेवाको लागि तयार हुनुपर्छ’ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने हाम्रो पार्टी नेकपा ९एमाले०का श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु ।  नेकपा ९एमाले० इलाम जिल्ला कमिटीका आदरणीय नेतृत्वगण, इलामका सबै आदरणीय नेता कमरेडहरूप्रति आभारी छु। इलामबाट राष्ट्रिय सन्देश प्रवाह गर्ने गहिरो सङ्कल्पका साथ अहोरात्र खट्नुहुने नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी, नेपाल परिवार दलका आदरणीय नेता तथा कार्यकर्ताहरूप्रति आभार व्यक्त गर्दछु ।  म उम्मेदवार बन्दै गर्दा आफ्नो जिन्दगीको उर्वर समय पार्टीको विकास, विस्तार र आन्दोलनका लागि खर्चिनुभएका इलामका आदरणीय नेताहरूको भावनालाई शिरमा राखेको छु । उहाँहरूको कष्टसाध्य सङ्घर्ष, अभूतपूर्व त्याग र असाधारण योगदानप्रति सधैँ नतमस्तक छु । उहाँहरूप्रति असाध्यै ऋणी छु ।  हाम्रो सपना र सङ्कल्पलाई जनताका बिचमा प्रवाह गरिदिनुहुने सबै सञ्चारकर्मीहरू, निर्वाचन सम्पन्न गराउने कार्यका लागि मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षाकर्मीहरू र कर्मचारी मित्रहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु । गएको एक महिनायता सफलताको सङ्कल्प बोकेर निर्वाचनमा खटिने पार्टी कमरेडहरू, मत दिनकै लागि प्रवास, काठमाडौँदेखि समेत आइपुग्नुभएका प्रियजनहरूप्रति कृतज्ञ छु ।  स–शरीर इलाम उपस्थित हुन नसके पनि प्रवास र देशभरिबाट विभिन्न माध्यमबाट मलाई शुभकामना व्यक्त गर्नुहुने एवं प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु ।  अन्तमा, फेरि पनि भन्छु, ‘हाम्रा अग्रजहरूले परिवर्तनको आन्दोलनमा गौरवमय इतिहास निर्माण गर्नुभएको छ । त्यही गरिमा र गौरवलाई बचाइराख्दै अब समृद्धिको अभियान सुरु गर्नेछौँ ।’  हाम्रो समाज इन्द्रेणी जस्तै धेरै रङ मिलेर बनेको छ । सात रङ मात्रै मिलेको इन्द्रेणी त त्यति राम्रो छ, अझ हाम्रो देश त सयौँ जातजाति, भासाभासी, धर्म, संस्कृति र भूगोलका जनता मिलेर बनेको छ । हाम्रो राष्ट्र गानले भने जस्तै यो सयौँ थुङ्गा फूलहरू मिलेर बनेको माला जस्तै छ । यो विविधता हाम्रो सम्पदा हो, हाम्रो शक्ति हो । विविधतायुक्त पहिचान हाम्रो साझा सम्पत्ति, अजस्र शक्ति र सामर्थ्य हो । इलामको निर्वाचनमा यही भावना प्रतिबिम्बित भएको मैले पाएको छु । हाम्रो सप्तरङ्गी समाजको शक्तिलाई थप बलियो र दरिलो बनाएर समृद्धिको बाटोमा मुलुकलाई लैजाने ऐतिहासिक जिम्मेवारी हाम्रो हो ।  इमान र निष्ठाको साथ मन, वचन र कर्मले लाग्ने वाचाको साथ फेरि पनि सबैप्रति आभार र धन्यवाद १  १८ वैशाख २०८१ इलाम  उही तपाईँहरूको स्नेही सुहाङ नेम्वाङ

सुदूरपश्चिममा नागरिक उन्मुक्तिका टीका थापा मन्त्री नियुक्त

धनगढी । सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ।मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सांसद टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्।  आजै १ बजे थापाको शपथ ग्रहणको तयारी गरिएको छ। वैशाख ६ गते मुख्यमन्त्रीमा सोडारी नियुक्त भएका थिए। सोही दिन मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई नियुक्त गरेका थिए। आज बिहान मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ।

कर्णाली सरकारले आजै पूर्णता पाउँछ  मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन्। मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका उनले सत्ता साझेदार दलहरुसँगको समन्वयमा मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिन थालेका हुन् । उनले यही वैशाख १२ गते विनाविभागीयमन्त्रीका रूपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारलाई नियुक्त गरेका थिए। मंगलबार नेकपा (एमाले)को भागमा परेका भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरिने मुख्यमन्त्री कँडेलले बताए । माओवादीको भागमा परेका आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त हुने जनाइएको छ । नियुक्त हुने मन्त्रीहरूको नाम मुख्यमन्त्री कँडेललाई दिइसकिएको माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले जानकारी दिए । दुवै दलबाट को–को मन्त्री हुने भन्नेबारे भने खुलाइएको छैन । मन्त्रीहरु नियुक्त गरेर पद तथा गोपनीयताको शपथ मंगलबार नै खुवाउने गरी गृहकार्य भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ। मुख्यमन्त्री कँडेलले गत चैत २७ गते कर्णाली प्रदेश सरकारको नेतृत्व ग्रहण गरेका थिए । रासस