कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्न लागेको छ। शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।


बैठक संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्नेछ।

यस्तै सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसद्‍मा विरोध जनाएको थियो। सो विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । 

संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताएकी छिन् ।बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताइन्। मन्त्री शर्माले अहिले आफ्नो पार्टीको प्रधानमन्त्री भएका कारण आफूहरूले त्यस्तो नभएको प्रस्ट्याउँदै प्रधानमन्त्री पदलाई बलियो बनाउनुपर्नेमा जोड दिए। ‘‘छलफल गरेर सहमतिमा बनाऔँ भनेर समितिले निष्कर्ष निकालेको अवस्थामा सरकारले असहयोग गर्ने कुरा भएन । आखिरमा अध्यक्षले बैठक नबोलाईकन बैठक नै हुँदैन होला। त्यो अध्यक्षकै कुरा भइहाल्यो। अध्यक्ष नभईकन त्यो बैठक कसरी सञ्चालन हुने होला ? निर्णय प्रक्रियामा आउँदा अध्यक्ष बाहेकको निर्णय गर्ने कि अध्यक्षसहित निर्णय गर्ने भन्ने कुरा न भयो । सभापतिज्यूले बैठक नबोलाए समितिको बैठक हुन्छ र ? हुँदैन नि त ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘सभापतिले बैठक नबोलाईकन समितिको बैठक हुँदैन भन्नुको मतलब सभापतिको दुई भोट हो, अरूको एक भोट हो भन्ने अर्थ त लाग्दैन नि त । बरु बैठक नै नबोलाउने स्थितिमा के गर्ने भन्नेमा यति प्रतिशत सदस्यले माग गरेपछि बैठक बोलाउने भन्ने हो कि भन्ने विषयमा छलफल गर्न सकियो ।’’ मन्त्री शर्माले विधेयक पनि परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउने गरी ल्याइएको बताइन्। उनले परिषद्को अध्यक्ष नै प्रधानमन्त्री हुने र अध्यक्षले नै बैठक बोलाउने व्यवस्था रहेको उल्लेख गर्दै अध्यक्ष बिनाको निर्णय मनासिब नहुने धारणा व्यक्त गरिन् । उनले भनिन्, ‘‘प्रधानमन्त्री जोसुकै भए पनि जुनसुकै पार्टीको भए पनि प्रधानमन्त्रीलाई अथवा कार्यकारी नेतृत्वलाई बलियो बनाउने कुरा नै राम्रो कुरा हो भन्ने कुरा हो जस्तो लाग्छ । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुहुन्छ, त्यसकारण यो हुनुपर्छ भन्ने अर्थ नलागोस्। देशको प्रधानमन्त्री भनेको पद हो । त्यो पद बलियो हुनुपर्छ भन्ने उद्देश्यले यो विधेयक ल्याइएको हो। त्यसकारणले त्यो विषयमा के गर्ने भन्ने गम्भीरतापूर्वक हामी आफूले पनि सोचौँ।’’ उनले विधेयकलाई समिति र संसद्ले सहमति पूर्वक अगाडि बढाउन चाहेमा त्यसमा सरकार बाधक नबन्ने स्पष्ट पारिन् ।

सांसदको शपथ लिए सुहाङले

काठमाडौं । उपनिर्वाचनमार्फत इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले पद तथा गोपनियताको शपथ लिएका छन्। सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् । शपथपछि उनलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सदस्यको लोगो पनि लगाइदिएका छन्। सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान, ऐन र नियमका सामग्री प्रदान गरेका छन् । कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायतको उपस्थिति थियो ।  सुहाङ नेम्वाङ नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्बाङका छोरा हुन् । इलाम २ बाट निर्वाचित सुवासको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा उनी एमालेकै तर्फबाट निर्वाचित भएका हुन्। चुनावमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पछि पार्दै सुहाङले २७ हजार ७ सय ७२ मत ल्याएका हुन्।   

आगामी आवको बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन्।  नेकपा (माओवादी केन्द्र) सुनकोशी गाउँसमितिद्वारा आज मुलकोटमा आयोजित कार्यकर्ता भेटमा पार्टी अध्यक्ष  प्रचण्डले आफूले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको बताए। “म प्रधानमन्त्री भएपछि ठूलो मेहनतले अर्थतन्त्रमा सुधार भएको छ”, उनले भने।  राष्ट्रिय आर्थिक सूचकाङ्कमा पछि परेका क्षेत्र र वर्गलाई लक्षित गरेर नीति कार्यक्रम र बजेट निर्माण गरिने जानकारी गराउँदै उनले समाजवादको आधार तयार गर्ने नीति लिइने बताए। नीति कार्यक्रमलाई जनपक्षीय बनाउन विभिन्न पक्षसँग सुझाव लिने तयारी गरिएको जानकारी दिँदै उनले नीति कार्यक्रम र बजेटले समाजवादको आधार तयार गर्ने विश्वास दिलाए।  सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै अध्यक्ष  प्रचण्डले सुशासनको अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गरेको बताए। वर्तमान सरकारले ललितानिवास जग्गा प्रकरण, अवैध सुन तस्करी नियन्त्रण, मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रियामा ठूलो मेहनत गरेको उनको भनाइ छ ।      माओवादी नेतृत्वको सरकारले थालेका सुधारका काम एकाथरी व्यक्तिलाई मन नपरेका जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले जनपक्षीय कामलाई सरकारले निरन्तर अघि बढाउने स्पष्ट पारे। वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गबाट अघि बढाएको उल्लेख गर्दै उहाँले पछिल्ला समय भएका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट कूटनीतिक सम्बन्ध प्रगाढ बन्दै गएको बताए। 

राप्रपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दै छ । बैठक आज मध्याह्न १२ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ। छलफलमा आगामी बजेट अधिवेशन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए।

विद्युत् नियमन आयोगको अध्यक्ष र तीन सदस्यमा आवेदन आह्वान

काठमाडौँ। विद्युत् नियमन आयोगमा रिक्त रहेको अध्यक्ष र तीन सदस्यमा आवेदन आह्वान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज एक सूचना जारी गर्दै  विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम रिक्त अध्यक्ष एक र तीन सदस्य (एक जना महिलासहित) पदमा नियुक्तिको लागि आवेदन मागिएको हो।  आवश्यक न्यूनतम योग्यता र अनुभव पूरा भएका इच्छुक उम्मेदवारहरूले उक्त ऐनको दफा ७ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशन भएको मितिले १५  दिनभित्र अर्थात् आगामी जेठ ९ गते कार्यालय समयभित्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रशासन महाशाखामा आवेदन पेस गर्न आग्रह गरिएको छ।  आवेदकले रणनीति तथा कार्ययोजना समेत पेस गर्नुपर्ने सूचनामा उल्लेख छ। रणनीति तथा कार्ययोजनाको ढाँचा र यस सम्बन्धी थप जानकारी सिफारिस समितिको सचिवालयबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ।     

पार्टी विभाजनबारे पत्रकार सम्मेलन गर्दै जसपा नेपाल, अदालत जाने तयारी

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपां) नेपाल आज पार्टी विभाजनविरुद्ध अदालत जाने तयारी गरेको छ।पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्न आज केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले बैठकले सो बार् निर्णय लिनेछ। अशोक राईको नेतृत्वमा ७ सांसद र ३० केन्द्रीय सदस्यको माग अनुसार नयाँ दल दर्ता गराएको विषयमा अदालत जाने तयारी गरेको प्रवक्ता मनिष सुमनले बताए । पार्टी विभाजनको विषयमा आज पत्रकार सम्मेलन गरेर जानकारी गराउन लागेको प्रवक्ता सुमनले बताए । उनका अनुसार आज बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा पत्रकार सम्मेलन राखिएको छ।दल विभाजन सम्बन्धी कानूननै नभएको बेलामा निर्वाचन आयोगले पार्टी विभाजनलाई मान्यता दिएको भन्दै अदालत जानलेको हो । अध्यक्ष यादव अमेरिका भ्रमणमा भएको बेलामा राईको नेतृत्वमा आइतबार निवेदन दिए लगत्तै आयोगले सोमबार नयाँ दलको मान्यता दिएको थियो। हिजो बसेको बैठकले पार्टी विभाजनबारे कानूनी उपचार खोज्ने निष्कर्ष निकालेको थियो।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङको शपथ आज

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन्।सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने  छन्। गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए।

सत्ता समिकरण विरुद्ध दायाँबाया गर्दैनौं : नेकपा(एस)

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अहिले नै सत्ता सहकार्यबाट दायाँबायाँ हुने कुनै योजना नरहेको र सत्ता सहकार्यविरुद्ध नलाग्ने स्पष्टीकरण दिएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले अहिले विकसित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जानकारी गराउँदै प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडा सो जानकारी दिएका हुन् । उनका अनुसार बैठकमा सांसदहरूलाई आगामी नीति तथा कार्यक्रम र बजेटबारे प्रभावकारी भूमिका खेल्न निर्देशन दिने निर्णय समेत भएको छ ।

देशमा ठूलो सुरक्षा चुनौति छैन : प्रधानसेनापति शर्मा

काठमाडौं । प्रधान सेनापती प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौति नरहेको बताएका छन् ।मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रधान सेनापती शर्माले देशमा ठूलो सुरक्षा चुनौति नरहेको बताएका हुन्। संवेदनशील भूराजनीतिक अवस्था, खुला सीमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरु देखापरेपनि समाधान नै गर्न नसक्ने प्रकारका कुनैपनि चुनौति नरहेको उनले स्पष्ट पारे। उनले कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातिय पहिचानको आधारमा केही घटनाहरु हुने गरेपनि ति समस्याहरुलाई स्थानीय स्तरमै राजनीतिक दलहरुले मिलाउने गरेका बताउ। प्रधान सेनापती शर्माले देशको राजनीति तरल अवस्थामा रहने हुँदा नेपाली सेना यसप्रति सधैँ चनाखो भएर बस्ने गरेको बताए। उनले मंगोल नेशनल अर्गनाइजेस र पहिचानवादीहरु बेलाबेलामा आन्दोलित हुने गरेपनि राष्ट्रिय समस्याको रुपमा नरहेको स्पष्ट पारे। त्यस्तै दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि बेलाबेलामा गतिविधि गरेको भन्दै ति गतिविधिले सुरक्षालाई कुनै असर नपु¥याएको उनको भनाई छ। प्रधान सेनापति शर्माले अफगानिस्तान र पाकिस्तानमा जारी अस्थिर राजनीतिक वातावरणले नेपालको क्षेत्रमा पनि केही न केही असर पारिरहेको बताए। उनले भारत र चीनबिच दक्षिण एशियाली क्षेत्रमा बढिरहेको प्रभाव बिस्तारको प्रतिष्पर्धा र भारतमा बढिरहेको धार्मिक र सांस्कृतिक राष्ट्रवादको भावना आदिले गर्दा क्षेत्रीय शक्ति सन्तुलन र स्थिरतामा प्रभाव पारिरहेको बताए। त्यसको असर अवश्य पनि हाम्रो जस्तो देशलाई पर्दछ । म्यान्मारको आन्तरिक द्वन्द्वका कारण नेपालमा रोहिङ्ग्या शरणार्थी आएर बसेका कारण तिनले सामाजिक, आर्थिक र धार्मिक समस्याहरु निम्त्याउन सक्ने सम्भावना रहेको उनको भनाई छ । प्रधान सेनापति शर्माले राष्ट्रिय सुरक्षाका लागि छिमेकी देशहरु भारत र चीनलाई कहिल्यै पनि चिढ्याउनु नहुने बताउनुभयो । यद्यपी उनीहरुले नचाहिँदो कुरा गरेमा त्यसको बिरोध गर्नुपर्ने उनको भनाई छ। नेपालमा युरोपियन युनियन र अमेरिकाको पनि चासो रहेको भन्दै उनले सबैलाई सन्तुलन मिलाएर लानुपर्ने बताइन्। देशको हितको लागि सबैसँग वार्ता गरेर अगाडी बढ्नुपर्नेमा उनको जोड छ । उनले नेपाललाई सबैको सहयोग चाहिने उल्लेख गर्दै सन्तुलन मिलाएर काम गर्न संवेदनशील भएर लागेको बताए।

सभामुखसहित शीर्ष नेताको बैठक : संसद सञ्चालनबारे जुटेन सहमति

काठमाडौँ । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको छलफल विना निष्कर्ष सकिएको छ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार झण्डै तीन घण्टा भएको छलफलमा नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग दोहोर्‍यायो भने सत्ता पक्षले सहकारीको समग्र समस्या समाधान गर्ने गरी समिति गठन गर्न सकिने धारणा राखेको थियो।  बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले छलफलमा आफूहरूले समिति गठनमा सहमति नजनाएको बताए।यद्यपि उनले छलफल सकारात्मक रहेको भन्दै पुन छलफल गरेर अघि बढ्ने बताए।  

उपेन्द्र यादव सरकारमै रहने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल सरकारमै रहने भएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डसँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारमा रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री प्रचण्डसँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताए। सरकारबाट समर्थन फिर्ता लिने नलिने कुरा गर्ने बेला यो नभएको उनले बताए । उनी आजै बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका थिए।

गण्डकी सरकारविरुद्ध कांग्रेसद्धारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं।गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ। नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका हुन्। गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गरेका हुन् ।  संविधानको धारा १८८ (३)अनुसार सरकार टिकाउनको लागि ३१ सांसदको विश्वासको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए। यसविरुद्ध कांग्रेस अदालत पुगेको हो । 

सभामुखको आह्वानमा शीर्ष नेताको छलफल जारी

काठमाडौँ । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल सुरु भएको हो ।  संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि  सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरूसँग छलफल थालेका हुन् । छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।  सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो ।  कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् । 

एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत

रसुवा । नेकपा एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत चयन भएका छन् ।  सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो । अध्यक्ष चुनिएका ढकाल यसअघि जिल्ला कमिटीमा सचिवकारुपमा कार्यरत थिए ।  अधिवेशनले जिल्ला कमिटीको उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ, सचिवमा पेम्बा लामा, उपसचिवमा सुकबहादुर तामाङ र चमेली गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।  अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले समुद्घाटन गरेका थिए । 

प्रधानमन्त्रीको लोभमा गलत रणनीति लिएको भन्दै माधवको पार्टी भित्रै आलोचना

काठमाडौं । प्रधानमन्त्री हुने लोभमा गलत र कमजोर रणनीति लिएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दलभित्रै आलोचना भएको छ । सोही कारण पनि सत्तारूढ एमाले र माओवादीले सहमति कार्यान्वयन नगरेको भन्दै ‘उथलपुथल हुन सक्ने’ चेतावनीसमेत दिँदै आएका अध्यक्ष नेपालको हिजो बसेको संसदीय दल बैठकमा बोलि फेरिएको छ ।  यो गठबन्धन कति दिन टिकिरहने हो भनेर सार्वजनिक प्रश्न गर्दै ‘उथलपुथल हुन सक्ने’ चेतावनीसमेत दिँदै आएका नेपालले सोमबार संसदीय दलको बैठकमा – ‘वर्तमान सत्ता समीकरणलाई नै निरन्तर दिने हो’भनेर विचार राखेका हुन् । बैठकमा नेकपा एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता नभएको र वर्तमान सत्ता गठबन्धनको विकल्प खोज्ने तिर सो पार्टी नरहेको बताइएको छ ।बैठकले सरकारले ल्याउने नीति, कार्यक्रम र बजेट बारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझावहरू दिने, संसदको आगामी अधिवेशनमा जनसरोकारका विषयहरू सशक्त रूपमा उठाउने र कानून निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय गरेको छ ।