कांग्रेसले रवि लामिछानेलाई संसदमा बोल्न दिने

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने भएको छ । 

शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको हो । 

बैठकमा सहभागी एक नेताका अनुसार पार्टीका शीर्ष नेतालाई बोल्न दिने सम्भावित कार्यसूचि भए अनुसार यस्तो निर्णय भएको हो । 

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोग गर्न रोकेको थियो ।

बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची रहेको छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै, देला त संसद् चल्न ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको छ । बैठक आज बिहान साढे ८ बजेका लागि बोलाइएको छ।  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको बैठकले पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ। कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ। यसअघि बिहीबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो। पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बिहीबारको बैठक स्थगित गरिएको थियो।

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक गरिने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक हुने भएको छ।सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ १ गते दिउँसो ३ बजे संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो। सरकारको नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले पढेर सुनाउने व्यवस्था छ। बैठकले प्रहरी नायव महानिरिक्षक उमेश राज जोशी र भीम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरिक्षक पदमा बढुवा गरि पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

यस्ता छन् मन्त्रिपरिषद्का प्रमुख निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक भर्खरै सम्पन्न भएको छ । आज सिंहदरबारमा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। संवत् २०८१ वैशाख २७ गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः १. प्रहरी नायवमहानिरीक्षकहरु उमेशराज जोशी र  भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने । २. अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने । ३. समाजकल्याण परिषदको रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने । ४. भाषा आयोगको रिक्त सदस्य पदमा  सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने ।

जसपा स्थिरताको कारक बन्छ : अध्यक्ष राई

काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफ्नो पार्टी स्थिरताको कारक बन्ने बताएका छन्।काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले सरकारलाई अस्थिरतातर्फ लैजान नहुने बताए। अध्यक्ष राईले गैरकानूनी ढंगले नवगठित जसपा दर्ता भएको भन्ने लागेमा अदालत जाने बाटो सबैलाई खुला रहेको बताए।सैद्धान्तिक, राजनीतिक, शैलीगत, नीतिगत कुरामा मत भिन्नताले जसपा नेपाल विभाजन भएको उनको धारणा थियो । ‘मुलुक अस्थिरताको सिकार बनेको छ। त्यो अवस्था रहनु हुँदैन, हामी त्यसैकारण अस्थिरताको कारक बन्दैनौं भनेका छौं,’ उनले भने।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमा स्वेच्छाचारिता हाबी भएको आरोप लगाए ।

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । बैठक अपरान्ह ४ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को  अध्यक्षतामा बसेको हो । आजको बैठक नियमित हो।बैठकमा भोलिदेखि संचालन हुने संसद्को बजेट अधिवेशन, नीति तथा कार्यक्रम र नयाँ दललाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुने बताइएको छ ।  

कोसीमा सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

विराटनगर । कोसी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार रिट दायर गरेका छन्। रिट निवेदनमा अन्तरिम आदेशमार्फत् प्रदेश प्रमुखको  आह्वानलाई बदर गर्न माग गरिएको छ। कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् । सो रिटको शुक्रबार पेसी तोकिएको छ ।   

प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका छन् । दलका प्रमुख सचेतकलाई उनले आज बेलुका ५ बजे सिंहदबारस्थित आफ्नो कार्यकक्षमा बोलाएका छन् । संसद्को गतिरोध अन्त्यबारे छलफल गर्न सभामुख घिमिरेले सिंहदरबारमा बोलाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जानकारी दिए । सहकारीको बचत हिनामिना प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित राप्रपाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएका छन्। संसदीय समिति नबनाइए संसद् बैठक सञ्चालनमा अवरोध गर्ने उनीहरूको चेतावनी छ । संसद्को गतिरोध अन्त्यको प्रयासस्वरूप यसअघि सभामुखले प्रमुख दलका शीर्ष नेताहरूसित छलफल गरेका थिए ।

स्व.नेता गुरुङको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बैठकले नेता गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। साथै दिवङ्गत आत्माको चीरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। कांग्रेसले स्व गुरुङप्रति सम्मान प्रकट गर्दै बैठकले शोक कार्यक्रमअन्तर्गत वैशाख २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका हुन् । सरकार गठनको आह्वानविरुद्ध स्वतः कामचलाउ भएका मुख्मन्त्री केदार कार्की सर्वोच्च अदालत जाँदैछन् । प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि २ दिनको समय दिएर आह्वान गरेका थिए।  मुख्यमन्त्रीलाई समर्थन गर्ने ५२ जना सांसदको आजै हस्ताक्षर सनाखत गर्ने तयारी छ । सनाखतपछि कार्कीले नियुक्ति पाउनेछन् ।

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको छ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित भएको हो । संविधानसभा सदस्य समेत रहेका गुरुङको यही वैशाख २५ गते निधन भएको थियो । गुरुङको अन्त्येष्टि संस्कार आज हुने भएपछि कांग्रेसले शुक्रबार बिहान ८ः३० बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी स्थगित भएको नेपाली कांग्रेस संसदीय दल सचिवालयले जानकारी दिएको छ ।

सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै कोशीका मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान गरिएकोविरुद्ध मुख्यमन्त्री केदार कार्की कानूनी प्रक्रियामा जान लागेका छन्‌। सरकार गठन आह्वान असंवैधानिक भएको दाबी गर्दै कार्की सर्वोच्च अदालत जान लागेका हुन्‌। प्रदेश प्रमुख परशुराम खापुङले बुधबार बेलुकी प्रदेशमा सरकार गठन निम्ति दावी पेश गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखले सरकार गठनका लागि गरेको आह्वान असंवैधानिक भएको भन्दै मुख्यमन्त्री कार्की अन्तरिम आदेश माग गर्न काठमाडौं आउँन लागेका हुन् । उनले आजै सर्वोच्चमा अन्तरिम आदेश माग गर्दै मुद्दा दर्ता गर्ने तयारी गरेका हुन्‌ । मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार कार्की अदालत खुलेसँगै सर्वोच्चमा मुद्दा दर्ता गर्ने तयारीमा छन् । यता एमाले-माओवादीको गठबन्धले आजै नयाँ सरकार गठनका निम्ति दाब पेश गर्ने भएका छन्। बिहान ११ बजे प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने तयारी रहेको एमाले संसदीय दलका नेता हिक्मत कार्कीले जानकारी दिएका छन्‌ ।एमालेका ३९ र माओवादी केन्द्रका १३ सहित ५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित नयाँ सरकार गठन निम्ति दाबी पेश गर्ने कार्कीले बताए। एमाले-माओवादी गठबन्धनले एमाले संसदीय दलका नेता समेत रहेको हिक्मत कार्कीलाई प्रदेशको छैटौँ मुख्यमन्त्री बनाउन दाबी पेस गर्न लागेका हुन्‌ । प्रदेश प्रमुख खापुङ आजै सांसदहरू हस्ताक्षर सनाखत गराएर मुख्यमन्त्री नियुक्ति र शपथ गराउने तयारीमा छन् ।खापुङले बुधबार साँझ संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्योः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन् । बिहीबार बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले भने ‘‘निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो। मुख्यतः २०३३०३४ सालतिर नेपालमा जनवादी क्रान्तिको बहसका सन्दर्भमा उहाँले प्रस्तुत गर्नुभएको विचार महत्वपूर्ण छन्। कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता हुनुहुन्थ्यो।’’ प्रधानमन्त्रीले निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएको समेत बताए । उनले भने, ‘‘उहाँ पारदर्शी नेता हुनुहुन्थ्यो, खुला हुनुहुन्थ्यो, आफ्नो निष्ठामा दृढ र गरिखाने वर्गप्रति प्रतिवद्ध हुनुहुन्थ्यो। राम्रो विचार र स्पष्टवक्ता नेता हुनुहुन्थ्यो। समग्रमा उहाँ एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो।’’ कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले समेत सम्बोधन गरेका थिए ।

जसपाले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौं ।अशोक राईको नेतृत्वमा नयाँ गठन भएको जसपाले आज पत्रकार सम्मेलन गर्ने भएको छ । काठमाडौँको विजुलीबजारस्थित अल्फा बिटा भवनमा अपराह्न २ बजे जसपाले पत्रकार सम्मेलन आयोजना गर्ने भएको महासचिव मोहमद इश्तियाक राईले जानकारी दिएका छन् । जसपा केही दिनअघि मात्र जसपा नेपालबाट फुटेर नयाँ दल दर्ता भएको हो ।

गण्डकी सरकारविरुद्धको रिटको पेसी आज

काठमाडौं।गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ। प्रदेश सरकारले पाएको विश्वासको मत पाएको सभामुखको घोषणाविरुद्ध नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गएको मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।   गण्डकीका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाइएको छ। गएको आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गरेका थिए।  संविधानको धारा १८८ (३) अनुसार सरकार टिकाउनको लागि ३१ सांसदको विश्वासको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए। यसविरुद्ध कांग्रेस अदालत पुगेको हो । 

शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे समितिको हलमा बस्ने जनाइएको छ । बैठकमा युवा तथा खेलकुद मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विविध विषयमा छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।