उपनिर्वाचन  इलाम–२ मा मतगणना सुरु

काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत इलाम–२ मा मतगणना सुरु भएको छ ।

सर्वदलीय बैठक बसेर इलाम नगरपालिका–७ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना सुरु गरिएको हो । सो सिटी हलका दुई स्थानमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । फाकफोकथुम गाउँपालिकाबाट गणना सुरु गरिएको हो । 

शनिबार भएको मतदानमा सो क्षेत्रमा ५८ प्रतिशत मत खसेको थियो । उक्त क्षेत्रमा नेकपा (एमाले)बाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बू, स्वतन्त्रबाट डकेन्द्रसिंह लिम्बू थेगिमलगायत उमेदवार छन् ।

 

लगानी सम्मेलनलक्षित अध्यादेशको विरोधमा कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सम्मेलन लक्षित ऐन संशोधनप्रति विरोध जनाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गर्दै अध्यादेशप्रति ‘घोर निन्दा र भर्त्सना’ गरेका हुन्‌ । सरकारले भोलि र पर्सी (वैशाख १६ र १७ गते) गर्न लागेको तेस्रो लगानी सम्मेलनअघि अध्यादेशमार्फत विभिन्न ९ वटा कानून संशोधन गरेको थियो । सरकारको सोही कदमलाई लिएर कांग्रेस सचेतक लेखकले विज्ञप्तिमार्फत विरोध जनाएका हुन्‌ । ‘संघीय संसदको गत अधिवेशनमा कानून निर्माण गर्ने पर्याप्त समय र अवसर हुँदाहुँदै सरकारले सहकारी पिडित लगायत देशमा विद्यमान तमाम समस्याहरु समाधान गर्नुको साटो अप्रत्यासित र असमयमा संघीय संसदको अधिवेशन अन्त्य गर्‍यो,’ लेखकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लेखकद्वारा जारी विज्ञप्ति

बाल अधिकार परिषद्को संरचनागत सुधार्न मन्त्री चौधरीको निर्देशन

ललितपुर। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधारका लागि निर्देशन दिएकी छन्। मन्त्री नियुक्त भएर आएपछि पहिलो बैठकको अध्यक्षता गर्दै परिषद्का अध्यक्ष समेत रहनुभएका मन्त्री चौधरीले त्यस्तो निर्देशन दिएकी हुन्। बाल अधिकारको क्षेत्रमा काम गर्ने सरकारको विशिष्टिकृत निकाय राष्ट्रिय बाल अधिकार परिषद् भएको कारणले यसको शासकीय सुधार, यसले समाजमा प्रभाव पार्ने नीति, योजना र कार्यक्रममा बाल अधिकार केन्द्रित हुने हिसाबले काम गर्न परिषद्लाई मन्त्रीले निर्देशन दिइन्। बैठकले बालगृह, बाल सुधार गृहका विषयमा जति पनि समस्या देखिएका छन्। त्यो समस्याहरूका बारेमा छानबिन गर्ने, संस्थालाई सबलीकरण बनाउने विषयमा बैठकले निर्णय गरेको छ। यस्तै बैठकले परिषद्को पदाधिकारीको जिम्मेवारीमा केही हेरफेर समेत गरेको छ। जसअनुसार समन्वय लगायतका कामको जिम्मेवारी परिषद्का उपाध्यक्ष र प्रशासनिक तथा आर्थिक कामको जिम्मेवारी सदस्य सचिवले गर्ने गरी निर्णय गरेको हो। सदस्य सचिवबारे केही प्रश्नहरू उठेको भन्दै उनले नियमावलीमा जे अधिकार दिइएको छ त्यो भन्दा बाहिर गएर काम गर्दा प्रश्न उठेको बताइन्। राज्यका हरेक निकायमा बसेका व्यक्तिहरूले ऐन, कानूनलाई अक्षरशः पालना गर्नुपर्ने उनको भनाई थियो। मन्त्री चौधरीले सडक बालबालिका मुक्त बनाउने, बाल अधिकारका क्षेत्रमा सरकारको बलियो उपस्थिति रहने गरी योजनाबद्ध रूपमा काम गर्नका लागि अगाडि बढ्न निर्देशन दिँदै सिस्टमेटिक हिसाबले यो संरचनालाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्लाइन्। ‘अब सडकमा बालबालिका देखिनुहुँदैन। अबका दिनमा सडकमा बालबालिका नभेटिने गरी परिषद्ले काम गर्नुपर्छ’, उनले भनिन, ‘यो विषयमा हामी काम गरौँ। यदि सडकमा बालबालिका भेटिइहाल्यो भने हामीसँग बालगृह, बाल संगठनहरू छन्। त्यसकारण हाम्रो कमिटमेन्ट पनि नयाँ परिमार्जनको कुरामा हुनुपर्छ। अब सडकमा बालबालिका भेटिनु हुँदैन।’ देशभरि सन्देश जाने हिसाबले बालबालिकाका लागि के(कस्ता काम गर्ने रु कसरी काम गर्ने रु विषयमा योजना बाहिर ल्याउने निर्णय गरेको छ।त्यस क्रममा मन्त्री चौधरीले बालबालिका सम्बन्धी ऐन, कानून, सेवा सुविधा, अदालतका फैसला लगायतका विषय समेटिएको बडापत्र निर्माण गर्न समेत निर्देशन दिइन्। मन्त्री चौधरीले परिषद् अन्तर्गत रहेको उपसमितिलाई जिम्मा दिएर बडापत्र तयार गरी यस सम्बन्धी निकाय तथा स्थानीय तहसम्म पुग्ने गरी बडापत्र जारी गर्न निर्देशन दिएकी हुन्। बैठकमा मन्त्रालयका सचिव दिनेश भट्टराईले ओएनएमका लागि प्राइमरी डकुमेन्ट बनाएर मन्त्रालयले यसको थप कारबाही गर्नुपर्ने बताए। बालगृह र अस्थायी संरक्षण सेवा केन्द्रका विषयमा जति पनि सवालहरू उठेका छन्। ती उठेका सवालहरूमा मन्त्रालयले आवश्यक नीतिगत निर्णय गर्ने मन्त्रालयका सचिव दिनेश भट्टराईले त्यस क्रममा बताएका थिए।

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा अपराह्न ४ बजे बस्ने बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचनको निर्देशिकाका विषयमा छलफल हुने बताइएको छ । हिजोको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरिएको निर्देशिका प्रस्तुत भएको थियो । निर्देशिकामा करिब एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रस्ताव गरिएको छ ।

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ। रेशमले दायर गरेको सो मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले सो आदेश जारी गरेको हो। टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेको थियो। निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए ।

मैले जति पढेको एमालेमा कोही छैनः भीम रावल

काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले नेकपा एमालेमा आफुले जति पढेको व्यक्ति कोही नभएको दावी गरेका छन् ।  आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा उनले आफुले अन्तराष्ट्रीय सम्बन्ध र कुटनीति पढेर पार्टीलाई योगदान दिएको बताए । रावलले भने, ‘अन्तराष्ट्रिय सम्बन्ध र कूटनीति विषय पढेको मान्छे एमाले पार्टीमै छैन ।’  एमालेमा सबैभन्दा लामो समयसम्म आफूले विदेश विभागमा काम गरेको स्मरण गराउँदै उनले देश र देशको सार्वभौमसत्ताका विषय उठाएकै कारण पार्टीमा निषेध गरिएको बताए । उनले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताए । उनले पार्टीभित्रको निषेधित राजनीतिको कारण आफू नयाँ घुम्तीमा पुगेको बताएका हुन् । उनले आफूले लिने आगामी मोडबारे रिपोर्टर्स क्लबको मञ्चबाटै सार्वजनिक गर्ने पनि प्रतिवद्धता जनाए । आफूलाई एमाले अछाम जिल्ला अधिवेशन हुँदै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा समेत निषेध गरिएको उनको गुनासो छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको १०औं महाधिवेशनमा प्रतिष्पर्धा गरेकै कारण आफूलाई निषेध गरिएको उनको निश्कर्ष छ ।  ‘गोदावरीको अधिवेशनमा मलाई उहाँहरुले जुनप्रकारले व्यवहार गर्नुभएको छ, यसपछि मैले के सोचेको छु भने अब मलाई राजनीतिको जीवनको एउटा मोडमा धकेलिएको जस्तो महशुस भएको छ । एउटा घुम्तीमा पुगेजस्तो मैले महसुस गरेको छु । हामी सबैलाई थाहा छ, हाम्रो सामान्य जीवनमा पनि हिँड्दै जाँदा घुम्तीमा पुग्यौं भने त्यो अर्को मोडमा मान्छे लाग्छ ।’ उनले भने,‘कतै उहाँहरुले मलाई त्यो घुम्तीमा धकेलेर अर्को मोडमा जाओस् भनेर यो काम त गरिरहेको हो कि भन्ने मैले महशुस गरेको छु । म घुम्तीमा पुगेको छु भने मोड कस्तो हुने छ भन्ने कुरा रिपोर्टर्स क्लबको लोकप्रिय मञ्च छँदैछ, फेरि म त्यो कुरामा आउनेछु ।’  उनले आफू महाधिवेशन परिषद् समितिको सदस्य भए पनि  बैठकमा सहभागी हुन पाउने अधिकारबाट निषेध गरिएको बताए । ‘म त्यो महाधिवेशन प्रतिनिधि परिषद्को सदस्य हुँ । म त्यहाँ जाने मनस्थितिमै थिएँ । किनकी पार्टी भनेको त धेरै मानिसको पसिना, त्याग र तपस्याबाट बनेको हुन्छ नि । त्यो कुनै व्यक्तिको कम्पनी या नीजि हुँदैन । नेतृत्व भनेको परिवर्तन हुन्छ । प्रत्येक महाधिवेशन र त्यसको मञ्चहरुमा निश्पक्ष ढंगले निर्वाचन गरेर प्रत्येक व्यक्तिको चुन्ने र चुनिन पाउने अधिकार हुन्छ,’– उनले भने ।  टीका लगाएर पद दिने, आदेशबाट नेतृत्वमा पठाउने र निषेधको राजनीति गर्ने हो भने एमालेले मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’लाई छाड्नुपर्ने उनको माग छ । उनले जबजको १४ वटा विशेषतामध्ये महत्वपूर्ण विशेषता पार्टी चलाउने नेता कार्यकर्ताबाट अनुमोदित हुने र प्रत्येक कमिटीका अधिवेशन र महाधिवेशनहरुमा निश्पक्ष ढंगले प्रतिस्पर्धा गर्न पाउने रहेको उनको भनाइ छ ।  ‘फलानो उठ, फलानो उठ्न पाउँदैनौं । फलानोलाई हराउ, फलानोलाई जिताउ । नेकपा (एमाले) ले यदि त्यस्तो गर्ने हो भने, महाधिवेशनलाई लफडा ठान्ने हो भने, त्यहा चुन्ने र चुनिन पाउने अधिकारलाई निरर्थक ठान्ने हो भने जनताको बहुदलीय जनवादको घोषणालाई सबैभन्दा पहिले खारेज गर्नुपर्छ । त्यसलाई हटाउन पर्छ,’– उनले भने ।  एमालेले अधिवेशन र सम्मेलनमा आफूलाई मन परेका मान्छेलाई विपक्षी दलका भएपनि ल्याएर मञ्चमा राख्ने र आफ्नो पार्टीमा देशको लागि आवाज उठाउँदा, विधिको पक्षमा आवाज उठाउँदा तैले अमुक देशको विरोध गरिस् भनेर भाग लिन पाइँदैन भन्ने गरेको उनको आरोप छ । साथै, उनले पार्टीको पछाडि लेखिएको माक्र्सवाद, लेलिनवाद पनि हटाउन एमाले नेतृत्वलाई सुझाव दिए । पाटीे माक्र्सवाद, लेलिनवादको सिद्धान्तविपरीत चलेको उनको बुझाइ छ ।  गोदावारीमा सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुन आफू इच्छुक रहेको भएपनि एमालेले आफ्नो परिचयपत्र नै नबनाइदिएको उनको गुनासो छ । उनले पार्टी अध्यक्ष ओलीनिकट केही मान्छेले भीम रावल को हो ? भन्ने प्रश्नसमेत गरेको भन्दै आपत्ति जनाए ।  नेकपा (एमाले) को गोदावारीको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक जबज र पार्टीको परम्पराविपरित रहेको उनको उनको आरोप छ । ‘१०औं महाधिवेशनमा अध्यक्षको पदमा उम्मेदवार बनेको कारणले प्रतिशोध साध्ने बाहेक त्यो केही पनि होईन । मेरो लागि त्यो अस्वीकार्य छ । यो विषयलाई मैले एकदमै गम्भीर रुपमा लिएको छु । म नेकपा (एमाले) कार्यकर्ताहरुलाई सोध्न चाहन्छु– महाधिवेशन प्रतिनिधि परिषद्को सदस्यको हैसियतले त्यहाँ भाग लिन नै नदिने, त्यहाँ परिचय पत्र नै नदिने, पार्टीको एक जना मान्छे गएर भीम रावल भनेको को हो ? किन पठाउन पर्ने ? हामीले नपठाएकै हो भन्ने ?’ प्रश्न गर्दै उनले आक्रोश पोखे ।  देशमा लोकतन्त्र, गणतन्त्र र संघीयता ल्याएपनि नेतृत्वका कारण त्यसको औचित्यता पुष्टि हुनै नसकेको उनको भनाइ छ । नेता रावलले देशको जनशक्ति र प्राकृतिक स्रोत राष्ट्रको सर्वोपरी हितमा प्रयोग गरेर देशलाई विगतका सन्धि तथा सम्झौताबाट मुक्त गर्ने, युवाहरुलाई देशमै रोजगारी दिलाउने, कृषि क्षेत्रमा आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास, सुशासन कायम गर्ने, भ्रष्टाचार र विकृतिको अन्त्यका लागि गणतन्त्र ल्याइएको भएपनि व्यवहारमा त्यसो हुन नसकेको टिप्पणी गरे ।  लिम्पियाधुरा, लिपुलेक, कालापानीमा भारतीय अतिक्रमण रहेको भएपनि यस विषयमा नेपालका प्रधानमन्त्री भारत जाँदा र भारतका मन्त्रीहरु नेपाल आउँदा गम्भीर ढंगले कुरै नभएको रावलको आरोप छ ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँं । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।  अंकरास्थित राष्ट्रपति प्रासादमा बिहीबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको इस्लामावादस्थित नेपालको राजदूतावासले जनाएको छ । अधिकारी पाकिस्तानका निम्ति नेपालको आवासीय राजदूत हुन् ।  राष्ट्रपति एर्दोगानले राजदूत अधिकारीलाई टर्कीएको पनि कार्यभार सम्हालेकामा बधाई ज्ञापन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डप्रति शुभकामना व्यक्त गरे । उनले राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डका साथै नेपाली जनताको निरन्तर समृद्धिको कामना पनि गरे । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपति एर्दोगानसँग भएको शिष्टाचार भेटमा राजदूत अधिकारीले राष्ट्रपति  पौडेल र प्रधानमन्त्री प्रचण्डका तर्फबाट टर्कीका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै टर्कीका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए ।  राजदूत अधिकारीले नेपाल र टर्कीबीचको सम्बन्ध आपसी विश्वास र सहयोगमा आधारित रहेको उल्लेख गर्दै दुवै देशले साझा चासोका विषयमा संयुक्त राष्ट्रसंघलगायत अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै आएका बताए । उनले टर्कीसँगको सम्बन्ध विस्तारका निम्ति इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेको उक्त दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।  उनका अनुसार पार्टीको आसन्न  राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संघिय संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसद् सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ ।  संघीय संसद् सचिवालयका अनुसार आगामी बजेट २०८१/८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ ।

कांग्रेस नेता अफताब आलमसहित चार जनालाई जन्मकैद

काठमाडौं ।पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैद हुने भएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसदसमेत रहेका आलमलाई बिहीबार जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला सुनाएको हो। न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमसहित चारजनालाई दोषी ठहर गरेको हो। इजालसले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जन्मकैद हुने फैसला गरेको हो। यस मुद्दामा प्रतिवादी बनाइएका मुक्ति साहले भने सफाइ पाएका छन् । आलममाथि २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको अभियोग लागेको थियो ।

यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय

काठमाडौं । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौं उपत्यका प्राधिकरणको पुरावेदन समितिको अध्यक्ष तोकेको छ ।  बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले न्यायाधीश भट्टलाई समितिको अध्यक्ष तोक्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले मुलुकभरिका सहकारीका समस्याका समाधानका विषयमा प्रक्रिया तत्काल सुरू गर्ने निर्णय पनि गरेको छ ।  यसैगरी, तराईदेखि पहाडसम्म भइरहेको आगलागीको सम्बन्धमा छलफल गरी आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भभएको प्रवक्ता शर्माले जानकारी दिइन् । संवत् २०८१ साल वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. उच्च अदालत पाटनका माननीय न्यायाधीश  सुदर्शनदेव भट्टलाई सो अदालतको कामकाज समेत गर्ने गरी काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३.१ अनुसार पुरावेदन समितिको अध्यक्ष तोक्ने । २. सहकारीहरुको समस्याका बारेमा गम्भीर रुपमा छलफल भयो । यस सम्बन्धमा तत्काल कानुन व्यवस्था गरी सहकारी र तिनका कारण वचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरु गर्ने । ३. हाल देशभरका विभिन्न स्थानमा आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिने ।

ओलीसँग भिडेकैले गोदावरीमा निषेध गरियो, राजनीतिको घुम्ती फेर्छु : भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गरेकै कारण महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई निषेध गरेको आरोप लगाएका छन्। एमाले नेतृत्वले बैठकमा निषेध गरेको विषयलाई आफुले गम्भीर रूपमा लिएको बताउँदै भिम रावले रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलन गरेका छन् ।  उनले भने, ‘म एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को सदस्य हुँ। म त्यहाँ जाने मनस्थितिमै थिए। पार्टी त धेरै मानिसहरूको त्याग र पसिनाबाट बनेको हुन्छ नि। त्यो कुनै कम्पनी वा निजी हुँदैन। नेतृत्व परिवर्तन हुन्छ। महाधिवेशनमा प्रत्येक व्यक्तिको चुन्ने र चुनिने अधिकार हुन्छ। कसैले टिका लगाइने, कुनै जिल्ला अधिवेशन भयो त्यसका लागि यहीबाट आदेश दिने।’ एमालेको गोदावरी बैठकमा जबज र एमालेको परम्परा विपरीत भएको समेत बताए। उनले भने, ‘म बैठकमा जान इच्छुक थिए तर मेरो त परिचयपत्र नै बनेको रहेछ, अनि कोही कोही मान्छेले तर्क गरेको सुनेँ सबैलाई पठाएको छ हेर्नुपर्छ। को हो भीम रावल छुट्टै पठाउनुपर्ने ? त्यो बेनामी यापबाट महाधिवेशन यति गते हुन्छ भन्ने जानकारी दिँदा केपी ओली जी मेरो ठाउँमा भएको भए जानुहुन्थ्यो। एमालेको गोदावरी बैठकमा जबज र एमालेको परम्परा विपरीत कसैलाई निषेध गर्ने, र महाधिवेशनमा उम्मेदवार बनेको कारणले प्रतिशोध साध्नेबाहेक केही पनि होइन। त्यसलाई मैले गम्भीर रूपमा लिएको छु।’ रावलले एमालेका नेताहरूको व्यवहारका कारण आफू राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताए।जस्तोसुकै परिस्थिति आए पनि आफू एमालेमा रहनुपर्छ भन्ने मान्यताका साथ अघि बढे पनि गोदावरी अधिवेशनपछि राजनीतिक जीवनको मोडमा ढकेलिएको महसुस भएको उनले बताए ।

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् ।  गत चैत २७ गते नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता कँडेल मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बनेपछि उनले विश्वासको मत लिन लागेका हुन्।  ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादीका १, राप्रपाको १ र  एकजना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्री कँडेललाई विश्वासको मत लिन २१ सांसदको समर्थन आवश्यक पर्छ । माओवादी केन्द्रले समर्थन गरेपछि कँडेलले विश्वासको मत पाउने लगभग निश्चित भएको छ । 

कतारी अमिरले कतार पुगेर गरे नेपाल र नेपालीको प्रशंसा

काठमाडौं । मध्यपूर्वको इतिहासमै पहिलो ठुलो भ्रमणको रुपमा नेपाल आएका कतारका अमिरले नेपाल र नेपालीको खुलेर प्रशंसा गरेका छन। दुई दिने नेपाल भ्रमण सकेर आज आफ्नो देश कतार पुगेपछि कतारी अमिरले ट्वीट गर्दै नेपाल र नेपालीको प्रशंसा गरेका हुन्।   उनले ट्वीट गर्दै आफ्नो पहिलो नेपाल भ्रमणमा गरिएको आतिथ्यका लागि नेपाल र नेपालीको प्रशंसा गर्दै सम्पूर्ण नेपालीलाई धन्यबाद दिएका छन्। नेपालको प्राचिन इतिहासका केही अंशका बारेमा जान्ने मौका दिएको र न्यानो आतिथ्य गरेको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको पनि खुलेर प्रशंसा गरेका छन्।   नेपाल भ्रमणको क्रममा भएका समझदारी र सम्झौतालाई कार्यान्वयन गरेर नेपाल र कतारबीचको आर्थिक सम्बन्धलाई विकास गर्ने र द्रिपक्षीय सहयोगलाई समेत नयाँ उचाईमा पुर्याउने प्रतिबद्दता समेत जनाएका छन्।   كل الشكر والتقدير لنيبال وقادتها وشعبها على الحفاوة خلال زيارتي الأولى لهذا البلد الصديق، والتي أتاحت لي التعرف على جانب من تاريخه العريق، والتباحث مع الرئيس رام شاندرا بوديل ورئيس الوزراء بوشبا كمال دهال بشأن تطوير علاقاتنا الاقتصادية وتعزيزها بشراكات متنوعة ترتقي بالتعاون… pic.twitter.com/TYbdZqdBme — تميم بن حمد (@TamimBinHamad) April 24, 2024

उद्योग समितिको बैठक बस्दै, के छ कार्यसूची?

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेट तथा कार्यक्रमको हालसम्मको प्रगति र कार्यान्वयनको अवस्थाका साथै मन्त्रालयबाट भए गरेका कामकारबाहीका सम्बन्धमा मन्त्रीसँग जानकारी लिने कार्यसूची रहेको छ ।

कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ : मन्त्री बस्नेत (अन्तर्वार्ता)

कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ। खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमणका क्रममा केही महत्वपूर्ण सहमति एवम् समझदारी पनि भएका छन्। भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको विश्वास गरिएको छ। अमिरको भ्रमणलाई सरकारले पनि असाध्यै महत्व दिएको थियो। कतारका अमिरको भ्रमणको समग्र व्यवस्थापनलगायतका काममा सरकारले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई जिम्मेवारी दिएको थियो। समग्रमा कतारका अमिरको नेपाल भ्रमण र यसका उपलब्धिबारे मन्त्री बस्नेतसँग राष्ट्रिय समाचार समितिका समाचारदाताद्वय रमेश लम्साल र अशोक घिमिरेले गर्नुभएको कुराकानीको सम्पादित अंशः कतारका अमिरको नेपाल भ्रमण सम्पन्न भएको छ। सरकारले तपाईंँलाई सवारी मन्त्रीको जिम्मेवारी दिएको थियो। अमिरको भ्रमणलाई कसरी लिनुभएको छ ? कतारका अमिरको नेपाल भ्रमण सम्पन्न भएको छ। यो भ्रमण आफैँमा महत्वपूर्ण र ऐतिहासिक छ। सबैसँग छलफल गर्ने र सामूहिकतामा विश्वास गर्ने उहाँको स्वभाव रहेछ। बैठकमा खुलस्त छलफल गर्ने अमिरको स्वभावका कारण पनि एक आपसमा भएका छलफल प्रभावकारी भएको मैले महसुस गरेको छु। राष्ट्रपति र प्रधानमन्त्रीसँगका भेटवार्तामा समेत मैले त्यो अनुभव गरेँ। सँगसँगै हिड्ँदाका क्रममा पनि कतारका अमिरले नेपालको समग्र पक्षबारे चासो राख्नुभएको थियो। उहाँको जिज्ञासु स्वभावले पनि धेरै विषयमा अन्तरक्रिया गर्न पाइयो। उहाँले नेपालका विभिन्न पक्षबारे व्यक्त गर्नुभएको चासोदेखि नेपालप्रति उहाँको दृष्टिकोण निकै सकारात्मक भएको मैले पाएको छु। उहाँको दुई दिने भ्रमणमा म उहाँको साथमै रहेँ। उहाँसँगको सामीप्यताबाट कतारका अमिरले नेपाललाई माया पनि गर्नुहुने र कतारमा कार्यरत नेपाली श्रमिकमाथिको उच्च भरोसा र सम्मान रहेको पाएँ। नेपालबारे पनि राम्रो ज्ञान रहनुका साथै नेपालप्रति चासो र सद्भाव पनि उहाँले सो क्रममा व्यक्त गर्नुभएको थियो। कतारले पूर्वाधार विकासमा जुन खालको प्रगति गरेको छ। त्यसमा नेपाली श्रमिकको योगदान महत्वपूर्ण र उल्लेखनीय छ भन्ने गहिरो अनुभूति अमिरमा रहेको मैले पाएँ। नेपालप्रति उहाँको सकारात्मक अनुभति रहेको समेत अनुभव गरेँ। प्रकृतिप्रेमी भएकाले पनि नेपालप्रति उहाँमा विशेष आकर्षण रहेछ। नेपालीले कतारको निर्माण क्षेत्रमा निर्वाह गरिराखेको भूमिका कारण पनि नेपालप्रतिको दृष्टिकोण सकारात्मक रहेको पाएँ। भ्रमणका क्रममा नेपाल सरकार र नेपालीले देखाएको सद्भाव र सत्कारको उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो। यस भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको मैले महसुस गरेको छु। यो आफैँमा महत्वपूर्ण छ। यो कुरा दुवै पक्षबाट छलफलका क्रममा समेत अभिव्यक्त भयो। भौतिक पूर्वाधार निर्माणमा कतारले गरेको प्रगति र अमिरको भ्रमणपछि त्यस क्षेत्रमा के कस्तो सहयोग रहलारु द्विपक्षीय भेटवार्ताका क्रममा के कस्ता छलफल भए ? ऊर्जा (जलविद्युत् र नवीकरणीय), पर्यटन र कृषिलगायत क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्ने विषयमा दुई पक्षबीच महत्वपूर्ण छलफल भएका छन्। कला, संस्कृति, पर्यटन प्रवर्धनलगायत क्षेत्रमा पनि दुई देशबीचमा समझदारी भएका छन्। निजी क्षेत्रबाट पनि दुईवटा महत्वपूर्ण समझदारी भएका छन्। यी उपलब्धिलाई अहिले सुरुआतका रुपमा लिन सकिन्छ। आगामी दिनमा विभिन्न क्षेत्रमा सहकार्य गरी अघि बढ्नेमा पनि समझदारी भएका छन्। दुई मुलुकबीचको सहकार्यलाई व्यवस्थित गर्न बाटो खुलेको हामीले महसुस गरेका छौँ। जसका लागि दुई देशले संयुक्त कार्यदल नै बनाएर सहकार्य र सहयोगका क्षेत्र पहिचान गर्ने सहमति पनि भएको छ। वार्ताका क्रममा दुई देशका उच्च तहको सहभागितामा कार्यसमूह बनाउने समझदारी भएको छ भन्नुभयो। त्यसले के कस्ता विषयलाई सम्बोधन गर्ला ? विषयगत कार्यसमूह बनाएर काम अगाडि बढाउने सहमति भएको छ। द्विपक्षीय रुपमा भएको यस सहमतिले आगामी दिनमा ठोस आकार ग्रहण गर्नेछ। केही दिनपछि हुन लागेको तेस्रो लगानी सम्मेलनमा पनि त्यसको अनुभूति हामीले गर्न पाउनेछौँ। त्यसमा मेरो विश्वास छ। अमिरको यसपटकको भ्रमणको उपलब्धि दीर्घकालमा देखिन्छ भन्ने यहाँको विश्वास हो ? निश्चय नै। अहिले भएका विषय संकेत मात्रै हुन् भनेस बुझ्न सकिन्छ। लगानी सम्मेलनबाट थप प्रष्ट हुन्छ भन्ने मेरो विश्वास छ। दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको अनुभति भएको छ। खाडी मुलुकबाट पहिलो पटक भएको यसप्रकारको उच्चस्तरको भ्रमणले भविष्यमा महत्वपूर्ण अर्थ राख्ने नै छ। लाखौँ नेपाली खाडी मुलुकमा रहेका अवस्थामा पनि यो भ्रमणको विशिष्ट महत्व छ। यसलाई व्यवस्थित गर्ने र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनका लागि भ्रमणले आधार प्रदान गरेको छ। भ्रमणका क्रममा कतारका अमिरले प्रधानमन्त्रीज्यूलाई कतार भ्रमणको निम्ता पनि दिनुभएको छ। प्रधानमन्त्रीले पनि चाँडै उपयुक्त समयमा कतार भ्रमण गर्ने वचन दिनुभएको छ। छोटो समयका लागि भएको यस भ्रमणमा के सम्झौता भयो र के लेखियो भन्ने कुराले मात्रै भ्रमणको महत्वलाई सीमित गर्दैन। भ्रमणको महत्व दूरगामी, व्यापक र महत्वपूर्ण पनि हुन्छ। मलाई विश्वास छ, यस भ्रमणको ठोस उपलब्धि समयक्रमसँगै व्यवहारिक रुपमा पनि देखिने छ। कतारले भौतिक पूर्वाधारका क्षेत्रमा लोभलाग्दो प्रगति गरेको छ, यसअघि कतारले केही जलविद्युत् आयोजनामा लगानी गर्ने विषय उठाएको थियो। राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा पनि यहाँ सहभागी हुनुभयो। ती विषयमा उहाँहरुको धारणा के पाउनुभयो ? ऊर्जा क्षेत्रमा उहाँहरुको निकै चासो भएको पाइयो। उहाँहरु वातावरणप्रति पनि गहिरो चासो र सरोकार रहेको पनि पाइयो। जलविद्युत्को क्षेत्रमा सहकार्य गर्ने उहाँहरुको इच्छा छ। हामीले त्यसलाई सकारात्मक रुपमा लिएका छौँ। हामीले पनि सहकार्यका निम्ति आग्रह ग¥यौँ। ऊर्जा क्षेत्रमा पनि केही सकारात्मक परिणाम आउने विश्वास छ। नेपाल र कतारबीच श्रम सम्झौताको पुनरावलोकन गर्ने विषय अभिव्यक्त हुँदै आएको थियो। यी विषयमा के कुराकानी भयो ? मणका क्रममा छलफल भएका विषयलाई मूर्त र व्यवस्थित रुप दिन कार्यसमूह निर्माण गर्ने समझदारी भएको छ। श्रम सम्झौता पुनरावलोकनको विषयमा सकारात्मक छलफल भएको छ। यसले सकारात्मक वातावरण बनाएको छ। कतारका अमिरले आफूले निकै सकारात्मक प्रभाव लिएर फर्कदै छु भनेर भन्नुभएको छ। भ्रमणबाट दुई देशबीचको सम्बन्ध अर्को चरणमा प्रवेश ग¥यो भन्ने खालका अभिव्यक्ति पटक–पटक दोहोर्‍याउनुभएको थियो। यी सबै विषयलाई व्यवस्थित बनाउन कार्यसमूह बनाएर अघि बढ्ने समझदारी बनेको छ। कतारका अमिरको नेपाल भ्रमणलाई ऐतिहासिक अर्थमा ग्रहण गर्न सकिन्छ। मलाई लाग्छ, खाडी मुलुक नेपालीको प्रमुख श्रम गन्तव्य हो। खाडी क्षेत्रबाट यो स्तरको पहिलो भ्रमण हुनु आफैँमा ऐतिहासिक छ। कतारको अमिरको नेपालमा उपस्थितिले मात्रै होइन, द्विपक्षीय छलफलमा उठेका विषयवस्तुका दृष्टिबाट हेर्दा पनि भ्रमण महत्वपूर्ण भएको छ। त्यसलाई परिणामुखी बनाउन तत्काल जुन ढङ्गले पहलकदमी अघि बढाउने समझदारी भएको छ, त्यो दृष्टिबाट हेर्दा पनि यस भ्रमण निकै महत्वपूर्ण र उपलब्धिमुलक रह्यो भन्न सकिन्छ।