रेशमको रिट आज पनि ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको वैधानिकता विवादमा परेको रिट आज पनि ‘हेर्न नभ्याईने’ सूचीमा परेको छ । 

पार्टीका नेता रेशम चौधरीले सर्वोच्च अदालतमा हालको रिटमाथि आज पनि सुनुवाइ हुन नसकेको हो ।

न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि  ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि रिटमा सुनुवाई हुन सेकन ।

निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्ष बनाउने गरी भएको टीकापुर महाधिवेशन अवैधानिक ठहर गरी नाउपाको नवगठित कार्यसमितिको लगत अद्यावधिक गर्न अस्वीकार गरेपछि रेशम चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

दलको सदस्य बन्नै अयोग्य रहेकाले उनी रहेको महाधिवेशन आयोजक समिति, उक्त आयोजक समितिले गराएको महाधिवेशन र महाधिवेशनबाट निर्वाचित कार्यसमिति अवैधानिक रहेको निर्वाचन आयोगको ठहर छ ।

आयोगको यस निर्णयपछि रञ्जिता श्रेष्ठ अध्यक्षको हैसियतमा पार्टी सञ्चालनका काममा फर्किएकी छन्।

रञ्जिता पार्टीमा सक्रिय हुन थालेपछि रेशमले समानान्तर शक्ति अभ्यास गरिरहँदा विवाद बढेको छ । पतिपत्नी रहेका रेशम र रञ्जिताबीचको द्वन्द्वकै कारण सुदूरपश्चिम प्रदेश सरकार गठनको प्रक्रियासमेत जटिल बन्न पुगेको थियो । अहिले पनि सुदूरपश्चिममा नाउपाका सांसदहरू सत्ता र प्रतिपक्ष गरी दुईतिर छन्।

संघीय व्यवस्थापिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने विषयमा पनि नाउपामा विवाद हुँदा एउटा बैठकमा कुटाकुटसमेत भएको थियो । तर, विश्वासको मत दिँदा सबै सांसदहरूले प्रधानमन्त्री प्रचण्डको समर्थनमा उभिएका थिए ।

रञ्जिताको अध्यक्षतामा नाउपा गठन भई सञ्चालन हुँदा रेशम टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका थिए। 

रेशम राष्ट्रपतिबाट कैद मिनाहा पाएर रिहा भएपछि दलका गतिविधिमा हात हालेका हुन् ।

निर्वाचन आयोगले पुरानै कार्यसमिति ब्युँताइदिएपछि गत चैत २३ गते रेशमले दायर गरेको रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो ।

त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न अखिलको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ । सेवा आयोगले ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेकोमा हाल प्रचलनमा रहेको कार्यविधि विपरित भएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।  शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको आरोप अनेरास्ववियुले लगाएको छ । त्रिविको कार्यकारी परिषदले २१ असोज २०८० मा उक्त कार्यविधि संशोधन गरेर सेवा आयोगमा पठाएको तर सेवा आयोगले संशोधित कार्यविधिलाई बेवास्ता गरेर निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक पदपूर्ति गर्ने बदनियत राखिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष सिद्धान्त भट्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यो सूचनाले विश्वविद्यालय पुनः भर्ती केन्द्र र स्वार्थ केन्द्रको रुपमा स्थापित हुने अनेरास्ववियुले आशंका व्यक्त गरेको छ । यस्तो छ, विज्ञप्ति

सत्ता समीकरण वामपन्थीबीच एकताका गर्न बनाइएको होइन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीबीच तत्काल एकताको सम्भावना नभएको बताएका छन्। आइतबार कैलालीको धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन्।  ‘अहिले वाम एकता भन्नु सही पनि छैन किनभने वाम, गैरवाम सबै छन्। त्यसैले सत्ता समीकरणका रूपमा लिएका छौं। राम्रो काम हुँदै गयो, छलफल राम्रो हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्नेहरू एक ठाउँमा हुने सम्भावना पनि बढ्दै जान्छ’, उनले भने, ‘त्यस्तो भएन भने अप्ठ्यारो स्थिति पनि हुन सक्छ । जे भए पनि अहिले वामपन्थी एकता होइन, राजनीतिक सत्ता समीकरणका रूपमा मात्र यसलाई हेरिएको छ।’ यस्तै, उनले सरकारको नीति तथा कार्यक्रम, बजेट परम्परागत भन्दा फरक तरिकाले ल्याउने प्रयास गरिरहेको बताए । बजेटलाई विगतको भन्दा वैज्ञानिक, वस्तुवादी बनाउने, जनवादी बनाउने किसिमले तयारी भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

एमाले परिषद् बैठकमा नेता भीम रावललाई ‘नो इन्ट्री !’

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा देशभरका प्रतिनिधि जम्मा हुँदा नेता भीम रावल भने सहभागी छैनन् ।  गोदावरीको सनराईज हलमा जारी बैठकमा एमालेका महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरू,केन्द्रीय निकायमा मनोनयन गरेका परिषद् सदस्य तथा केन्द्रीय पदाधिकारी गरी २ हजार ५४५ जना सहभागी हुँदा नेता रावल भने परिचयपत्रको अभावमा घरमै बसेका छन् ।  गत २०७८ मङ्सिरमा भएको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली विरुद्व अध्यक्षमा उम्मेदवारी दिएका रावललाई कार्यक्रमबारे पार्टी कमिटीले कुनै औपचारिक जानकारी समेत दिएन ।  स्रोतका अनुसार पार्टी र नेतृत्वबारे सकारात्मक नबनेको भन्दै रावललाई परिषद बैठकमा सहभागीताका लागि आग्रह नगरिएको हो ।  रावलले गोदावरी बैठकमा प्रबेशका लागि व्यवस्था गरिएको परिचय पत्र (पास) बारे सोधखोज गर्दा आफ्नो परिचयपत्र नै नबनेको थाहा पाएपछि घरमै बसेका छन् । ‘गेटमा गएर अनुनय विनय गर्न मन लागेन’, रावलले भने । परिषद् बैठकको पहिलो दिन हिजो अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गरेका छन् । प्रतिबेदनहरुमाथि आज समूहगत छलफल जारी छ ।

रेशम चौधरीले दायर गरेको मुद्दाको सुनुवाइ आज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दाको सुनुवाइको लागि आज पेशी तोकिएको छ । यस अघि अन्तरिम आदेश छलफलको लागि चैत्र ३० गतेको लागि पेशी तोकिएपनि बहस भएको थिएन। आज पनि बहस हुने वा नहुने भन्ने अनिश्चित छ । यस अघि तीन पटक सम्म चढेको पेशीमा एक पटक मात्रै बहस भएको छ। टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिएको छैन । आयोगको निर्णयमा भनिएको छ, “अयोग्य व्यक्तिलाई योग्य व्यक्ति सरह मानी अधिकार प्रत्यायोजन गरी महाधिवेशन गरे गराएको भनी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को ५१ बमोजिम आयोगसमक्ष विवरणसहित जानकारी गराएको देखिँदा नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जीता श्रेष्ठलगायत सो पार्टीको केन्द्रीय समितिलाई अब उप्रान्त दलको विधान र प्रचलित कानुन प्रतिकूल कार्य नगर्नु नगराउनु भनी सचेत गराउने ।”  निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका हुन् । नाउपामा आन्तरिक विवाद चुलिएपछि रेशम चौधरीले चैत्र २२ र २३ गते काठमाडौँमा आफु पक्षको बैठक आह्वान गरेका थिए । अध्यक्ष रन्जिताले उक्त बैठक आधिकारिक नभएको बताएपनि त्यही बैठकमा रेशम चौधरीले नागरिकता लगायतका प्रमाणहरू संकलन गरेर मुद्दा दायर गरेका थिए ।

रिटर्नी नेपालको अध्यक्षमा सम्वाहाङ्फे, महासचिवमा भट्टराई

काठमाडौं । माओवादी केन्द्रको भातृ संगठन रिटर्नी सेन्टर नेपालको प्रथम महाधिवेशनबाट अध्यक्षमा देवेन्द्र सम्वाहाङ्फे र महासचिवमा घनश्याम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी मेजरकुमार राईलाई १८ मतले पछि पार्दै सम्वाहाङ्फे अध्यक्ष चुनिएका हुन् । पाँचथरका सम्वाहाङ्फेले ४७ र उदयपुरका राईले २९ भोट पाए। चितवनमा आयोजित प्रथम महाधिवेशन माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले गत चैत ८ गते उद्घाटन गरेका थिए।महाधिवेशनबाट ९० सदस्यीय केन्द्रीय समिति निर्वाचित गरिएको थियो।तर पदाधिकारीमा सहमति नजुटेपछि वैशाख ८ गते (शनिबार)काठमाडौंको कोटेश्वर पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान भएको थियो। ७८ जना उपस्थित निर्वाचनबाट अध्यक्षमा सम्वाहाङ्फेसहित १७ सदस्यीय पदाधिकारी चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा डोरबहादुर कार्की तथा ४ जना उपाध्यक्षहरुमा भिम रोकाय (मुस्कान), कृष्णकुमार सिंह (अस्मित), चेतना श्रेंग र नविराज खान चुनिएका छन्। यसैगरी, महासचिवमा घनश्याम भट्टराई तथा दुई जना उपमहासचिवमा विशाल भण्डारी र निमेषकुमार ओली चयन भएका छन् । एकमात्र कोषाध्यक्ष पदमा धनध्वज मल्ल ठकुरी चयन भएका छन् । यसैगरी सातै प्रदेशबाट एक–एक जना गरी ७ सचिवहरुमध्ये चार सचिव चुनिएका छन् । बाँकी ३ सचिवको भने टुंगो लागेको छैन । कोशी प्रदेश सचिवमा राम सन्जेल, मधेश प्रदेश सचिवमा बुद्ध स्याङ्गबो लामा, लुम्बिनी प्रदेश सचिवमा दिनेश भुषाल र कर्णाली प्रदेश सचिवमा जनक परियार चुनिएका छन् । बागमती, गण्डकी र सुदूरपश्चिम सचिवमा भने निर्णय हुन बाँकी छ । अध्यक्ष सम्वाहाङ्फले बागमती, गण्डकी र सुदूरपश्चिम सचिवबारे पछि प्रदेश कमिटीले निर्णय गर्ने बताए । ‘प्रदेश कमिटीले सिफारिस गर्ने र चुनाव गर्ने भन्ने हो तर बागमती, गण्डकी र सुदूरपश्चिममा सचिवका आकांक्षीहरु धेरै भएपछि प्रदेश कमिटीले सिफारिस नै गरेन,’ अध्यक्ष सम्वाहाङ्फेले भने, ‘अब प्रदेशले आवश्यक निर्णय गर्छ ।’ वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई संगठित गर्ने उद्देश्यले माओवादी केन्द्रले रिटर्नी सेन्टर नेपाल संगठन बनाएको हो । यसको पहिलो राष्ट्रिय भेला २०८० साल जेठ २६ गते काठमाडौंमा भएको थियो। आफूहरुले ६० भन्दा बढी जिल्लामा संगठन विस्तार गरेको र १० महिनाको बीचमा पहिलो महाधिवेशन गरिएको अध्यक्ष सम्वाहाङ्फेले बताए।

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सकिदै

काठमाडौं । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज सकिँदैछ । शनिबार ललितपुरको गोदावरीमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ । बैठकमा केन्द्रीय सदस्यसहित दुई हजार ४५४ जना प्रतिनिधि सहभागी भएको एमालेले जनाएको छ ।

सहकारी छानबिन आयोग भरपर्दो छैनः डा. आरजु देउवा

काठमाडौं । काङ्ग्रेस नेतृ तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानबिन आयोग भरपर्दो नरहेको आरोप लगाएकी छन् ।  शनिबार काठमाडौंमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफलमा उनले सहकारीका पीडितलाई न्याय दिलाउन गठित सरकारी छानबिन समिति भरपर्दो नरहेको दावी गरेकी हुन् ।  सभापति राणाले सहकारी संस्थाहरू आफैँसँग पनि गठीमा परेको रकम असुली गर्ने जनशक्ति नभएको र नेपाल प्रहरीले पनि त्यसमाथिको उजुरी सुनुवाइमा समेत चासो नदिएको टिप्पणी गरिन् ।  सहकारी संस्थाहरूले थुप्रै नागरिकको घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको र त्यस्ता खालको गतिविधि हुन नदिने आफूहरूले सम्बन्धित सहकारीलाई निर्देशन दिएको उनले बताइन् । सभापति राणाले २०७४ सालमा सहकारी जथाभावी खोल्न दिने ऐन बनेपछि सहकारी क्षेत्रमा समस्या भित्रिएको भन्दै त्यसको समाधान गर्नुको विकल्प नरहेको बताइन् ।  सभापति राणाले २० वटाभन्दा बढी सहकारी समस्याग्रस्त हुँदा पनि सो समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप पनि लगाईन ।

वर्तमान सत्ता गठबन्धन माघसम्मः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किने दाबी गरेका छन् । शनिवार इलाममा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।  उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गरे । उनले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको बताए ।  चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको बताए । उनले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताए । थापाले चुनाव अघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताए । इलामबाट नेपालमा चुनाव अघिको गठबन्धनको राजनीति चल्दैन भन्ने सन्देश दिन जरुरी रहेको बताए । ‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताका अघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज । अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईंहरुको बीचमा फेरि जवाफ दिन आउनेछु’ उनले भने, ‘चुनावको अगाडि गठबन्धन जनतालाई धोका र बेइमानी हो । चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन हो । त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ ।’  महामन्त्री थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई फोहोर बनाएको पनि टिप्पणी गरे ।

एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् छ प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा विभिन्न प्रतिवेदनहरू पेस भएका छन् ।आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरे। बैठकमा केन्द्रीय लेखा आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोगले पनि प्रतिवेदन प्रस्तुत भएका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा भोलि (आइतबार) सम्म चल्ने सो बैठकमा दुई हजार ७३ महाधिवेशन परिषद् सदस्यसहित दुई हजार ४५४ जना सहभागी छन् ।  आयोगका प्रतिवेदनबाहेक एमालेले पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजनको समीक्षा गर्ने, मिसन ग्रासरुट, मंसिरमा गरेको झुलाघाट चिवाभञ्याङ सङ्कल्प यात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्नेछ ।   

एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सुरु

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक गोदावरीमा सुरु भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेकाे एक नेताले जानकारी दिएका छन् ।  बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गर्ने दृढता व्यक्त गरेका छन् ।  आजको बैठकमा राजनीतिकसँगै, सांगठनिक र आयोगका प्रतिवेदन प्रस्तुत हुनेछ । प्रतिवेदन प्रस्तुत गरेपछि ६ वटा समूहमा विभाजन गरेर र छलफल गरिने महासचिव शंकर पोखरेलले जानकारी दिए ।  बैठकमा केन्द्रीय सदस्यसहित २ हजार ४५४ जना प्रतिनिधि सहभागी भएको एमालेले जनाएको छ । 

म कसैको दाश बन्ने व्यक्ति होइनः माधव नेपाल

रौतहट। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति नभएको बताएका छन् । गृह जिल्ला रौतहटमा रहेका नेपालले आफूहरूलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी समेत दिए । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले आफू देशका ठुला हस्ती राजा वीरेन्द्रदेखि  ज्ञानेन्द्र, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि  प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न चेतावनी दिए । गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदीमा नवनिर्मित मधेस प्रदेशकै सबभन्दा दोस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गर्न अध्यक्ष माधव नेपालले त्यता गएका थिए । त्यस क्रममा उनले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मूल्यमान्यता र महत्त्व रहेकोले हल्का नलिन सुझाव दिए ।

गण्डकीमा चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद्‌मा जिम्मेवारी बाँडफाट गरेका छन्। उनले चैत २५ गते बिनाविभागीय मन्त्री बनाएका माओवादी केन्द्रमा हरिबहादुर चुमान अर्थ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक योजना मन्त्रालयको जिम्मेवारी दिएका हुन्। शनिबार बिहान बसेको गण्डकी मन्त्रिपरिषद्‌को बैठकले यो निर्णय गरेको हो ।  शुक्रबारलाई डाकिएको संसद बैठक कांग्रेसले बहिष्कार गरेपछि मुख्यमन्त्री अधिकारीले यो निर्णय लिएका हुन् । सभामुख कृष्ण धिताललाई समेत जोडेर बहुमत पुर्‍याएका मुख्यमन्त्रीको नियुक्ति नै अवैधानिक भएको भन्दै कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।  हाललाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न भनेको सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीविरुद्धको मुद्दा सुनुवाइ गर्ने यही वैशाख १० गतेलाई पेसी तोकेको छ ।

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौं।नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबार(आज)देखि सुरु हुँदैछ। बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्य, आयोजक र परिषद् सदस्य गरी दुई हजार ४५४ जना सहभागी हुनेछन्।  पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले परिषद् बैठकको औचित्यबारे जानकारी गराए। उनले बैठकबाट पार्टीको समग्र कामको समीक्षा र आगामी कामको दिशानिर्देश लिइने बताए।  आगामी दिनमा पार्टीलाई विकसित एमालेका रूपमा अघि बढाउन स्पष्ट मार्गनिर्देश गर्नका साथै राष्ट्रिय राजनीतिलाई पनि सही दिशामा अघि बढाउन परिषद् बैठक महत्त्वपूर्ण हुने उनको भनाई थियो । बैठकमा ६ वटा प्रतिवेदनमाथि छलफल हुनेछ । परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यो बाहेक केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् । ती सबै दस्ताबेज मोबाइल एपबाट सहभागीहरूले अध्ययन गर्न सक्नेछन् । बैठकमा एमालेले २०८० मा चलाएको मिसन ग्रासरुट र झुलाघाट चिवाभन्ज्याङ संकल्पयात्राको समीक्षा समेत गर्ने बताइएको छ।त्यसैगरी पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजन अनसारको कामको मुल्याङ्कन समेत बैठकमा हुनेछ ।  दुई राष्ट्रिय महाधिवेशनको बिचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने एमालेको विधानमा उल्लेख छ । एमालेको महाधिवेशन २०७८ साल मङ्सिरमा सम्पन्न भएको थियो । पाँच पाँच वर्षमा हुने एमाले महाधिवेशन आउन अव २ वर्षमात्र बाँकी छ ।

नेसपाले बझाङको उपनिर्वाचनमा भोट नहाल्ने

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले बझाङमा हुने प्रदेश सभाको निर्वाचनमा भोट नहाल्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले १५ वैशाखमा हुने उपनिर्वाचनमा बझाङ प्रदेश सभा क्षेत्र नं १ को हकमा ‘राइट टू नो भोट’को नीति अपनाउँदै भोट नहाल्ने निर्णय गरेको हो । नेसपाले यसअघि इलाम–२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा पहिचान पक्षधरलाई समर्थन गर्ने निर्णय गरेको थियो । बैठकले मुद्दा मिल्ने शक्तिहरूसँग राजनीतिक संवाद र सहकार्य गर्नको लागि पार्टी प्रवक्ता कृष्ण शर्मा, सोनामसिं स्याङतान र मानुषी यमी भट्टराई रहेको राजनीतिक संवाद समिति गठन पनि गरेको छ । सचिवालय बैठकले आगामी भदौसम्म पार्टी महाधिवेशन तयारीका लागि संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

काठमाडौं । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन जेल चलान भएका छन् । जिल्ला अदालत रुपन्देहीमा भएको थुनछेक बहसपछि पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर पुनले आज (शुक्रवार) ४ लाख धरौटी रकम जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार चलान गरिएको हो ।