सरकारी भवनमा स्वदेशी काठ प्रयोग गर्न बागमती प्रदेशको प्रस्ताव

हेटौंडा । सरकारी र सामुदायिक भवन निर्माणमा स्वदेशकै काठ प्रयोगका लागि नीतिगत व्यवस्था मिलाउन बागमती प्रदेश सरकारले संघीय सरकारसँग माग गरेको छ ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेलले संघीय सरकारका वन तथा वातावरणमन्त्री नवलकिशोर साहलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वदेशी काठ प्रयोगका लागि नीतिगत व्यवस्था गर्न आग्रह गरेका हुन् ।

ध्यानाकर्षणपत्रमा नयाँ बन्ने सरकारी कार्यलय र सरकारी अनुदानबाट बन्ने सामुदायिक भवनमा युपिभिसी प्रयोगमा रोक लगाउनुपर्ने उल्लेख छ ।

पोखरेलले २० चैतमा पदभार ग्रहण गर्दै पहिलो निर्णय नै युपिभिसी तथा आयातित काठको प्रयोग रोक्न स्वदेशी काठको प्रयोग अनिवार्यताका लागि नीतिगत व्यवस्था गर्ने निणर्य गरेका थिए ।

मलेसियालगायतका देशबाट आयात भएका कमजोर काठ बिक्री भएको तर स्वदेशी काठ बिक्री नभएर कुहिने अवस्थामा रहेको भन्दै मन्त्री पोख्रेलले चिन्ता व्यक्त गरेका छन् ।

वनमन्त्री साहलाई मन्त्री पोख्रेल, प्रदेश वन मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधानले भेटेर १८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षणपत्रमा राष्ट्रिय वन क्षेत्रको एकीकृत रणनीतिक योजना यथाशीघ्र तयार गर्ने, वन ऐन २०७६ को दफा ६२ उपदफा २ अनुसार वन अपराध नियन्त्रण, मुद्दा तहकिकात तथा दायरीको लागि अनुसन्धान अधिकृत सम्बन्धि नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने, सबै प्रदेशमा वन व्यवस्थापनका कार्यक्रमहरुमा एकरुपता ल्याउन दीगो वन व्यवस्थापनका राष्ट्रिय मापदण्ड तयार गरी लागू गर्न भनिएको छ ।

मधेस प्रदेशसभामा जनमत पार्टीको अवरोध

काठमाडौं । मधेस प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । जनमत पार्टीले नाराबाजी गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् ।  मंगलबारको बैठक मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको थियो । सप्तरीको राजविराजमा मधेस कृषि विश्व विद्यालयको शिलान्यासका क्रममा भएको घटनाको जवाफ माग गर्दै जनमत पार्टीले बैठक अवरोध गरेको हो । माघ ८ गते सप्तरीको राजविराजमा मधेस कृषि विश्व विद्यालयको शिलान्यास कार्यक्रममा क्याबिनेट मन्त्रीसहित सांसदमाथि भएको घटना छानबिन हुनुपर्ने माग जनमतले राखेको छ । सो कार्यक्रममा भएको झडपमा महेश यादवलगायत तीन सांसद प्रहरीको बल प्रयोगबाट घाइते भएका थिए ।  

राष्ट्रियसभा अध्यक्षसँग गणतन्त्र कोरियाको संसदीय टोलीको शिष्टाचार भेट

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।  सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा आज (मंगलबार) गणतन्त्र कोरियाको राष्ट्रिय सभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध्यक्ष एवं कोरिया(नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साङ-हेओन ली (Sang-heon Lee) नेतृत्वको भ्रमण टोलीले शिष्टाचार भेट गरेको हो। भेटमा नेपाल(कोरिया कूटनीतिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान र आपसी सहयोगका विषयमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ । सो अवसरमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नेपाल(कोरिया कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भइसकेको चर्चा गर्दै अहिलेसम्मको सौहार्द र मैत्री सम्बन्धलाई अझैं उँचाइमा पु(याउन आगामी दिनमा संसदीय अनुभव आदान प्रदान, आपसी सहयोग र सहकार्य विस्तार गर्दै लैजानु पर्नेमा जोड दिए। नेपालको संघीय संसदले नेपाल(कोरिया संसदीय मैत्री समूह गठन गरेको जानकारी दिदै अध्यक्ष दाहालले दुई देशको संसदीय अभ्यास र अनुभव आदान प्रदान गर्न र असल अभ्यासहरु अनुसरण गर्न दुवै देशका संसदको आपसी सहकार्य र सहयोग हुनुपर्नेमा जोड दिए। संसदीय प्रतिनिधि मण्डलको भ्रमणले दुई देशका संसदको सहकार्यमा थप बल पुगेको भन्दै उनले अझैं जनता(जनताबीचको सम्बन्धलाई सुदृढ गर्नुपर्ने बताए। “संसद जनताको सरोकारसँग जोडिने संस्था भएकोले संसदहरुको सम्बन्ध सुदृढ गर्न जनताबीचको सम्बन्ध सुदृढ गर्न जरुरी छ,” अध्यक्ष दाहालले भने, “तपाईंहरुको नेपाल भ्रमणले हाम्रो सम्बन्ध थप घनिष्ट र सुदृढ भएको मैले महसुस गरेको छु।”  कोइकामार्फत् कोरियन सरकारले नेपालको जलविद्युत, कृषि, अटोमोबाइल्स लगायतका विभिन्न क्षेत्रमा लगानी गरेको चर्चा गर्दै अध्यक्ष दाहालले कृषि उत्पादनलाई वृद्धि गर्न रासायनिक मल उद्योगको स्थापना, प्राविधिक शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्न सकिने क्षेत्रमा लगानी गर्न पनि आग्रह गर्नुभयो। नेपाल बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथादेखि थुप्रै प्राकृतिक, साँस्कृतिक र पर्यटन सम्पदाले धनी भएको उल्लेख गर्दै अध्यक्ष दाहालले दुई देशको सम्बन्ध झन नजिकबाट विस्तार गर्न र पयर्टन प्रवद्र्धनमा टेवा पु(याउन सहकार्य गर्नुपर्नेमा जोड दिए।  त्यसका लागि कोरियाली नागरिकलाई नेपाल पठाउन आग्रह गर्दै उनले नेपाली ध्वजावाहक जहाज काठमाडौं(सिओल सिधा उडानको व्यवस्थाका लागि पहल गर्न पनि आग्रह गरे । नेपालमा तेस्रो लगानी सम्मेलन हुन लागेको भन्दै अध्यक्ष दाहालले गणतन्त्र कोरिया सरकार र निजी क्षेत्रबाट समेत नेपालमा लगानी गर्न पनि उक्त प्रतिनिधि मण्डलमार्फत् आग्रह गरे। नेपाल लामो राजनीतिक संघर्ष र द्वन्द्वबाट गुज्रिदै अहिले शान्ति प्रक्रियाको अन्तिम चरणमा पुगिसकेको भन्दै उनले अब नेपालको उद्धेश्य आर्थिक समृद्धि र विकास रहेको बताए। उनले त्यसका लागि गणतन्त्र कोरिया सरकारको सहयोग नेपालीहरुका लागि निकै महत्वपूर्ण हुने बताए। भेटका क्रममा कोरिया(नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लीले दुई देशको सम्बन्ध थप प्रगाढ बनाउन यो भेटघाटले मद्धत गरेको बताए। उनले नेपालको आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार सदैव तत्पर रहेको चर्चा गर्दै बैदेशिक लगानीलाई प्रोत्साहित गर्न र छिटो छरितो काम गर्ने वातावरण बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिए। उनले नेपालमा आफू यसअघि पनि धेरै पटक आइसकेको चर्चा गर्दै हरेक पटक आउँदा केही न केही नयाँ विकास भएको पाएको उनले बताए।  

सांसदहरू आउँन ढिला गरेपछि अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित

काठमाडौं । निर्धारित समयमा बैठक शुरु नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । मंगलवार बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगिसके पनि सांसदहरुको लापरवाहीले बैठक बस्न सकेन । सांसदहरु तोकिएको समयभन्दा १५ मिनेट पछिसम्म पनि पुग्न नसकेपछि बैठक स्थगित गरिएको हो । बैठक सञ्चालनका लागि १४ जना सांसद हुनुपर्नेमा ८ जना मात्रै भएपछि मन्त्री श्रेष्ठ समितिको बैठकबाट बाहिरिएका हुन्। मन्त्री श्रेष्ठपछि मन्त्रालयका सचिव र कर्मचारी पनि बैठक छोडेर बाहिरिएका थिए । समितिका सभापतिसहितका सांसदहरुले समयको ख्याल नगर्दा बैठक स्थगित भएको हो । समितिको आजको बैठकमा नेपाल सरकार (मन्त्रीस्तर)बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरुको विवरण (उद्देश्य एवं उपलब्धि सहित), इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरुको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरुको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षहरु)का बारेमा छलफल हुने कार्यक्रम रहेको थियो ।

गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा खतिवडा नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा श्रीकान्त खतिवडा नियुक्त भएका छन् । तनहुँका एमालेनिकट खतिवडालाई मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका छन् । उनी गत चैत २७ गतेकै मन्त्रिपरिषद् निर्णयअनुसार नियुक्त भएका थिए । मुख्यमन्त्री खगराजले सदस्यमा माओवादी कोटाबाट फेरि पनि सुवास अधिकारीलाई नै नियुक्त गरेका छन् । सरकार फेरबदल हुँदा अधिकारी चौथोपटक सदस्य पदमा नियुक्त भएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच छलफल भएको छ।आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न खनाल बालुवाटार पुगेका थिए ।उनीहरुबीच आज करिब १ घन्टा भेटघाट भएको हो । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुमा छलफल भएको थियो ।  वर्तमान समीकरण र सुदूरपश्चिमको समस्या समाधानका विषयमा पनि छलफल केन्द्रित रहेको बताइएको छ । आजको छलफलमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठ पनि रहेको र सत्ता सहकार्यमा सुदूरपश्चिम प्रदेशमा देखिएको समस्या समाधान गर्ने विषयम सकारात्मक कुराकानी भएको एकीकृत समाजवादीका नेता खनालले बताए। सुदूरपश्चिम प्रदेशमा देखिएको समस्या धेरै ठूलो नभएको बताउँदै उनले सोही कारण गठबन्धनमा समस्या सिर्जना नहुने बताए ।

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिन लागेका छन्। विश्वासको मत लिने प्रयोजनका लागि मधेश प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुखको कार्यालयले जनाएको छ ।  केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । सरकारबाट बाहिरिएपछि कांग्रेसले गत चैत ९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । मुख्यमन्त्री यादवले १५ महिनाको अवधिमा चौथो पटक विश्वासको मत लिन लागेका हुन् । १०७ सदस्यीय मधेश प्रदेशमा बहुमतका लागि ५४ सदस्यको समर्थन आवश्यक छ ।

संसदका सात समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज एकै दिन ७ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्दै छ । बैठकमा नेपाल सरकार (मन्त्रीस्तर) बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण (उद्देश्य एवं उपलब्धि सहित), इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरूको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षहरू) का बारेमा छलफल हुनेछ । आज बिहान ११ बजे हुने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा भानुभक्त प्राणी उद्यानको मुआब्जा, जडीबुटी अध्ययन तथा अनुसन्धानका नीतिगत तथा कानुनी जटिलता एवं डढेलो तथा हात्ती आतङ्क नियन्त्रण सम्बन्धी समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयका मन्त्री(सचिव एवं सम्बन्धित विभागका विभागीय प्रमुखहरू, अर्थ मन्त्रालयका सचिव र सम्बन्धित सरोकारवालाहरुसंग छलफल गर्ने कार्यसूची रहेको छ ।  त्यस्तै बिहान ११ बजे नै बस्ने अर्थ समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट कार्यान्वयन सम्बन्धी छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसँग छलफल हुनेछ ।  त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी बजेट २०८१/०८२ का सम्बन्धमा पूर्वबजेट छलफल हुनेछ । दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषम छलफल हुनेछ भने बिहान साढे ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित महालेखा परीक्षकको संसदीय सुनुवाइ हुनेछ ।

एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को तयारी तिब्र

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी तीव्र पारेको छ ।महाधिवेशन यही वैशाख ८ र ९ गते लतिपुरको गोदावरी हुने तय गरीएको छ । नेकपाको ७५औँ स्थापना दिवसका अवसरमा विशेष कार्यक्रमसहित महाधिवेशन प्रतिनिधि परिषद् बैठक हुन लागेको हो । सो कार्यक्रमका लागि उपमहासचिव विष्णु रिमालका संयोजकत्वमा गठित व्यवस्था समितिले बैठक र छलफल गरेर व्यवस्थापकीय तयारी गरेको छभने पार्टीको सचिवालयले बैठकले सोका लागि साङ्गठनिक, विधान र राजनीतिक प्रतिवेदनसँग सम्बन्धित काम गरिरहेको छ । समितिको पहिलो बैठकमा पार्टीका महासचिव शङ्कर पोखरेलले तयारीका काम चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ । व्यवस्थापन समितिमा नेताहरु लालबाबु पण्डित, काशिनाथ अधिकारी, डा राजन भट्टराई, राजेन्द्र गौतम, विनोद श्रेष्ठ, माधव ढुङ्गेल, डा भीष्म अधिकारी, गगन विष्ट, विनोद पाण्डे, लोकबहादुर भण्डारी, अश्गर अली, महेन्द्र श्रेष्ठ र राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन् ।

कार्यवाहक अर्थमन्त्रीको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री वर्षमान पुनको अनुपस्थितिमा उनले सम्हाल्दै आएको कार्यभारको जिम्मेवारी श्रेष्ठलाई दिएका हुन्।  अर्थमन्त्री पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका लागि प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

युवा संगठन नेपालको पाँचौं सम्मेलनबाट पारित प्रस्ताव सार्वजनिक

काठमाडौं । युवा संगठन नेपालको पाँचौं राष्ट्रिय सम्मेलनबाट पारित समसामयिक प्रस्ताव सार्वजनिक गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सम्मेलनबाट पारित निर्णय सार्वजनिक गरेको हो । युवा संगठन नेपालको पाँचौं राष्ट्रिय सम्मेलन सुदूरपश्चिमको धनगढीमा सम्पन्न भएको थियो । उक्त सम्मेलनले अध्यक्षमा दिनेश सी, उपाध्यक्षमा विश्लेषण सी, महासचिवमा सुभाष सी, सचिवमा अनिल सी कोषाध्यक्षमा जिवनी सी सहित १३३ सदस्यीय कमिटी गठन गरेको थियो ।  सम्मेलनले नेकपाका नेताहरु विप्लव, प्रकाण्ड लगायतमाथि राज्यले लगायको झुठा मुद्दा खारेजीको माग गरेको छ । साथै, युवा संघ नेपालले एमसीसी सम्झौता राष्ट्रघाती रहेको निश्कर्ष निकालेको छ । एमसीसी कार्यान्वयन र सीमा अतिक्रम विरुद्ध संघर्ष गर्ने प्रस्तावसमेत सम्मेलनले पारित गरेको छ ।  युवा संगठन नेपालले १९५० देखिका असमान सन्धिहरु खारेज गर्न माग गरेको छ । साथै, राष्ट्रिय स्वाधिनताको आन्दोलनमा गोलवद्ध हुन समेत युवा संगठन नेपालले आह्वान गरेको छ ।  युवा संघ नेपालले विभिन्न क्षेत्रका खेलकुदलाई विकास गर्न, अवसर र प्रोत्साहन दिन राष्ट्रिय टिमका खेलाडी प्रदेश र स्थानिय टीमका खेलाडीहरुको स्वास्थ्य उपचारको व्यवस्था गर्न तीनै तहका सरकारसँग माग गरेको छ ।  साथै, युवा संघ नेपालको उक्त सम्मेलनले कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रिकीकरण र किसानलाई समयमै मल र बीउ सर्वसुलभ उपलब्ध गर्न सरकारसँग माग गरेको छ । त्यसैगरी,बेरोजगार युवाहरुका लागि रोजगारीको ग्यारेन्टी गर्न, बन्द कलकारखाना सञ्चालन गर्न पनि युवा संगठनले सरकारको ध्यानाकार्षण गराएको छ ।  सम्मेलनले दलाल पुजीवादी व्यवस्थालाई अन्त्य गरि त्यसको ठाउँमा नेपाली विशेषताको समाजवाद स्थापना गर्नका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा लामवद्ध हुन आह्वान गरेको छ ।  त्यसैगरी, सम्मेलनले भूमीहीन सुकुम्बासी, भूमीहिन दलित, श्रमिकवर्ग र अव्यवस्थित बसोवासी नागरिकहरुको समस्या यथासीघ्र सम्बोधन गर्न समेत सरकारको ध्यानाकार्षण गराएको छ ।  त्यसैगरी, बढ्दो क्रममा रहेको सवारी दुर्घटना, पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती, भ्रष्टाचार, कमिसन, महंगी कालोवजारी लगायतका विषयमा सम्मेलनमार्फत ध्यानाकार्षण गराइएको छ । युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले आफूहरुले यो देश दलालहरुको हातबाट खोसेर श्रमिक वर्ग र स्वाभिमान युवाहरुको हातमा ल्याउनका लागि संघर्ष गरिरहेको बताए । विगत केही समययता नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्था चलिरहेको र यसलाई मिल्काउन आफूहरु लागिरहेको उनले बताए । नेपाली विशेषताको समाजवाद आफूहरुको मूल एजेण्डा रहेको उनले बताए । अहिलेको दलाल पुँजीवादी व्यवस्थाले युवाहरुलाई विदेश लखेटिरहेको उनले बताए । संगठनको पाँच सम्मेलनले यस्ता प्रकारका समस्याका विरुद्ध लड्ने उद्घोष गरेको उनले बताए ।  युवा संगठन नेपालका उपाध्यक्ष विश्लेषण सीले यतिबेला देशमा ठूलो राष्ट्रिय संकट पैदा भएको बताए । विकासको नाममा एमसीसी जस्तो राष्ट्रघाती परियोजना भित्र्याइएको उनको  आरोप छ । उनले अहिले देशमा बाह्य शक्तिहरुको ठूलो हस्तक्षेप सुरु भएको बताए । एमसीसीजस्तो राष्ट्रघाती परियोजनाका विरुद्धमा आफुहरु निरन्तर संघर्षमा नै रहेको उनले बताए । एमसीसी आफूहरुलाई स्वीकार्य नरहेको उनले बताए । उपाध्यक्ष विश्लेषणले आफूहरु सीमा अतिक्रमणको विरुद्धमा पनि आफूहरु निरन्तर संघर्षमा नै रहेको बताए ।  साथै, मिटरव्याज, सहकारी र बैंकको चर्को व्याजले वित्तीय क्षेत्रलाई आक्रान्त बनाएको उनले बताए । साथै, विगतका संघर्षबाट प्राप्त उपलब्धीका विरुद्ध केही शक्तिहरु लागिरहेको भन्दै उनले यसका विरुद्ध आफूहरु कफन बाँधेर लागिरहने बताए । ‘यो सबै परिवर्तनलाई संस्थागत गर्नुको विरुद्ध आज भत्काउन खोजिएको छ । विभिन्न नामबाट, विभिन्न उपमा दिँदै भत्काउन खोजिएको छ, अपराधीकरण गर्न  खोजिँदै छ । यसको विरुद्ध कफन बाँधेर लड्न युवा संगठन तयार छ,’– उनले भने ।

सुदुरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गर्‍यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन्।एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको घटनाक्रमलाई उदृत गर्दै एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट गरेको आरोप लगाएका हुन्। अध्यक्ष ओलीले सुदूरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेको समेत आरोप लगाएका छन् । ओलीले एकीकृत समाजवादीले आन्तरिक रुपमा बार्गेनिङ गरिरहेको बताउँदै आइतबार बाहिर नै प्रकट गरेको टिप्पणी गरे ।  ओली आफ्नो सम्बोधनमा एकीकृत समाजवादीप्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले एकीकृत समाजवादीले कम्युनिष्ट साइन बोर्ड राखेर काम चाँहि समाजवादको पक्षधरलाई कमजोर पार्न लागेको बताए ।

जसपा महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले पार्टीको राष्ट्रिय महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा बसेको केन्दीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनका लागि पार्टीको संगठित सदस्यता लगायत बैशाख ३ गतेभित्र संकलन गरिएका अभिलेख मात्रै मान्य हुने समेत निर्णय गरेको छ । कार्यतालिका अनुसार बैशाख १० गतेभित्र संगठन विभागले आवश्यकता अनुसार संगठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख तयार गर्ने, संगठित सदस्यतामा त्रुटी देखिएमा बैशाख १५ भित्र सच्याउनु पर्ने, १६ गते संगठित सदस्यताको अभिलेख सार्वजनिक गरिनेछ । त्यसैगरी, बैशाख १७ देखि २० सम्म संगठित सदस्यतामाथि उजूरी गर्ने र २१ गतेदेखि २५ भित्र ती उजूरीमाथि छानबिन गरिसक्ने समय तोकिएको छ । संगठित पार्टी सदस्यहरूको अन्तिम नामावलीसहितको विवरण बैशाख २६ गते प्रकाशन गर्ने निर्णय भएको छ । बैशाख ३० गतेदेखि जेष्ठ १० गतेभित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गरिसक्नु पर्ने तालिका सार्वजनिक गरिएको छ । यसैगरी, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्नको लागी प्रतिनिधि निर्वाचन सम्बन्धी निर्देशिका तयार गर्न तीन सदस्यीय  समिति गठन भएको छ । समितिको सदस्यमा शिवलाल थापा र मनिष कुमार सुमन रहेका छन् ।   गत पुसमा जसपाको सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी जेठ २७, २८ र २९ गते जनकपुरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । संगठित पार्टी सदस्यताको विवरण पठाउदा पार्टी सदस्यता प्राप्त गरेको मिति छुट्न गएको वा उल्लेख नभएको खण्डमा त्यस्ता संगठित सदस्यहरुको सदस्यता प्राप्त मितिसहितको विवरण सम्बन्धित प्रदेश समितिलाई निर्देशन दिने र सम्बन्धित प्रदेशले संगठन विभागमा यथाशीघ्र पठाउनु पर्ने जसपाले जनाएको छ ।

एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित

सिमकोट । नेकपा (एमाले) हुम्लाको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । पार्टीको १० औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो भने गए राति नै मतगणना गरिएको थियो । अध्यक्षमा बुमीका निकटतम प्रतिद्वन्द्वी डबल रावत थिए । उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुला उपसचिवमा पनि बुमीको प्यानल नै विजयी भएको छ । निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीका अनुसार प्रकाशबहादुर शाही उपाध्यक्षमा, तीर्थराज बोहरा सचिवमा, प्रदीप लामा खुला उपसचिवमा तथा मञ्जु रावल महिला उपसचिवमा निर्वाचित भएका छन् । अन्य खुला सदस्य, महिला सदस्य र दलित सदस्यको मत गणना भइरहेको शाहीले जानकारी दिए ।

चैत २७ को प्रदर्शनमा घाइते राप्रपा नेताको उपचारका क्रममा मृत्यु

काठमाडौँ । गएको चैत २७ गतेको प्रदर्शनका क्रममा घाइते भएका राप्रपाका एक नेताको उपचारको क्रममा मृत्यु भएको छ ।  राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष रहेका ठाकुर प्रसाद डॅागीको उपचारका क्रममा आज (सोमबार) बिहान ४ बजे निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । प्रदर्शनको क्रममा प्रहरीले हानेको अश्रुग्यास प्रहारबाट घाइते उनको टाउकोमा पनि समस्या देखिएको थियो । उच्च रक्तचाप र अश्रुग्यास प्रहारबाट उनको टाउको र श्वासप्रश्वासमा समस्या देखिएको थियो । डॅागीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मध्याह्न १२ बजेदेखि राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने र त्यसपछि अन्तिम संस्कारका लागि बर्दिया नै लगिने श्रेष्ठले जानकारी दिए । संवैधानिक राजतन्त्रका पुनर्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै राजधानीको भद्रगालीमा चैत २७ गते राप्रपाले प्रदर्शन गरेको थियो ।

विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किए

काठमाडौँ। नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए। सोमबार बिहान उनी माओवादी केन्द्रमा फर्किएका हुन्।