राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य नियुक्त गर्न सिफारिस

काठमाडौँ । सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहेको थियो ।

शाक्य एमाले कोटामा सिफारिस भएकी हुन् । उनी पूर्व राजदूतसमेत हुन् ।

नाउपा सुदूरपश्चिम संसदीय दलका नेता चौधरी ३ महिनाका लागि पार्टीबाट निलम्बित

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी ३ महिनाका लागि निलम्बनमा परेका छन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले यसअघि पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई ३ महिनाका लागि निलम्बन गरेकी हुन् ।  अध्यक्ष श्रेष्ठले शुक्रबार सभामुख भीम भण्डारीलाई चौधरीलाई निलम्बन गरिएको जानकारीसहितको पत्र पठाएको नाउपाका नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले जानकारी दिए। यसअघि अध्यक्ष श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन् ।  त्यस्तै,नाउपा अध्यक्ष श्रेष्ठले आफ्नै पति रेशमलाल चौधरी पक्ष मानिने प्रदेश सरकारका काम चलाउ मन्त्रीहरुलाई पनि कारबाही गर्न लागिएको बताइएको छ । यसअघि उनले समानुपातिक सांसद समेत रहेकी राज्यमन्त्री इन्दिरा गिरीलाई पदमुक्त गरिसकेकी छन् ।

मन्त्रिपरिषद् बैठक एक बजे बस्ने

काठमाडौँ । हिजो बिहीबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने भएको छ ।  यसअघि बिहीबारलाई बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकले सरकारका नियमित काम कारबाहीबारे निर्णय लिने छ ।

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् ।विश्वासको मत लिनका लागि सभामुख तुलाराम घर्ती मगरले आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाएका छन् । माओवादी केन्द्रका नेता महरा चैत २३ गते शुक्रबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका महराले चैत २५ गते सपथ ग्रहण र पदभार ग्रहण गरेका थिए ।  ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ । महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । महराले अहिले एमालेका एक, माओवादी केन्द्रका एक र जनता समाजवादी पार्टीका एक जनालाई मन्त्री बनाएका छन् ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।  आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले ‘निः शुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत् गर्ने सम्भावित कार्यसूची छ ।  कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल र सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउँछौं : प्रधानमन्त्री

विराटनगर (मोरङ)। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउने बताएका हुन् । सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम एवं बजेट उत्पादनमुखी एवं रोजगारी सिर्जना गर्नेगरी ल्याइने प्रधानमन्त्रीको भनाई थियो । सरकारले गरेका सकारात्मक कार्यबाट जनतामा आशा जागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सुशासन र सामाजिक न्यायका सन्दर्भमा सरकारले गरेका सकारात्मक काम जनतासमक्ष पुर्‍याउनुपर्नेमा जोड दिए। आगामी दिनमा माओवादी आन्दोलनका सहभागीहरू एकताबद्ध हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भने, “माओवादी आन्दोलनका सहभागीहरू सबै एकताबद्ध हुनुपर्छ । समाजवादी मोर्चामा सहभागी साथीहरू चाँडै एकताबद्ध हुनुपर्छ भन्नेमा हुनुहुन्छ । बाँकी साथीहरू पनि एकताको विकल्प छैन भन्नेमा पुग्नु भएको छ । हामी सबै एक ठाउँमा हुन्छौँ, हुनेछौँ ।” माओवादी आन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सङ्घीयता, समावेशिता एवं धर्मनिरपेक्षताजस्ता उपलब्धीलाई उल्ट्याउने प्रयास भइरहेकाले त्यसतर्फ सचेत हुन आग्रह गरे। उनले सङ्घीय निजामति ऐन पारित गर्ने चरणमा रहेको र सङ्घीय प्रहरी ऐन बनेको एवं प्रदेश प्रहरी ऐन कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।

प्रतिनिधिसभाको अवरोध अन्त्य चाँडै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

सहकारीसँग सम्बन्धित समग्र विषय र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने प्रधानमन्त्रीको विश्वास

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेशकाठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको छ ।  सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माले निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै मुख्यमन्त्री नियुक्त अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको हो । सरकारको वैधानिकताको विवाद छिटो निरुपण गर्नुपर्ने भएकाले २०८१ बैशाख १० गतेका लागि अर्को पेसी तोकिएको छ ।

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेद्धारा शपथ ग्रहण तथा पद बहाली

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले शपथ ग्रहण र पद बहाली गरेकी छिन् । राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनिर्वाचित राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेलाई राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ  खुवाएका हुन् । शपथ ग्रहण सँगै उपाध्यक्ष घिमिरेले आज सिंहदरबारस्थित कार्यकक्षमा पुगी पद बहाली गरेकी छिन् ।

यस्तो छ राष्ट्रियसभा उपाध्यक्षमा घिमिरेको राजनीतिक यात्रा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा (एमाले)की सांसद विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबारको राष्ट्रियसभा बैठकमा भएको मतविभाजनबाट उनी निर्वाचित भएकी हुन् । उपाध्यक्षमा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत पर्‍यो । विपक्षमा १६ मत खसेको थियो । बैठकमा ५५ सांसद उपस्थित रहेका थिए ।  यस्तो छ राजनीतिक यात्रा  घिमिरेले ०४७ देखि राजनीतिक यात्रा आरम्भ गरेकी हुन् । अखिल नेपाल महिला संघमा आबद्ध हुँदै ०५९ सालमा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य भएकी थिइन् । ०७५ मा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भइ बनेको नेकपाको केन्द्रीय सदस्य थिइन् । ०७८ मा भएको एमालेको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । उनी ०७६ मा लुम्बिनी प्रदेशबाट महिलातर्फ राष्ट्रियसभाको सदस्य निर्वाचित भएकी थिइन् । सभामा दुई वर्ष कार्यकाल बाँकी रहँदा उनी राष्ट्रियसभाको उपाध्यक्ष बनेकी हुन् ।

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिएका छन् । उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । एमाले संसदीय दलका नेता समेत रहेका कँडेल मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।उनलाई सत्ता गठबन्धनको समर्थन छ ।

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित भएकी छिन्  सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी विमला घिमिरे प्रमुख प्रतिपक्षबाट नेपाली कांग्रेसबाट उम्मेवार बनेकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै राष्ट्रियसभा उपाध्यक्ष निर्वाचित भएकी हुन् । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेको पक्षमा ३९ मत पर्यो भने विपक्षमा १६ मत पर्यो । राष्ट्रियसभामा उपस्थित संख्या ५५ थियो । घिमिरे राष्ट्रियसभा सदस्यमा प्रदेश ५ बाट निर्वाचित भएकी हुन् ।

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बहुमत नपुर्याई  नियुक्ति लिएको भन्दै बदर गर्न माग गरेर नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमाथि न्यायाधीश शर्माको इजलासमा सुनुवाइ सुरु भएको हो ।  आइतबार सभामुखको हस्ताक्षरमा अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि मंगलबार पाण्डेले रिट दायर गरेका हुन् । दर्ता भएसँगै सर्वोच्चले बुधबारलाई पेसी तोेकेको थियो । प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश भएमा गण्डकी प्रदेश सरकार आजै ढल्नेछ । अन्तरिम आदेश नभएमा भने फैसला नहुँदासम्म गण्डकीमा एमाले नेतृत्वको सरकार कायम रहनेछ । सभामुखसहितको हस्ताक्षरमा बहुमत देखाएर अधिकारी गत आइतबार मुख्यमन्त्री बनेका थिए ।     रिटमा गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । 

प्रतिपक्षको अवरोधपछि वैशाख २ गतेसम्मका लागि संसद् स्थगित

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सदन अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगन गरिएको छ ।  बुधबार बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले बोल्ने समय सकिएपछि सदन अवरोध भएको थियो । अवरोध भए पछि सभामुख देवराज घिमिरले निर्धारित विषयमा अघि बढाउन खोजेका थिए । उनले सांसदहरूलाई बस्नका लागि आग्रह गरेको भएपनि कांग्रेसका सांसदहरूले नाराबाजी गर्न थालेपछि कार्यसूचीमा रहेका सबै विषय हटाएर सभामुख घिमिरेले वैशाख २ गते ११ बजेसम्मका लागि सदन स्थगन गरिएको जानकारी दिए ।

हिजो स्थगित प्रतिनिधिसभा आज बस्दै , यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले जवाफ दिने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस  गर्ने सम्भावित कार्यसूची छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८०’ पेस गर्ने तथा अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  मंगलबार (हिजो)को प्रतिनिधिसभा बैठक नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको थियो । संसद् बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरूले बैठक अवरुद्ध गरेका थिए ।  त्यसपछि सभामुखले १५ मिनेटपछि बस्ने गरी बैठक स्थगन गरेका थिए । तर, दलहरूबीच सहमति नहुँदा बुधबार (आज) बस्ने गरी बैठक स्थगन गरिएको थियो ।  सहकारीको रकम ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको विषयमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । त्यसमा सहमति हुन नसक्दा संसद् बैठक अवरुद्ध भएको हो ।  गृहमन्त्री रवि लामिछानेले संसदमा आफुले धारणा राख्न पाउनुपर्ने बताउँदै आएका छन् भने कांग्रेसले आफुहरुले प्रधानमन्त्रीलाई सुनिसकेकोले अब कसैलाई नसुन्ने संसदीय छानबिन समिति गठन आफ्नो बटमलाईन भएको बताएको छ । सत्ता पक्षले भने सहकारीको रकम ठगीमा रवि लामिछानेको संलग्नता नरहेकोले संसदीय छानबिन समिति गठन आवश्यक नरहेको बताउदै आएको छ । दलहरुबीच सहमतिको वातावरण नबने आज पनि संसद अवरुद्ध हुने सम्भावना रहेको छ ।

उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागु हुने

काठमाडौं । उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागु हुने भएको छ ।  इलाम र बझाङमा आचारसंहिता लागु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । “निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा (२)ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर देहायमा उल्लेख भएका व्यक्ति, संस्था, निकाय तथा अधिकारीलाई संवत् २०८० साल चैत्र २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचार संहिता, २०७९ को व्यवस्था लागु गर्ने निर्णय भएको छ,” शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभा अन्तर्गत बझाङ–१ को ‘क’ मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।