सुदूरपश्चिमका नाउपा सांसद गिरी पदमुक्त

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का एक प्रदेशसभा सदस्यको पद गएको छ । सभामुख भीम भण्डारीले सोमबार नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् ।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि सभामुखले गिरीलाई पदमुक्त गरेको सूचना निकालेका हुन् ।

sudur

जनतामा आशा जगाउने काम गर्छौं : मन्त्री गिरी

कास्की । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम गर्ने बताएका छन्।  प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरीले भने– “केही वर्षयता सरकार र राजनीतिक पार्टीप्रति जनतामा पैदा भएको निराशालाई मेटेर सरकार र दलहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने छौँ ।” सङ्कटमा आएको सरकार भएकाले जनतामा आशा जगाउने काम गरेरै छाड्ने उनको भनाइ थियो ।  देशको अर्थतन्त्र धराशायी, विकास निर्माणको काम सुस्त, सुशासन प्राप्त गर्न नसक्नु, निर्माणाधीन काम अलपत्र र व्यवसायी सङ्कटमा परेको वर्तमान अवस्थामा यसलाई कसरी सुधार गरेर अगाडि बढ्ने भन्ने बारेमा सरकार चिन्तित रहेको मन्त्री गिरीले बताए। उनले भने, “देशको अर्थतन्त्रलाई चलायमान र जनतामा समृद्धि ल्याउन सरकार सक्रिय भएर लाग्छ ।”  सङ्घीय सरकारद्वारा अधिकांश कानुन बनाउन बाँकी रहेको अवस्थामा संसदीय समितिलाई सक्रिय बनाउँदै छिटोभन्दा छिटो सङ्घीयता र नेपाली जनतालाई अनुकूल हुने ऐन कानुन ल्याउने मन्त्री गिरी बताए । उनले ऐन कानुन निर्माण गर्दा नेपाली जनताका सुझाव पनि सङ्कलन गरिने र उपयुक्त सुझावलाई समेट्ने जानकारी पनि दिए।  वर्तमान समयमा सहकारी संस्थामा देखापरेको बचतकर्ताको पैसा अपचलनका बारेमा संसद्मा नेपाली कांग्रेसका सांसदहरुले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको उल्लेख गर्दै मन्त्री गिरीले सहकारीका दोषीलाई कारबाही गर्न राज्यका निकायलाई छाड्नुपर्ने बताए। “संसदीय छानबिन समिति सहकारीको हिसाब किताब मिलाउन हिँड्ने हैन, त्यो अधिकार राज्यका अन्य निकायलाई छाडौँ”, उनले भने, “सहकारीका दोषीलाई कारबाही गरी सम्पूर्ण बचतकर्ताको रकम जस्ताको तस्तै उनीहरुलाई फिर्ता दिनुपर्छ ।” 

कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बिहान बस्ने भएको छ । संसदीय दलको बैठक बस्नुअघि मंगलबार बिहान कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार बिहान साढे ७ बजे बस्ने काङ्ग्रेसले जनाएको छ। संसदीय दल कार्यसमितिको बैठकले एजेन्डा तय गरेपछि दलको बैठक बिहान ८ बजे  नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने बताइएको छ ।

शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेताहरूलाई छलफलको लागि बोलाएका छन् ।  आजै बिहान साढे १० बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक आह्वान गरिएको थियो । तर, विभिन्न कारणले बैठक दिउँसो २ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी गराएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्ने चेतावनी दिएका विषयमा सभामुखले प्रमुख चार दलका शीर्ष नेताहरूसित छलफल गर्न लागेका हुन् । छलफलका निम्ति सभामुखले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बोलाएका छन् । सहकारीको रकम ठगी प्रकरणमा गृहमन्त्री लामिछाने मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको छ । छानबिन समिति नबनाइए भोलिदेखि संसद् बैठक अवरुद्ध गर्ने कांग्रेसले चेतावनी दिएको छ ।सभामुखले बोलाएको बैठकबारे रास्वपाले हिजो संसदीय दलमा छलफल गरेका थिए ।

कांग्रेसको संसद् अवरोधबारे रास्वपाले दलमा गर्‍यो छलफल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गरिरहेको संसद् अवरोधका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकमा छलफल भएको छ । आइतबार सिंहदरबारमा बसेको दलको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री तथा सो पार्टीका सभापति रवि लामिछानेमाथि प्रश्न उठाउँदै कांग्रेसले संसद् अवरोध गर्दै आएको विषयमा छलफल गरिएको रास्वापका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । प्रमुख सचेतक परियारले प्रमुख प्रतिपक्ष दलले आन्दोलन गरिरहँदा संसद् पेचिलो बन्दै गएका विषयमा बैठकमा छलफल भएको बताए । उनले आफू कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलासँग संवादमा रहेको जानकारी गराए । सभामुख देवराज घिमिरेले सोमबार (भोलि) प्रमुख सचेतक र नेताहरूको बैठकमा बोलाएका छन्। सो बैठकबाट मंगलबारको संसद् निर्बाध सञ्चालन हुने अपेक्षा राखिएको उनले बताए । उनले संसदीय दलको बैठकमा पार्टी सभापति लामिछानेले आफ्ना भनाइ राखेको र रास्वपाका तर्फबाट सरकारमा गएका मन्त्रीहरूले अहिलेसम्मको कार्यप्रगतिबारेमा जानकारी गराएको पनि जानकारी दिए । सरकारले गरेका कामलाई सम्प्रेषण गर्ने, संसद्‌मा प्रभावकारी रूपमा प्रस्तुत हुनेबारेमा पनि छलफल गरिएको उनले जानकारी गराए।  

एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे सर्वसम्मत

स्याङ्जा । नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे सर्वसम्मत निर्वाचित भएका छन् ।नवौं जिल्ला अधिवेशनबाट गैरेको अध्यक्षतामा नयाँ कमिटी बनेको हो।यसअघि पनि उनी अध्यक्ष नै थिए ।  अधिवेशनले उपाध्यक्षमा महेश पुरी, सचिवमा हालै नेकपा(एकिकृत समाजवादी) परित्याग गरी एमाले प्रवेश गरेका रामचन्द्र भट्टराई, उपसचिवहरुमा अमृत श्रेष्ठ र चिरमया गरुङ चयन भएका छन् । नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँचजनाको जिल्ला कमिटी चयन गरेको हो । एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् । नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका थिए । २०७८ साल फागुन २३ को सर्वोच्चको फैसलासँगै माओवादी केन्द्रबाट नेकपा हुँदै एमाले बनेका  गैरे नेकपा एमाले स्याङ्जामा दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बनेका हुन् । यसअघि आठौं अधिवेसनमा गैह्रेले ४४० मत ल्याएर संघीय सांसद नारायण मरासिनीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका थिए ।त्यसबेला गैरेले ४ सय ४० मत ल्याउँदा मरासिनीले २ सय ५७ मत मात्रै पाएका थिए । 

गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिए शपथ, चुमान र मनाङे मन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले सिमलचौरस्थित प्रदेश प्रमुखको निवासमा शपथग्रहण गराए।  नेकपा एमाले संसदीय दलका नेता अधिकारीले आइतबार बिहान मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरी शपथग्रहण गराएका हुन् । अधिकारी दोस्रो पटक मुख्यमन्त्री बनेका हुन् । अधिकारीले शपथग्रहण गरेलगत्तै सानो आकारको मन्त्रीमण्डल समेत गठन गरेका छन् । सुरुवातमा मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाएका छन् । उनीहरुलाई मन्त्रालय भने दिइएको छैन । मुख्यमन्त्री अधिकारीलगत्तै मन्त्री चुमान र मनाङेले पनि शपथ लिएका छन् ।

मेरोभन्दा पनि हाम्रो भन्ने भावनाकासाथ काम गर्छु : मुख्यमन्त्री महरा

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले मेरोभन्दा पनि हाम्रो भन्ने सामूहिक विचारका साथ काम गर्ने बताएका छन्।शपथग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले सो कुरा बताएका हुन् । ‘एकजनासँग सबै काम गर्ने आइडिया नहुनसक्छ, त्यसैले सामूहिकतामा अगाडि बढ्नेछौं, हचुवाको भरमा काम गर्दिनँ । सामूहिक योजना बनाएर काम गर्दा प्रतिफल पाउन सहज हुन्छ’, उनले भने । उनले चाहेजस्तो सानो आकारको मन्त्रिमण्डल बनाउन गार्हो पर्ने बताए । तर उनले जम्बो मन्त्रीमण्डल भने नबनाइने बताए । मन्त्रिपरिषदलाई पूर्णता र विश्वासको मत भने एक महिना अगाडि नै लिने गरी प्रक्रिया अघि बढाउने उनले बताए । नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्नुपर्ने भएकाले पनि क्याविनेटलाई छिटो पूर्णता दिने जानकारी समेत दिए ।

लुम्बिनीमा मुख्यमन्त्री महरासहित तीन मन्त्रीले लिए सपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले सपथ ग्रहण गरेका छन्। नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका महरासहित तीन जना सांसदले विना विभागीय मन्त्रीको रुपमा आइतबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ लिएका हुन्। आज अर्घाखाँची १(१)बाट निर्वाचित सांसद् एमालेका चेतनारायण आचार्य, रोल्पा १(२)बाट निर्वाचित माओवादी केन्द्रका दिपेन्द्रकुमार पुन र बाँके २(१) बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का भण्डारी लाल अहिरले सपथ लिए। जसपाका अहिर यसअघि कृषि मन्त्री र एमालेका आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए।  कांग्रेसका डिल्लीबहादुर चौधरीले बहुमत आउने नदेखिएपछि राजीनामा दिएका थिए। नयाँ सत्ता समिकरणबाट  मुख्यमन्त्री बनेका माओवादी केन्द्रका महरालाई एमाले, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद्ले साथ दिएका छन्। 

एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आइतबार बस्दैछ। ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा मध्याह्न साढे १२ बजे बस्ने बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीका बारेमा छलफल हुने सचिव पद्मा अर्यालले जानकारी दिइन्। एमालेले वैशाख ८ देखि १० गतेसम्म राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आयोजना गर्दैछ।करिब २२ सय जना सहभागी रहने उक्त बैठकको कार्यसूची तय गर्न लागिएको एमालेले बताएको छ। यसका अतिरिक्त एमालेले सचिवालयको बैठक पनि बोलाउने तयारी गरेको छ।इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनका उम्मेदवारको प्रचार, संगठन परिचालनका विषयमा पनि छलफल हुने एमालेले बताएको छ। महासचिवको नेतृत्वमा हुने केन्द्र्रीय कार्यालयमा उपमहासचिव र सचिवहरू हुने व्यवस्था छ।

पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ । बैठकमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा व्यवस्था भएबमोजिमको उपभोक्ता अदालत गठनका सम्बन्धमा पदाधिकारीसँग छलफल हुने कार्यसूचीमा उल्लेख छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ भने महिला तथा सामाजिक मामिला समितिको बैठक मध्याह्न १२ बजे बस्नेछ । महिला समितिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको वर्तमान अवस्था र अनुगमन सम्बन्धमा छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने गर्ने कार्यसूचीमा छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे बस्ने छ ।

आज सपथ लिंदै लुम्बिनीका मुख्यमन्त्री महरा

बुटवल । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराको शपथग्रहण आज हुने भएको छ। प्रदेश प्रमुखको कार्यालयमा दिउँसो पौने दुई बजे शपथग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ। आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने योजना मुख्यमन्त्री महराले बनाउने भएका छन्। केन्द्रीय राजनीतिमा आएको फेरवदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।  बहुमत पुर्‍याउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई समेत सरकारमा सहभागी गराउने तयारी छ। जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउने गरी दलहरुको वीचमा लिखित सहमती भएको खुलेको थियो । जनता समाजवादीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय सहित शहरी विकास तथा पर्यटन मन्त्रालयको नेतृत्व दिने सम्मको सहमति भएको छ।  यसका साथै मुख्यमन्त्री बनाउन समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउन मन्त्रालय दिने योजना पनि छ। लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सहित दश वटा मन्त्रालय छन्। एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्री सहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनितिक दललाई दिने गरी तयारी गरेको बताइएको छ ।

उपनिर्वाचन : आज दिनभर उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौं । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेश–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध उजुरी भए आज दिन सकिने छ ।  उम्मेदवारी  बदर गर्नुपर्ने कारणसहित बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगले आजै अपराह्न ५ बजे उम्मेदवारविरुद्ध परेका उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ । उपनिर्वाचनका लागि इलाम –२ मा १२ राजनीतिक दलका १२ र ८ स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दिएका छन् । उता, बझाङ प्रदेशसभा– मा १२ राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ । आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

बझाङ प्रदेशसभा १ मा माओवादी केन्द्रका बुढाले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । प्रदेश सभाको उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)का जनक बुढाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो ४ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् ।  नारा जुलुससहित माओवादी केन्द्रका नेता, कार्यकर्ता उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । 

विचारको शून्यताले देश अराजकतातिर गइरहेको छ : उपाध्यक्ष सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अहिले सिंगो राज्य रूपान्तरणका निम्ति आन्दोलनको शुद्धीकरण जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । रूपान्तरणको प्रक्रियामा जाँदा विचारलाई अघि बढाउनुपर्ने भन्दै उनले अहिलेको मुख्य कार्यभार वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक पुनर्गठन रहेको उल्लेख गरे । विचारको शून्यताले देश पूरै अराजकतातिर गइरहेको भन्दै उनले सुशासन र लोकतन्त्रको शक्तिशाली सन्देश दिनुपर्ने संघीय सांसदका शब्द चयन र वाक्यप्रति असन्तुष्टि व्यक्त गरे । उपाध्यक्ष सापकोटाले हरेक देशका सांसदहरू नै लोकतन्त्रको आत्मा भएको टिप्पणी गरे । उनले विचारअनुसारकै राजनीतिक दिशा हुने भएकाले जनताको विश्वास जित्दै हिजो ‘असाधारण युद्ध’मा सामेल भएकाहरू एकजुट हुन सके कसैले रोक्न नसक्ने धारणा व्यक्त गरे । उनले एकताबद्ध भएर समाजवादको विचारधारा तयार पार्न आजैदेखि लागिपर्नुपर्नेमा जोड दिए । नेपालको कषि, जलविद्युत् र प्रविधिमा आधुनिकीकरण गरी उद्योगधन्दाको विकास गर्न सके मुलुकले फड्को मार्ने उनले उल्लेख गरे । उनले मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशील अवस्थामा रहेकाले त्यहीअनुसार तयारी गर्नुपर्ने बताए । 

एक्लै बहुमत ल्याउनेगरी कम्मर कस्न कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । सभापति देउवाले मुलुकमा विद्यमान राजनीतिक अस्थिरताबारे संकेत गर्दै कांग्रेस एक्लैलाई आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य भएको बताए।  पार्टीका काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई शनिवार काठमाडौंमा उद्घाटन गर्दै उनले पार्टीका आगामी निर्वाचनमा बहुमत ल्याउने बनाउनका लागि एक भएर समझदारी र समन्वयका साथ काम गर्न पनि पार्टीका नेताहरुलाई सचेत समेत गराएका छन्। घात, अन्तर्घात नगरेर एक भएर कांग्रेसलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनु परेको सभापति देउवाको भनाई थियो । सभापति देउवाले पार्टीलाई मजबुत बनाएर लैजाने काममा ध्यान पनि स्थानीय तहका कार्यकर्ताहरुलाई समझदारीका साथ काम गर्नुपर्ने बताए।