राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

काठमाडौँ । राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन तोकिएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले यही चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका छन् । साथै निर्वाचनको कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिएका छन् ।

गठबन्धन दलको सहमति अनुसार गत चैत १५ गते उपाध्यक्ष  उर्मिला आर्यालले पदबाट राजीनामा गरेकी थिइन् ।  अर्को उपाध्यक्ष कुन दलबाट कसलाई बनाउने भन्नेबारेमा गठबन्धन दलहरुले सहमति भने जुटाइसकेका छैनन् ।

छानबिन समिति नबनाए अब संसद चल्न नदिने काङ्ग्रेसको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही चैत २७ गतेसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभए संसद बैठक चल्न नदिने चेतावनी दिएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा सुरुमै समय लिएर कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आफूहरुले उठाउँदै आएको विषयमा सरकार गम्भीर नभएको आरोप लगाए । उनले भने, ‘सरकारले अर्को बैठकमा आउँदै गर्दा संसदीय छानबिन समिति लिएर आओस् । हामी त्यो कुराभन्दा दायाँबायाँ हुने वाला छैनौं ।’ कांग्रेसले सहकारीको रकम हिनामिनामा गृहमन्त्रीको नामसमेत जोडिएको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गरेको हो । विगतमा प्रधानमन्त्रीको जवाफ माग गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री लामिछाने निर्दोष रहेको बताएको भन्दै उनले त्यस्तो जवाफले शंका उब्जाएको टिप्पणी गरे । उनले पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धान हुँदैछ भनेकोमा नयाँ समीकरण बनेपछि अनुसन्धान नै रोकिएको दावी गरे । उनले सहकारीको वचतकर्ताको अधिकारका लागि समेत संसदले निकास दिनुपर्नेमा जोड दिए ।

गण्डकीका मुख्यमन्त्रीद्धारा राजीनामा

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पाण्डेले आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाएका हुन् । उनले संविधानको धारा १६९ को उपधारा १ बमोजिम मुख्यमन्त्रीले पदबाट राजीनामा दिएका हुन् । गत फागुन २३ मा नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका सुरेन्द्रराज नेतृत्वको सरकार अल्पमतमा परेको थियो। सरकार अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधानअनुसार पाण्डेले चैत २२ भित्र विश्वासको मत लिनुपर्ने थियो । तर मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिइ पदबाट राजीनामा दिएका हुन्।पाण्डे २०८० वैशाख १५ मा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

जिल्ला न्यायधिश घिमिरे इलाम २ को मुख्य निर्वाचन अधिकृत

इलाम । इलामका जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई इलाम क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले इलाम २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय भोलि चैत २२ गते इलाम सदरमुकाममा स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै मतदाताको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका छ । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन दर्ता हुनेछ । इलामको उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको जनाएको छ ।  निर्वाचन कार्यालयका अनुसार इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन गर्ने तय भएको छ । निर्वाचन आयोगले चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने जनाएको छ ।

विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ ।  शर्माले यसअघि मंगलबार विश्वासको मत लिन लागेका थिए । तर केन्द्रको सहमति अनुसार मुख्यमन्त्री एमालेलाई दिनुपर्ने भएपछि गठबन्धनको प्रमुख घटक एमाले र माओवादी केन्द्रका नेताहरुबीच छलफल भएको थियो । विश्वासको मत लिने पत्र प्रदेशसभामा दर्ता भैसकेकाले विश्वासको मत लिएर एमालेलाई सत्ता हस्तान्तरण गर्ने गरी शर्माले आज विश्वासको मत लिन लागेका हुन् । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ सदस्य छन् ।  चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ । योसहित मुख्यमन्त्री शर्माले तीन पटक विश्वासको मत लिनेछन् । लुम्बिनी र सुदूरपश्चिमका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिन लागेका छन् ।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।  बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भवित कार्यसूची छ ।  त्यस्तै कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ । 

संविधानको कार्यान्वयनलाई जोड गरौँ : प्रधानमन्त्री

“अन्ततः समाजवाद जन्मने भनेको सडकबाटै हो, किनकि जनता सडकमा हुन्छन् । पहिलो प्राथमिकता सडकले नै पाउनुपर्छ । समाजवाद जन्माउने जनताले हो ।”

शहरी विकास मन्त्री बुढा र काठमाडौका मेयर बालेन शाहबीच छलफल

काठमाडौ । शहरी विकास मन्त्रि धनबहादुर वुढा  र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहबीच नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल भएको छ । शहरी विकास मन्त्री बुढा र काठमाण्डौका मेयर  शाहबीच मंगलवार सिहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा उपत्यकाको फोहोर व्यवस्थापनका लागि दिर्घकालिन योजनामा काम गर्ने र आपसी सहकार्यवाट अघि वढ्ने विषयमा छलफल भएको हो । तत्कालका लागि स्थानियहरुको सरोकारलाई सम्बोधन हुने गरि बन्चरेडा“डामा फोहर व्यवस्थापन गर्ने र उनीहरुको माग सम्वोधन गर्ने विषयमा शाहसँग मन्त्रीले मिलेर अघि वढ्न प्रस्ताव गरेका थिए । मेयर शाहले फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको भन्दै उनले महानगरले केही वडावाट  शुन्य फोहोर कार्यक्रम शुरु गर्न लागेको र यसमा मन्त्रालयको सहयोग मागेका थिए ।   भेटमा मेयर शाहले बन्चरे डा“डास्थित ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनका लागि बनाएको संरचनामा थप सुधार गरि फोहरको व्यवस्थापन गर्न महानगरकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताए । मन्त्री बुढाले बन्चरेडा“डामा जाने फोहरको परिमाणलाई कम गर्न आफुले मातहतका निकायलाई निर्देशन दिइसकेको भन्दै फोहर व्यवस्थापनको दिर्घकालिन समाधानमा काठमाण्डौ र ललितपुर महानगरपालिकास“ग मन्त्रालयले समन्वय र सहकार्य गर्न चाहेको उल्लेख गरे । मन्त्रालय मातहत निकायबाट काठमाण्डौं महानगरपालिकाभित्र भइरहेका कामलाई प्रभावकारी बनाउन तथा विकास निर्माणलाई गति दिने विषयमा मन्त्री बुढाले मेयर शाहस“ग सुझाव समेत मागे । ‘संघिय सरकार स्थायित्व यहा“लाई थाह नै छ, तर स्थानिय सरकारले आफ्नो पुरा कार्यकाल काम गर्न पाउने भएकाले काठमाण्डौंको विकासमा महानगरपालिकाले गर्न चाहेका विकास निर्माणको काममा हामी हातेमालो गरेर अघि बढ्न तयार छौ ’ उनले भने ‘शुन्दर, सफा र व्यवस्थित राजधानी बनाउने अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्छ ।’ जवाफमा मेयर शाहले काठमाण्डौं उपत्यकामा ट्राफिक जामको व्यवस्थापन र उपत्यकाका खोला किनारमा रहेका अवव्यवस्थित बस्तीहरुलाई हटाउनका लागि आवश्यक समन्वय गरेर अघि बढ्न आग्रह गरे । काठमाण्डौंको ट्राफिक जामलाई कम गर्न नया“ प्रविधि ‘पोड वे’ को सम्भाव्यतावारे समेत मन्त्री बुढाले चासो राखेका थिए । मेयर शाहले विकसित मुलुकहरुमा समेत पोड वे सफल भएको उदाहरण आफुले नदेखेका भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेर अघि बढ्न मन्त्री बुढालाई सुझाव दिए । छलफलमा मेयर बालेनले  काठमाण्डौ उपत्यकाको जाम कम गर्न बानेश्वर, लैनचौर जस्ता बढी जाम हुने क्षेत्रमा पलाईओभर वा अण्डरपास  बनाउन सके राजधानीवासीलाई ठुलो राहत हुने बताए । छलफलमा शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे र स्थानीय पूर्वाधार  विभागका महानिर्देशक भरत अर्याल लगायत छलफलमा सहभागी भएका थिए ।  

माओवादी पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ

काठमाडौं । नेकपा (माओवादी)का तत्कालीन कमान्डर कालीबहादुर खाम पक्राउ परेका छन्।खामलाई मंगलबार काठमाडौंको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जानाएको छ । रामेछापका रामहरि श्रेष्ठको हत्या आरोपमा उनी १५ वर्षदेखि फरार थिए।  रामेछाप घर भई काठमाडौँको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको अभियोग उनीविरुद्ध छ।२०६५ वैशाख १५ गते नियन्त्रणमा लिएर श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्‍याइएको थियो। अत्यधिक कुटपिटबाट मृत्यु भएका श्रेष्ठको शव वैशाख २८ गते नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो। माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो।  सोही कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भएको थियो। घटना छानबिनका लागि भन्दै माओवादीका गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्कीलगायतको टोलीले श्रेष्ठलाई चितवन लगेर हत्या गरेको अभियोग छ। थापा खामकै अंगरक्षक थिए। गोविन्द बटाला जिल्ला र उच्च अदालतबाट दोषी ठहर भए पनि सर्वोच्चको संयुक्त इजलासबाट उनले सफाइ पाएका छन्।

समाजवादको लागि सदन र सडकको उपयोग गर्नैपर्छ : खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसद्‌बाट मात्र समाजवादी क्रान्ति सम्भव नहुने बताएका छन् । मंगलबमार काठमाडौंमा समाजवादी मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले साे कुरा बताएका हुन्। क्रान्तिका निम्ति सबैभन्दा ठूलो माध्यम सडक रहेको उनले उल्लेख गरे । उनले सडकबाट जनताका आवाज बुलन्द गरी एकत्रित बनाएर आन्दोलित हुन जरुरी रहेकामा जोड दिए । उनले सदन र सडकलाई सँगसँगै उपयोग गरे मात्र समाजवादी क्रान्ति सम्भव हुने बताए । जनताको इच्छालाई बुझेर एकताबद्ध गरी आन्दोलित गर्ने काम नगरी नेपाली विशेषताको समाजवाद आउन नसक्ने उनले जिकिर गरे । “....सदन र सडकलाई हामीले उपयोग गर्नैपर्छ । सदनको पनि उपयोग गर्नैपर्छ । तर, सडक प्रमुख कुरा हो । जनता नै हाम्रो पहिलो शक्ति हुन्,” उनले भने, “जनताको इच्छालाई बुझेर हामीले एकताबद्ध गरी आन्दोलित गर्ने कामहरू नगरीकन नेपाली विशेषताको समाजवाद आउँदैन ।”

संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक : उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको बताएका छन् । मङ्गलबार राष्ट्रिय सभा गृहमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताएका हुन्। स्वास्थ्य मन्त्री यादवले अहिलेको संविधान समाजवादउन्मुख लेखिएको भए पनि संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको जिकिर गरे । उनले अहिलेको शासकीय स्वरुपबाट समाजवाद सम्भव नरहेको बताए। उनले अहिलेको तमासाबाट समाजवाद आउनेवाला नरहेको जानकारी दिए । उनले समाजवादका लागि शासकीय प्रणाली, निर्वाचन प्रणाली बदल्न आवश्यक रहेको बताए। उजले संविधान परिवर्तन नगरीकन समाजवादउन्मुख लेखेर मात्रै उन्मुख नहुने उल्लेख गरे । उनले नेपालको सङ्घीयता सङ्घीयता जस्तो मात्रै भएको तर कुरुप रहेको बताए। ‘‘सुशासन ल्याउने प्रयासमा अहिले सरकार त लागेको छ, कहाँसम्म पुगिन्छ । अहिलेको संविधान समाजवादउन्मुख लेखिएको भएपनि अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक छ । पूरै बाधक छ । यसलाई संशोधन गरौँ । अहिलेको शासकीय स्वरुपबाट समाजवाद हुनै सक्दैन । हेरिराख्नुभएको छ, तमासा त भइरहेको छ, हामी गरिरहेका छौँ । यो तमासाबाट समाजवाद हुनेवाला छैन । यो शासकीय स्वरुप बदल्नुपर्छ । यो निर्वाचन प्रणालीले पनि जहाँ करोडौँ, करोड एउटा उम्मेदवारले खर्च गरेर संसदमा पुग्छ ।,’’ स्वास्थ्यमन्त्री यादवले भने, ‘‘यसबाट समाजवादको आशा गर्न सकिँदैन । निर्वाचन प्रणाली बदल्नैपर्छ । शासकीय स्वरुप बदल्नुपर्छ र लोकतन्त्रलाई समावेशी, समानुपातिक लोकतन्त्रलाई रुपान्तरित गर्नुपर्छ । संविधान परिवर्तन नगरीकन उन्मुख लेखेर मात्रै उन्मुख हुँदैन । संविधानमा समाजवादउन्मुख छ, हाम्रो याता पुँजीवादीतिर उन्मुख छ । अहिलेको नेपालको सङ्घीयता भनेको सङ्घीयता जस्तो भएको छ, तर कुरुप नै अपाङ्ग भएको छ । त्यस्तो अवस्थाको सङ्घीयताले सङ्घीयतालाई दुरुस्त बनाउनमा अहिलेको संविधान संशोधन र परिवर्तन नभइ हुँदैन ।’’ अध्यक्ष यादवले सामाजिक न्याय बिना समानतामा आधारित न्याय बन्न नसक्ने जिकिर गरे। उनले पुँजीवादी लोकतन्त्रको विकल्प समाजवादी लोकतन्त्र नै रहेको बताए।

समाजवादी मोर्चाको अन्तर्क्रिया जारी

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तर्क्रिया गरिरहेको छ । समाजवादी मोर्चाले आज राष्ट्रिय सभागृहमा अन्तरक्रिया कार्यक्रम गरेको हो । ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे अन्तरक्रिया कार्यक्रम राखिएको हो । कार्यक्रममा एमालेसहित मोर्चाका नेता तथा कार्यकर्ता र समाजवादी विचारमा आबद्ध सबै दलहरूलाई बोलाइएको छ ।अन्तर्क्रियामा विभिन्न क्षेत्रका विज्ञ तथा सोधकर्ताहरुले धारणा राखिरहेका छन् । यसअघि चैत ३ गते गर्ने भनिएको अन्तरक्रिया सत्ता समीकरण बदलिएपछि स्थगित भएको थियो । मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा रहेका छन् ।कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चार वटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । 

सत्यको खोजी गरेर समाचार प्रकाशन र प्रसारण गर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रश्न उठाइँदैमा आत्तिहाल्नु नपर्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । सञ्चारमाध्यममा पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुछिएको बारेमा सञ्चारकर्मीको प्रश्नका जवाफ दिँदै उनले प्रश्न उठाइँदैमा आत्तिन आवश्यक नरहेको बताए । समाचारका सबै विषय सत्य नहुने उनले जिकिर गरे । सत्यको खोजी गरेर समाचार प्रकाशन र प्रसारण गर्न उनले आग्रह गरे । पत्रिकामा समाचार छापिनेबित्तिकै कोही दोषी प्रमाणित नहुने उनले बताए । प्रमाणित विषय र प्रचारबाजीमा फरक रहेको बताउँदै प्रचारवाजिसँग डराउनुनपर्ने उनको भनाई थियो ।

प्रतिनिधि सभा बैठक जारी (प्रत्यक्ष प्रशारण)

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक जारी छ । बैठक बिहान ११ बजे देखि संसदभवन नयाँ वानेश्वरमा जारी छ । वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ।  बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।  यता उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रको प्रावधानमाथि सदनमा छलफल र अनुमोदनका लागि बैठकमा प्रस्ताव गर्नेछन्।  त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । अहिले जारी बैठकमा शून्य समयमा सांसदहरुले धारणा राख्ने क्रम सकिएर दलिय आधारमा धारणा राखिरहेका छन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न हर्कको प्रदर्शन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंमा एकल प्रदर्शन गरेका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखकोको व्यवस्था माग गर्दै साम्पाङले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका हुन्।  उनले २०८४ अघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गरेका हुन्।  ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर,’ उनले बोकेको पम्पलेटमा लेखिएको छ।  

रवि गृहमन्त्री बनेपछि सहकारी ठगीको छानबिन रोकिएको कांग्रेसको आरोप

काठमाडौँ । प्रतिनिधिसभामा नेपाली कांग्रेसले रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरण राखिएको आरोप लगाएको छ।नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणमा उठेका सवाललाई संसदीय छानबिन समिति गठन गरेर नै निराकरण गर्नुपर्ने माग राखे। मङ्गलबार प्रतिनिधिसभाको बैठक आरम्भ हुनासाथ कांग्रेसका सांसदहरू आफ्नो आसनबाट उठेपछि सभामुख देवराज घिमिरेले यादवलाई बोल्न समय दिएका थिए। सोही समयमा यादवले गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि लागेका आरोपमाथि निष्पक्ष छानबिन गरी आफूलाई निर्दोष प्रमाणित गर्न चुनौती दिए। अन्यथा यो दागले जीवनभर लामिछानेलाई नछाड्ने उनको भनाइ थियो । नेपाली कांग्रेसले विगतदेखि नै तथ्य र प्रमाणसहित यस विषयमा कुरा उठाएको स्मरण गराउँदै उनले संसदीय छानबिन समिति गठन आफूहरूको मुख्य माग रहेको बताए। ‘जब सहकारीको पैसा अपचलनमा रवि लामिछानेको नाम जोडिएर आयो, तत्कालीन गृहमन्त्रीले संसदमा आएर छानबिन गर्ने भन्नुभएको थियो,’ उनले भने, ‘गृहमन्त्री र प्रहरीले नै यसबारेमा अनुसन्धान हुने भनेपछि संसदीय छानबिन समिति त्यतिबेला आवश्यक थिएन ।’  तर अहिले आरोपित व्यक्ति नै गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकिएको उनले आरोप लगाए ।