प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहानबाट सुरु  भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कदै

काठमाडौं । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कदै छन्। उनी ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण हुनेछन् । विमानस्थलमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणबारे जानकारी गराउने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरे। भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल तीव्र आर्थिक विकासको यात्रामा अघि बढिरहेको जानकारी दिँदै त्यसका लागि छिमेकी मुलुक चीनको सहयोग महत्वपूर्ण हुने बताए ।  उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गरेका थिए। सो भेटवार्तामा उनीहरुबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई प्रगाढ बनाउनेबारेमा छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठ माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष एवं विदेश विभाग प्रमुखसमेत हुन् ।  बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गरे । सो क्रममा उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान गरे। सोही दौरान उनले चीनकै दक्षिण पश्चिमी सहर छोनछिन नगरपालिकाको अवलोकन भ्रमण गरे । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी छोनछिन कमिटीका सचिव युयान जाइजुनबीच प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता भएको थियो । उक्त भेटमा उपप्रधामन्त्री श्रेष्ठले नेपाल र चीन आर्थिक समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताए।  यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले चीनको सिजाङ्ग स्वायत्त क्षेत्रका पार्टी सचिव वाङ झुङहेङसँग भेट गरी नेपाल–चीन सीमा क्षेत्रका नागरिकले व्यहोर्नुपरेको समस्या समाधान गर्न आग्रह गरे । उनले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरी आर्थिक कूटनीतिमा ध्यान दिन निर्देशन दिए । उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले तिब्बतमा रहेको कैलाश मानसरोवर क्षेत्रको अवलोकनसमेत गरे । भ्रमणका क्रममा सिचुवान प्रान्तको छेन्दु आइपुगेका उनले सिचुवान जनसरकारका गभर्नर हुवाङ सियाङसँग पनि भेट गरी नेपालमा चिनियाँ लगानीका लागि आग्रह गरे।  नेपाली प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख  एवं सहसचिव कृष्ण ढकाल, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादव, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, परराष्ट्र मन्त्रालयका उपसचिव अरुणा घिसिङलगायत सहभागी थिए । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत १२ गते चीनको भ्रमणमा निस्केका थिए । 

छलफलका लागि समितिमा पठाइयो यी दुई विधेयक

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले दुईवटा विधेयकमाथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको छ । अर्थमन्त्री वर्षमान पुनले पेश गरेको ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले पेश गरेको ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव आजको बैठकबाट सर्वसम्मतिले पारित गर्दै सम्बन्धित समितिमा पठाउने सहमति भएको हो । आजको बैठकमा अर्थमन्त्री पुनले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ समेत प्रस्तुत गरेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवम् नियमन गर्न आवश्यक रहेकाले यो विधेयक ल्याइएको अर्थमन्त्री पुनको भनाइ छ । त्यस्तै, प्रविधिमा आएको परिवर्तनलाई प्रयोग गर्न र विद्यमान कानुनमा उल्लेखित तीनवटै तहका सरकारको वित्तीय अधिकार क्षेत्र व्यवस्थित गर्ने उद्देश्यले यो विधेयक ल्याइएको बताए। नेपालको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको विश्वसनियता अभिवृद्धि गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाई स्थायित्व कायम गर्न र बैंक तथा वित्तीय संस्थाहरुको संस्थापना, सञ्चालन, व्यवस्थापन, नियमनलगायत कार्यलाई व्यवस्थित गर्नका लागि पनि विद्यमान ऐन संशोधन गर्न लागिएको उनको भनाइ छ । विधेयकमा डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैंकिङलाई कानुनी मान्यता दिने, बैंक सञ्चालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता खोज्ने, आफै शेयरधनी रहेका बैंकबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहन गर्नेलगायतका महत्वपूर्ण व्यवस्थाहरु समेटेको छ । प्रतिनिधिसभाको अर्को बैठक भोलि सोमबार बिहान ११ बजे बस्नेछ ।

मुख्यमन्त्री जम्कट्टेल सोमबार विश्वासको मत लिने

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार बागमती प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले सोमबार दिउँसो १ः०० बजे प्रदेश सभाको बैठक बस्नेगरी सभामुखले समय तोक्नुभएको जानकारी दिए। यसअघि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सोमबार लिने प्रयोजनका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले गत शुक्रबार पत्र बागमती प्रदेश सभा सचिवालयमा दर्ता गराएको थियो।  यसैबिच प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज आइतबार दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार बस्ने प्रदेश सभाको बैठकसहित विश्वासको मत लिने कार्य सूची तय गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै नेपाली काँग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेपछि विश्वासको मत लिने तयारी गरिएको छ।  गत फागुन २३ गते काँग्रेसका छ जना मन्त्रीले सरकारबाट सामुहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।संविधानको धारा १८८ को उपधारा (२)मा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्रमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कांग्रेस बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिइसकेको छ। प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार काठमाडौंमा बसेर कार्यसम्पादन समिति बैठकले पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो।

गृहमन्त्रीले तस्करको फोटो सार्वजनिक नगर्न भन्नुभएको छ, तर म गर्छु : दुर्गा प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूलाई गृहमन्त्री रवि लामिछानेले तस्करको फोटो सार्वजनिक नगर्न आग्रह गरेको तर आफुले सार्वजनिक गरेरै छोड्ने दाबी गरेका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युटुबरहरु जम्मा गरेर प्रसाईंले भने, ‘मलाई फोटो सार्वजनिक नगर्न भनेर गृहमन्त्रीले भन्नुभएको छ, खबर पठाउनुभएको छ । फोटो सार्वजनिक गर्छु जहाँपनि तस्करहरुको’, उनले भने, ‘यो चुनौती हो । तस्करको फोटो सार्वजनिक गर्छु ।’ तर, गृहमन्त्री रवि लामिछानेले रोक्ने प्रयास गरेर जनतालाई नै सोधेर गर्ने पनि बताए । उनले आफूले प्रमाणसहित तस्करको फोटो सार्वजनिक गर्ने र कारबाही गरेर देखाउन पनि गृहमन्त्रीलाई चुनौती दिए । गृहमन्त्रीले तस्करलाई कारबाही गरेमा आफ्नो पूर्ण साथ हुने पनि बताए । 

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रशारण)

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक जारी छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग पुनः दोह्याएको छ ।  बैठकको सुरुमा कांग्रेस सांसद सञ्जयकुमार गौतमले सहकारी ठगी प्रकरणमा उपप्रधानन्त्री तथा गृहमन्त्रीको नाम मुछिएकोबारे संसदीय छानबिन समितिको माग गरे। त्यसैगरी, नेकपा एमालेकी सांसद विद्या भट्टराईले नजिता पर्खिरहेका विद्यार्थीलाई पुनः परीक्षा दिनुपर्ने अवस्था आउनु गम्भीर भएको बताउँदै उत्तर पुस्तिका हराउने त्रिभुवन विश्वविद्यालका जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही गर्न माग गरेकी छन् । वार्षिक प्रणाली अन्तर्गतका चार वर्षे पढाइ हुने विषयको चार वर्षभित्रै नजिता प्रकाशित गर्ने नियम त्रिविले बनाए पनि कार्यान्वयन गर्न नसकेको सांसद भट्टराईले धारणा राखिन् । यसरी नै विविध विषयमा सांसदहरुले आफ्नो धारणा राखिरहेका छन् ।

अर्थमन्त्रीको सल्लाहकारमा प्रा.डा.सूर्यबहादुर थापा नियुक्त

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा.सूर्यबहादुर थापा नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।उनी त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका अर्थशास्त्रका प्राध्यापक हुन् । आगामी आर्थिक वर्षको बजेट निर्माणको संघारमा रहेका अर्थमन्त्री पुनले नयाँ टिम बनाएका छन्। यसअघि अर्थमन्त्रालयका महत्वपूर्ण दुई विभाग भन्सार विभागमा ढुन्डीराज निरौला र आन्तरिक राजस्व विभागमा शिवलाल तिवारीलाई जिम्मेवारी दिएका छन्। बजेट मशाशाखा, राजस्व महाशाखा लगायतका शाखाहरूको जिम्मेवारी पनि हेरफेर गरेका छन्।

माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालको अध्यक्षमा उर्मिला माझी निर्वाचित

काठमाडौं । माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालको दोश्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । मकवानपुरको वागमती गाउँपालिकामा शनिवार सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा उर्मिला माझी निर्वाचित भएकी छिन् ।  प्रतिनधिसभा सदस्य समेत रहेकी उर्मिला माझी यस अघि मोर्चाकी महासचिव थिइन्। मोर्चाको दोश्रो राष्ट्रिय सम्मेलनबाट माझी सर्वसम्मतले अध्यक्ष चयन भएकी हुन् । सम्मेलनबाट उर्मिला माझीको नेतृत्वमा ५५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । मोर्चाको महासचिवमा लक्ष्मी माझी चयन भएकी छिन् । उनी यस अघि मोर्चाको केन्द्रीय सचिवालय सदस्य र वागमती गाउँपालिका कार्यपालिका सदस्य रहेकी थिइन् । त्यसैगरी मोर्चाको उपाध्यक्षमा शोभाकुमारी माझी, गोपीलाल माझी र दिपक माझी चयन भएका छन्। नेपाल सरकारका उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न राष्ट्रिय सम्मेलनमा पुर्व सभामुख तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती विशेष अतिथिको रूपमा उपस्थिति रहेको थियो भने स्थायी समिति सदस्इ सत्य पहाडि, राष्ट्रिय सभा सदस्य तथा माओवादी नेता शुरेश आलेमगर, बागमती प्रदेश सभा सदस्य प्रेम पुलामी, पुर्व सांसद वुद्विमान माझी,  गाउँपालिका अध्यक्ष सर्केश घलान लगायतको विशेष उपस्थिति रहेको थियो ।  उद्घाटन सत्र र बन्द सत्र गरी दुई भागमा सम्पन्न सम्मेलनले माझी पहिचानसहितकोे स्वायत्त क्षेत्र घोष्णा गर्न पहल गर्ने तथा माझी जातीको प्रमूख चाड लदी पर्वलाई राष्ट्रिय पर्वको रुपमा सूचिकृत गर्नको लागि पहल गर्ने निर्णय भएको अध्यक्ष माझीले बताइन् । उनले माझी समुदयको हक हित र अधिकार मात्रै होइन सबै उत्पीडित जाती क्षेत्र र समुदायको पक्षमा मोर्चालाई शशक्त ढंगले अगाडि बढाइने बताइन् । उनले अन्य दलमा रहनुभएका माझी समुदायर्र्ला पनि पहिचान र अधिकारको एजेण्डाको जननी माओवादी केन्द्र र माझी राष्ट्रिय मुक्तिमोर्चामा समाहित गर्ने अभियानमा आफू लाग्ने बताइन् ।

संवैधानिक परिषद्को बैठक बालुवाटारमा जारी

काठमाडौं । संवैधानिक परिषदको बैठक जारी छ । बैठक परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बालुवाटारमा बसिरहेको हो ।  आजको बैठकमा रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने विषयमा छलफल हुने बताइएको थियो । प्रधानमन्त्री प्रचण्डले यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पटक पटक छलफल गरेका थिए। संवैधानिक परिषद्‌को बैठकमा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सहभागी छन् ।

माओवादी नभएको ठाउँ छैन : विप्लव

काठमाडौं । नेकपामा महासचिव नेत्रविक्रम चन्द्र विप्लवले माओवादी नभएको ठाउँ नभएको दाबी गरेका छन् ।२४ औं जेलब्रेक स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले माओवादीहरु जुर्मुराए व्यवस्थाविरोधीहरु टिक्न नसक्ने बताए। उनले भने, ‘हामी थाकेका छैनौं । देशलाई समाजवादतिर लैजाने अभियानको नेतृत्व गर्छौं । हामीले सामन्तवादलाई तोडेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौं । यो हामीले गरेका हौं  एमाले र कांग्रेसको पनि भूमिका छ । तर, हामीले गरेका हौं । हामीले यो गणतन्त्रलाई यहाँसम्म ल्याएका हौं । प्रधानमन्त्री पनि अहिले लडाइँमा हुनुहुन्छ । माओवादीहरु विभिन्न मोर्चामा लडिरहेका छन् । हामी सरकार, सडक र जेलमा पनि छौं । माओवादी नभएको ठाउँ छैन । एमाले र कांग्रेसभित्र पनि माओवादी छ । सेना, कर्मचारीदेखि विदेशसम्ममा माओवादीहरु छन् । ती सबै जुर्मुराए संघीय लोकतान्त्रिक गणतन्त्रलाई खोस्न खोज्नेहरुको हालत के हुन्छ ?’ उनले विभिन्न शक्तिहरुले संघीय गणतन्त्रलाई कब्जा गर्न षड्यन्त्र गरिरहेको बताउँदै हरेक ठाउँमा भएको माओवादी भित्र रहेको वर्गिय भावना जुर्मुराए ती षडयन्त्र सकिन बेर नलाग्ने बताए ।

आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने छन् : प्रधानमन्त्री प्रचण्ड

ब्रसेल्स। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन्। शनिवार साँझ माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारीको कार्य भई रहेको छ । “ प्रधानमन्त्रीले भने । उनले गैर आवासीय नेपाली सङ्घमा देखिएको समस्या आगामी २ गते अदालतको फैसला पछि निर्णय गरिने बताए।  हाल देखिएको तीन फरक नेतृत्वको एनआरएनएलाई एक ठाउँमा राखी सहमति प्रयत्न गर्ने कथंकदाचित सहमति नभए सरकारले गठन गरेको छानबिन समितिले दिई सकेको प्रतिवेदन अनुसार केही दिनभित्रै टुङ्गोमा पुग्ने बताए। प्रधानमन्त्रीले विभिन्न मुलुकमा रहेको राहदानी समस्या हल गर्न परराष्ट्र मन्त्रालयमा सधैँका लागि घुम्ती  स्थायी संयन्त्र बनाइएको र बढी समस्या भएका ठाउँमा कन्सुलर नियुक्ति गर्ने बताए। प्रधानमन्त्रीले अर्को एक प्रसङ्ग उल्लेख गर्दै सरकारले तिन करोड रूपियाँ तलका आयोजना ,परियोजना सङ्घीय सरकारले नभै प्रदेश सरकारले निर्णय लिन सक्ने गरी अगाडी जाने तयारी भैसकेको बताए। कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले प्रवासमा अब पार्टी र मोर्चा फरक फरक बन्ने  बताइन्। 

संवैधानिक परिषदको बैठक आज आह्वान

काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दैछ । परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् । आजको बैठकमा रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने विषयमा छलफल गर्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पटक पटक छलफल गरेका छन् । प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने प्रावधान छ।

प्रतिनिधिसभा बैठक ११ बजे बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।आजको बैठकमा सभामुखले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आइएसए०को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।अर्थमन्त्रीले भन्सार विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बागमती सरकारमा एमालेको इन्ट्री, अर्थको जिम्मेवारीमा थपलिया

मकवानपुर । बागमती प्रदेश सरकारमा नेकपा एमालेको इन्ट्री भएको छ । एमालेबाट संसदीय दलका जगन्नाथ थपलिया मन्त्री नियुक्त भएसँगै एमालेले सरकारमा प्रवेश पाएको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेता थपलियालाई शपथ ग्रहण गराएका छन्।मुख्यमन्त्री जम्कट्टेलले नेता थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकेका छन्। 

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त छलफल गरेका छन् । प्रधानमन्त्रीले ओली र देउवासँग संवैधानिक परिषद्को बैठक बोलाउने, शान्ति प्रक्रिया टुंग्याउने लगायतका विषयमा संयुक्त छलफल गरेका हुन्। बैठकमा शान्ति प्रक्रिया, संवैधानिक परिषद्को बैठक, संसदमा कांग्रेसले गरिरहेको अवरोधलगायत समसामयिक विषयमा पनि हुने जनाइएको छ ।प्रधानमन्त्री प्रचण्डले भोलि बिहानका लागि संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् । बैठकले रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने तयारी छ।

सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिन्छौं: प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।  २४ औँ जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ र मौलिक तरिकाले नेपाली समाजवादी क्रान्ति अगाडि बढ्ने विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले भने, “माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रित गर्ने र सम्पूर्ण राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाइन्छ, यो आत्मविश्वास अहिले पनि नेतृत्वलाई छ ।” देश र जनतालाई केन्द्रमा राखेर आफू अगाडि बढेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भने, “दायाँ कदम चाल्दा होस् या बाँया कदम चाल्दा होस्, क्रान्ति, जनता र राष्ट्रप्रतिको निष्ठामा कमी आउन दिन हुन्न, हामीले लिएको सङ्कल्प तेही हो, आज पनि त्यही छ ।” सरकारमा रहँदा आठ हजार सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेर उनीहरूको नाम राजपत्रमा प्रकाशित गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसलाई आफूले वर्गसङ्घर्षको निरन्तरता मानेको बताए।  आफ्नो हिस्साको वर्गसङ्घर्ष आफूले अहिले पनि चलाई नै राखेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गर्नु पनि वर्गसङ्घर्ष नै भएको बताए।  निराषा बाड्ने तथा पार्टी र नेतालाई गाली गरेर जिम्मेवारी पूरा नहुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सबैलाई एकताबद्ध भएर देश र जनताको पक्षमा उभिन आह्वान गरे। सरकारको पछिल्लो समीकरण रणनीतिक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “यो समीकरण रणनैतिक छ, दूरगामी छ, मेरो विश्वास छ यो क्रान्तिकारी पनि छ । यसले मात्र सबै देशभक्तहरूलाई एक ठाउँमा केन्द्रित गर्न सक्दछ ।”