परराष्ट्र मन्त्री श्रेष्ठको चिनियाँ समकक्षी वाङ यीसँग भेट

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका विदेशमन्त्री वाङबीच मंगलबार भएको भेटमा द्विपक्षीय सम्बन्धको समीक्षा भएको छ । साथै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि दुवै नेताले प्रतिबद्धता जनाएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपालमा चीनले अघि बढाएका परियोजना कार्यान्वयनलाई द्रुत रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको थियो ।

इलाम २ का लागि माओवादीबाट ४ जनाको नाम सिफारिस

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको छ । कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले मंगलबार धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरिएको जानकारी दिए । उनले जिल्ला समिति इलामको सिफारिसका आधारमा प्रदेश समितिले चार जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको बताए । इलाम २ मा एमालेले दिबंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार टुंगो लगाइसकेको छ । नेपाली कांग्रेसको प्रदेश समितिले केन्द्रीय समितिमा ७ जनाको नाम सिफारिस गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी शनिबार नाम टुंगो लगाउने जनाएको छ ।

काङ्ग्रेसको गैसस विभाग प्रमुखमा डाक्टर रावल

काठमाडौं । नेपाली काङ्ग्रेसले गैर सरकारी संस्था समन्वय विभागमा प्रमुख तथा सदस्यहरू मनोनयन गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी गैर सरकारी संस्था समन्वय विभागमा प्रमुख र सदस्यहरू मनोनयन गरेका हुन् ।  नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. रणबहादुर रावल प्रमुख सहितका सदस्यहरु मनोनयन गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  मनोनयन भएका सदस्यहरूमा डिल्लीराम गिरी, मोरङ, परमेश्वर महासेठ , धनुषा, सकुन्दराज आर्याल, काठमाडौं, प्रल्हादवावु पन्त, गोरखा र यज्ञश्वर पौडेल, कास्की रहेका छन् । यस्तै अन्य सदस्यहरुमा चूर्णबहादुर चौधरी, दाङ, भैरवबहादुर विष्ट, वर्दिया, तिलकबहादुर मल्ल, मुगु, अम्बीकुमारी थापा, अछाम र उत्तमराज जोशी, कैलाली रहेका छन् । 

राजनीतिमा छट्टुहरू हाबी हुन थाले : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी हुन थालेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रियामा बोल्दै उनले मुलुकमा छट्टुहरू राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम सुरू गरेको टिप्पणी गरेका हुन् । उनले भने, ‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले । छट्टुहरू त आउँछ, लटरपटर पार्छ । झुक्याउँछ । यसो रङरोगन गर्छ, जान्छ । हामीलाई छट्टुहरु चाहिएको होइन, धैर्यता भएको, धैर्यताको अर्थ केही पनि नगर्ने मान्छे पनि होइन । हामीलाई गति भएको मान्छे पनि चाहियो । गति र मति दुवै भएको मान्छे चाहियो । हामीले आफ्नो घरभित्रको फोहोर पनि ठीक गर्नुपर्नेछ । हाम्रो घरभित्र फोहोर छ, सफा गर्नुपर्नेछ । हाम्रो कतिपय ठाउँमा मति बिग्रेको छ । त्यसलाई ठीक गर्नैपर्छ ।’ महामन्त्री थापाले कांग्रेसभित्र पनि मति बिग्रेका नेताहरू भएको भन्दै त्यसमा सुधार गरेर अघि बढनुपर्ने आवशयकता औंल्याए ।

एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् ।  बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म चीनको हैनान राज्यमा आयोजना हुँदैछ ।

केजरीवाल पक्राउको विरोधमा प्रधानमन्त्री मोदीको निवास घेराउ गर्दै ‘आप’

नयाँ दिल्ली । आफ्नो नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउको विरोधमा आज आम आदमी पार्टी (आप)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवास घेराउ गर्ने घोषणा गरेको छ। मदिरासम्बन्धी नीति प्रकरणमा मुख्यमन्त्री केजरीवाल हाल प्रवर्तन निर्देशनालय (ईडी)को हिरासतमा छन्।  त्यसको विरोधमा आम आदमी पार्टीका नेता कार्यकर्ताले आज नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवास घेराउ गर्ने भएका हुन्।  तर दिल्ली प्रहरीले विरोध प्रदर्शनका लागि अनुमति नदिएको समाचार एजेन्सी एएनआईले जनाएको छ।आम आदमी पार्टीको प्रर्दशनलाई लिएर दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा गरेको छ । 

गाजाको युद्धविरामलाई लिएर इजरायल अमेरिकाबीच चर्कियो द्वन्द्व

एजेन्सी । गाजा क्षेत्रमा तत्काल युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावका विरुद्ध अमेरिकाले भिटो नगरेपछि अमेरिका र इजरायलबीच द्वन्द्व चर्किएको छ ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले राष्ट्रपति जो बिडेनले एक हप्ता अघि नै नेतान्याहूसँग छलफल गरी गरेको भ्रमण रद्द गरेका हुन् । जुन भ्रमणमा गाजा क्षेत्रमा आक्रमणको तरिकाबारे रचनात्मक छलफल हुनेअमेरिकाले विश्वास लिएको थियो तर बेन्जामिन नेतान्याहूले राष्ट्रपति जो बिडेनसँग छलफल नै नगरी एकतर्फि रुपमा भ्रमण रद्द गरेपछि इजरायल र अमेरिकाबीच सम्बन्ध चिसिएको छ । नेतन्याहुले सोमबार गाजामा तत्काल युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावलाई अमेरिकाले भिटो नगरे प्रतिनिधिमण्डललाई फिर्ता गर्ने बताएका थिए । तर अमेरिकाले मतदानबाट अलग बसेरै उक्त प्रस्तावलाई पारित हुन दिएपछि इजरायली प्रधानमन्त्रीले अमेरिकासँगको बैठकहरू रद्द गरेका हुन् । संयुक्त राष्ट्र सुरक्षा परिषद्मा सो प्रस्ताव पारित भएपछि प्रतिनिधिमण्डलको भ्रमण रद्द गर्ने नेतान्याहूको निर्णयलाई ह्वाइट हाउसले अत्यधिक प्रतिक्रियाको रूपमा लिएको अमेरिकी अधिकारीहरुले प्रतिक्रिया दिएका छन् । यस विषयमा अमेरिकी राष्ट्रपतिले इजरायली प्रधानमन्त्रीलाई यस भ्रमण किन रद्द गरेको भनेर फोन नगर्ने अमेरिकी अधिकारीहरुले जनाएका छन् ।बाइडेन प्रशासनका अधिकारीहरूले इजरायललाई अब इजरायल र गाजा क्षेत्रमा हुने कुनैपनि सैन्य गतिविधिमा आफ्नो सहयोग नहुने चेतावनी समेत दिएका छन् ।

गाजामा युद्धविराम गर्ने प्रस्ताव पारित, अमेरिका अनुपस्थित

ऐजेन्सी । संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले अमेरिकाको उपस्थिति बिना नै रमजानको समयमा गाजामा तत्काल युद्धविराम गर्ने प्रस्ताव पारित गरेको छ।   संयुक्त राष्ट्र सुरक्षा परिषद्को सोमबार (मार्च २५)मा बसेको बैठकले इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्ध रमजानको महिनामा भरका लागि रोक्ने र युद्धमा बन्धक बनेका सबैको बिनाशर्त रिहाइ गर्ने गरी तत्काल युद्धविराम गर्न आह्वान गरिएको प्रस्ताव पारित गरेको हाे।  यूएनएससीकाे प्रस्ताव १४ काउन्सिल सदस्य राष्ट्रहरूले पक्षमा मतदान गरेसँगै पारित भएको छ । जसमा  संयुक्त राज्य अमेरिका अनुपस्थित थियो। यसअघि अमेरिकि प्रस्ताव रूस र चीनले भीटो लगाएपछि अस्वीकृत भएको थियो । त्यसपछि रूस, चीन, अल्बानिया लगायत दस वटा देशले वेकल्पिक प्रस्ताव तयार गरे । उक्त प्रस्ताव संयुक्त राष्ट्र सुरक्षा परिषद् बैठकले पारित गरेको हो । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले प्रस्ताव तत्काल लागू गर्न अपील गर्दै पालना नगरे अक्षम्य हुुने बताएका छन् ।

अब नेपाल संवत् सफ्टवेयर र एपबाट पनि हेर्न सकिने

काठमाडौं । राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ र स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इञ्जिनियर अरुण थापाले उक्त सर्वर र एप हस्तान्तरण गरेका हुन् ।  सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्को गणना अलिक जटिल ठानिएकोमा अब सहज हुने विश्वास व्यक्त गरे । उनले भने, “नेपाल संवत्लाई कार्यान्वयन गर्नका लागि यसलाई अझै व्यवस्थित गर्नुपर्नेछ, अब यो एप कार्यान्वनमा जान्छ।”  सो सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत् प्रयोग गर्न सकिने छ। यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताए ।  उनले यो सफ्टवेयरबाट नेपाल संवत्सँगै विक्रम संवत् र इस्वी संवत्को सयौं वर्ष अगाडि र पछाडि गएर बार, गते, वर्ष एवं तिथी हेर्न सकिने जानकारी दिए । वर्तमान सकारले नेपाल संवत्लाई अनिवार्य रुपमा सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय लागू गरिसकेको अवस्थामा भइसकेको अवस्थामा उक्त एप तथा सफ्टवेयरले कामकाजमा सहयोग हुने विश्वास लिइएको छ ।

प्रदेश सरकार र उपनिर्वाचनबारे शीर्ष तीन नेताबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच प्रदेश सरकारको समीकरण र आगामी बैशाख १५ मा हुने उपनिर्वाचनबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको अनौपचारिक भेटमा १५ वैशाखमा हुने उपनिर्वाचन, प्रदेश सरकार हेरफेर र संघीय सरकारको पूर्णताबारे छलफल भएको बताइएको छ । २५ सदस्यीय मन्त्रिपरिषदमा दुई सदस्यको पद अझै खाली छ । नेताहरूको भेटवार्तापछि सोमबार नै प्रधानमन्त्री प्रचण्डले जसपाका सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराइसकेका छन् । मन्त्रिपरिषद् अब २३ सदस्यीय बनेको छ । अब सरकारमा दुई राज्यमन्त्री थप गर्ने सुविधा प्रधानमन्त्रीलाई छ । शीर्ष नेताहरुबीचको छलफलमा आगामी १५ वैशाखमा इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनका विषयमा पनि छलफल भएको छ । नेकपा एमालेले दुवै क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले उम्मेदवारबारे निर्णय लिन बाँकी छ । नयाँ सत्ता समीकरणअनुसार प्रदेश सरकार हेरफेर गर्नेबारे पनि शीर्ष तीन नेताको अनौपचारिक छलफल भएको छ ।

दुर्गा प्रसाईंको बीएण्डसी कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । न्यायाधीशहरू डाक्टर कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । सर्वोच्च अदालत प्रवक्ता वेदप्रसाद उप्रेतीले भने, ‘रिट निवेदनमा जे मागदावी थियो, अहिले इजलासले गरेको आदेश हेर्दा रिट जारी भएको देखिन्छ ।’  आदेशको प्रति पाइनसकेको भन्दै उनले निवेदन बमोजिम रिट जारी भएको भनेकाले त्यही अर्थ लगाउन सकिने बताए ।  विस्तृत विवरण आदेश वा फैसलाको पूर्णपाठ प्राप्त भएपछि थाहा हुने उनको भनाई छ ।

टिआरसी विधेयक अन्तिम चरणमा :  मन्त्री गिरी

पर्वत । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले  सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी)विधेयक अन्तिम चरणमा पुगेको बताएका छन्। महाशिला गाउँपालिकामा आज आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले सो विधेयक छिट्टै  टुङ्गो लगाइने बताए। उनले केही बुँदामा मात्र सहमति हुन बाँकी रहेको समेत जानकारी दिए। मन्त्री गिरीले भने, “विधेयकमा विभिन्न राजनीतिक दलका नेताहरुको बीचमा धेरै चरणमा छलफल भएको छ, संसद्का समितिहरुमा पनि चरणवद्ध छलफल भएको छ, अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै छलफल गरेर टुङ्गोमा पुग्छौँ।” खासगरी पीडितलाई न्याय दिलाउने गरी विधेयक ल्याउनुपर्ने दलहरु सहमत भएको उनले बताए। अन्तिम चरणमा रहेकाले विधेयक संसद्मा पेश गर्न लामो समय नलाग्ने उनले बताए। विधेयक पास भैसकेपछि कतैबाट विरोधका स्वरहरु ननिस्किुन भन्नेतर्फ सचेत हुँदै पूर्ण तयारी र सहमतिका साथ पारित गरिने समेत मन्त्री गिरीले बताए । त्यस अवसरमा उनले कानुनी साक्षरता गाउँ गाउँमा लैजानुपर्ने धारणा समेत राखे । कानुनको अज्ञानता क्षम्य नहुने भन्दै कानुनी अज्ञानताका कारण धेरैले दुःख पाएको उनको भनाइ छ । कतिपय कानुन संशोधन गर्न समेत जरुरी रहेको उल्लेख गर्दै गिरीले देश सङ्घीयतामा गए पनि अझै नयाँ कानुन बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गरे ।उनले बदलिँदो परिवेश अनुसार कानुन बन्न नसक्दा राज्य सञ्चालनमा समस्या परिरहेको बताए। सदनमा पेस भएका कतिपय विधेयक राजनीतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकिरहेको भन्दै गिरीले देशमा स्थिर सरकारको आवश्यकता रहेको बताए । मन्त्री गिरीले सङ्घीय निजामति ऐन र शिक्षा ऐन छलफलको चरणमा रहेको भन्दै ऐनहरु छिट्टै जारी हुने विश्वास दिलाए । उनले प्रतिपक्षले कानुन निर्माणमा सरकारलाई असहयोग गर्न नहुने धारणा राखे । मन्त्री गिरी आइतबारदेखि दक्षिण पर्वतको पैँयू, विहादी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा भेटघाट तथा जनसंवादमा सरिक भएका छन् । 

गृह सचिव, प्रहरी प्रमुख र सीआईबी प्रमुखलाई राज्य व्यवस्था समितिले बोलाउने

काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालय सम्बद्ध विषयमा छलफल गर्न केही उच्च अधिकारीलाई बोलाउन लागेकाे छ । गृहसँग सम्बद्ध केही विषयमा गम्भीर रुपमै छलफल गर्नुपर्ने भएकाले गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईवी) प्रमुखलाई यही १४ गते समितिमा बोलाउन लागिएको सचिवालयले जानकारी दिएको छ । राज्य व्यवस्था समितिका सदस्य रहीसकेका सांसद रवि लामिछाने अहिले गृह मन्त्रालयको नेतृत्वमा छन् । गृहमा उनकै विरुद्धमा कारबाहीको माग गर्दै केही निवेदनहरु परेका छन् । त्यसबाहेक सुशासनसँग सम्बन्धित केही ऐन संशोधन गर्न तयार भएका विधेयक पनि छलफल गरेर टुंगो लाउनुपर्ने अवस्थामा रहेका सचिवालयले जनाएको छ । समितिका तीन सदस्य त वर्तमान सरकारमा उपप्रधानमन्त्री छन् । गृहमन्त्री लामिछाने, उपेन्द्र यादव र रघुबीर महासेठ उपप्रधानमन्त्री छन् ।

इलाम २ का लागि कांग्रेस प्रदेश समितिबाट ७ जनाको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेस कोसी प्रदेश कार्यसमितिले इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ । इलाम २ का लागि आंकाक्षीहरूमध्ये पहिलो नम्बरमा भेषराज आचार्यलाई सिफारिसमा राखिएको छ। दोस्रो स्थानमा पूर्वसांसद केशव थापा र तेस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम रहेको छ।  खड्का २०७९ को निर्वाचनमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए । गत भदौ २५ गते राति नेम्वाङको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । पहिलो नम्बरमा नाम सिफारिस भएका आचार्य २०७० को निर्वाचनमा पराजित भएका नेता हुन् । कांग्रेसले नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस गरेको छ । नेपाली कांग्रेसको विधानमा संसदीय बोर्डले उम्मेदवार चयन गर्ने व्यवस्था छ। इलाम २ को उपनिर्वाचनका लागि एमालेबाट दिवंगत नेता सुवासचन्द्र नेम्बाङका पुत्र सुहाङ उम्मेदवारका रुपमा खडा हुँदैछन् ।

यस्तो छ उम्मेदवार बनेपछि सुहाङ नेम्वाङको बकपत्र

काठमाडौँ । नेकपा एमालेको तर्फबाट इलाम-२ का उम्मेदवारी पाएका सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ पार्टीले टिकट दिएपछि खुशी र उत्साही भएको बताएका छन्।आइतबार बसेको एमालेको सचिवालयको बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेपछि बुबा सुवास नेम्वाङको सपना पूरा गर्ने बताएका छन्। उनले भनेका छन्, ‘बुवाले देख्नुभएको सपना र गर्नुभएको सङ्कल्प पुरा गर्न अधिकतम योगदान गर्नेछु । इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरूले र कलिला नानीहरूले देखेका सपनाहरू पूरा गर्न बुवालाई दरिलो साथ दिनेछु ।’ हार्दिक आभार तथा धन्यवाद  आगमी १५ वैशाख २०८१ मा इलाम क्षेत्र नं.२ को उप–निर्वाचनको लागि गौरवमय इतिहास बोकेको नेपाली जनताको प्रिय पार्टी नेकपा (एमाले)ले मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । म खुशी र उत्साही छु । यो महत्वपूर्ण अवसरको निम्ती हाम्रो पार्टी नेकपा (एमाले) र श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु । उम्मेदवारको लागि सिफारिस गर्ने नेकपा ९एमाले० इलाम जिल्ला कमिटी, उम्मेदवार सिफारिस कार्यदल, इलामका सबै आदरणीय नेता कमरेडहरुप्रति आभारी छु । मलाई उम्मेदवार बन्नका लागि प्रेरित गर्नुहुने इलामका सबै आदरणीय अभिभावक, प्रियजन र नौजवान साथीहरुप्रति कृतज्ञ छु । तपाईहरुको माया, साथ र शुभेच्छा मेरा लागि अजस्र शक्तिको स्रोत र अमुल्य सम्पति हो । अप्ठ्यारो परिस्थीतिमा मलाई हौसला, उर्जा र साहस प्रदान गर्दै अघि बढ्नका लागि प्रेरित गर्नुहुने सबै आदरणीय व्यक्तित्वहरुलाई धन्यवाद भन्छु । आभार । पार्टीले मलाई उम्मेदवार बनाउने निर्णयपछि विभिन्न माध्यमबाट बधाई र शुभकामना दिनु हुने यहाँहरु सबैप्रति म असाध्यै आभारी छु । एक मुष्ठ धन्यवाद भन्न चहान्छु । यहाँहरुलाई थाहा छ, इलाममा विशेष अवस्थामा उपनिर्वाचन हुदैछ । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा इलामेली आदरणीय जनताहरुले मेरो बुवा उहाँहरुको प्रिय नेता सुवासचन्द्र नेम्वाङलाई जिताएर पठाउनु भएको थियो । तर, हामीलाई अकल्पनीय ब्रजपात आइलाग्यो । भौतिक रुपमा हामीलाई छोडेर जानुभयो । उहाँको सिद्धान्त, विचार, सपना र संकल्पहरु हाम्रो साथमा रहे पनि भौतिक साथ छुट्यो । उपनिर्वाचनको परिस्थीति आइलाग्यो । गएको निर्वाचनमा म बुवाको साथमा चुनावी अभियानमा थिएँ । यस क्रममा मैले बुवालाई आशीर्वाद दिने इलामेली वृद्ध बुवाआमाहरूको भावना नजिकबाट सुनेको थिएँ । उहाँहरुको सुखदुःख थाहा पाएको थिएँ । भबिष्यप्रतिको उज्यालो आशा सहित अहोरात्र निर्वाचनमा खट्नु भएका इलामेली नौजवान साथीहरुको अपेक्षा र चाहना बुझेको थिएँ । बुवाप्रतिको उचो विश्वास र भरोषा सहित उहाँले भबिष्यप्रति राख्नु भएको आशा असाध्यै नजिकबाट थाहा पाएको थिएँ । बुवाको काखमा आएर लुटपुटिदै ‘अल द बेस्ट’ भन्ने कलिला नानीहरुका आँखामा दौडिएको मायालाई नजिकबाट छोएको थिएँ । गएको निर्वाचनको क्रममा बुवाप्रति इलामेली जनताहरुले देखाउनु भएको त्यो आशा, अपेक्षा, भरोषा र विश्वास मेरो लागि कति भव्य थियो रु त्यो म यहाँ लेखेर उल्लेख गर्न सक्दिन । मलाई लागेको थियो, ‘अझै थुप्रै बर्षहरु बुवाको साथमा रहनेछु । सिक्नेछु । बुझ्नेछु । जान्नेछु । ‘लो प्रोफाइलमा’ बसेर बुवाले देख्नु भएको सपना र गर्नु भएको संकल्प पुरा गर्न अधिकतम् योगदान गर्नेछु । इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरुले र कलिला नानीहरुले देखेका सपनाहरु पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु ।’ म उहाँको लागि दरिलो सहयोगी बन्नेछु । तर बिडम्बना मेरो जीन्दगीमा पनि अकल्पनीय ‘आकस्मिकता’ आइलाग्यो । अकल्पनीय ब्रजपात आइलाग्यो । बुवाले देखाउनु भएको बाटो र दिनु भएको उज्यालो समातेर उहाँका ती सपनाहरु पुरा गर्न तयार हुनुपर्ने अवस्था आयो । हो, बुवालाई राजनीतिमा साथ दिदै खेलकुद, सामाजिक अभियान र वकालतमा सक्रिय थिएँ । यसो भनौ, ‘आफ्नो बाटो आफै खन्दै थिएँ ।’ मेरा लागि जनसेवाका अनेकन सजिला र फराकिला बाटाहरु स्वागतको लागि तयार थिए । तर, निर्वाचनको क्रममा देखेको बुवाप्रतिको इलामेली जनताहरुको आशा, भरोषा र विश्वासले मलाई पक्रिरह्यो । बुवासँग जोडिएका इलामेली जनताको सपना, संकल्प र अपेक्षाले मलाई पछ्याइरह्यो । आदरणीय इलामेली जनताहरुले हामीप्रति देखाउनु भएको माया, सद्भाव र शुभेच्छाले अरुतिर जाने अनुमति दिएन । र भनीह्यो, ‘सुहाङ तिमिलाई भाग्न मिल्दैन है ।’ त्यसैले म उम्मेदवारको लागि तयार भएँ । म उम्मेदवार बन्दै गर्दा आफ्नो जीन्दगीको उर्वर समय पार्टीको बिकास, विस्तार र आन्दोलनका लागि खर्चिनु भएका इलामका आदरणीय नेताहरुको भावनालाई शिरमा राखेको छु । उहाँहरुको कष्टसाध्य संघर्ष, अभूतपूर्व त्याग र असाधरण योगदानप्रति सधैं नतमस्तक छु । उहाँहरुप्रति असाध्यै ऋणी छु । रहनेछु । हो १ म असजिलो र अप्ठ्यारो अवस्थामा तयार भएँ । यहाँनिर फेरि स्पष्ट गर्न चहान्छु, केवल परिस्थीतिजन्य हिसाबले मात्रै म तयार भएको भने कदापी होइन । मन, वचन र कर्मले इलामको सेवा गर्ने संकल्प सहित उभिएको छु । त्यो प्रतिबद्धता र अठोट सहित तयार भएको छु । इलामको लागि स्पष्ट योजना र मार्गचित्र सहित यात्राको लागि तयार भएको हुँ । तपाईहको माया, साथ र सहयोग अझै धेरै चाहिएको छ । फेरि पनि सबैप्रति आभार र धन्यवाद । धन्यवाद । नमस्कार ! सुहाङ नेम्वाङ नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार इलाम क्षेत्र नं.२

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

सुर्खेत । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला)मा टिकाराम सोमै निर्वाचित भएको नेकपा (एमाले) सुर्खेतले जनाएको छ ।  महिला (सचिव)मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छन् । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ।