ऐन महर फेरि एमालेको केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ । नेकपा एमालेले ऐन महरलाई पुनः केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । 

एकजना महिलासँगको सम्बन्धबारे अडियो सार्वजनिक भएपछि पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिएका महरले फेरि सक्रिय भएर काम गर्ने, निष्ठा र इमान्दारितासाथ पार्टीमा काम गर्ने प्रतिबद्धता गरेपछि उनलाई पार्टीको विधानको धारा ६५ अनुसार मनोनयन गर्ने एमालेले निर्णय गरेको हो ।

एमालेको सचिवालय बैठक बस्दै, उपनिर्वाचनको उम्मेदवारबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ। बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद बैठकको तयारी तथा वैशाख १५ गते हुने उपनिर्वाचनलगायतका विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। इलाम-२ को प्रतिनिधि सभा र बझाङ-१ को प्रदेश सभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुन लागेको छ ।इलाम-२ का लागि एमालेबाट ६ जनाको नाम सिफारिस भएर आएको छ भने बझाङ(१ मा तीन जनाको नाम सिफारिस छ। यी नामहरूमाथि आजको बैठकमा छलफल हुनेछ । यस्तै, नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भए पछिको परिस्थितिका बारेमा पनि बैठकमा छलफल हुने जनाइएको छ।

यी हुन् गृहमन्त्रीले विशेष सम्बोधनमा राखेका विषय (भिडियोसहित)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पोखराको सुर्यदर्शन र अन्य देशका सहकारीका बचतकर्ताको पैसा ब्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम नलिने बताएका छन्।  शनिबार काठमाडौँमा पार्टीले आयोजना गरेको ‘विशेष सम्बोधन’मा बोल्दै उनले आफूमाथि नेपाली कांग्रेसले संसद्मा उठाएका प्रश्नको जवाफ दिन आफू तयार रहेको बताए। ‘जुन सहकारी सहकारी भनिएको छ। ती सहकारीमा क कसको अवैध पैसा राखिएको छ। त्यसको पनि हिसाब हुन्छ,’ लामिछानेले भने, ‘जसले कालो धन लुकाउनका लागि खाता पनि नभएको मान्छेलाई ठग भनिरहेको छ। दुधको दुध पानीको पानी निस्कन्छ। त्यो भन्दा पहिला त्यसमा र अन्य सहकारीमा बचतकर्ताको पैसा ब्याजसहित फिर्ता नगरेसम्म राजीनितिबाट विश्राम लिन्नँ।’सहकारी ठगेर देश–विदेश जहाँ पुगेको भए पनि सरकारले खोजेर ल्याउने उनले उद्घोष गरे।  ‘जो जहाँ लुकेको होस्, देशमा होस विदेशमा होस्, आकाशमा होस् पातालमा होस्। सरकारले खोजेर ल्याउँछ। सहकारी पीडितको पैसा सबैलाई असुल गरेर ल्याउँछ। समय कति लाग्छ थाहा छैन, तर हामी गर्छौं,’ सभापति लामिछानेले भने।  स्वास्थ्य अवस्थाका कारण महरालाई हाजिरी जमानीमा छाडियो   गृहमन्त्री लामिछानेले बिरामी भएकाले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडेको बताए ।अनुसन्धानका लागि उपस्थित गराउने सक्नेगरी हाजिरी जमानीमा छाडिएकाले त्यसलाई अतिरञ्जित नगर्न सबैलाई आग्रह गरे । उनले भने, ‘हो कहिलेकाँही मानवीय समवेदना र करुणाका कुरा छाउँछन्। कृष्णबहादुर महराका विषयमा कतिपय कुराहरु आइरहेका छन्। ८/१० वटा औषधी सेवन गरिरहनुभएको छ। अत्यन्त धेरै बिरामी हुनुहुन्छ। सम्मानित अदालतले पनि बिरामी हुनुभएको कुरालाई इंगित गरेको छ। कतिले उहाँलाई देखायो, छोड्यो भनेर तुरुन्तै निराशा जनाउनुभएको छ। राज्य निर्मम हुन्छ, कठोर पनि हुन्छ। तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ। त्यसैले अत्यन्त धेरै बिरामी, अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छोडिएको कुरालाई अतिरञ्जित गरिरहनुपर्दैन। भनेको बेला, चाहेको बेलामा उपस्थित हुनेगरी हाजिरी जमानीमा उहाँ हुनुहुन्छ। अदालतले समेत भनिसकेको छ कि उहाँको स्वास्थ्य अवस्था कमजोर छ।’’  कांग्रेसलाई प्रश्न -'म जवाफ दिन म कहाँ आउँ ?' सो अवसरमा गृहमन्त्री लामिछानेले नेपाली कांग्रेसलाई जवाफ दिन आफू तयार रहेको बताए। सहकारी ठगीमा मुछिएको भन्दै कांग्रेसले मेरो राजिनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ त्यसबारे कांग्रेसलाई जवाफ दिन तयार छु उनले भनेका छन् ।  गृहमन्त्री लामिछानेले भने, ‘प्रधानमन्त्रीले जवाफ दिइसक्नु भयो। म आफैं संसदमै जवाफ दिन तयार छु। तर, कांग्रेस राजीनामा र संसदीय समिति भनिरहेको छ। सदनमा जवाफ दिन नपाए खुला ठाउँमा दिन तयार छु। जवाफ काठमाडौं क्षेत्र नम्बर–४ मा दिन पाए झनै राम्रो। कांग्रेस, जवाफ दिन म कहाँ आउँ ?’ साथै उनले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु राईलाई पनि जसरी हुन्छ पक्राउ गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘आकाशमा होस्, पातलमा होस्, जीवी राईलाई समातिन्छ। पीडितको बचत ब्याजसहित फिर्ता गराउँछौं। पीडितको बहानामा व्यक्तिको चरित्र हत्या र राजनीति गर्नेसँग मेरो संवाद हुन्न। तर, वास्तविक पीडितको पक्षमा काम गर्छौँ ।’ 

उपप्रधानमन्त्री श्रेष्ठ चीनको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । उनी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् । उनले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ ।भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै,भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी चैत १९ गते स्वदेश फर्कर्नेछन् ।

माओवादी केन्द्रले तोक्यो जिल्ला इन्चार्ज (सूचीसहित)

काठमाडौं। नेकपा(माओवादी केन्द्र)ले वागमती प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको छ।  जिम्मेवारी पाउने केन्द्रीय सदस्यहरूको सूची यसप्रकार छ: १) रसुवा–कल्पना शर्मा २) धादिङ–पुष्पविक्रम मल्ल  ३) चितवन–घनश्याम दाहाल  ४) मकवानपुर–बिजय गौतम  ५) सिन्धुली–बुद्धिमान माझी  ६) रामेछाप–श्यामकुमार श्रेष्ठ  ७) दोलखा–बिशाल खड्का  ८) काभ्रेपलाञ्चोक–तेजबहादुर मिजार  ९) सिन्धुपाल्चोक–केशव नेपाल  १०) नुवाकोट–हिरानाथ खतिवडा ११) काठमाडौँ–सूर्य सुवेदी पथिक १२) ललितपुर–हरि दाहाल  १३) भक्तपुर–दिलिप प्रजापति  १४) काठमाडौँ महानगर–मुक्तिनारायण प्रधान  १५) ललितपुर महानगर–राजकाजी महर्जन  १६) हेटौडा उपमहानगर–प्रल्हाद लामिछाने

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ। आइतबार पार्टी कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन्। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने सचिव योगेश भट्टराईले बताए। आज बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि भित्र्याउन प्रयास गर्ने निर्णय गरेको छ। त्यसबारे अहिलेसम्म कुनै छलफल नभएकाले त्यही बैठकमा हुनसक्ने उनले बताए।

प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच शुक्रबार सिंहदरबारमा भेट भएको नेताहरूको सचिवालयले जानकारी दिएको छ । भेटवार्तामा  सरकार सञ्चालन, समसामयीक राजनीति, शान्ति प्रक्रियाका बाँकी कामलगायत विषयमा छलफल भएको बताइएकाे छ। आज बिहान बसेको समाजवादी मोर्चाको बैठकले मोर्चामा एमालेलाई ल्याउनेबारे छलफल गरेको थियो । भेटमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सो विषयमा पनि जानकारी गराएको सचिवालयले जानकारी दिएको छ ।

कतारका अमिर तमिमको वैशाखमा नेपाल भ्रमणकाे मिति तय

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको २०८१ वैशाख १२ र १३ गते नेपालको भ्रमण तय भएको छ।यसअघि एक पटक स्थगन भएको उनको नेपाल भ्रमण पुन तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र स्रोतका अनुसार कतारका अमिर तमिमको नेपाल भ्रमणको समयमा नेपाल र कतारबीच नौवटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।  दुई देशबीच कूटनीतिक तालिम र शिक्षा सम्बन्धी समझदारीपत्र, सांस्कृतिक क्षेत्रमा एक–आपसमा सहयोग आदानप्रदान सम्बन्धी समझदारीपत्र, युवा तथा खेलकुदसम्बन्धी समझदारी, छापा तथा सूचना सम्बन्धी पोर्टोकल, विकास साझेदारी सम्बन्धी समझदारी, महान्यायाधिवक्ताको कार्यालय र कतारको यस्तै निकायबीच सहकार्य गर्ने समझदारीपत्र, संशोधित श्रम सम्झौता लगायतका समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ।  घरेलु कामदार लैजाने र कतार प्रहरीमा नेपालीलाई लिने सम्बन्धी विषयमा पनि अहिले दुई देशबीच छलफल भइरहेको छ। कतार फन्ड फर डेभलपमेन्टबाट नेपालले सहायता लिने विषयमा पनि छलफल चलिरहेको दाबी स्रोतको छ। 

समाजवादी मोर्चामा आबद्ध हुन विप्लवको आग्रहमा केपी ओली सकारात्मक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा आबद्ध हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। बिहीबार साँझ ओली निवास बालकोटमा पुगेका विप्लवले एमालेलाई पनि मोर्चामा आबद्ध हुन आग्रह गरेका हुन्। विप्लव अहिले समाजवादी मोर्चाका अध्यक्ष छन्। ओलीले सकरात्मक प्रतिक्रिया दिएपछि विप्लवले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका छन्। उनले बलियो कम्युनिष्ट शक्ति बनाउनका लागि एमालेलाई पनि मोर्चामा आबद्ध गराउनुपर्ने आफ्नो धारणा रहेको र त्यसका लागि ओलीसँग छलफल गर्न प्रचण्ड र माधव नेपालसँग आग्रह गरेको बताए। मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन्।

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही चैत ११ गते आइतबार महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक बोलाएको छ। बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक र विधान प्रतिवदेनलाई सचिवालयले अनुमोदन गरेपछि दस्तावेजमा समावेश गरिने पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।  पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा २७ सदस्यीय दस्तावेज लेखन समिति गठन भएको छ। बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि मूल व्यवस्थापन कमिटी तथा अन्य कमिटीबाट भएका कामको समीक्षा हुनेछ। सचिवालय बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट  सिफारिस भएका नाममा  छलफल पनि गर्ने प्रचारविभाग प्रमुख खतिवडाले बताए। आगामी जेठ देखि ७ गतेसम्म काठमाडौँमा आयोजना हुने राष्ट्रिय महाधिवेशनका लागि पार्टीले अध्यक्ष नेपालको संयोजकत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १२ कमिटी गठन गरिसकेको छ। 

केजरिवालद्धारा पक्राउविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ हुने

काठमाडौं । बिहीबार पक्राउ परेका भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल सर्वोच्च अदालत गएका छन्। पक्राउ गरेकोविरुद्ध भारतको सर्वोच्च अदालतमा रिट दर्ता भएको हो। उक्त रिटमाथि शुक्रबार नै सुनुवाइ हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । केजरिवालसँगै यो मुद्दामा पूर्व उपमुख्यमन्त्री मनिष सिसोदियासँगै आम आदमी पार्टीका नेता मुछिएका छन्। आदमी पार्टीका नेताले पक्राउ परेका मुख्यमन्त्री केजरीवालले हिरासतबाटै सरकार चलाउने समेत बताएका छन्। केजरिवाल पक्राउ परेकोप्रति भारतका प्रतिपक्षी दलहरुलेसमेत विरोध गरेका छन्।लोकसभा चुनाव घोषणा भइसकेको स्थितिमा चुनावलाई प्रभावित गर्न भाजपाबाट निर्देशित भएर विपक्षी नेताहरुलाई अनेक आरोप लगाइ धरपकड गरेको आरोप उनीहरुले लगाएका छन् । यसअघि भारतको इन्फोर्समेन्ट डिरेक्टोरेट (इडी)ले भ्रष्टाचारका सम्बन्धमा बयानका लागि उपस्थित उनलाई पूर्जी जारी गरेको थियो। भ्रष्टाचारविरोधी अभियानबाट राजनीतिमा उदाएको आम आदमी पार्टीका नेता केजरीवालमाथि मदिरा घोटाला प्रकरणको आरोप लगाइएको छ। आर्थिक अनियमितता र भ्रष्टाचारमाथि छानविन गर्न बनेको इडीले केजरीवालालई नवौं पटकको प्रयासपछि वयानका लागि बिहीबार साँझ गिरफ्तार गरेको हो।

आज तीन वटा संसदीय समितिको बैठक बस्ने

काठमाडौँ ।आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्ने छ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।  त्यसैगरी दिउँसो १ बजे नै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।

सभामुख घिमिरेसहित १० सदस्यीय प्रतिनिधिमण्डल जेनेभा प्रस्थान

काठमाडौं । अन्तर–व्यवस्थापिका संघ (आइपियू)को १४८औँ महासभामा सहभागी हुन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित १० सदस्यीय प्रतिनिधिमण्डल स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेको छ। महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल बिहीबार बेलुका कतार एयरलायन्सको जहाजमार्फत दोहा हुँदै जेनेभातर्फ प्रस्थान गरेको संसद् सचिवालयले जनाएको छ। आइपियूको प्रधान कार्यालय रहेको जेनेभामा मार्च २३–२७ (१०–१४ चैत) सम्म सञ्चालन हुने छ ।  प्रतिनिधिमण्डलमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्बासे छन्। यसैगरी, संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेय, संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईं र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई जेनेभा प्रस्थान गरेका हुन्। महासभामा सभामुख घिमिरेले ‘पार्लियामेन्ट डिप्लोमेसीः बिल्डिङ ब्रिजेज फर पिस एन्ड अन्डरस्ट्यान्डिङ’ विषयको जनरल डिबेटमा संघीय संसद्को तर्फबाट सम्बोधन गर्नेछन् । आइपियूको फोरम अफ योङ पार्लियामेन्टरियनमा सन्तोष परियार र महेशकुमार बर्तौला तथा फोरम अफ वुमेन पार्लियामेन्टरियनमा गंगाकुमारी बेल्बासेले सहभागिता जनाउने सचिवालयले जनाएको छ। यसबाहेक आइपियूका स्थायी समितिका छलफलहरूमा समेत प्रतिनिधिमण्डलको सहभागिता रहनेछ। आइपियूको महासभासँगै संसद्का महासचिवहरूको संगठन एसोसिएसन अफ सेक्रेटरी जनरल अफ पार्लियामेन्टका बैठकहरू सञ्चालन हुनेछन्। ती बैठकहरूमा संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले सहभागिता जनाउने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।  महासभामा सहभागी भई प्रतिनिधिमण्डल १६ चैतमा स्वदेश फर्किने कार्यक्रम रहेको छ।

दलित समुदायको व्यक्ति मन्त्री बनाउँछौं : ओली

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषद्‌मा दलित समुदायको प्रतिनिधित्व गराउने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेपाल उत्पीडित जातीय मुक्ति समाजले आयोजना गरेको कार्यक्रम उनले मन्त्रीका निम्ति ठाउँ खाली रहेको बताएका हुन् । “यसपल्ट पनि मन्त्री हुन्छ । एउटा ठाउँ छ त्यहाँनेरि । यसपटक पनि मन्त्री हुन्छ म तपाईंहरूलाई भनिराख्छु,” उनले भने । मन्त्रिपरिषद्‌मा सबै जातजातिलाई एकैपटक पठाउन नसकिने समेत उनले बताए। पहिले पहिलेको मन्त्रिपरिषद्मा सो समुदायबाट विभिन्न व्यक्तिले नेतृत्व गरिसकेको उनले उल्लेख गरे । पार्टीको सचिवालयमा दलित समुदायको प्रतिनिधित्व भएको उनले बताए । उनले पार्टी सचिव छविलाल विश्वकर्मा पटक–पटक मन्त्री भएको सुनाए । पार्टीमा क्षमता अभिवृद्धि गर्ने विषयमा सधैँ प्रोत्साहन गरिने उनले स्पष्ट पारे । यस अघि ५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज बालुवाटारमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि मन्त्रिपरिषद्मा दलित समुदायलाई समेटिने बताएका थिए । 

सभामुख र राष्ट्रियसभा अध्यक्षबिच भेटवार्ता

काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबिच भेटवार्ता भएको छ ।  दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएपछि सभामुखसँग बिहीबार पहिलो पटक औपचारिक भेट हो ।  संसद् सचिवालय सिंहदरवारमा भएको भेवार्तामा अध्यक्ष दाहाललाई सभामुख घिमिरे बधाई दिएका थिए ।  दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका हुन् ।

विभेदका सम्पूर्ण स्वरूपको अन्त्य अनिवार्य छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले जातीय छुवाछूतजस्तो अपराधलाई उन्मूलन गर्न कानुनी प्रावधानहरू कडा पार्नुका साथै सामाजिक जागरण र राजनीतिक अभियान चलाउनुपर्ने बताए ।