राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिनुभएको छ । बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा बुझाएकी छिन् । 

उहाँले संविधानको धारा ९२ को उपधारा (६) को खण्ड (ख) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८५ को उपनियम (१)बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदबाट राजीनामा दिए ।सत्ता गठबन्धन दलबिचको सहमति अनुसार अर्यालले बिहीबार राजीनामा दिएकी हुन्। 

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल २०७९ माघ २३ गते र्निविरोध निर्वाचित भएकी थिइन् । उनी २०७८ माघ १२ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनी नेकपा (माओवादी केन्द्र)का नेत्री हुन् । 

नेकपा एसले इलाममा जीतबहादुर राईलाई दियो टिकट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले उपनिर्वाचनका उमेदवार टुंग्याएको छ । एकीकृत समाजवादीले इलाम क्षेत्र नम्बर–२ मा जीतबहादुर राई र बझाङ–१ ‘क’मा दिलबहादुर सिंहलाई उमेदवार बनाउने निर्णय गरेको हो। राई इलामकै माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष हुन् । पार्टीका सचिव तथा कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार, उमेदवारहरूलाई टिकट दिइसकिएको छ ।  इलाम–२ र बझाङ–१ ‘क’मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । त्यसका निम्ति यही चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ। सत्ता गठबन्धनमा आबद्ध दलहरूले छुट्टाछुट्टै उमेदवार उठाउँदै छन्।गठबन्धनको प्रमुख दल नेकपा(एमाले)ले सुहाङ नेम्वाङलाई उमेदवार बनाइसकेको छ । नेकपा ९माओवादी केन्द्र०ले पनि उमेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उमेदवार छनोटको प्रक्रियामा छ ।

प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । संबैधानिक परिषदको अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले  १८ चैत अर्थात् आइतबार बिहान बस्ने गरी परिषद्को बैठक बोलाएका हुन् । यसअघि चैत १२ गतेका लागि तय भएको बैठक स्थगित भएको थियो । प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठकबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बिहीबार बिहान बालुवाटारमा छलफल गरेका थिए । छलफलका क्रममा सकारात्मक कुराकानी भएपछि प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् ।  संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने प्राबधान छ ।

राष्ट्रिय मुद्वामा मिलेर जान कांग्रेस सभापतिलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच छलफल भएको छ । आज (बिहीबार) बिहान बालुवाटारमा भएको छलफलमा संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ ।  साथै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गरेर लैजाने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।   प्रतिनिधि सभा अन्तर्गत रहेको कानुन न्याय र मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन अवस्थामा रहेको छ । सरकारले कांग्रेस, एमाले सहितका दलहरूको सर्वसम्मतिमा विधेयक पास गराउन पहल गर्दै आइरहेको छ । भेटवार्तामा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अघि बढाउने, संसद्ला‌ई बिजनेस दिने लगायतका राष्ट्रिय मुद्दाहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार राष्ट्रिय मुद्दाहरूमा सबै दल मिलेर अघि बढ्नुपर्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा देउवा सकारात्मक छन् । भेटवार्ताको क्रममा संवैधानिक परिषद् बैठकको विषयमा पनि छलफल भएको बताइएको छ ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत नाम मुछिएको विषयमा संसद्‌मा प्रश्न उठाउँदै आएको छ । 

गगन थापाले सुरू गरे दोस्रो चरणको अभियान

रूपन्देही । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले दोस्रो चरणको संवाद यात्रा सुरु गरेका छन् ।ऐतिहासिक स्थल गुठि सूर्यपुरामा विपी कोईरालाको प्रतिमामा माल्यार्पण गरेर उनले आज विहान नवलपरासीको गौरीगञ्जबाट संवाद यात्रा सुरु गरेका हुन्। यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट संवाद यात्रा गरेर माघ २२ गते नवलपरासीको गोपीगञ्जमा पुगेर रोकेका उनले फेरि अर्को यात्रा सुरु गरेका हुन् । दोस्रो चरणको संवाद यात्रा आज, भोली र पर्सी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुनेछ । महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरुका समस्याहरु सुन्ने गरेका छन्। यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरुको निरिक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना छ । गगन निकट एक नेताका अनुसार आज महामन्त्री थापाको यात्रा नवलपरासीको गोपीगञ्जपछि पट्खौली हुदै रुपन्देहीको धकधही, भैरहवा, जिल्ला पार्टी कार्यालय, बेथरी सम्म पुग्ने छ । भैरहवामा उनले उद्योग व्यवसायीसँग संवाद गर्नेछन भने बेथरीमा स्थानीय सरोकारका विषयमा छलफल गर्नेछन् । १६ गते रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रियाबाट संवाद यात्रा सुरु भई कपिलवस्तु प्रवेश गर्नेछ । थापा नेतृत्वको संवाद यात्रा टोलीले १६ गते नै कपिलबस्तुको लबनी, जिल्ला पार्टी कार्यालय, महाराजगञ्जको पालिका कार्यालय हुदै चन्द्रौटासम्म संवाद गर्नेछ । त्यसैगरी १७ गते विहान दाङको गोवरडिहामा थारु संवादबाट सुरु हुने संवाद यात्रा जङ्ग्रहवा हुदै बाँके प्रस्थान गर्नेछ । बाँकेमा उनले १७ गते सिक्टा सिंचाई आयोजनाको अवलोकन गर्नुहुने र फत्तेपुरमा जनसंवाद गर्नेछन् ।

जेलमा रहेका टोपबहादुरको मुटुमा समस्या, अस्पताल भर्ना

काठमाडौं । पूर्वमन्त्री एंव नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीलाई अस्पताल भर्ना गरिएको छ । रायमाझीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि जेलबाट अस्पताल  लगिएको  हो। रायमाझीको मुटुमा समस्या देखिएपछि उपचारका लागि उनलाई मनमोहन अस्पताल भर्ना गरिएको छ। नक्कली भुटानी  शरणर्थी प्रकरणमा जेल परेका रायमाझीलाई उक्त अस्पतालमा ४७८ नम्बरको वेडमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको थियो। उनको स्वास्थ्य अवस्था स्थिर रहेको  छ ।रायमाझीको मुटुको चालको निगरानी गर्न मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । अर्घाखाँचीवाट संघीय संसद बनेका रायमाझीलाई असारदेखि केन्द्रीय कारागारको भद्रबन्दी जेलमा राखिएको छ।

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज बिहिबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन्।  आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित हो । बैठकमा नियमित ऐजण्डा सरकार सञ्चालन, नीति तथा कार्यक्रम तयारी लगायतका विषमा छलफल हुनेछ । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान ११ बजे राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा सहभागी हुनेछन् ।

एमाले कास्कीको अध्यक्षमा खगराज निकट अधिकारी निर्वाचित

कास्की । नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित भएका छन्। खगराज अधिकारीनिकट बैनबहादुरले पृथ्वीसुब्बा गुरुङनिकट माधव बास्तोलालाई २ सय ४ मतान्तरले हराएर विजयी भएका हुन्। बुधबार भएको निर्वाचनमा बैनबहादुरले ५ सय ५१ मत पाएका छन् भने माधवले ३ सय ४७ मत पाए । ९ सय ३६ मतदातामध्ये ९ सय १५ मत खसेको थियो । अन्तिम परिणाम केही बेरमा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ । अन्य पदाधिकारी र सदस्यहरूमा पनि बैनबहादुर अधिकारी कै प्यानलको वर्चस्व छ ।

उत्पादन वृद्धि र रोजगारी सिर्जनामा बजेट केन्द्रित गरौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन्। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८१/०८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगारकेन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्रीले भने, 'नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुईथरि ुस्कुल अफ थटु छन्। एउटा दृष्टिकोण छ( अर्थतन्त्र दवावमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर जाउँ। अर्को दृष्टिकोण छ( चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने अवसर पनि हुन्छ। त्यसैले नीति तथा कार्यक्रम र बजेटमार्फत् केही नयाँ गरौं। देशमा केही हुँदैन भन्ने भाष्य व्यवहारबाट चिरौँ। म चाहिँ केही नयाँ गरौँ भन्नेमा दृढ छु।' छलफलमा प्रधानमन्त्रीले सङ्कटको बेला राज्यले हस्तक्षेप गरेरै भए पनि अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्रीले भने, 'सङ्कटको बेला नै राज्य चाहिन्छ। राज्यप्रति जनताको विश्वास बढ्ने पनि यस्तै बेला हो। त्यसैले बजेटलाई नयाँपन दिउँ। सरकारले केही नयाँ गर्दैछ भन्ने कुरा जनताले प्रष्ट देखून्। उनीहरूमा सकारात्मक आशा जागोस्। जनतामा आशा जगाएर मात्रै हरेक देशले प्रगति गर्न सक्छ।' सो क्रममा राजश्व बढाउन नयाँ कार्ययोजनासहित अगाडि बढ्न पनि प्रधानमन्त्रीले निर्देशन दिए । उनले भने,'राजश्व संकलनलाई प्रभावकारी बनाउन जोड दिनुस्। राजश्वको दायरा बढाउने र चुहावट रोक्ने काममा केन्द्रित हुनुस्। पुँजीगत खर्चको सामर्थ्य बढाउन विशेष रूपले अग्रसर हुनुस्। पुँजीगत खर्च नबढ्नुको प्रमुख कारण खर्च गर्न नसक्ने र अनावश्यक ठाउँमा बजेट फस्नु हो। यसपटक निर्मम भएर आयोजनाको प्राथमिकीकरण गर्नुस्। राम्रो गरिरहेका योजनामा बजेट थपेर अनावश्यक ठाउँको बजेट घटाइदिनुस्।' आयोजनाहरूको प्राथमिकीकरणको काम व्यवस्थित गरेर मात्रै बजेटको व्यस्ता गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड थियो । उनले भने 'जुन आयोजनामा काम राम्रो भएको छ, खर्च गर्ने क्षमता पनि राम्रो छ, त्यस्तोलाई प्राथमिकता दिउँ। जहाँ केही काम भएको छ, त्यसलाई निरन्तरता दिउँ। जहाँ काम भएको छैन, त्यस्ता योजना हटाइदिउँ। बजेट मात्रै थुपार्ने तर कुनै परिणाम नदिने र अनावश्यक दायित्व मात्रै थप्ने योजना नराखौँ। त्यसरी हटाएका योजनामा जाने बजेट उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित गरौँ।'बैठकमा अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र दवावमै रहेकाले परिणाम दिने ठाउँमा लगानी केन्द्रित गर्दै अर्थतन्त्रलाई गति दिनुपर्ने बताए। छलफलमा अर्थमन्त्री पुन, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, राष्ट्रिय वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरू, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका अधिकारीहरू सहभागी थिए ।

रास्वपाबाट रमेश खरेलले दिए राजीनामा

काठमाडौं । रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका छन्। गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट रास्वपामा आबद्ध भएका खरेलले बुधबारबाट लागू हुनेगरी राजीनामा बुझाएका हुन्। खरेलले रास्वपा सभापति रवि लामिछाने नयाँ सत्ता गठबन्धनबाट उपप्रधान तथा गृहमन्त्री बन्न नहुने तर्क गरेका थिए। केही समयअघि उनले सहकारी ठगीको आरोप लागेका सभापति लामिछानेले स्वार्थ बाझिने मन्त्रालय लिनु नहुने भन्दै आलोचना गरेका थिए। लगत्तै यसबारेमा उनलाई पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको महामन्त्री डाक्टर मुकुल ढकालले बताए। महामन्त्री ढकालले भने, ‘उहाँले अंग्रेजीमा राजीनामा पत्र लेखेर पठाउनुभएको छ।’ गहन विचारपछि आफू राजीनामाको निष्कर्षमा पुगेको खरेलले राजीनामा पत्रमा लेखेका छन् । राजीनामा पत्रमा खरेलले भनेका छन्, ‘तुरून्तै लागू हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैले आधिकारिक रूपमा राजीनामा लेखिरहेको छु। गहन रूपमा विचार गरेपछि म पार्टीबाट अलग हुने समय आइपुगेको निर्णयमा पुगेँ। अवसर र अनुभवको मौका दिएकोमा रास्वपाप्रति आभार व्यक्त गर्दछु ।’  पछिल्लो घटनाक्रम, पार्टीको नीति र सिद्धान्तहरूसँग आफ्नो विचार र प्राथमिकता मिल्न नसकेको उनले राजिनामापत्रमा उल्लेख गरेका छन् । गत उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका खरेल जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।

प्रदेशमा पनि नयाँ समीकरणलाई समर्थन गर्ने नाउपाको निर्णय

 धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले एमाले–माओवादी र रास्वपासहितको नयाँ समीकरणलाई प्रदेशमा पनि समर्थन गर्ने निर्णय गरेको छ । बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ समीकरणलाई समर्थन गर्ने निर्णय गरेको हो । संस्थापक केन्द्रीय सदस्य रमेश बिकले सबै तहको सरकारमा सत्ता समीकरणलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार २१ जनाको केन्द्रीय सदस्य रहेकोमा आजको बैठकमा १२ जना सहभागी थिए । प्राविधिक समस्याका कारण केही केन्द्रीय सदस्य बैठक सहभागी हुन नसकेको उनले बताए । नाउपाका संरक्षक रेशमलाल चौधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो । तर अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्ववासको मत दिन ह्ववीप लगाएकी थिइन् । सुदूरपश्चिम प्रदेशमा संरक्षक रेशमलाल चौधरीको जोडबलमा नाउपाका पाँच जना सांसद कांग्रेस नेतृत्वको सरकारमा मन्त्री बनेका छन् ।

राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन् । द्वन्द्व पीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्रीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए । “सरकारले चाहँदाचाहँदै पनि सङ्क्रमणकालिन न्याय टुङ्ग्याउन सकिएको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने  शक्ति पनि सक्रिय नै छन्, त्यसले गर्दा कतिपय समस्या भएको छ ।” उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको जानकारी दिए । द्वन्द्व पीडित परविारका सदस्यलाई रोजगारी उपलब्ध गराउन, द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्योपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्‍याएर स्थायी शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको बताए ।

गृहमन्त्री लामिछानेको स्पष्टीकरणः ‘सहकारी प्रकरणमा मेरो संलग्नता छैन’

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।  जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम बाहेक केही पनि नभएको बताए । उनले भने, ‘सहकारीमा जहाँ मेरो नाम छ भनिएको छ, नामबाहेक केही छैन । केवाईसी भरेको छैन, निवेदन दिएको छैन, ल्याप्चे छैन ।’  लामिछानेले यसको मुद्दा अदालतमा दर्ता भएको भएपनि आफु प्रतिवादी नभएको भन्दै बयानमा पनि आफ्नो नाम उल्लेख भएको जानकारी नभएको बताए । उनले आफू सरकारमा आउनुभन्दा पहिला नै कांग्रेस संलग्न सरकार भएको बेला आफ्नो नाम उल्लेख भएको पूरक जाहेरीलाई प्रहरीले सूचनाको रुपमा लिएको बताए ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादीको निर्णय

काठमाडौं । माओवादी केन्द्रले वैशाख १५ हुन लागेको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१)मा उम्मेदवारी दिने निर्णय गरेको छ। बुधबार बसेको पदाधिकारी बैठकमा उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दिने निर्णय गरेको भएपनि उम्मेवार छनोट भने भै नसकेको प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिए ।

पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ - 'प्रदेश भागबन्डा टुङ्गिएको छैन'

काठमाडौँ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले सत्ता समीकरणबिच प्रदेश सिट बाँडफाँट टुंग्गो लागिनसकेको बताएका छन् । बुधबार बसेको पदाधिकारी बैठकमा प्रदेश सिट बाँडफाँटमा दलहरूसँग छलफलमै रहेकाले निष्कर्षमा नपुगेको ब्रिफिङ गरेका हुन् । बैठकले वैशाख १५ हुन लागेको इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दिने निर्णय गरेको छ। माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बिहीबारसम्म सिट बाँडफाँटमा टुङ्गो लगाउने बताए। बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उनले भने– ‘प्रदेशको सिट बाँडफाँटमा कुनै निर्णय भएको छैन । अध्यक्षले बिहीबारसम्म टुङ्गो लाग्ने बताउनुभएको छ । यस सम्बन्धमा अर्को बैठकमा निर्णय हुन्छ ।’  

संसदका दुई समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्का दुईवटा समितिको बैठक आज बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।  राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ।  बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।