सुदूरपश्चिममा मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पर्सि २२ गते बिहीबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शाहले आज (मंगलबार) विहान विश्वासको मत लिने प्रस्ताव दर्ता प्रदेशसभा सचिवालयमा गराएका हुन् ।

लगतै प्रदेशसभा सचिवालयले बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिने सूचना निकालेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले बताए ।

वाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । वाग्मती प्रदेशका प्रमुख शर्माले नवनियुक्त मन्त्री आलेमगरलाई आजै पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री जम्कट्टेलले आउँदो एक साताभित्र मन्त्रिपरिषद् विस्तार एवं कार्यविभाजन गरिने बताए । शपथग्रहण समारोहमा मुख्यमन्त्री जम्कट्टेल, सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईं, मन्त्रीहरू, राजनीतिक दलका नेता र विभिन्न मन्त्रालयका सचिव सहभागी थिए । नवनियुक्त मन्त्री आलेमगर काठमाडौं क्षेत्र नम्बर–१० ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् । रासस

नाउपाका गण्डकी र बागमतीका अध्यक्ष पार्टीबाट निश्काशित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का गण्डकी र बाग्मतीका अध्यक्षहरु पार्टीबाट निश्कासनमा परेका छन् । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले दुई प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी हुन् । अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेको पत्र पठाएकी छन् । पत्रमा पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई कुटपिट तथा अभद्र व्यवहार गरेकोले निष्कासन गरिएको जनाइएको छ । सत्ता समीकरण नयाँ बनेसँगै पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीच विवाद बढेको छ । रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उनका पति संस्थापक रेशम त्यसको विपक्षमा छन् । यही विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा बैठक चल्दै गर्दा रेशम पक्षका नेताहरुले रन्जिता पक्षका नेताहरुमाथि कुटपिट गरेका थिए । कुटिएका मध्ये एक रमेशले सोमबार नै पत्रकार सम्मेलन गरी आफूहरुमाथि कुटपिट भएको र ज्यानको असुरक्षा बढेको बताएका थिए । रेशमले भने रञ्जिताकै कारण आफू आत्महत्याको तहमा पुगिसकेको भावनात्मक प्रतिक्रिया दिएका थिए ।

राष्ट्रियसभाका तीन समितिको बैठक बस्दै, यस्तो छ कायसूची

काठमाडौं। सङ्घीय संसद्को राष्ट्रिय सभा अन्तर्गतका तीन विषयगत समितिको बैठक आज बस्दै छ । मंगलबार विकास,आर्थिक मामिला तथा सुशासन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, रक्षा मन्त्रालयबाट भए गरेका कामकारबाही र भावी कार्यदिशाबारे समितिमा छलफल गर्दै छ।  यस्तै, रक्षा मन्त्रालयबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति र समस्या तथा रक्षा मन्त्रालयको समितिसँगको अपेक्षालगायतका विषय समितिले छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।  यस्तै, विकास,आर्थिक मामिला तथा सुशासन समितिले अर्थ मन्त्रालय,राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग आगामी बजेट २०८१ निर्माणका सम्बन्धमा पूर्व बजेट निर्माणबारे छलफल गर्दै छ ।  यस्तै, विधायन व्यवस्थापन समितिले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची उल्लेख गरेको छ । 

इलाम -२ मा माओवादीका उम्मेदवार धीरेन्द्र शर्मा

विराटनगर ।सत्तारुढ नेकपा माओवादी केन्द्रबाट इलाम क्षेत्र नं.२ मा धीरेन्द्र शर्मा तिम्सिना ‘रमण’ उम्मेदवार सिफारिस भएका छन्। माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिस गरेको हो।  उम्मेदवारका रूपमा एकल सिफारिस भएपछि आफूले चुनावको तयारी थालेको तिम्सिनाले बताएका छन् । २०७४ सालको चुनावमा उनी क्षेत्र नं.२ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।  हाल उनी पार्टीमा केन्द्रीय कमिटी सदस्य छन्। इलाम–२ मा नेकपा एमालेले स्व। नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू उम्मेदवार छन्।

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, उपनिर्वाचनका उम्मेदवार तय गरिने

काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।  सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकले इलाम–२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार तय गर्ने बताइएको छ ।  बैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकेको छ । 

समाजवादी मोर्चाले आज राष्ट्रिय सभागृहमा बृहत् अन्तरक्रिया गर्दै

काठमाडौँ । माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तरक्रिया गर्ने भएको छ ।दिउँसो १ बजे राष्ट्रिय सभागृह भृकुटीमण्डपमा अन्तरक्रिया हुने मोर्चाका संयोजक एवम् नेपाल कम्युनिस्ट पार्टीका संयोजक नेत्रविक्रम चन्द विप्लवको सचिवालयले बताएको छ।  सचिवालयका अनुसार ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे अन्तरक्रिया कार्यक्रम राखिएको हो। कार्यक्रममा एमालेसहित मोर्चाका नेता तथा कार्यकर्ता र समाजवादी विचारमा आबद्ध सबै दलहरूलाई बोलाइएको छ। यसअघि चैत ३ गते गर्ने भनिएको अन्तरक्रिया सत्ता समीकरण बदलिएपछि स्थगित भएको थियो। मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा रहेका छन्। कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चार वटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । 

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ ।  बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।  यता उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रको प्रावधानमाथि सदनमा छलफल र अनुमोदनका लागि बैठकमा प्रस्ताव गर्नेछन् ।  त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

रेशम भन्छन्– 'धम्कि दिएको छैन, असुरक्षित त हामी छौँ'

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले आज बिहान बसेको केन्द्रीय समिति बैठकमा भएको विवादबारे भ्रामक प्रचार भएको दाबी गरेका छन्। केन्द्रीय समिति सदस्य रमेश विश्वकर्माले आफूलाई चौधरीको निर्देशनमा कुटपिट भएको भन्दै पत्रकार सम्मेलन गरेका थिए। सो लगत्तै रेशम चौधरीले पत्रकार सम्मेलन गरी चौधरीले केन्द्रीय कमिटी बैठकमा सरकारमा जाने नजाने विषयमा विवाद भएको तर आफुहरुले कुनै धम्कि नदिएको बताए ।  “यस्तो भ्रामक कुरा बोल्नुनपर्ने । पार्टीको मिटिङमा त अरू साथीहरू पनि थिए । उहाँसँग पत्रकार सम्मेलनमा बस्ने साथी पनि पार्टीको मिटिङमा थिए । नभएको कुरा गर्नुहुँदैन भनेर स्टाटस लेखेको हो,” उनले भने ।“असुरक्षित त हामी छौँ । धम्की दिएर उहाँहरू जानुभएको छ,” उनले भने । 

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सरकारलाई ५६ सांसदको समर्थन चाहिएकोमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै मत पाएका हुन् ।  उनले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन्।  सोमबारको प्रदेशसभा बैठकमा भएको मतविभाजनमा उनको पक्षमा ५६ मत पर्‍यो । विपक्षमा ३७ र तटस्थ १५ सांसद रहे । बैठकमा १०८ सांसद उपस्थित थिए । वाग्मती प्रदेशसभामा ११० सांसद छन् ।  उनलाई माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी (हानेपा)ले विश्वासको पक्षमा मत दिएका थिए । हानेपाका दुई सांसदमध्ये सरिता खड्गी भने अनुपस्थित रहिन् ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जम्कट्टेलको विपक्षमा मतदान गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद भने तटस्थ रहे । माओवादी संसदीय दलका नेता जम्कट्टेल ०७९ पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले यसअघि ०७९ माघ ३ गते र सोही वर्षको चैत १० गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।

रेशम चौधरीको धम्की -'सुदूरपश्चिम सरकार ढले नागरिक उन्मुक्तिका नेताको हत्या हुन सक्छ!'

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका पार्टीका संस्थापक रेशमलाल चौधरीले सुदूरपश्चिम सरकार ढले नागरिक उन्मुक्तिका नेताको हत्या समेत हुन सक्ने धम्कि दिएको उनकै पार्टीका केन्द्रीय सदस्यले बताएका छन् ।सो पार्टीका केन्द्रीय सदस्य समेत रहेका रमेश विश्वकर्माले चौधरीले आफूमाथि आक्रमण गरेको बताउँदै सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन् । पत्रकार सम्मेलनमा टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु, टीकापुर–४ का वडाध्यक्ष लालवीर चौधरी र टीकापुर–५ का वडाध्यक्ष बलवीर चौधरी समेत सहभागी थिए । “अनौपचारिक कुरा हुने क्रममा एउटा ढोकामा मात्रै चुकुल लगाइएको थिएन । त्यो घरबाट बाहिर निस्कने मेन ढोकामा बाहिरबाट बन्द गरेर ममाथि भौतिक आक्रमण भयो,” उनले पत्रकार सम्मेलनमा भने। सोमबार बिहान ८ बजे अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीले संस्थापक केन्द्रीय समितिको बैठक बोलाएकी थिइन् । बैठकअघि अनौपचारिक कुराकानीका क्रममा विवाद हुँदा आक्रमण गरिएको विश्वकर्माले बताए । सरकारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न आफूहरू बालुवाटार जाने भनेपछि रेशमलालले पिट्ने चेतावनी दिएको उनले सुनाए । “आज प्रधानमन्त्रीलाई भेट्न जाने हो भन्दा यदि तिमीहरु बालुवाटार गयौ भने बालुवाटारबाहिरै पिट्छौँ भन्नुभयो । त्यसो भन्दा हामीले विरोध गर्‍यौँ,” उनले भने । सोही क्रममा रेशमलालले प्रतिव्यक्ति २५ हजार रुपैयाँ लिएर केन्द्रीय सदस्य बनाएको विषय उठाउँदा कुटपिट गरिएको उनको भनाइ छ । “यहाँभन्दा पहिले २५ हजार लिएर केन्द्रीय सदस्य बाँडेको छ । तर, निर्वाचन आयोगमा अद्यावधिक गर्न जानु भएन । त्यहाँ पार्टी चुक्यो कि चुकेन भन्ने जवाफ कसले दिने भन्ने प्रश्न उठाएपछि ममाथि, केही केटा कसरी आए थाहा भएन । भौतिक आक्रमण गरे,” उनले भने । विश्वकर्माले लालवीर र बलवीरले आफूलाई जोगाएको बताए ।हिजो (आइतबार)पनि रेशमलालले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सरकार ढले हत्या गर्ने चेतावनी दिएकाले आफूले असुरक्षित महसुस गरेको उनले उल्लेख गरे । “हिजो हामी रेशम दाइलाई पार्टी कार्यालयमा भेट्न जाँदा त्यो मिटिङमा म, टीकापुर नगरपालिकाका मेयर साप, वडा नम्बर–४ र वडा–५ का अध्यक्षज्यू संयुक्त रूपले बसेका थियौँ । उहाँ (रेशमलाल चौधरी)ले सिधै के भन्नुभयो भने– यदि, सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमीहरु चारैजनाको हत्या पनि हुनसक्छ भनेको हुनाले आज भौतिक आक्रमण हुँदा असुरक्षित छु कि भन्ने फिल गरेर पत्रकार सम्मेलन गर्न आइपुगेको हुँ,” विश्वकर्माले भने । त्यस विषयमा रेशमलालले सोमबार माफी भने मागेको उनले बताए। अध्यक्षसहित २० केन्द्रीय सदस्यमाथि कुटपिट, दुर्घटना वा केही भएमा त्यसको जिम्मेवारी चौधरीले लिनुपर्ने उनले बताए । हत्याको विषयलाई गम्भीर रूपमा लिन उनले पत्रकार सम्मेलनमार्फत गृहमन्त्रीको ध्यानाकर्षण समेत गराए ।

भोलि समाजवादी मोर्चाले काठमाडौंमा अन्तरक्रिया

काठमाडौं । समाजवादी मोर्चाले भोलि वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।राष्ट्रिय सभागृहमा समाजवादी मोर्चाले नेपाली विशेषताको समाजवाद निर्माणबारे वृहत् अन्तरक्रिया कार्यक्रममा गर्न लागेको हो। कार्यक्रम मङ्गलवार दिनको एक बजे सुरु हुनेछ। समाजवादी मोर्चाको हिजो बसेको बैठकमा कार्यक्रमबारे छलफल भएको नेकपा प्रवक्ता प्रकाण्डले जानकारी दिए । मोर्चामा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा सहभागी छन्।

नागरिक उन्मुक्तिको कार्यालयमा कुटाकुट

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा नेताहरूबीच कुटाकुट भएको छ । काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार केन्द्रीय कमिटी बैठकअघि हात हालाहाल भएको हो । टीकापुर नगरपालिकाका मेयर समेत रहेका केन्द्रीय सदस्य रामलाल डगौरा थारुले रेशम चौधरीको उपस्थितिमा आफूमाथि आक्रमण गरिएको बताए।   पार्टीका अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीले बोलाएपछि टीकापुरबाट काठमाडौं मिटिङमा आएका पाँचजना संस्थापन सदस्य उपस्थित हुँदै गर्दा रेशमलाल कै उपस्थितिमा कुटपिट भएको रामलाल डगौरा थारुले जानकारी दिए । नागरिक उन्मुक्तिमा केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताका विषयमा विवाद छ । यस्तै, निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्षमा वैधानिकता नदिएपछि पार्टी नेताहरू विभाजित छन् । सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति सहभागी छ । रन्जीता केन्द्रीय गठबन्धनको पक्षमा छिन् । रेशम प्रदेशमा कांग्रेससँगको सहकार्यका पक्षमा छन् । यस्तो छ लफ्डाको कारण बैठकमा टिकापुरको जनता र पार्टीले लिएको नीति विपरीत अध्यक्ष रञ्जिता श्रेष्ठले कसैको लहैलहैमा आएर पार्टीभित्र गलत गतिविधि गरेको आरोप रेशम चौधरीले लगाएका थिए । सो आरोपपछि अध्यक्ष श्रेष्ठ आक्रोशित बन्न पुगेकी थिइन् । अध्यक्ष श्रेष्ठ आक्रोशित भएपछि त्यहाँ भनाभनको अवस्था निम्तिनुका साथै हात हालाहाल समेतको स्थिति आएको हो।  अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका एक नेताले भने, ‘रेशमजी र उहाँका बुवाले अध्यक्ष रञ्जितामाथि आरोप लगाउन थालेपछि भनाभनको स्थिति उत्पन्न भएको थियो, त्यसपछि दीप तामाङ र राजन गुरुङले झम्टिएर रमेश विक र रामलाल डगौरामाथि हातपात गर्नुभयो ।’ दीप तामाङ नाउपा बागमती प्रदेशका प्रमुख हुन् भने राजन गुरुङ केन्द्रीय पदाधिकारी तथा गण्डकी प्रदेशका नेता हुन् । उनीहरू रेशम चौधरी पक्षका नेता हुन् । रञ्जिता पक्षका रामलाल डगौरा टिकापुर नगरपालिकाका मेयर हुन् भने रमेश विक रञ्जिता श्रेष्ठका स्वकीय सचिव हुन् ।

क्रान्तिकारीका नेतालाई सांघातिक हमला गर्ने अखिलका दुई कार्यकर्ता नियन्त्रणमा

काठमाडौँ । लैनचौरस्थित अस्कल क्याम्पसमा झगडा गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गणेश शाही र पंकज पाण्डेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । पक्राउ पर्नेहरु एमाले निकट अखिलका कार्यकर्ताहरू हुन् । उनीहरूको आक्रमणबाट माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अस्कल इकाई अध्यक्ष जितेन्द्र भण्डारी र उपाध्यक्ष विश्राम शर्मा घाइते भएका छन् । भलिबल खेल्दा विवाद भएपछि आरोपीहरूले आक्रमण गरेको बताइएको छ । उनीहरुलाई सामान्य चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।भण्डारीको मुख र नाकमा चोट लागेको छ भने शर्माको बाँया हातको बुढी औंलामा चोट लागेको छ । उनीहरुमाथि कुटपिट गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी नियन्त्रणमा रहनेहरुमा अनेरास्ववियु अस्कल क्याम्पस इकाइ कमिटी अध्यक्ष पंकज पाण्डे र अस्कल इकाइ कमिटीका सदस्य गणेश शाही रहेका छन् । शाही जुम्लाका हुन् भने पाण्डे कन्चनपुरका हुन् । उनीहरु दुवै जना क्याम्पसकै होस्टलमा बस्दै आएको प्रहरीले बताएको छ ।  अखिल क्रान्तिकारीका बागमति प्रदेश अध्यक्ष सञ्जिव रेग्मीले अनेरास्ववियूको राजनीतिक संरक्षणमा आपराधिक पृष्ठभूमिका कमलराज जोशीको योजनामा आइतवार साँझ पंकज पाण्डेको नेतृत्वमा १०/१५ जनाको समुहले ज्यान मार्ने नियतले सांघातिक आक्रमण गरेको आरोप लगाएका छन् ।  सांघातिक आक्रमणबाट अमृत साइन्स क्याम्पस क्रान्तिकारीका अध्यक्ष कमरेड जितेन्द्र भण्डारी र उपाध्यक्ष कमरेड विश्राम शर्मा गम्भिर घाइते बनेको उनले जानकारी दिए । यस्ता आपराधिक घटना हुँदा राज्यका निकायहरु मुकदर्शक बनेर बस्नु आफैमा रहस्यमयी रहेको बताउँदै उनले सो घटनाप्रति घोर आपत्ति जनाएका छन्।  उनले घटनाका योजनाकार जोशी र घटनामा संलग्न अन्य अभियुक्तहरु पाण्डे सहितको आपराधिक गिरोहलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन माग समेत गरेका छन् । आइतबार साँझ भलिबल खेल्ने क्रममा विवाद हुँदा उनीहरुबीच झडप भएको प्रहरीको भनाई छ ।कुटपिट गरेको आरोप लागेका खेम सिंह फरार रहेको पाइएको छ ।

बाग्मतीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको पक्षमा विश्वासको मत दिने भएको छ । यथास्थितिमा विश्वासको पक्षमा नउभिने बताउँदै आएको एकीकृत समाजवादीले केन्द्रमा शीर्ष नेताहरूबीचको सहमतिअनुसार विश्वासको मत दिने भएको हो ।  एकीकृत समाजवादीले एउटा प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने माग राख्दै आएको छ । उसले वाग्मतीको मुख्यमन्त्रीमा दाबी गरेको थियो । नेपाली कांग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै छन् ।  सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई प्रदेशसभाका ५६ सदस्यको मत आवश्यक पर्छ । प्रदेशसभामा नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, नेकपा (एकीकृत समाजवादी)का सात, हाम्रो नेपाली पार्टीका दुई, कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका तीन सदस्य छन् । मुख्यमन्त्री जम्कट्टेलले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । 

संसदीय छानविन समिति बनाउन कांग्रेसको माग कायमै

काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी समस्या छानवीनका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहो¥याएकी छन्। संसदीय समिति बनाउने प्रतिपक्ष दल काँग्रेसको मागलाई सहजतापूर्वक स्वीकार गर्न सबै दलहरुलाई उनले आग्रह गरिन् । सोमबार प्रतिनिधि सभा बैठकमा समय माग गेर उनले सरकारले सहकारी ठगहरुको पक्षमा वकालत गरेको आरोप समेत लगाइन् । उनले सरकारले सहकारी पीडितहरुलाई न्याय दिनुभन्दा पनि सहकारी ठगहरुको पक्षमा वकालत गरेको बताइन ।  उनले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगको संज्ञा दिँदै प्रधानमन्त्रीले संसदमा उभिएरै गृहमन्त्रीको पक्षमा न्यायाधीश जसरी फैसला सुनाएको आरोप लगाइन्। उनले प्रधानमन्त्री कार्यकारी पनि आफैँ र न्यायालय पनि आफैँ भएर प्रस्तुत भएको टिप्पणी गरिन्।  सांसद गौतमले गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिएको उल्लेख गर्दै उजुरी ताम्रपत्र वा स्वर्णपत्रमा लेख्ने चलन नभएको व्यङ्गय गरिन् । उनले सत्ता गठबन्धनका नेताहरु सहयात्री दलका नेतालाई गुमाउनुपर्छ भनेर त्रासमा रहेको आरोप लगाउँदै सरकार टिकाउनका लागि गृहमन्त्रीमाथि सहकारी प्रकरणमा अनुसन्धान नभएको उनको भनाइ छ ।