महतोका कार्यकर्ता निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि....

काठमाडौं । भद्रकाली क्षेत्रमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति आन्दोलनका कार्यकर्ताले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरी र प्रर्दशनकारीबीच झडप भएको छ। 

राष्ट्रिय मुक्ति आन्दोलनको उपत्यका विशेष ष्रदेश घोषणापछि भद्रकाली क्षेत्रमा ब्यानरसहित महतोको नेतृत्वमा जनप्रदर्शन गरेको थियो। 

त्यसक्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन्।  

बोगटीको अभाव महशुस भइरहन्छ :  प्रचण्ड

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधै अभाव महशुस हुने गरेको बताएका छन् । शनिबार बिहान पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा तथा स्मृति दिवसमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताए। कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘‘पोष्टबहादुर बोगटी एक जना इमान्दार नेता हुनुहुन्थ्यो, यहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ। उहाँ एक जना सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो।’’ बैठकमा प्रधानमन्त्री प्रचण्डले बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महशुस हुने गरेको स्मरण गरेका थिए। उहाँले भन्नुभयो, ‘‘अप्ठ्यारो परेको बेला उहाँले समन्वय गर्नुहुन्थ्यो। पार्टीमा उहाँको अभाव खड्किरहन्छ।’’

माओवादी केन्द्रबाट राष्ट्रियसभाको मुख्य सचेतकमा गोपी अछामी

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा सत्ता पक्षको मुख्य सचेतकमा गोपीबहादुर सार्की अछामीमा नियुक्त गरेको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को दफा २ (ज) बमोजिम संघीय संसद, राष्ट्रिय सभामा सत्ता पक्षको मुख्य सचेतकमा मनोनित गरेका हुन् ।

इलाममा सुहाङ्गलाई निर्वाचित गराउन एमाले-माओवादीको संयुक्त अपिल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले इलाम–२ मा एमालेका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गरेको छ । दुवै पार्टीका जिल्ला संयोजकले एक विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रले गरेको निर्णयलाई औपचारिकता दिनुका साथै साझा उम्मेदवार सुहाङ्ग नेम्बाङ्गलाई निर्वाचित गराउन अपिल गरेका छन् । जारी विज्ञप्तिमा भनिएको छ– 'आगामी २०८१ वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं.२ प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच नेकपा एमाले केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएकोले इलाम – २ मा नेकपा एमालेको उम्मेदवार  सुहाङ्ग नेम्बाङ्गलाई साझा उम्मेदवारको रूपमा अत्यधिक बहुमतका साथ विजयी गराउनका लागि इलाम २ का आम मतदाता, शुभेच्छुक, समर्थक आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछौँ ।' विज्ञप्तिमा माओवादी केन्द्रका जिल्ला संयोजक विजय खम्बु र नेकपा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले हस्ताक्षर गरेका छन् । 

आम जनता पार्टीले आज काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले दलतन्त्र र भ्रष्टाचारको विरुद्धमा आज काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ। जनप्रदर्शन पश्चात काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने सभालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विशेष सम्बोधन गर्ने आजपाले जनाएको छ । आजपा उपमहासचिव चन्द्रभुषण साहका अनुसार देशमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितता, लुटतन्त्रको विरुद्धमा जनप्रदर्शन हुन लागेको हो । देशमा व्यापक रुपमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितताको अन्त्य नभएसम्म विकास सम्भव नभएको बताउँदै उनले दलीय भ्रष्टाचारले देशको आर्थिक अवस्था कमजोर भएको बताए । आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहका अनुसार दलतन्त्रको ठेकदारहरूलाई खबरदारी गर्न, जनआन्दोलनका मुद्दाहरूको रक्षा गर्न, देशलाई बर्बाद गर्ने नेताहरूबाट जवाफ माग्न, देशलाई आर्थिक सङ्कटबाट बचाउन, काण्डैकाण्डका नाइकेहरूलाई कारवाही गराउन दबाब दिने उद्देश्यले जनप्रदर्शन गर्न लागिएको हो ।

आज उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिदै

काठमाडौं ।आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेश १ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने समय रहेको छ ।  उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची आयोगले आजै साँझ ६ बजे प्रकाशित गर्नेछ । यस्तै, आयोगले उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरेको छ । यसैगरी साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ । निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ । आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । इलाम–२ मा को को बन्दै छन् उम्मेदवार  उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट इलाम–२ मा डम्बर खड्का, एमालेबाट सुहाङ नेम्वाङ, रास्वपाबाट मिलन लिम्बु, एकीकृत समाजवादीबाट जितबहादुर राई उम्मेदवार बन्दै छन् । यस्तै, पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवारका रुपमा डकेन्द्र थेगिम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश चौहान र जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप)ले उम्मेदवारी दिँदै छन् । इलाम–२ मा नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार सुहाङलाई समर्थन गर्ने जनाइसकेको छ । मतदान स्थल र मतदान केन्द्र निर्वाचन आयोगले उपनिर्वाचनका लागि इलाम–२ मा ७९ वटा मतदान स्थल र १४९ मतदान केन्द्र निर्धारण गरेको छ । बझाङ प्रदेश सभा १ मा कोको बन्दै छन् उम्मेदवार  नेपाली कांग्रेसले बझाङ प्रदेश सभा १ मा पृथ्वीबहादुर सिंहकै छोरा अभिषेकलाई उम्मेदवार बनाएको छ ।त्यसैगरी एमालेबाट जिल्ला अध्यक्ष दमन भण्डारी, माओवादी केन्द्रबाट जनक बुढा, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जनता समाजवादी पार्टीबाट  पार्टीका सङ्घीय परिषद् सदस्य रामबहादुर जाग्री उम्मेवारको रुपमा मैदानमा रहेका छन् । मतदान स्थल र मतदान केन्द्र बझाङ प्रदेश १ मा आयोगले ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकेको छ ।

पार्टीमा अझै २० वर्षजति अरू कसैले आस नगर्नू : केपी ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा २० वर्षजति अरू कसैले आस नगरे पनि हुने बताएका छन् ।एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा शुक्रवार ओलीले २० वर्षजति अरू कसैले आस नगरे पनि हुने बताएका हुन् । सम्बोधनका क्रममा उनले भने ‘कसैले एमालेबिनाको नेपाल भने कठै बरै । माया लाग्छ एमालेबिनाको नेपाल । कसैले केपी ओलीबिनाको एमाले भने दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला । मैले पोहोर परार भनेको थिए । जुँगा कालाकाला भएका छन् । मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफैले पलाउन थालेको छ । अस्ति नै मैले भने २० वर्षजति अरू कसैले आस नगरे पनि हुन्छ ।’ उनले एमाले र देशलाई ठिक बाटोमा बढाएपछि मात्रै चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउने बताए ।‘नेकपा एमाले र यस देशलाई ठिक बाटोमा बढाएर, यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर अनि मात्रै नेकपा एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ,’ उनले भने, ‘अहिले हामीलाई समय छैन । हामी व्यस्त छौँ ।’

आयोजना र कार्यक्रम तर्जुमा गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा जोड

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रमा भएको सत्ता समीकरण फेरबदलले स्थानीय सरकारका कामकारवाही र सेवा प्रवाहमा कुनै असर नपर्ने बताउनुभएको छ ।  गोरखा जिल्लाका कार्यालय प्रमुखहरूलाई निर्देशनक दिने क्रममा प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारका प्रमुखलाई ढुक्क भएर जनताका काम गर्न निर्देशन दिए। जिल्लामा रहेका सङ्घीय र प्रादेशिक कार्यालयहरूले आयोजना र कार्यक्रम तर्जुमा गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले आयोजनामा देखिने दोहोरोपन अवस्था हटाउनुपर्नेमा जोड दिए ।  प्रधानमन्त्री प्रचण्डले भने, “केन्द्र र प्रदेश आयोजना छनोट गर्दा स्थानीय सरकारको सिफारिस लिने र सोको अभिलेख स्थानीय सरकारसँग रहनेगरी समन्वय गर्नुहोला ।” स्थानीय सरकारले कानुनबमोजिम अधिकार प्रयोग गर्दा कर लगायत जनतासँग प्रत्यक्ष सम्बन्ध रहने विषयहरूमा सबै पालिकाले सकेसम्म समान धारणा बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले स्थानीय निकायबीच पनि आवश्यक समन्वय हुनुपर्ने बताए ।  कार्यालयमा भेटेर आफ्ना गुनासो सुनाउने जनताको अधिकार भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सम्भव भएसम्म कार्यालय प्रमुखहरूले जनताका गुनासा सुन्नुपर्छ, जनताका लागि कार्यालय प्रमुखले सधैँ ढोका खुला राख्नुपर्छ भने ।  शान्ति सुरक्षाका कामलाई थप प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिँदै उनले सुरक्षा संवदेशनशीलताका आधारमा सम्भावित परिस्थितीको आंकलन गरी काम गर्न निर्देशन दिए ।

लुम्बिनीमा बने माओवादीका महरा मुख्यमन्त्री

रूपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचननले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ । उनको शपथ भने आइतबारमात्रै गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

उपनिर्वाचनका लागि मतदान स्थल तोकियो

काठमाडौं । निर्वाचन आयोगले इलाम २ को प्रतिनिधिसभा र बझाङ १ को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन् भने बझाङ १ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ ।

समयसापेक्ष पाठ्यक्रम लागु गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १४ औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनः संरचना, भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले भने, “विश्वविद्यालयले अवलम्बन गरेका शैक्षिक उत्कृष्टता, आर्थिक बृद्धि, पाठ्यक्रम पुनःसंरचना, अन्तर्राष्ट्रिय सम्बन्ध तथा आदान–प्रदान र पूर्वाधार विकाससम्बन्धी मार्गनिर्देशक सिद्धान्त, नीति तथा कार्यक्रमहरू समेत सराहनीय छन् ।” विश्वविद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलापहरू पूर्व निर्धारित शैक्षिक पात्रोअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्ने नीति लिनु सुधारको पाटो भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक पात्रोअनुसार परीक्षा लिने तथा निर्धारित समयभित्र नतिजा प्रकाशन गर्ने नीति कार्यान्वयनमा सरकारले सहयोग गर्ने विश्वास दिलाए । उनले परिवर्तनशील वैश्विक परिवेश एवं राष्ट्रिय, क्षेत्रीय र स्थानीय विकासका नीति तथा अवधारणा र श्रम बजारको मागअनुसार विश्वविद्यालयका सम्पूर्ण शैक्षिक कार्यक्रम तथा पाठ्यक्रमलाई थप प्राथमिकता दिन सुझाव दिए । प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका विभिन्न प्रयोगशालाबाट उत्पादित वस्तु, सेवा र सूचनाहरूको बजारीकरण र बिक्री वितरणमा आवश्यक पर्ने राष्ट्रिय नीति तथा कानुन निर्माणमा नेपाल सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।  संविधानबाट निर्दिष्ट गणतान्त्रिक राज्यव्यवस्थाले अनुसरण गरेको सुशासन र  सामाजिक न्यायको सिद्घान्तमा आधारित समाजवादउन्मूख शैक्षिक नीति, रणनीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न उत्प्रेरित गर्दै देशको समृद्धिमा टेवा पुर्‍याउन विश्वविद्यालयले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले कृषि तथा वन विज्ञानका क्षेत्रमा कर्णाली प्रदेश र समग्र नेपालकै भौगोलिक, सामाजिक एवं आर्थिक अवस्थालाई मध्यनजर गर्दै जल, जमिन, जङ्गल, जडीबुटी र जनशक्तिमा आधारित शैक्षिक, व्यावसायिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले आधुनिक र रैथाने कृषि प्रणाली र ज्ञान–सीपको संयोजन गरी विभिन्न कार्यक्रम र परियोजनाहरू सञ्चालनमा आउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक विविधता र प्राकृतिक स्रोत–साधनले सम्पन्न तर भौतिक पूर्वाधार विकास, औद्योगिकीकरण तथा मानव विकासका सूचकाङ्कमा पछाडि परेको कर्णाली प्रदेशमा स्थापित मध्यपश्चिम विश्वविद्यालयले आफ्नो स्थापनाको छोटो समयमै प्राज्ञिक उन्नयन, भौतिक विकास, सूचना प्रविधि सहितको कार्यप्रणाली विकासमा गरेको योगदान महत्त्वपूर्ण रहेको बताए ।

स्याङ्जाको एमाले अधिबेशनः लडाइ पृथ्वी, पद्मा र खगराजको

पोखरा । नेकपा एमाले स्याङ्जाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै छ । नवौँ अधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।  अधिवेशनमा नेताहरूले आफू अनुकूलको जिल्ला नेतृत्व बनाउने प्रयासमा जुटेका छन् । एमाले नेताहरु पृथ्वीसुब्बा गुरुङ, पद्मा कुमारी अर्याल खगराज अधिकारी लगायतका नेताहरूले आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् ।  आफ्नो गृहजिल्ला भएकोले एमाले सचिव पद्माकुमारी अर्यालको प्रयास बढ्दो देखिएको छ । अगिल्लो अधिबेशनमा नारायण मरासिनी विरुद्ध चर्को मोर्चा कसेर सुर्यप्रसाद गैरे ‘पारस’ लाई अध्यक्ष बनाएकी अर्यालले यो पटक मरासिनीको सहयोगमा सचिव राजेन्द्र डुम्रेलाई अध्यक्ष बनाउने योजनामा छन् । अगिल्लो पटक पारस विरुद्ध लागेका पृथ्वीसुब्बा भने पटक पारसलाई अध्यक्ष बनाउने कसरतमा छन् । पूर्व माओवादी नेता रहेका पारसलाई अध्यक्ष बनाउने अभियानमा स्याङ्जा एमालेको ठुलो समूह सक्रिय छ । मीन प्रसाद गुरुङ, मोहन रेग्मी, सिमाकुमारी क्षेत्री, विश्व पौडेल, सुर्य कुवर, विश्वनाथ अर्याल, खिम बहादुर थापा, राजु कोईराला, याम बहादुर कुंवर, उदय श्रेष्ठ, आनन्द पाठक लगायत जिल्लाका प्रभावशाली नेताहरू गैरेको पक्षमा देखिएका छन् ।  राजेन्द्रको पक्षमा सिता सुन्दास, कृष्ण खांण, घनश्याम सुवेदी, लक्ष्मिपति पौडेल, मोहन खनाल लगायतका नेताहरू देखिएका छन् ।  हरिनास गाउँपालिकाका अध्यक्ष खिम बहादुर मानन्धर, गल्याङ नगरपालिकाका पुर्व मेयर भुपराज अधिकारी, पुन्य अर्याल, शोभाकान्त पौडेल लगायतका नेताहरू भने सकेसम्म मिलाएर जाने नत्र अन्तिम सम्म किता सोझ्याउने रणनीतिमा छन् । यस अगाडि अध्यक्ष र सचिवका लागि एउटै टिमबाट चुनाव जितेका पारस र राजेन्द्र यो पटक फरकफरक टिमबाट चुनाव लड्ने परिस्थिति बनेको छ ।  यस्तो परिस्थिति बनाउन केन्द्रीय सचिवहरु पृथ्वीसुब्बा र पद्मा कुमारीको हात रहेको स्थानीय एमाले नेताहरुको गुनासो छ । आफ्नो व्यक्तिगत उपस्थिति कमजोर देखिएको स्याङ्जामा खगराज अधिकारीले अर्याललाई सहयोग गर्ने तयारीमा छन् । स्याङ्जा एमालेका कुनै बेलाका हस्तीहरु चक्र बहादुर पराजुली, मोहन रेग्मी र नारायण मरासिनीहरु भने निर्विरोध अध्यक्ष बने नेतृत्व गर्ने मनसायमा देखिन्छन् । यी ३ जनालाई पृथ्वीसुब्बा, खगराज र पद्मा कुमारीले नेतृत्व सुम्पिने सम्भावना नदेखिएको स्थानीय एमालेका जानकारहरु बताउँछन् ।  खगराज समुहले राजेन्द्र लाई जिताउने सुनिश्चित नदेखेमा नारायण मरासिनीलाई अगाडि सारेर पुर्व मरासिनी समुहको मत खिच्ने र पारस गैरेलाई कमजोर बनाउने मनस्थितिमा रहेको छ ।  यद्यपि स्याङ्जा एमालेमा पारस र राजेन्द्र दुवै अध्यक्ष र सचिव रहदा कार्यकर्ता पंक्तिमा भने नेतृत्व दिन नसकेको, फोन नउठाएको, समस्या पर्दा नआएको गुनासो पनि चर्को रहेको छ । एमालेका पुराना नेताहरु पारस र राजेन्द्र दुबै एउटै टिमबाट अध्यक्ष सचिव बनेका आशालाग्दा युवाहरूबाट समेत स्याङ्जा एमाले अपेक्षित ढंगले सुधार्न नसकेको टिप्पणी गर्छन् । स्याङ्जा एमालेमा नेताहरु पुतलीबजारका अनन्त कुमार श्रेष्ठ, अमृत श्रेष्ठ र भिरकोटका विश्वनाथ अर्यालले सचिव बन्ने तयारीमा देखिन्छन् । हरिनास गाउँपालिकाका अध्यक्ष समेत रहेका खिमनारायण मानन्धर भने उपसचिवको दाउमा छन् ।  कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा गण्डकी प्रदेशमा पृथ्वीसुब्बाका प्रिय मान्छे हुदा पारसलाई जिताउने पक्षमा छन् ।  एमालेको जिल्ला अधिवेशनमा निर्णायक भुमिका आँधिखोलाका गाउँपालिकाका अध्यक्ष सुधिर पौडेलले राख्ने धेरैको विश्वास छ ।  जनप्रतिनिधि पार्टी नेतृत्वमा आउन नपाउने रणनीति भएका कारण सुधिर पौडेल, विश्व पौडेल, खिम बहादुर थापा, घनश्याम सुवेदी, कृष्ण खाण लगायत जनप्रतिनिधिलाई पार्टी नेतृत्वको बन्देज छ । आज एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिबेशन उद्घाटन गरे पछि चुनावी तयारीमा स्याङ्जा  एमाले लाग्नेछ् । गण्डकीको सबै जसो जिल्लामा एमालेको गुटगत प्रतिस्पर्धा देखिन्छ । हालसम्म एमालेको म्याग्दी, गोरखा, कास्की र लमजुङको अधिवेशन सकिएको छ ।  स्याङ्जाको अधिवेशनले ५ पदाधिकारी सहित १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । अधिवेशनमा जिल्लाका ११ पालिका सहित ९७ वडाका ६ सय ९ जना प्रतिनिधि चयन भएका छन्।

संसदका पाँचवटा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गतका पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बस्दै छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, खानेपानी मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।  बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० मा विज्ञसँग छलफल हुनेछ ।  दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।  बिहान १० बजे बस्ने महिला तथा समाजिक मामिला समितिको बैठकमा बाल सुधार गृहहरूको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा मन्त्रालयले गरिरहेको काम कारबाहीका बारेमा छलफल हुनेछ ।  बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ ।

माओवादीका महरालाई लुम्बिनीको मुख्यमन्त्री बनाउने सहमति

तुलसीपुर । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्षका दलहरू सहमत भएका छन् । एमाले, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्कबहादुर बस्नेतले पाँच बुँदे सहमति गर्दै महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन् ।  लुम्बिनीमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने केन्द्रको सहमतिअनुसार प्रदेश सरकार निर्माणका लागि कसरत भइरहेको छ । ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद चाहिन्छ । लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० (सभामुख बाहेक), जनता समाजवादी पार्टीका तीन, एकीकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपा संसदीय दलका दलनेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद बस्नेतले हस्ताक्षर गरी पाँच बुँदे समझदारी बनेको हो । सहमतिअनुसार राजनीतिक नियुक्तिहरू सरकारमा सहभागी सबै दलहरूको अपनत्व हुने गरी गर्नुपर्ने, प्रदेशका गौरवका योजना, प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश प्राविधिक विश्वविद्यालय, प्रदेश प्रहरी समायोजन र स्थानीय सेवा ऐन निर्माण गर्दा साझा प्राथमिकताका रुपमा कार्यान्वयन गर्ने, प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायतमा सबै दलको अपनत्व हुने गरी गर्ने सहमति भएको हो । 

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। उनले बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पेस गरेका हुन् ।  सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सांसद विभाजित भएर विश्वासको मत नपाउने देखिएपछि राजीनामा बुझाएका हुन् । आज विश्वासको मत लिने तयारी समेत गरेका थिए । शाह ०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

अब मन्त्रीहरूले प्रत्येक दिनको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई गर्नुपर्ने

काठमाडौँ । अब प्रत्येक दिन सबै मन्त्रीहरूले आफ्नो काम प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब प्रत्येक दिन सबै मन्त्रीहरूले आफूले दिनभरि गरेको काम बेलुका प्रधानमन्त्रीलाई ब्रिफिङ गराउनुपर्ने निर्णय आज चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट गरिएको बताएका छन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा बोल्दै आजकै क्याबिनेटबाट यो निर्णय गराएको जानकारी गराए। ‘आज मैले एउटा निर्णय पनि क्याबिनेटबाट गराएको छु। अब सबै मन्त्रीहरूले गरेको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई बेलुका गर्नुपर्ने, प्रत्येक दिन बेलुका दिनभरि गरेकामध्ये ठूलो र राम्रो काम प्रत्येक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भएपछि सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ। त्यसले सबै मन्त्री र सचिवहरूलाई काम गर्न तताउँछ। हामी बल गर्दैछौं।’समितिको बैठकमा प्रधानमन्त्रीले भनेका छन् ।