सहकारी ठगीसम्बन्धमा निष्पक्ष छानबिन गर्न कांग्रेसको ध्यानाकर्षण

काठमाडौं।प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीका सम्बन्धमा निष्पक्ष छानबिनको विश्वास दिलाउन सरकारसँग माग गरेको छ ।

आजको बैठक आरम्भ हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सो पार्टीका महामन्त्री गगनकुमार थापालाई बोल्न समय दिए। महामन्त्री थापाले सहकारी ठगीलगायत विभिन्न भ्रष्टाचारका प्रकरणमा जस्तोसुकै ठूला व्यक्ति भए पनि निष्पक्ष अनुसन्धान भई कानुनी कारबाही हुनुपर्नेमा जोड दिए। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीसम्बन्धी विवादमा मुछिएकाले रवि लामिछाने पदमा रहन उपयुक्त नहुने थापाको भनाइ थियो ।  

नेता थापाले उपप्रधानमन्त्री लामिछानेसमेत सूर्यदर्शन र सुप्रिम सहकारीको विवादमा तानिएकाले विवादको छानबिन नहुँदासम्म लामिछानेलाई मन्त्री बनाउन नहुने तर्क गरे। “उहाँ दोषी हो÷होइन हामीलाई थाहा छैन । भोलि छानबिनले प्रमाणित गर्ला तर जो आफैँ मुछिएको छ।उसले कसरी निष्पक्ष अनुसन्धान गर्छ भन्ने प्रश्न उठेको छ”, उनले भने, “सहकारीबाट ठगिएकाहरुको पैसा फिर्ता गराउन हामीले सहज वातावरण गर्नुपर्छ । त्यो वातावरण बनाउनेबारे हामीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ चाहिएको छ ।”

उनले सदन चलोस् भन्ने आफूहरुको चाहना भएको तर आफूहरुले उठाएको प्रश्नको जवाफ नआएकाले चिन्ता बढेको बताउँदै सुन तस्करीका घटनामा शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च रहेछ भन्न यसअघिका प्रतिपक्षका आरोप सही नहोस् भन्ने पनि ध्यानाकर्षण गराए।

महामन्त्री थापाले बोलेपछि सभामुख घिमिरेले सदनमा उठेका विषयमा सरकारको ध्यानाकर्षण भएको होला भन्ने विश्वास व्यक्त गर्दै आफ्नो पनि ध्यानाकर्षण भएको बताए।

एमाले कञ्चनपुरको पार्टी कार्यालयमा तालाबन्दी

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशनमा विवाद भएको छ ।  अधिबेशन लम्ब्याएर सहमतिको खाका तयार गरेपछि विवाद भएको हो । नेताहरूले सर्बसम्मत नेतृत्व चयन गर्ने भन्दै पदाधिकारीमा उम्मेदवारी दिएका सबैलाई आइतबार सामूहिक रूपमा उम्मेदवारी फिर्ता गराएका थिए । अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा गरेको अधिवेशन उद्घाटनमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । ओलीको निर्देशनअनुसार अध्यक्षमा हालका कार्यवाहक अध्यक्ष लक्ष्मी बुढा, उपाध्यक्षमा जनक अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिव अध्यक्षका आकांक्षी अशोक चन्द र राजीव खड्कालाई बनाउने सहमति भएको थियो । अध्यक्ष मण्डलले आज (सोमबार) पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । चन्दले  प्रतिनिधिको भावनाविपरीत सर्वसम्मतिको नाममा विधि, विधान मिचिएकाले तालाबन्दी गरेको दावी गरे ।  चन्द अघिल्लो अधिबेशनमा सर्वाधिक मत ल्याएर उपसचिवमा निर्वाचित भएका थिए । चन्दलाई उपाध्यक्ष बनाउनुपर्ने माग भएपनि अघिल्लो अधिवेशनमा तल्ला कमिटी सदस्यमा हारेका अवस्थीलाई बनाउन खोजिएको भन्दै विरोध भएको एक नेताले बताए ।

सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।  आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेश गर्ने, माननीय उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूची रहेको छ ।  त्यस्तै राष्ट्रिय सभाको दिउँसो सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।साथै कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन, अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ माथि छलफल र निर्णयार्थ प्रस्तुत, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल,  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा अर्थ मन्त्रीबाट जवाफ दिने कार्यसूची रहेको छ । 

राष्ट्रिय सभा विषयगत समिति सभापतिको निर्वाचन स्थगित

काठमाडौं । राष्ट्रिय सभा विषयगत समिति सभापतिको निर्वाचन स्थगित भएको छ । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएपछि आइतबार तय भएको निर्वाचन स्थगित हुन पुगेको राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले जानकारी दिए । बहालवाला सदस्यको निधनमा संघीय संसद्का सभा तथा समितिका कामकारबाही स्थगित गर्ने संसदीय अभ्यास रहेकाले समिति सभापतिको निर्वाचन स्थगित गरिएको सचिव अर्यालले जारी गरेको सूचनामा उल्लेख छ । अहिले दिगो विकास तथा सुशासन समितिको सभापति र राष्ट्रिय सरोकार तथा समन्वय समिति नेतृत्वविहीन छन् । दिगो विकास तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी कमला पन्त र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा एमालेका सोनाम ग्याल्जेन शेर्पाको मात्र उम्मेदवारी परेको छ ।  दुवै समितिको सभापतिका लागि शनिबार मनोनयन दर्ताको समय तोकिएको थियो भने आज आइतबार निर्वाचनको समय तय भएको थियो । एकल उम्मेदवारी परेकाले दुवै सर्वसम्मत सभापति चयन हुँदैछन् । स्थगित भएको निर्वाचन सोमबार हुने बताइएको छ ।

मुख्यमन्त्री नपाए दुवै गठबन्धनमा नलाग्ने लौरोको निर्णय

हेटौंडा । बागमती प्रदेशमा हाम्रो नेपाली पार्टी (लौरो) ले मुख्यमन्त्रीको दाबी गरेको छ । शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार जोगाउन निर्णायक मानिएको लौरोले आफुले नै मुख्यमन्त्री पाउनुपर्ने दावी गरेको हो । हिजो र आज बसेको पार्टीको बैठकले मुख्यमन्त्री नपाए कुनै पनि दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलाग्ने निर्णय पनि गरेको पार्टी प्रवक्ता ई रोहन कार्कीले जानकारी दिए । ‘कुनै गठबन्धनमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गभएको छ । लोकतान्त्रिक पद्धति र जनताको विश्वासलाई कायम राख्न बागमती प्रदेश सरकारको नेतृत्व गर्नका लागि हाम्रो नेपाली पार्टी तयार छ’, उनले भने । प्रवक्ता कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा  भनिएको छ, ‘आम नागरिकले देख्न चाहेको जस्तो वास्तविक नयाँ दलका रूपमा अग्लो भएर उभिनेछौं । नो नट अगेन भनेकाहरूलाई नै काँध हालेर अर्को त्यस्तै प्रवृतिलाई बागमती प्रदेश सरकारको शिरमा राख्न हामी हाम्रो काँध प्रयोग हुन दिने छैनौं तर लोकतान्त्रिक र नयाँ चरित्रकारूपमा हामीलाई नेतृत्व दिएर सुशासन र पारदर्शीतासहितको नयाँ बाटो हिँड्न चाहेमा हामी सबै पार्टीहरूसँग सहकार्य गरेर प्रदेश सरकारको नेतृत्वदायी भूमिका अपनाउन सक्षम छौं । यसमा पछि हट्ने छैनौं’, उल्लेख छ । सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले आफ्ना ६ जना मन्त्रीहरूलाई बोलाएसँगै एमाले–माओवादी–नेकपा एससहितको गठबन्धन अल्पमत परेको छ । यससँगै वाग्मतीमा लौरो निर्णायक मानिएको छ । केन्द्रीय गठबन्धनमा भएका दलमध्ये बागमती प्रदेशसभामा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको मात्र सहभागिता रहेको छ । तर, यी दलको मात्र बहुमत पुग्दैन । ११० सांसद रहेको बागमतीमा सरकार गठनको लागि ५६ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । यहाँ नयाँ गठबन्धसँग एमालेका २७, माओवादी केन्द्रका २१ र नेकपा एसका ७ गरी ५५ जनामात्र छन् । हानेपाबाट वाग्मतीमा शैलेन्द्र बज्राचार्य र सरिता खड्गी २ जना सांसद छन् । मुख्यमन्त्रीनिकट स्रोतकाअनुसार दुवैजनालाई मन्त्रीको अफर गरिसकिएको छ । यहाँ कांग्रेसका ३७, राप्रपाका १२ र नेकपा एसका ७ सांसद छन् ।

रास्वपाले परिवादबादलाई निषेध गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक नियुक्तिमा परिवारवाद निषेध गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको रास्वपाको बैठकले परिवारवादलाई निषेध गर्ने र मेरिटोक्रेसीलाई प्रधान मान्ने निर्णय गरेको हो ।  बैठकपछि रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले  ‘राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गरिएको छ । यस्ता नियुक्ति जान्नेलाई छान्ने पार्टीको अवधारणा अनुसार समावेशितालाई मध्यनजर गरी मेरिटोक्रेसीलाई प्रधान मानी अघि बढाइने छ ।’  उनले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन विज्ञ समूह बनाउने निर्णय पनि गरेको जानकारी दिए । सो समूहमा सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरुलाई राख्ने रास्वपाले जनाएको छ । पार्टी र मन्त्रीहरुबीच समन्वय गर्ने उद्देश्यले गठन गरिएको समन्वय समितिले मन्त्रीहरुको काम प्रभावकारी बनाउन विज्ञ समूह बनाउने निर्णय गरेको  ढकालले जानकारी दिए । मन्त्रीहरु र पार्टीबीच समन्वय गर्न डा. स्वणिर्म वाग्लेको नेतृत्वमा महामन्त्री ढकाल र शिशिर खनाल रहेको समन्वय समिति गठन गरिएको छ । समितिको सचिवको जिम्मेवारी शिशिर खनालले पाएका छन् । यो समितिको बैठक प्रत्येक आइतबार बस्ने गरेको छ । आजको दोस्रो बैठकले सरूवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी खारेजसम्म गर्न सकिने निर्णय पनि गरेको प्रबक्ता ढकालले बताए । उनका अनुसार बैठकमा मन्त्रालयहरूको एक हप्ताको काम, अनुभव र कमजोरीबारे समीक्षा गर्नुका साथै मन्त्रालयका बजेट, नीति तथा कार्यक्रम र तत्कालका लागि संशोधन गर्नुपर्ने नियम एवं साझा न्युनतम कार्यक्रमबारे समेत छलफल भएको छ ।  वर्तमान सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी, उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

सरकारको गति बढाउन नयाँ समिकरण बनाएका हौँ : प्रधानमन्त्री

पोखरा। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समिकरण बनाइएको स्पष्ट पारेका छन् ।आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, -'कांग्रेसबाट पटकपटक धोका भयो। कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन। सबैजसो निर्वाचनमा धोका भयो। भोलि पनि यस्तै हुने देखियो। एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं।' प्रधानमन्त्री प्रचण्डले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने बताए।उनले भने, -'राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ। पूर्वदेखि पश्चिमसम्मको तराई(मधेशलाई समेटेर एउटा अभियान चल्नेछ। हिमाल, पहाड र तराई-मधेशलाई जोडेर उत्तर-दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ।' गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको उनले बताए ।प्रधानमन्त्रीले भने, 'गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुंगाएपछि एउटा निष्कर्षमा पुग्नेछौँ।' केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले बताए।उनले भने, 'कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ। देशका राजनीति सही बाटोमा आएको छ।'

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कार्यसूची के छ ?

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ ।  बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।  आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।  राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

सिङ्गो पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेका हौं : सहअध्यक्ष श्रेष्ठ

काठमाडौं। नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले सिङ्गो नेपाल समाजवादी पार्टी नेकपा (माओवादी केन्द्र)सँग एकता गर्न लागेको बताएका छन् । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै सहअध्यक्ष श्रेष्ठले सिङ्गो नेपाल समाजवादी पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको जानकारी दिएका हुन् । उनले कुनै एक पक्षमात्रै एकता गर्न लागेको भन्नेकुरा सत्य नभएको बताए। उनले नेसपाले गत मङ्सिर ६ गते नै केन्द्रीय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाएको भन्दै सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको जानकारी दिए। सहअध्यक्ष श्रेष्ठले दुई पार्टी बिचमा एकता गर्ने भनेर चुनाव अगाडि नै सहमति भएको र पार्टी एकताको सर्तसहित आफूहरूले माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव लडेको बताए। उनले आफूहरू पार्टी एकता गर्ने डेढ वर्ष अगाडिको सहमति अनुरूप अगाडि बढेको र चाँडोभन्दा चाँडो पार्टी एकता हुने बताए। सहअध्यक्ष श्रेष्ठले आफूहरूले माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेकाले कानुनी रूपमा आफूहरू माओवादी केन्द्रको सांसद भएको बताए। आफूहरूले कुनै सत्ता स्वार्थका लागि पार्टी एकता गर्न नलागेको भन्दै उहाँले विगतको पार्टी एकता गर्ने निर्णयमा इमान्दार र प्रतिबद्ध भएर लागेको बताए। उनले पार्टी अध्यक्ष महिन्द्रराय यादवको मन्त्री पद नरहेको र आफू हालसम्म बागमती प्रदेश सरकारको मन्त्री भए पनि त्यो विगतमै भएको बताए। सत्ताका लागि एकता गर्न लागिएको भन्नेहरू पार्टी एकताको विरोधी भएका उनको भनाइ छ। सहअध्यक्ष श्रेष्ठले माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी सँगसँगै अन्य पार्टीहरूलाई पनि एकता गर्दै लैजाने तयारी भएको बताए।

प्रधानमन्त्री पोखरामा

गण्डकी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आइपुगेका छन्। प्रधानमन्त्रीले पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकन पनि गरेका छन्। त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले विद्यालयको अवस्थाबारे जानकारी लिए। आजै उनी पोखरामा जारी बाह्रखरी गल्फ प्रतियोगिताको समापन समारोहमा सरिक हुने कार्यक्रम छ । आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा प्रधानमन्त्री सहभागी हुने जनाइएको छ । आइतबार नै नेपाल पत्रकार महासङ्घ कास्कीले आयोजना गर्ने पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री सरिक हुनेछन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आन्तरिक प्रशिक्षण तथा भेटघाटमा पनि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ ।

जनमत पार्टीको बैठकमा नौलो गणतन्त्र बारेमा छलफल हुँदै

विरगंगज । जनमत पार्टीको केन्द्रीय कार्य समितिको बैठक वीरगन्जमा सुरु भएको छ । बैठकमा आगामी आन्दोलन, संगठन विस्तार, संगठन सुदृढीकरण, वडा अधिवेशन लगायतका विषयमा छलफल हुने पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले जानकारी दिए । उनले जनमत पार्टीले सुरु गरेको नौलो गणतन्त्रका लागि आन्दोलनको बारेमा बैठकमा छलफल हुने बताए । नौलो गणतन्त्रको बारेमा सो पार्टीका अध्यक्ष डा.सिके राउतले राजनीति प्रतिवेदन प्रस्तुत गर्नेछन् र सोही प्रतिवेदनमाथि छलफल गरी निष्कर्षमा पुग्ने उनको भनाई छ । ‘नौलो गणतन्त्र किन ?’ भन्ने शीर्षक राखेर जनमत पार्टीले पर्चा पनि बनाएको छ । पर्चाका बारेमा छलफल गरी भोलि वीरगन्जमा वितरण समेत गर्ने कार्यक्रम राखिएको छ । साथै बैठकमा अहिलेको वर्तमान सरकार तथा गठबन्धनको बारेमा पनि समीक्षा हुने बताइएको छ । जनमत पार्टी वर्तमान गठबन्धन र सरकारमा सहभागी भएको छैन । जनमत पार्टीले देशभर वडा समितिको अधिवेशन गरिसकेको छ । 

माओवादी केन्द्र र समाजवादीवीच पार्टी एकता हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच पार्टी एकता हुने भएको छ। शनिबार बसेको दुई पार्टीका नेताहरुको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो । दुई पार्टीका नेताहरु सम्मिलित एकता संयोजन समितिको बैठकमा पार्टी एकता गर्ने निर्णय भएको हो।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देबप्रसाद गुरुङ तथा नेपाल समाजवादीका अध्यक्ष महिन्द्र राय यादब, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद उदबको सहभागिता रहेको थियो।  बैठकपछि जारी गरिएको प्रेस नोटमा पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिबेशनमा टुङ्गो लगाउने निर्णय भएको उल्लेख छ।यस्तै, पार्टी एकताका लागि बैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न कार्यदल पनि गठन गरिएको छ।  कार्यदलमा नेकपा माओवादी केन्द्रको तर्फबाट महासचिव देबप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन्। 

न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्रीलाई बुझाइदै

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाइने भएको छ । कार्यदलले न्यूनतम साझा कार्यक्रम टुंगो लगाएर प्रधानमन्त्रीलाई बुझाउन लागेको हो । बिहान साढे ९ कार्यदलको बैठक बस्ने र प्रधानमन्त्री प्रचण्ड लाई कार्यक्रम बुझाइने कार्यदलले जनाएको छ । कार्यदलले हिजो नै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको छ । गठबन्धनका शीर्ष नेताहरूसमक्ष छलफलका लागि प्रस्तुत गर्नु अघि कार्यदलका सदस्यहरू छलफलमा जुट्न लागेका हुन् ।  कार्यदलले मस्यौदा बुझाएसँगै शीर्ष तहमा नेताहरूले आन्तरिक छलफल गरी सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा जाने छ । कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवहरु वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् ।

एमालेसँग गठबन्धन नभइ सहकार्य हो, लामै समय जान्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर बन्न नदिन एमालेसहित कम्युनिस्टहरूको नेतृत्वमा नयाँ सहकार्यको थालनि गरिएको बताएका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकमा पछिल्लो सत्तासमीकरणबारे ब्रिफिङ गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भारतको पश्चिम बंगालबाट पाठ सिक्नुपर्ने बताएका हुन् । काम गर्ने हुटहुटी हुँदाहुँदै कांग्रेसको भने जस्तो सहयोग नपाएका र अन्य राजनीतिक कारणले कांग्रेससँगको गठबन्धन टुटेको बताउँदै उनले सरकारसामु जनमुखी बजेट र कार्यक्रम ल्याएर जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने चुनौती रहेको बताए । ‘कांग्रेसबाट सरकार सञ्चालनमा सहयोग भएन । अर्थमन्त्रीले साथ दिनुभएन । परराष्ट्रमन्त्रीले पनि नेपालको हित हुने गरी परराष्ट्र नीति सञ्चालनमा साथ दिनुभएन ।' अध्यक्ष प्रचण्डलाई उदृत गर्दै एक नेताले भने । प्रधानमन्त्री प्रचण्डले अहिलेको परिवर्तित राजनीतिक परिस्थिति गठबन्धन नभएर नयाँ समीकरणसहित एमालेसँग सहकार्य भएको  प्रस्ट्याएका थिए । लामै समयसम्म अगाडि बढ्ने गरी विचारले नजिक एमालेसँग सहकार्य भएको भन्दै उनले त्यसअनुसार बोली र व्यवहारमा परिवर्तन ल्याउन जरुरी भएको आवश्यकता पनि औँल्याएका थिए ।  प्रचण्डले सरकारले तत्काल न्यूनतम साझा कार्यक्रम ल्याउने र जनमुखी बजेट ल्याउने गरी तयारी गरिरहेको बताए । सरकारलाई सहयोग हुने गरी वातावरण बनाउन पनि उनले नेताहरूलाई निर्देशन दिएका थिए । कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा धोका दिएको र हिन्दु धर्मको मुद्दा उचाल्न खोजेकाले पनि कम्युनिस्टहरू एक ठाउँमा उभिने परिस्थिति निम्तिएको प्रधानमन्त्रीले बैठकमा विश्लेषण सुनाएका थिए । बैठकले पार्टीको विधान सम्मेलनले सुझावसहित पारित गरेको विधान मस्यौदालाई अन्तिम रूप दिएको छ ।

पुष्टि नभएको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु असान्दर्भिक  : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरेर राजिनामा माग्नु असान्दर्भिक भएको छन् । प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले कांग्रेस जस्तो जिम्मेवार पार्टीले पुष्टि नभएको विषयलाई लिएर गृहमन्त्री लामिछानेको राजीनामा माग्नु सान्दर्भिक नहुने बताएका हुन् ।  ‘काँग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्नु सान्दर्भिक छैन, उनले भने, ‘किनभने उहाँमाथि अभियोग लगाएर, अनुसन्धान गरेर कुनै निकायले पुष्टि गरेर कारबाहीका लागि सिफारिस गरेको विषय होइन । राजनीतिक रूपले सत्ता परिवर्तन भएपछि गृहमन्त्रीमाथि आक्रमण भएको छ ।’ राजनीतिमा समीकरण परिवर्तन भइरहने उल्लेख गर्दै अर्थमन्त्री पुनले जिम्मेवार राजनीतिक दलले संयमतापूर्वक भूमिका खेल्नुपर्ने बताए । बेलाबखतमा आफूमाथि पनि नियोजित रूपमा आक्रमण हुने गरेको समेत उनले दाबी गरे। माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका अर्थमन्त्री पुनले छिट्टै प्रमुख प्रतिपक्षी दल काँग्रेसले संसद् चल्न दिएर विनियोजन बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुनुपर्ने धारणा राखेका छन् ।

माओवादीको विधान सुझाव परिमार्जनसहित पारित

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रूप दिएको छ। शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानलाई अन्तिम रूप दिएको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा विधानलाई व्यापक, वृहंगम रूपमा समृद्ध बनाइ अन्तिम रूप दिएको बताए। उनले छलफलबाट विधान परिपूर्ण र समृद्ध भएको बताए। उनले भने, ‘दुई वटा एजेण्डा मात्रै थिए। एउटा विधान सम्बन्धी नै हो। मुलभुत रूपमा विधान अधिवेशनले पास गरेको मुल स्पिरिट त पहिल्यै पास भएको छँदै थियो, अहिले हामीले व्यापक, वृहंगम रूपमा त्यसलाई समृद्ध बनाउन, सम्पादन गर्नका लागि छलफल ग¥यौँ, छलफलले परिपूर्ण र समृद्ध भएको छ। आज त्यो फाइनल भएको छ। राष्ट्रिय सभामा हाम्रो पार्टीको तर्फबाट अध्यक्षमा निर्वाचित नारायण दाहालले राजीनामा दिनुभएको थियो, त्यो स्वीकृत गरेका छौँ।’