रबि गृहमन्त्री बनेकोमा कांग्रेसको संसद अवरोध, माओवादीको नियमापत्ति

काठमाडौं । शुक्रबार नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै अवरोध गर्दा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नियमापत्ति गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गर्दै शुक्रबार संसद् अवरोध गरेको हो ।

तर, कांग्रेस सांसदहरू सिटबाट उठेर अवरोध गरेका बेला माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरे । संसदीय क्यालेन्डरसमेत बनेको र त्यसअनुसार अगाडि बढ्नुपर्नेमा त्यसो हुन नदिनु प्रतिनिधिसभा नियमावली विपरीत हुने पाण्डेले बताए ।


‘प्रतिनिधि सभा नियमावलीको नियम २६ अन्तर्गत म नियमापत्ति गरिरहेको छु । हाम्रो नियमावलीको नियम २० को झ पालना भएन’ पाण्डेले भने, ‘चैत ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ । व्यवस्थित रूपमा सदन अगाडि बढाइरहेको अवस्थामा सदनको कामकारबाही अगाडि बढाउन नदिइकन जसरी रोक्न खोजिएको छ यसमा नियमापत्ति छ ।’

शुक्रबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजनीतिक दल सम्बन्धी ऐनको संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो। यो कार्यसूचीमा सभामुख देवराज घिमिरे प्रवेश गर्ने बित्तिकै कांग्रेसका सांसदहरूले उठेर बैठक अवरोध गरेका हुन्।

प्रतिपक्ष उभिएको बेला सत्तापक्षले नियमापत्ति गर्ने विषय सदनमा देखा परेको भन्दै उनले संसदीय मर्यादा ख्याल गर्न सभामुख र सत्तारुढ दलहरूलाई आग्रह गरे ।सत्तारुढ दलको मुख्य सचेतकले नै नियमापत्ति गरेपछि कांग्रेसका सांसदहरूले फेरि सभामुख घिमिरेसँग समय मागे । सभामुखले समय दिएपछि बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूलाई वेलमा आउन बाध्य नपार्न चेतावनी दिए ।

साथै उनले प्रधानमन्त्रीको जवाफ नआउँदासम्म लामिछानेलाई गृहमन्त्रीको रूपमा रोष्ट्रममा बोल्न नदिने बताए ।कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट प्रहरीले २१ जनालाई पक्राउ गरेको छ । देशका विभिन्न स्थानमा जुवातास खेल्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  काठमाडौंको टोखा नगरपालिका ९ लक्ष्मीनगरस्थित होटल रियात गेष्ट हाउसको छतमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक संखुवासभा धर्मदेवी नगरपालिका ६ घर भएका ५० वर्षीय तुलाराम निरौला समेत ५ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ८ सय ५० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।  यस्तै, झापाको शिवसताक्षी नगरपालिका १० स्थित रतुवामाई वृक्षारोपण आयोजनाको चौकिदार बस्ने भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय राजेन्द्र कुमार पदालुङ समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ८ सय ७५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरीको धरान उपमहानगरपालिका ४ देविथानस्थित न्यू देविथान होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा धनकुटा महालक्ष्मी नगरपालिका १ बस्ने ३३ वर्षीय गंगा बहादुर कटुवाल समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको   हो ।       यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका ५ हसनपुरस्थित रोहित होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही उपमहानगरपालिका ५ बस्ने ४१ वर्षीय कालुराम चौधरी समेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको   छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५ सय ८५ रूपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

माओवादी केन्द्रको स्थायी समितिमा अभियानबारे छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकमा पार्टीले सञ्चालन गर्ने अभियानबारे छलफल हुने भएको छ ।  आज (शुक्रबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्न लागेको बैठकमा अभियानका लागि नेताहरुको कार्यविभाजन सहितका विषयमा छलफल हुन लागेको हो । बैठकमा पार्टीको विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीले सन्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचन, एमाले–रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनेपछिको राजनीतिक परिस्थिति लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । यसअघि गत फागुन २८ गते बोलाइएको स्थायी समिति बैठक स्थगित गरिएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालय अगाडि नेविसंघ नेताको आत्मदाह प्रयास !

काठमाडौं । आफूहरुसँग भएको सहमति कार्यन्वयन गर्न पार्टी नेतृत्वलाई दबाब दिनका लागि नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका एक कार्यकर्ताले केन्द्रीय कार्यालय अगाडि आत्मदाह प्रयास गरेका छन् ।  नेविसंघको सन्तुष्टपक्षका नेता रामजी बस्नेतले केन्द्रीय कार्यालय अगाडि खुट्टामा आगो लगाउने प्रयास गरेका हुन् । विहीवार भएको सो घटनालाई असन्तुष्ट पक्षका नेताहरुले आत्मदाहको प्रयास भनेका छन् । आन्दोलनका क्रममा करिब १५ जनाको समूह सहभागी भएकामा बस्नेतल आत्मदाहको प्रयास गरेको दावी उनीहरुको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पा, नेपाली कांग्रेस केन्द्रीय सदस्य राजिव ढुङ्गाना र नेपाली कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले असन्तुष्ट पक्षसँग गत भदौ ३ गते गरेको सहमति कार्यन्वयन नभएको भन्दै बस्नेतले यस्तो हर्कत गरेका हुन् । उनले पार्टीका मुख्य सचिवलाई समेत जानकारी गराउँदै बाहिर आएर आगो लगाउन खोजेका थिए । भदौ ३ मा उल्लेख भएको सहमति अनुसार ७ दिन भित्र छुटेका साथीहरुलाई समेटेर मात्र गतिविधि सञ्चालन गर्ने भनिए पनि सो विपरित केन्द्रीय समितिको बैठक बोलाइएको थियो । नेविसंघका नेता योगेन्द्र रावलले सहमति कार्यन्वयनका लागि विद्यार्थी नेताले आफ्नो ज्यान दिनुपर्ने अवस्था सिर्जना भएको भन्दै तत्काल माग सम्बोधन गर्न आग्रह गरे । यस्तो आन्दोलन निरन्तर रुपमा अगाडी बढाइने नेविसंघ नेता प्रवेश ढुङ्गानाले बताए । बस्नेत बयोधा अस्पतालमा उपचारपछि फर्किएका छन् । 

सुन प्रतिबेदन कार्यान्वयनमा दबाब र प्रभावमा नपर्न प्रधामन्त्रीको निर्देशन

दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औंल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन उपप्रधान एवं गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने

काठमाडौं । संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्न लागिएको हो । संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने राष्ट्रियसभा बैठक बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।   बैठकमा प्रतिनिधिसभाबाट उत्पति भएको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । त्यस्तै, राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन)विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसैगरी दुवै सदनमा आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रशासकीय अधिकृतमाथि कार्यपालिका बैठकमै कुटपिट

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको छ । कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ । बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक बोलाइएको थियो । बैठकमा आक्रोशित भएका सदस्यहरूले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिए । नगरपालिकाका योजना अधिकृत रहेका जोशीलाई मङ्सिर पहिलो साता प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक र प्रशासनिक अधिकारसहित उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

राष्ट्रिय हितका लागि सबै दल एक हुनुपर्छः ओली

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ६ नं वडा कार्यालय भवन उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दल एक ठाउँमा हुनुपर्ने बताए । सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी रहेको उनले बताए । विकास निर्माणका काम अगाडि बढाउन देशमा सबैले शान्ति उपभोग गर्न सबै मिल्न जरुरी रहेको उनको भनाई छ । अध्यक्ष ओलीले नवनिर्मित वडा कार्यालय भवनबाट जनताले सहज रूपमा सेवा पाउनुपर्ने बताए । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले दोधारा चाँदनीका जनताका समस्या समाधानका लागि पहल गरिदिन अध्यक्ष ओलीसँग आग्रह गरे ।  आजै अध्यक्ष ओलीले महाकाली नदीमा निर्मित चार लेनको पक्की पुल र दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको स्थलगत अवलोकन गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठ र पाकिस्तानी राजदूत हाश्मीबिच भेटवार्ता

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र पाकिस्तानका राजदूत अब्रर हाश्मीबीच भेटवार्ता भएको छ । भेटमा राजदूत हाश्मीले परराष्ट्रमन्त्री  श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका छन् । नवनियुक्त उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठलाई आज सिंहदरवार भेटवार्ता गर्दै राजदूत हाश्मीले बधाई तथा शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उनीहरु बिच दुई देशको आपसी हितका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रतिनिधि सभा बैठक जारी (प्रत्यक्ष प्रसारण)

काठमाडौं । प्रतिनिधिसभा बैठक जारी छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११  बजे देखि बसिरहेको हो । बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक,२०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । त्यस्तै ,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक, २०८० र निर्माणमूखी सामाग्री ९व्यवस्थापन तथा नियमन० विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  

तीन प्रदेश प्रमुखद्धारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुख नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मधेस प्रदेशको प्रमुखमा झापाकी सुमित्रा सुवेदी, भण्डारी गण्डकी प्रदेशको प्रमुखमा कैलालीका डिल्लिराज भट्ट र सुदूरपश्चिम प्रदेशको प्रमुखमा अर्घाखाँचीका नाजिर मियालाई नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को फागुन २८ को निर्णयबाट सिफारिस भएका तीनै जनालाई नियुक्तिसँगै राष्ट्रपति पौडेलले शपथ गराएका छन् । नेपाली कांग्रेस सरकारमा हुँदा नियुक्त भएका मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई हटाएर सरकारले नयाँ नियुक्ति सिफारिस गरेको थियो ।

सुहाङ एमाले कानुन विभागको सदस्य मनोनित

काठमाडौं । नेकपा एमालेले सुहाङ नेम्वाङलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनित गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधवार नेम्वाङलाई कानुन विभागको सदस्यमा मनोनित गरेका हुन् । फागुन ३ गते बसेको एमाले केन्द्रीय सचिवालयको २७ औं बैठकले नेम्वाङलाई सो पदमा मनोनित गर्ने निर्णय गरेको महासचिव पोखरेल्द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सुहाङ एमाले नेता स्वर्गीय सुवास नेम्वाङका पुत्र हुन् ।   

पार्टीमा विवाद भएपनि परिवार फुट्दैनः रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरीसँग वैचारिक मतभेद रहे पनि त्यसको असरले परिवार नफुट्ने बताएकी छिन् । पार्टीमा फरक विचार भएकै कारण आफूहरुको परिवार नफुट्ने उनको दावी छ । दिउँसो संसद भवन नयाँ वानेश्वरमा पत्रकारहरुसँग रञ्जिताले बिहान रेशमले स्ट्याटस लेख्दा आफूँसँगै रहेको पनि बताइन् । नाउपाका संस्थापक रेशम चौधरीले बुधबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै रञ्जितालाई बुझाउन नसकेको बताएका थिए ।  रञ्जिताले भनिन्, ‘म र रेशमजीले पार्टीगत रुपमा बसेर छलफल गरेका थियौं । पार्टीगत रुपमा उहाँ र मेरो मत फरक फरक भएको हो । तर, परिवार छुट्टै कुरा हो । पार्टी छुट्टै हो । फरक विचारले परिवार फुट्दैन ।’  आफूहरुको पारिवारिक सम्बन्धमा कुनै समस्या नरहेको पनि उनले बताइन् । आफूहरु २५ वर्षदेखि सँगै रहेको भन्दै उनले थपिन्, ‘परिवारका हाम्रो त्यस्तो केही पनि छैन ।’ पार्टीमा फरक–फरक विचार बोकेकाहरु जोडिने भएकाले त्यसको समुचित रुपमा निरुपण हुने रञ्जिताले दावी गरिन् । 

नयाँ ऊर्जाका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको मार्गमा लाग्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ ऊर्जाका साथ सुशासन, सामाजिक न्याय, समृद्धि र विकासको मार्गचित्रमा पूर्ण रूपले खर्चिने प्रतिबद्धता व्यक्त गरेका छन्।विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले सत्तासहयात्री दललगायत सम्पूर्ण राजनीतिक दलमा आबद्ध र स्वतन्त्र रूपमा क्रियाशील सांसदप्रति आभार प्रकट गर्दै सो प्रतिबद्धता जनाएका हुन्।  ‘प्रतिनिधिसभाबाट विश्वासको मत दिनुहुने सत्तासहयात्री दलगायत सम्पूर्ण राजनीतिक दलमा आबद्ध र स्वतन्त्र रूपमा क्रियाशील माननीय सांसदज्यूहरूमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु,’ उनले सामाजिक सञ्जालमा सबैप्रति आभार प्रकट गर्दै लेखेका छन्, ‘तपाईंहरूबाट प्राप्त यो विश्वास संसदमा विश्वासको मत लिनुपूर्व मैले वाचा गरेअनुरूप नयाँ ऊर्जाका साथ सुशासन, सामाजिक न्याय, समृद्धि र विकासको मार्गचित्रमा पूर्ण रूपले खर्चिने प्रतिबद्धता व्यक्त गर्दछु।’  बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले पाँचदलीय गठबन्धनको समर्थनमा विश्वासको मत प्राप्त गरेका छन्। प्रधानमन्त्रीको पक्षमा एक सय ५७ मत पर्‍यो भने विपक्षमा एक सय १० मत परेको थियो। 

नवनियुक्त प्रदेश प्रमुखहरूले शपथ ग्रहण गर्दै

काठमाडौं । नव नियुक्त तीन प्रदेशका प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ लिदैछन् ।  आज ६ बजे राष्ट्रपति कार्यालय शितल निवासमा शपथ लिन लागेका हुन् । सरकारले सुमित्रा भण्डारीलाई मधेश प्रदेशमा, डिल्लीराज भट्टलाई गण्डकी प्रदेशमा र नजिर मियाँलाई सुदूरपश्चिम प्रदेशको प्रमुखमा नियुक्त गरेको थियो । आज तीनै जना प्रदेश प्रमुखहरुले आज राष्ट्रपतिबाट शपथ लिन लागेका हुन् ।

राष्ट्रियसभाका विषयगत समितिका सभापतिको निर्वाचन चैत ४ गते

काठमाडौं । राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत ४ गते हुने भएको छ । बुधबार राष्ट्रियसभा बैठकमा समिति सभापतिको निर्वाचनको मिति तोकिएको हो ।  बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विषयगत समितिका सभापतिहरूको निर्वाचन आगामी आइतबारका लागि तय गरिएको जानकारी गराए । उनले समिति सभापतिहरूको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्याललाई निर्देशन पनि दिए । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।