प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। 

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम गरेको प्रस्तावको पक्षमा सांसदले मत दिए। 

आजको प्रतिनिधिसभा बैठकमा २६८ जना सांसद उपस्थित थिए । प्रधानमन्त्री प्रचण्डले पक्षमा १५७ मत प्राप्त गरे भने ११० सांसदहरुले विपक्षमा मत हाले।

२७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वास पाउन बहुमतका लागि १३८ मत आवश्यक थियो ।प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमालेबाट ७५, माओवादी केन्द्रबाट ३२, रास्वपाबाट २१, जसपाबाट १२, एकीकृत समाजवादीबाट १०, नाउपाबाट ४, आजपाबाट १ र स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले समेत विश्वासको मत दिए ।नेकपा एमालेका सांसद वसन्त नेम्वाङ भने स्वास्थ्यमा समस्या भएका कारण उपस्थित हुन सकेनन् ।

विश्वासको मतको विपक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र राष्ट्रिय जनमोर्चा रहे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे । उनले कुनै पक्षमा मतदान गरेनन् ।

अहिलेको गठबन्धनमा गोत्र मिलेको छ  : महिन्द्रराय यादव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले नेपाली कांग्रेस र माओवादीको गठबन्धन गोत्रै नमिल्ने गठबन्धन बनेको बताएका छन् । उनले धेरै लामो समयसम्म उक्त गठबन्धनमा बसेको भए माओवादी क्षयीकरणको बाटोमा जाने खतरा समेत समेत रहेको उनले बताए ।  बुधबारको प्रतिनिधिसभा बैठकमा रोस्ट्रममा उभिएर बोल्दै उनले अहिलेको गठबन्धनको गोत्र पनि मिलेको दाबी गरे । कांग्रेस यथास्थितिवादी पार्टी भएको र माओवादी अग्रगामी परिवर्तनकारी पार्टी भएको भन्दै उनले कांग्रेसका कारण माओवादीलाई नोक्सान भएको जिकिर गरे ।  “विगतको गठबन्धन अप्राकृतिक थियो । किनभने अहिले उहाँहरूको कुरा सुन्दा मंसिर ४ को कुरा आयो । त्यसबेला गठबन्धन बन्दा बीचमा कुनै लिखित दस्ताबेज, साझा घोषणा पत्र थिएन । विश्वासको आधारमा भएको हो । गठबन्धनले माओवादीलाई २० सिट कम भयो । नेपाली कांग्रेससँग गठबन्धन बनाउँदा माओवादीलाई ठूलो धोका भएको छ,” उनले भने ।  अहिलेको गठबन्धन संविधान संशोधन र देशमा भएका तमाम समस्या समाधान गर्न बनेको पनि उनले दाबी गरे । “गोत्रको कुरा छ नेपाली कांग्रेससँग मिलेको थिएन । यता मिलेको छ यो प्राकृतिक गोत्र बनेको छ,” उनले भने । कांग्रेससँग माओवादी नमिलेको भए ५२ सिट जित्ने दाबी उनले गरे ।

प्रधानमन्त्रीको बेचैनीको जरैसम्म पुग्यौं भने मात्रै उहाँलाई न्याय गर्छौं : स्वर्णिम वाग्ले

काठमाडौं । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको बेचैनीको जरैसम्म पुग्न खोज्यौँ भने मात्र उहाँमाथि न्याय हुने बताएका छन् ।  प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै वाग्लेले यस्तो बताएका हुन् ।  उनले भने, ‘ब्याज खाएर होइन, कुर्सी ओगटेर होइन, कामै गरेर प्रधानमन्त्रीज्यूको आफ्नो लिगेसीलाई फराकिलो बनाउने प्रयासमा रास्वपाले जोखिम मोलेरै साथ दिएको छ । त्यसैले प्रधानमन्त्रीको बेचैनीको जरैसम्म पुग्न खोज्यौँ भने मात्र उहाँलाई न्याय हुन्छ ।’ उनले सीमान्तकृत समुदायको राजनीतिक जागरण, सचेतना, सशक्तीकरण र समावेशी समाजको जग निर्माणमा वर्तमान प्रधानमन्त्रीलाई इतिहासले सम्झिरहने बताए । ‘सशस्त्र द्वन्द्वको विधिप्रति मेरो विमति थियो र छ । तर, यो देशका सीमान्तकृत समुदायको राजनीतिक जागरण, सचेतना, सशक्तीकरण र समावेशी समाजको जग निर्माणमा हाम्रा वर्तमान प्रधानमन्त्रीलाई इतिहासले सम्झनेछ,’ उनले भने । प्रधानमन्त्री जीवनको उत्तरार्धमा आफ्नो ‘लिगेसी’बारे बढी चिन्तित रहेको पनि चर्चा गरे । ‘एउटा औसत नेताले त छविको चिन्ता गर्छ, म केका लागि चिनिन चाहन्छु भन्ने राजनीतिको अहं प्रश्न हुन्छ । संघर्षपूर्ण राजनीतिबाट उदाएको नेताले त जीवनको उत्तरार्धमा आफ्नो लिगेसीबारे खोजी गर्छ, विचार पुर्‍याउँछ । प्रधानमन्त्री त्यसैमा बढी चिन्तित देखिनुभएकोले हामीले साथ दिएका हौँ ।’  देशमा केही राम्रो गरौं भन्ने कुराले पछिल्लो समय प्रधानमन्त्री प्रचण्डको पद मात्रै जोगाएर मात्रै बस्न नचाहेर अर्थतन्त्र सवल बनाउन गरेका बारम्बारका छलफल र बेचैनीलाई देखेर केही राम्रो गरौं भन्ने उदेश्यले गठबन्धन गरिएको बताए ।

सरकारको गियर बढाउन गठबन्धन परिवर्तन गरे :  प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गर्ने कामको गियर बढाउन गठबन्धन परिवर्तन गरेंको बताएका छन् । संसद बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले आफूले देश विकासको लागि सरकारको टिम परिवर्तन गर्न आवश्यक रहेकोबारे धेरैपटक गठबन्धनमा  छलफल भएको तर त्यसप्रति चासो नदिइएको बताए ।  प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रधानमन्त्रीका रुपमा म जस्तो संकल्पका साथ सक्रिय थिएँ । टिम त्यही गतिको नभएको मेरो अनुभव रह्यो ।  र सरकारको गियर परिवर्तन गर्ने हो भने सरकार र गठबन्धन पुनः गठन गर्नैपर्ने अवस्था मैले महसुस गरेँ ।’

मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन पूर्वअर्थमन्त्री महतलाई प्रधानमन्त्रीको चुनौती

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतलाई आफूले मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन चुनौती दिएका छन् । बुधवारको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै उनले यस्तो चुनौति दिएका हुन् । उनले मनपरी पैसा चलाउन नदिएपछि प्रधानमन्त्री प्रचण्ड आफूसँग रिसाएको भन्ने आशयको अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका हुन् । उनले नकारात्मक प्रचार गरेर जनतामा भ्रम नछर्न आग्रह गरे । उनले भने ‘आजमात्रै मैले देखेँ, पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले मेले मनपरी पैसा चलाउन नदिएपछि यस्तो भयो भन्ने आशयको मन्तव्य दिनुभएको छ । म डा. प्रकाशशरण महतलाई यो पुष्टि गर्न चुनौति दिन चाहन्छु । मैले कहाँ कसको लागि पैसा मागेँ । नकारात्मक प्रचार गरेर जनतामा भ्रम नगर्न आग्रह गर्दछु ।’ प्रधानमन्त्रीले आत्मनिर्भरताको व्यवस्थित प्रयास सरकारले गर्ने प्रतिवद्धता जनाए ।

यो देशमा केहि नभएको होइन, ढिलो भैरहेको चाँहि हो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो देशमा केही नभएको नभइ काम ढिलो भएको बताएका छन् । देशमा केही नभएको भन्दै मिसन ८४ को नारा दिएर हिडेका दलहरु बन्दै गरेका सडकमा पैदल यात्रा गरेको स्मण गराउँदै उनले देशमा केही भैरहेको तर ढिलो भैरहेको नयाँ दलहरुले थाहा पाएको बताएका हुन् । उनले नेपाली काग्रेस पार्टीले संसदको प्रतिपक्षको भुमिकाम रहने बताउँदै पहिले जस्तो ढोक्सा नथाप्ने समेत बताए । साथै, प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताए । उनले संविधानको कार्यान्वयन र लोकतान्त्रिक गणन्त्रलाई जोगाएर जाने सवालमा सधै प्रतिबद्ध रहने समेत जानकारी दिए । यो देशमा केही भएको छैन, केही हुँदन भन्ने भाष्य परिर्वतन गरेर यो देशमा केही गर्न सकिन्छ भन्ने स्थापित गर्न  लाग्ने समेत बताए । 

केपी ओलीको कांग्रेसलाई प्रश्न - शान्ति प्रक्रिया टुङ्ग्याउन कसले नदिएको हो ?

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देश कुनै धर्म र जाती विशेषको नभएर सबैको साझा भएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ओलीले देशमा साम्प्रदायिकताको आगो झोसेर र प्रतिगमनको बराठको सिंह घोचेर देश अघि बढ्न नसक्ने बताएका हुन् । साथै उनले त्यसक्रममा संसद्को ध्यानाकर्षण हुनुपर्ने बताए ।  ‘देशको परिस्थिति सुखद छैन । राजनीतिमा विभिन्न नाम, पहिचान, जात र धर्मका नाममा विद्वेष फैलाउने काम भइरहेका छन् । यो देश जाती र धर्म विशेषको होइन, त्यस्तो बनाउन सकिँदैन । यो देश सबैको साझा हो’, ओलीले भने, ‘हामी डेमोक्रेसीमा यति कुरा पनि बुझ्दैनौ ?’  उनले लोकतान्त्रिक मूल्य र मान्यतामा अघि बढ्नुपर्ने भन्दै समाजमा अराजकता मौलाएको बताए । ‘कानुनको राजमा यदि राज्य तलमाथि भएको छ भने संसद्ले नियन्त्रण गर्नुपर्छ’, ओलीले रोजेर ल्याएको प्रणालीमा राजनीतिक परिवर्तन हुँदा आत्तिन नहुने बताए । तर उनले प्रतिस्पर्धा स्वस्थ हुनुपर्ने भन्दै कांग्रेसलाई सत्ता जाँदैमा रुवावासी नगर्न आग्रह गरे । उनले शान्ति प्रक्रिया टुङ्ग्याउन कसले नदिएको भन्दै कांग्रेसलाई प्रश्न गरे । ‘कसले शान्ति प्रक्रियालाई टुङ्ग्याउन दिएन ?’ उनले आफूले पटक पटक शान्तिप्रक्रिया टुङ्ग्याउन आग्रह गर्दै आएको र एमालेले त्यसमा यसअघि कुनै व्यवधान नगरेको बताए ।

प्रधानमन्त्री प्रचण्डलाई पोहोर जस्तै विश्वासको मत दिन कांग्रेसलाई केपी ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो पटक भोट नमाग्दा नमाग्दै हौसियर प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको बताउदै कांग्रेसलाई अहिले पनि विश्वासको मत दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘मैले प्रचण्डजीलाई प्रधानमन्त्री बनाएको थिएँ । कांग्रेस हौसिएर नयाँ ब्याट्री हालेजस्तो गरेर समर्थन गर्नुभएको छ । पोहोर समर्थन गर्न हुने अहिले चाहिँ किन नहुने ? पोहोर समर्थन गर्नुभएको थियो उफ्रिउफ्रि । त्यसबेला कांग्रेस सरकारमा त थिएन । भित्र के थियो । मलाई थाहा छैन । अस्ति रमेश लेखकको भाषणा सुन्दा त कांग्रेस छलछाम गर्दैगर्दैन नि होइन ?’ उनले कांग्रेसले राम्रो काम गरेको जस अरुलाई नदिने भएपनि नयाँ समीकरण बनाएको जस प्रचण्ड र आफूलाई दिन आग्रह गरे ।

संसदमा विश्वासको मत माग्दै प्रचण्ड, यस्तो छ सम्बोधनको पूर्णपाठ

सरकारका उपलब्धिहरुको सूचि सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यत्ति उपलब्धि पर्याप्त थिएनन् । प्रधानमन्त्रीका रुपमा म जस्तो संकल्पका साथ सक्रिय थिएँ, टिम त्यही गतिको नभएको मेरो अनुभव रह्यो ।

राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिन आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन्। विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए। “यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु,” प्रधानमन्त्री प्रचण्डले भने, “अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ। राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट। उपराष्ट्रपति हुनुहुन्छ जनता समाजवादी पार्टीवाट। सभामुख हुनुहुन्छ, नेकपा (एमाले)को पृष्ठभूमिबाट। राष्ट्रियसभा अध्यक्ष हुनुहुन्छ माओवादी केन्द्रको पृष्ठभूमिबाट। उपसभामुख हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट। सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ।”

संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन्। विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताए।  “सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री प्रचण्डले भने, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ।” संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले कुनै बेला संसदमा उभिएर राजनेता घोषणा गरेको स्मरण गरे।

बङ्गलादेशसँग विद्युत् व्यापारको नजिक पुगेका छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन्। विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको नजिक पुगेको बताए। “चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो पनि सानो उपलब्धि होइन। तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नुछ।” जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्तराष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमण र दुबईमा सम्पन्न ‘कोप-२८’ मा नेपालको प्रस्तुतिबाट नेपालले नयाँ सन्देश प्रवाह गरेको बताए।  “हामीले सन्देश दियौँ, अब जलवायु सङ्कटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “सरकारका उपलब्धिहरूको सूची सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यत्ति उपलब्धि पर्याप्त थिएनन्।”

निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् ।  विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पारे ।  “चालु आर्थिक बर्षको सात महिनाको अवधिमा दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाले शोधनान्तर बचत छ,” प्रधानमन्त्री प्रचण्डले भने, “विदेशी विनिमय सञ्चिति १९ दशमलव ९ प्रतिशतले बृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपैया बराबर पुगेको छ ।” व्यापार घाटा एक दशलव ८ प्रतिशतले घटेको उल्लेख गर्दै प्रधानमन्त्रीले आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फिति ५ दशमलव १ प्रतिशतमा सीमित गरिएको बताए । उनले कर्जा प्रवाह ४ दशमलव ७ प्रतिशतले बढेको छ उल्लेख गरे।  “विद्यमान आर्थिक अवस्थालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “पूँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने छ ।”  उनले प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो  प्राथमिकता हुने स्पष्ट पारे। बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “व्यापार घाटामा कमी आएको छ, तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढे्को छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन ।”

प्रधानमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौं। प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने, उक्त प्रस्तावमाथि छलफलपश्चात् निर्माणार्थ प्रस्तुत गरिने र आव.२०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूची छ ।  

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ।  बैठक बिहान १० बजे शंकर हल, बानेश्वरमा बस्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन्। यसको कार्यसूचीबारे  बैठकमा छलफल हुने बताइएको छ। साथै, समितिको बैठकले आगामी १५ दिनको क्यालेन्डर तय गर्नेछ।

मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय : रेशम चौधरी

धनगढी । सत्ता गठबन्धन फेरिएसँगै नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादको भूमरीमा फसेको छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक र अध्यक्ष रञ्जिता चौधरीका पति रेशमलाल चौधरीले बुधबार बिहान लामो फेसबुक स्ट्याटस लेखेर अहिलेको परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।  यतिबेला नागरिक उन्मुक्तिभित्र केन्द्रमा पुष्पकमल दाहाल प्रचण्डको गठबन्धन सरकार र सोही अनुरुप बन्ने प्रदेश सरकारहरुमा पनि समर्थन गर्नुपर्ने अडानमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ छिन्। तर पार्टीका संरक्षकसमेत रहेका रञ्जिताका श्रीमान भने नवगठित सरकारलाई समर्थन गर्न नहुने अडानमा छन्। रेशम चौधरी आफू र पार्टी अध्यक्ष रन्जीता श्रेष्ठबीच भएको असमझदारी घर झगडा नभई राजनैतिक रहेको समेत स्पष्ट पारेका छन्। ‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय, र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन,’ रेशमलालले लेखेका छन्, ‘आज लोग्नेस्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्। मलाई चिन्ता यसैमा छ। तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न। आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदयदेखि चाहनेवाला हुन्। मलाई भोट हाल, मलाई भोट हाल भन्नेहरु हामीलाई डुबाउनेवाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौं टण्टै साफ।’ रेशमलालले आफ्नो धारणा विपरीत गए पार्टीबाट कारबाही हुनसक्ने संकेत पनि गरेका छन्। ‘याद रहोस्, केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कारबाही गर्नुपर्छ र कारबाही भोग्नुपर्छ,’ उनले भनेका छन्, ‘सबैलाई लागेको होला, केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ । यो सोच्दै हुनुहुन्छ भने तपाईं भ्रममा हुनुहुन्छ। अहिले भन्न सक्दिनँ अहिले केन्द्रीय समितिले स्वतन्त्र भइ निर्णय गरेको हो। अब हरेक निर्णय यसरी नै स्वतन्त्र भइ गर्नुपर्छ।’ रेशमलालले दोहोर्‍याएर भनेका छन्, ‘कुरा बुझौं, कुनैपनि गठबन्धनका पछाडि नलागौं। नागरिक उन्मुक्ति पार्टी कांग्रेसरकम्युनिस्ट होइन, भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो। त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौं। आफ्नो नीति सिद्धान्त अनुरुप चलौं।’ उनले रञ्जिता र आफूबीच उत्पन्न विवादबारे पनि खोलेका छन्। ‘कुरो रहृयो बुढाबुढीको। म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ। दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ रेशमललाले लेखेका छन्, ‘प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नु हुन्न भन्छिन् । अरे लाटी, टीकापुर घटनापछि पनि प्रचण्ड दुई चोटी प्रधानमन्त्री भएकै थिए। हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो, तर हामी रिहा भएनौं नि। अहिलेपनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौं र तिमी पनि मन्त्री भएकि हौ।’ एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो भन्ने उनको भनाइ छ। निर्वाचन आयोगले आफूलाई मान्यता नदिएको बारेपनि उनको आक्रोश छ। ‘जेलमा मैले लेखेको विधानले आज पार्टी चलेको छ। तर मैले सबैको सदुपयोगीका लागि विधान लेखेको हुँ, दुरुपयोगका लागि होइन,’ रेशमललाले भनेका छन्, ‘अहिले विधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ। सबै कानुन जान्नेलाई थाहा छ, महाधिवेशन विधान भन्दा माथि हुन्छ। सत्ताको सदुपयोग या दुरुपयोग क्षणिक हो, तर जनता जनार्दन हुन् । यसका बारेमा अदालतले केही दिनमा अवश्य न्याय देला।’ आफ्ना कारण लाखौं जनताको मन दुखेको आफूलाई अनुभूत भएको उनको भनाइ छ। ‘त्यसकारण म क्षमा चाहन्छु। तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन,’ उनले लेखेका छन्, ‘म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ। रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन। मान्नैपर्छ, दुःख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो।’