देउवाले बोलाए राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्न कार्यसम्पादन बैठक

देउवाले बोलाए राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्न कार्यसम्पादन बैठककाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे दलको कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । 

शनिवार बिहान पनि देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार निर्णय गरेको थियो ।  आगामी २९ गते हुने राष्ट्रियसभा अध्यक्षमा कांग्रेसबाट आनन्द ढुङ्गाना र कमला पन्तको नाम चर्चामा छ ।

उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव र वन मन्त्री साहले लिए शपथ, यस्तो छ वरीयताक्रम

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा सहभागी भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका हुन्। नवनियुक्त मन्त्री यादवलाई शितल निवासमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका छन्। साथै जसपा सांसद नवलकिशोर साह वन मन्त्री बनेका छन्। उनले पनि राष्ट्रपति पौडेलबाट शपथ लिइसकेका छन्। यादव बारा क्षेत्र नम्बर २ र साह सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।यससँगै सरकारमा एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी सामेल छन्। उनीहरू मन्त्री बनेसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ । सरकारमा चार उपप्रधानमन्त्री छन् । पूर्वउपप्रधान एवं स्वास्थ्यमन्त्री समेत रहेका यादव अहिले पाँचौँ वरीयताक्रममा छन् । मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा नेकपा (एमाले)का सचिव समेत रहेका रघुवीर महासेठ छन् । उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुन् । तेस्रो वरीयतामा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ छन् । चौथो वरीयतामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने छन् । मन्त्रिपरिषद्को वरीयताक्रम हेर्नोस्  

पाकिस्तानको राष्ट्रपतिमा जरदारी निर्वाचित

काठमाडौं । पाकिस्तानको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनका उमेदवार आसिफ अली जरदारी निर्वाचित भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले जरदारी विजयी भएको घोषणा गरेको हो ।  जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचन मण्डलबाट ४११ मत ल्याएर चुनाव जितेको आयोगले जनाएको छ । जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गरे ।  पूर्वीपञ्जाव प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट आठ, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त भए । जरदारीका प्रतिद्वन्द्वी विपक्षी दलका संयुक्त उमेदवार महमुद खान अचकजाईले कुल १८१ मत प्राप्त गरे । ६८ वर्षीय जरदारीले निवर्तमान राष्ट्रपति आरिफ अल्वीको स्थान लिनेछन् ।  २००८ देखि २०१३ सम्म देशको ११औँ राष्ट्रपतिको रूपमा नेतृत्व गरेका जरदारीको राष्ट्रपतिको रूपमा यो दोस्रो कार्यकाल हो । जरदारी ८ फेब्रुअरी, २०२४ मा भएको आम निर्वाचनमा राष्ट्रियसभा सदस्य निर्वाचित थिए ।राष्ट्रपतिको रूपमा शपथ लिनुअघि उनले राष्ट्रियसभाबाट राजीनामा दिनुपर्नेछ ।

मन्त्री चौधरीको अमेरिका भ्रमण रद्व, सचिवको टोली प्रस्थान

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको अमेरिका भ्रमण रद्व भएको छ । भ्रमणका लागि यही फागुन २४ मा बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृति दिए पनि मन्त्री चौधरीको भ्रमण  स्थगित भएको हो । सोमबार र मंगलबार संयुक्त राष्ट्र संघको आयोजनामा न्युयोर्कमा हुने ‘कमिसन अन दि स्टाटस अफ वुमनको ६८ ओैं सत्रमा भाग लिन मन्त्री चौधरी जाने कार्यक्रम तय भएको थियो । संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुने बारे अघिल्लो सरकारको मन्त्रालयबाट नै तय भएको थियो । प्रधानमन्त्रीले छिट्टै विश्वासको मत लिने तयारी गरेकोले पनि उनको भ्रमण रोकिएको बताइएको छ । मन्त्रि चौधरीले मन्त्रालयको कामका बारेमा अध्ययन गर्नका लागि पनि भ्रमणमा नजान खोजेको स्रोतले बताएको छ । मन्त्री नजाने भएपछि उक्त कार्यक्रमका लागि मन्त्रालयका सचिव सुमनराज अर्यालको नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरेको छ ।

जसपाका मन्त्रीहरूले आज शपथ लिदै

काठमाडौंं । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । पार्टीले अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेपछि उनीहरुको सपथ आज हुने भएको हो ।  अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् । साह वन तथा वातावरण मन्त्री बन्ने भएका छन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् । जसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएसँगै वर्तमान गठबन्धनको बहुमत सुनिश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारीमा जुटेका छन् । 

राष्ट्रियसभा अध्यक्षको उम्मेदवारबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपराह्न ५ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएको एक पदाधिकारीले जानकारी दिए ।  पदाधिकारी बैठकले आगामी मंगलबार हुने राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि उम्मेदवार छान्ने छ । नयाँ बनेको गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउने सहमति अनुसार माओवादीले उम्मेदवार छान्न लागेको हो । माओवादीमा राष्ट्रियसभा अध्यक्षका लागि हाल उपाध्यक्ष रहेकी उर्मिला अर्याल, नारायण दाहाल र झक्कुप्रसाद सुवेदी आकांक्षी रहेका छन् ।कस्लाई उम्मेदवार बनाउने भन्ने निर्णय पदाधिकारी बैठकले लिने हिजो बसेको संसदीय दल बैठकमा सहमति बनेको थियो । सोही अनुसार आज बैठक बोलाइएको हो । यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ । तर कसलाई उम्मेदवार बनाउने भन्ने केही खुलाएको छैन । नयाँ सत्ता समीकरण बन्नु अघि नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बन्ने चर्चा रहेको थियो । तर समीकरण परिवर्तन भएपछि कांग्रेसले कुनै निर्णय गरेको छैन । राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता र मंगलबार मतदानको तयारी रहेको छ ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन बैठक आज पनि बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए। हिजोदेखि सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेका विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको रहेको छ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची छ । यस्तै, अध्यक्षले राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि दिन तोक्नुका साथै विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्नेछन् । बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ ।

कांग्रेसले यो सरकारलाई काम गर्न दिनुपर्छ : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले बनेको नयाँ सत्ता गठबन्धनलाई कांग्रेसले काम गर्न दिनुपर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घ बागमती प्रदेशको चौथो प्रतिनिधिसभाको आज उद्घाटन गर्दै उनले कांग्रेस परिर्वतित गठबन्धन सरकारलाई काम गर्न दिनुपर्ने बताएका हुन् ।  महामन्त्री शर्माले कांग्रेस अब जनताको मुद्दा लिएर खरोरूपमा उत्रिने बताए । “हामीले पार्टी सभापतिलाई भनेका छौँ, अहिले केही समय पर्खनुहोस्, यो गठबन्धनलाई काम गर्न अवसर दिनुपर्छ”, उनले भने । उनले अहिले कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने समेत बताए। “कांग्रेस अब घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा लाग्दैन, हामी सरकार भत्काउन र बहुमत पुर्‍याउनतर्फ लाग्दैनौँ”, उनले भने ।      

कांग्रेस राष्ट्रियसभा दलको नेतामा सिटौला चयन

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन भएका छन् । कांग्रेस संसदीय दलको नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रियसभामा दलको नेता मनोनीत गरेका संसदीय दलका कानुनी सल्लाहकार अधिवक्ता केशव जोशीले जानकारी दिए । कांग्रेस विधानमा प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रियसभा संसदीय दलको नेता चयन गर्ने प्रावधान छ । सोहीअनुसार शनिबार देउवाले सिटौलालाई मनोनीत गरेका जोशीले बताए ।

सांसदहरूलाई प्रधानमन्त्रीको ब्रिफिङ : समिकरण परिर्वतनको परिस्थितिदेखि विश्वासको मतसम्म

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितीका बारेमा संसदीय दललाई जानकारी गराएका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा सांसदहरुलाई प्रष्ट पारेको दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकमा प्रतिनिधिसभाको पछिल्लो अवस्थाबारे प्रतिनिधिसभाका मुख्य सचेतक पाण्डे र राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले बैठकलाई जानकारी गराएका थिए । त्यसैगरी, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तथा विश्वासको मतको विषयमा पनि बैठकमा छलफल भएको थियो । बैठकमा राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार कस्लाई बनाउने भन्ने विषयमा पार्टीको स्थायी समिति बैठकले निर्णय गर्ने र विश्वासको मत कहिले लिने भन्ने विषयमा सहयात्री दलसँग छलफल गरेर निर्णय लिइने जानकारी समेत प्रधानमन्त्रीले सांसदहरुलाई गराएका छन् ।  बैठकमा फागुन ३० गते विश्वासको मत लिने गरी तयारी गर्ने । त्यसका लागि गठबन्धनमा सहभागी दलरूसँग छलफल गर्ने । फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा उपस्थित हुन राष्ट्रिय सभामा रहेका आफ्नो दलका सदस्यहरूलाई ह्वीप जारी गर्ने लगायतका निर्णय गरेको बताइएको छ । 

माओवादी संसदीय दलको बैठक जारी

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ। सिंहदरबारस्थित दलको कार्यालयमा ३ बजेदेखि बैठक बसिरहेको हो। बैठकमा प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक विषयमा जानकारी गराउने र गठबन्धन फेरिएको विषयमा ब्रिफिङ गर्ने कार्यसूची रहेको छ। प्रमुख सचेतक हितराज पाण्डेले राष्ट्रिय सभा अध्यक्षका विषयमा पनि छलफल हुने बताए। राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते गर्ने तयारी छ। त्यस्तै, राष्ट्रिय सभाबाट विदाइ भएका सांसदहरूलाई दलबाट विदाइ गर्ने कार्यक्रम रहेको पनि पाण्डेले जानकारी दिए। माओवादीका राष्ट्रिय सभाका तीन सदस्यको कार्यकाल फागुन २० मा सकिएको थियो।

मुलुकको विगत र वर्तमानको अवस्था तुलना नै हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्ने कुरामा सत्यता नरहेको बताएका छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला उनले सो कुरामा कुनै सत्यता नरहेको प्रतिक्रिया दिएका हुन् । मोतीदेवी स्मृति केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरू रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो ? भनी प्रश्न समेत गरे । उनले ३३ प्रतिशत महिलाहरू संसद् र सरकारी निकायमा प्रतिनिधित्व संविधानमै सुनिश्चित भएको दृष्टान्त पेश गर्दै अहिले विगतमा भन्दा तुलना नै गर्न नसक्ने गरी जनताको अवस्था राम्रो भएको तर्क गरेका हुन् । ओलीले जनताको अवस्थालाई पूर्ण रूपमा राम्रो बनाउने गरी काम गर्नुपर्ने जिम्मेवारी पनि आफूहरूको काँधमा रहेको बताए ।अध्यक्ष ओलीले महिलाहरूलाई सशक्तीकरणको बाटोबाट पुरुष सरह अधिकार दिलाउने कुरामा आफ्नो पार्टी लागिपर्ने समेत बताए ।

रातारात अल्पमतको मन्त्री बनेका मन्त्रीहरूलाई सरकारबाट हट्न नागरिक उन्मुक्तिको निर्देशन

धनगढी। सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा रहेको बेला पार्टीलाइ थाहै नदिइकन नागरिक उन्मुक्ति पार्टीबाट तीन जनाले रातारात मन्त्रीको शपथ लिएपछि सो पार्टीभित्र किचलो सुरु भएको छ । सल्लाहै नगरी मन्त्रीको शपथ लिएको भन्दै नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय नेतृत्व प्रदेशस्थित संसदीय दलप्रति रुष्ट बनेको छ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले कमलबहादुर नेतृत्व सरकारबाट हट्न प्रदेश संसदीय दलललाई निर्देशन दिएकी छिन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारलाई दिएको साथ फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहले सहयात्री दल नागरिक उन्मुक्ति पार्टीबाट हिजो तीन मन्त्री नियुक्त गर्नुका साथै शपथ समेत खुवाएका थिए ।  नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, सचेतक खुसीराम डङ्गौरा थारु बिना विभागीय मन्त्री र इन्दिरा गिरी भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गरिएको छ । कृषि राज्यमन्त्री कैलाश चौधरीलाई फिर्ता बोलाएर चौधरीको ठाउँमा गिरीलाई मन्त्री नियुक्त गरिएको हो । तीनै जना मन्त्रीलाई हिजो रातारात शपथ ग्रहण गराइएको छ । पार्टीसँग सल्लाहबिनै रातारात मन्त्री बनेको भन्दै नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय नेतृत्वले सरकारबाट हट्न निर्देशन दिएको बुझिएको छ । सरकारबाट नहटे कारबाही हुनेसम्मको चेतावनी दिइएको छ । पार्टी अध्यक्षले सरकारबाट हट्नका लागि मौखिक निर्देशन दिएको नवनियुक्त आर्थिक मामिला मन्त्री चौधरीले बताए  मुख्यमन्त्री शाहले मन्त्रीमण्डल विस्तार गरे पनि प्रदेश सरकार अझै पनि अल्पमतमै रहेको छ । ५३ जना प्रदेश सभा सदस्य रहने सुदूरपश्चिममा बहुमत सरकार चलाउन २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । प्रदेश सभामा रहेका कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका सात गरेर सङ्ख्या २५ पुग्ने गरेको छ ।

राष्ट्रियसभाको अध्यक्षमा उमेदवारी दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उमेदवारी दिने निर्णय गरेको हो ।  विपक्षमा रहेका दललाई कांग्रेसलाई सहयोग गर्न आग्रह गर्ने निर्णय पनि बैठकले गरेको कांग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिए । कसलाई उमेदवार बनाउने त्यो भने निर्णय भने पछि गर्ने उनले जानकारी दिए । यसका लागि भोलिबाट छलफल सुरु गर्ने उनको भनाइ छ ।  यही फागुन २९ गतेका लागि राष्ट्रियसभा अध्यक्षको निर्वाचनको मिति घोषणा गर्ने तयारी रहेको छ । 

झलनाथ खनालले विज्ञप्ति निकालेर दिए नयाँ समिकरणको सरकारलाई शुभकामना

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले विज्ञप्ति निकालेरै नयाँ सत्ता समीकरण प्रति खुसी व्यक्त गरेका छन् ।उनले यो समिकरणलाई सकारात्मक परिवर्तन भएको बताएका छन् । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता समेत रहेका खनालले नयाँ समीकरणलाई समकालीन राजनीतिक परिस्थितिमा आएको महत्वपूर्ण सकारात्मक परिवर्तन भनेका छन् ।  “वामपन्थी एकताको माग दिनप्रतिदिन बढिरहेको थियो । मुलुकको राजनीतिक कोर्स बदल्नुपर्छ भन्ने माग प्रबल बनिरहेको थियो । त्यही जनचाहना र मुलुकको आवश्यकतालाई प्रतिबिम्बित गर्दै यो बाम लोकतान्त्रिक शक्तिहरूको नँया सरकार बनेको छ,” विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, “यो सरकार बन्दा आज आमजनतामा नयाँ आशाको सञ्चार भएको छ । मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरू समेत यो सरकारप्रति सकारात्मक देखिएका छन् ।”  जटिल अवस्थामा अहिलेको सरकार बनेको भन्दै खनालले यसलाई दायाँबायाँ गर्ने कुनै छुट नरहेको बताएका छन् । यद्यपि, सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू विभिन्न प्रकारका चलखेल र षड्यन्त्रमा लागिसकेको उनको दाबी छ ।  “वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिप्रति गम्भीर बन्दै सरकारमा रहेका सबै घटकमाझको नीतिगत एकतालाई बलियो बनाउन मिटरव्याजपीडित र दुग्ध किसानहरूका समस्या तुरुन्त समाधान गर्नुपर्छ ।”