मन्त्रिपरिषद् पुनःगठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताएका छन्।

संसद्मा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यही फागुन ६ देखि १८ गतेसम्मका विषयमा सरकारको धारणा माग गरिएकोमा सरकारको समीकरणसँगै मन्त्रीहरूको राजीनामाको विषय स्वतः सम्बोधन भएको बताए।
 
“सांसदहरूले उठाउनुभएका विषयहरूको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु”, प्रधानमन्त्री प्रचण्डले भने, “राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनसँगै माननीयज्यूहरूका केही प्रश्नले जवाफ पाइसकेका छन्। उदाहरणका लागि बालकुमारी घटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुनःगठनसँगै असान्दर्भिक भएको छ।”

सम्बोधनमा प्रधानमन्त्रीले नेपाली कांग्रेसले सरकारमाथिको विश्वासको मत फिर्ता लिइसकेकाले फेरि विश्वासको मत लिने क्रममा आफूले संसद्मा विशेष सम्बोधन गर्नेसमेत प्रष्ट पारे। 

आशा जगाउने गरी काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा आशा जगाउने गरि काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीले कामको गति बढाएर जनताको अपेक्षा पुरा गर्न मन्त्रीहरुलाई निर्देशन दिए ।  प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरेर नतिजा आउने गरी काम गर्न निर्देशन दिएको खानेपानी मन्त्री राजेन्द्रप्रसाद राईले जानकारी दिए ।  बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ । बैठकले ८ मार्चमा संयुक्त राष्ट्रसंघमा हुने ६८ औं सत्रमा भाग लिन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई सहभागी हुन अनुमति दिने निर्णय पनि गरेको छ । यस्तै २६ गते शनिवार अवकास हुन लागेकी स्वास्थ्य सचिव देवकुमारी गुरागाईलाई बिदाई गर्ने निर्णय पनि भएको छ ।

एकीकृत समाजवादी बाहिरिएसँगै सुदूरपश्चिम सरकारका मुख्यमन्त्री अल्पमतमा

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारबाट नेकपा (एकीकृत समाजवादी) पार्टी पनि बाहिरिएको छ । यसअगाडि नेकपा माओवादी पनि प्रदेश सरकारबाट बाहिरिएको थियो । एकीकृत समाजवादी पनि सरकारबाट बाहिर भएसँगै सुदुरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका छन् । संघमा एमालेसहितको नयाँ गठबन्धनमा सामेल हुँदै प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको समाजवादी प्रदेश सरकारबाट बाहिरिएको हो । समाजवादीका तर्फबाट आर्थिक मामिलामन्त्री रहेका नरेशकुमार शाहीले मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समीकरण फेरिएका कारण पदमा बसिरहन नसक्ने जानकारी गराएका छन् । शाहीले यस्तो जानकारी गराएपछि मुख्यमन्त्री शाहले शाहीले सम्हालिरहेको मन्त्रालय आफैसँग राखेका छन् । चार जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीले संसदीय दलको बैठकबाट आजै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने जनाएको छ । माओवादी केन्द्रले यसअघि बुधबार नै प्रदेश सरकारलाई दिएको समर्थन लिएको थियो । समाजवादी पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको हो । अब शाहलाई नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरेर २५ जना प्रदेशसभा सदस्यको मात्र समर्थन छ । सरकार जोगाउन भने २७ जनाको समर्थन चाहिन्छ । नागरिक उन्मुक्ति पार्टीले भने प्रदेश सरकारका विषयमा अहिलेसम्म कुनै निर्णय लिएको छैन् । संसदीय दलका नेता घनश्याम चौधरी पर्ख र हेरको अवस्थामा पार्टी रहेकाले अहिले नै सरकारको विषयमा कुनै निर्णय नभएको बताए ।

देउवालाई रेशम चौधरीले भने -'भ्यागुताको धार्नी पुर्‍याउछु भन्नू व्यर्थ छ '

काठमाडौं । अप्रत्याशित रुपमा सत्ताविमुख बन्न पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले वैकल्पिक गठबन्धनको कसरतलाई तिब्र बनाए पनि उनलाई निरासा मात्रै हात लागेको छ । उनी सत्ता समिकरण फेरबदल भएसँगै पत्नी आरजु देउवालाई लिएर विभिन्न नेताका निवासमा मात्रै पुगेनन् कांग्रेसको मूल नेतृत्वलाई वैकल्पिक गठबन्धन बनाउन दौडधुपमा व्यस्त गराए । बुधबार बिहान सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र प्रमुख सचेतक रमेश लेखकलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगे ।उनले भेटेकै केही समयमा दूई मन्त्री सहित माधव नेपालको पार्टी सरकारमा सहभागी बन्यो ।  शीतलनिवासमा मन्त्रीहरूको शपथ तयारी चलिरहँदा देउवानिवास बुढानीलकण्ठमा  कांग्रेसका नेताहरुले लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरीसँग संवाद गरे । ती संवाद पनि सत्ता विमुख हुँदाको एक्लोपनमा सहानूभूती मात्रै जस्तै हुने भएपछि अहिले देउवा निरास छन् ।  संवाद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने वेलासम्म वैकल्पिक गठबन्धन गराउने विषयमा केन्द्रीत भएपनि देउवाले आफुले सोचे भन्दा फरक परिस्थिति बनेको महशुस सो संवादले गरायो । नयाँ गठबन्धनको निम्ति छलफलमा बोलाएकाबाट साथ पाउने अपेक्षा गरेका देउवाले उल्टै प्रचण्ड नेतृत्वको सरकारलाई अल्पमतमा पार्ने प्रयास निरर्थक हुने साना दलका नेताले राखेको विचारबाट देउवा निरास भएको स्रोतले बतायो ।  बैठकमा नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरीले सभापति देउवालाई स्पष्ट बहुमत सहित मन्त्रिमन्डल पुर्नगठन गरेका प्रधानमन्त्री प्रचण्डविरुद्ध बहुमत पुर्‍याउछु भन्नू भ्यागुताको धार्नी पुर्‍याउछु भने जस्तै हुने भएकाले त्यतातिर मिहनेतको अर्थ नहुने जवाफ दिएको बैठकमा सहभागी एक नेताले जनाकारी दिए । चौधरीले प्रचण्ड नेतृत्वको गठबन्धनलाई कमजोर पारेर नयाँ गठबन्धन बनाउन सकिन्छ कि भनेर लाग्नुभन्दा प्रधानमन्त्री प्रचण्डलाई नै सघाएर जानुपर्ने बताएको एक नेताले ऐभरेष्ट दैनिकलाई जानकारी दिए ।

स्वास्थ्य मन्त्री बन्दै उपेन्द्र यादव आजै शपथ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बन्दै छन् । अहिले बसिरहेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्का मन्त्रीको नाम टुंग्गो लागाएपछि  जसपा नेपालले सरकारमा सहभागी हुनेछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ देखि बैठक बसिरहेको छ । उपेन्द्र यादव सहित उनको पार्टीबाट बन्ने मन्त्रीलाई आजै शपथ गराउने तयारी छ ।  जसपा १५ संघीय सांसद रहेकाे जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।  

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवैको बैठक आज बस्न लागेको हो ।  प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ः १७ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । यसअघि फागुन २१ गते  बोलाइएको बैठक सूचना टाँसेर स्थगन गरिएको थियो । सो बैठकमा सांसदहरुको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम रहेको थियो । अहिले प्रश्न गर्नेहरु नै सरकारमा आइसकेपछि संसद नयाँ कायसूची अनुसार सञ्चालन हुनेछ । प्रतिनिधिसभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापतिले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।  राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।  राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शितल निवासमा आयोजति विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना र एकीकृत समाजवादीबाट २ जना गरी मन्त्रिपरिषद २० सदस्यीय भएको छ । सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री भएका छन् । त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने वर्षमान पुन अर्थमन्त्री बनेका छन् । शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् । यस्तै एकीकृत समाजवादीबाट भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा, सहरि विकास मन्त्री बनेका छन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

समाजवादीका मन्त्रीले पनि आजै सपथ लिने

काठमाडौं। नेकपा समाजवादीका नवनियुक्त मन्त्री पनि आजै शपथ लिने भएका छन् । त्यसकै कारण बुधबार साँझ पौने ६ बजे राष्ट्रपति कार्यालयमा हुने भनिएपनि केही समय ढिलो हुने भएको छ।   अहिले भर्खरै प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच बालुवाटरमा भएको छलफलबाट सो विषयको टुंग्गो लागेको हो । प्रधानमन्त्री प्रचण्ड समाजवादीका मन्त्रीहरुलाई पनि सँगै सपथ गराउने गरी छलफलमा जुटेका कारण केही समय ढिलो भएको हो । समाजवादीबाट पनि मन्त्रीहरु आजको सपथ ग्रहणमा सहभागी हुने भएका छन् । समाजवादीका नेताहरु भानुभक्त जोशी सामान्य प्रशासन  र धनबहादु बुढा शहरी विकास मन्त्रालयको नेतृत्व लिएर सरकारमा सहभागी हुन लागेका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (माओवादी केन्द्र)बाट उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, ऊर्जामा शक्तिबहादुर बस्नेत, अर्थमा वर्षमान पुन मन्त्री बन्दै छन्।  हितबहादुर तामाङले भने मन्त्री पदको शपथ लिइसकेका छन्। उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।  नेकपा (एमाले) बाट रघुवीर महासेठको नेतृत्वमा पदम गिरी, ज्वालाकुमारी साह, दामोदर भण्डारी, भगवती चौधरी, हरि उप्रेती र राजेन्द्र राईले मन्त्री पदको शपथ लिनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठले शपथ लिए।  जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा सहभागी हुनेछ। जसपाले मन्त्रीको नाम टुङ्गो लगाएका छैनन्। 

सरकारमा सहभागी हुने निर्णयसहित प्रधानमन्त्रीसँग छलफलमा माधव नेपाल

काठमाडौं । सचिवालय बैठकलगत्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई भेट्न बालुवाटार गएका छन्। बालुवाटारमा माधव नेपाल, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डसहित छलफल चलिरहेको छ । छलफलमा अन्य नेताहरु पनि सहभागी छन् । प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्षसहित नेताहरू प्रधानमन्त्री दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार गएको जानकारी दिए। प्रधानमन्त्रीसँग विभिन्न विषयमा छलफल गरेपछि प्राप्त हुने जवाफका आधारमा थप निर्णय लिइने उनले बताए। प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरणमा आउन प्रस्ताव गरेको विषयमा सचिवालय बैठकमा छलफल भएको थियो। उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिइएको समाजवादी प्रधानमन्त्रीसँग छलफलमा जुटेको हो।एकीकृत समाजवादी सत्ता समीकरणमा सहभागी हुने भएपछि सपथ ग्रहण केही ढिलो हुने भएको छ । प्रधानमन्त्री प्रचण्ड , एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालको छलफलबाट आजै समाजवादीका मन्त्रीलाई पनि सँगै सपथ गराउने कि मन्त्रीहरु पछि सहभागी गराउने निर्णय हुनेछ । प्रधानमन्त्री प्रचण्ड समाजवादीका मन्त्रीहरुलाई पनि सँगै सपथ गराउने गरी छलफलमा जुटेको बालुवाटार स्रोतले जानकारी दियो ।   

सत्ता गठबन्धनबाट आएको प्रस्तावमा सकारात्मक :  एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जान सकारात्म देखिएको छ । आफूहरूका सर्तहरू मान्न तयार भए एकीकृत समाजवादी सरकारमा सहभागी हुन तयार रहेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार पार्टीको आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री र सत्ता गठबन्धनबाट आएको प्रस्तावमा सकारात्मक भएको निष्कर्ष निकालेको छ । पार्टीका माग राख्न पार्टी अध्यक्ष माधव नेपाल‚ महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल गठबन्धनका नेताहरूसँग छलफल गर्न गएका छन् ।

एमालेका ९ मन्त्री जसले नेतृत्व गर्नेछन् यी मन्त्रालय

काठमाडौं । नेकपा एमालेले पनि नयाँ सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । गत वर्षका अधिकांशले मौका पाएका छन् । नयाँमा रघुवीर महासेठ र बलराम अधिकारी थपिएका छन् । एमालेले सचिव रघुवीर महासेठको नेतृत्वमा एक राज्यमन्त्रीसहित ९ जनालाई पठाइएकाे छ । रघुवीरलाई भौतिक पूर्वाधार मन्त्रालयमा पठाइनेछ ।  नेकपा एमालेले पदम गरी कानुन मन्त्री,राजेन्द्र राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, ज्वालाकुमारी शाह कृषि तथा पशुपन्छी विकास, दामोदार भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, भगवती चौधरी  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र  र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेतीलाई पठाएको छ ।

माओवादीद्धारा लुम्बिनी प्रदेश सरकारको समर्थन फिर्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  पार्टी संसदीय दलका नेता जोखबहादुर महरा र प्रमुख सचेतक इन्द्रजीत थारुले विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जानकारी दिएका छन् ।  लुम्बिनीमा नेपाली कांग्रेस नेतृत्वमा सरकार छ ।

गण्डकीमा माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

पोखरा । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकीमा माओवादी केन्द्रले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको हो ।  आज बसेको पार्टी संसदीय दलको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।  यसअघि मंगलबार मुख्यमन्त्री पाण्डेले माओवादीबाट सरकारमा सहभागी दुई मन्त्रीलाई हटाएका थिए । माओवादीले समर्थन फिर्ता लिएसँगै ३० दिनभित्र मुख्यमन्त्रीले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिनुपर्ने हुन्छ ।

आरजुसहित माधव नेपालको निवासमा देउवा, माधवले के भने ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् । आरजु राणा देउवालाई लिएर देउवा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेता नेपाललाई भेट गर्न देउवा पुगेका हुन् । भेटमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि रहेका छन् ।  यसअघि मंगलबार बेलुका नेपाल निवास कोटेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली पुगेर माधव नेपालसँग छलफल गरी गठबन्धनमा सहभागी गराउनेबारे माधव नेपाललाई सकारात्मक बनाएपछि देउवा सो वातावरण बिगार्न नेपालकोमा पुगेका हुन् । स्रोतका अनुसार बुधबार बिहान नेपाल निवास कोटेश्वर पुगेका देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिए, अब सँगै मिलेर अगाडि जाउँ भनेका थिए ।जवाफमा अध्यक्ष नेपालले आज दिउँसो बस्ने केन्द्रीय सचिवालय बैठकमा कुरा राख्ने जानकारी दिएका छन् । केही समयमा बैठक बसेर एकिकृत समाजवादीले सत्ता गठबन्धनमा सहभागी हुने नहुनेबारे निर्णय लिंदैछ ।

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सरकारमा जानेबारे निर्णय लिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी सचिव जीवनराम श्रेष्ठ जानकारी दिएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष माधव नेपाललाई  उनकै निवासमा पुगेर सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । जवाफमा नेपालले सल्लाह गर्ने बताएका थिए ।  प्रचण्ड ओलीको प्रस्तावमा सकारात्मक रहेका नेपालले आजको बैठक मार्फत सरकारमा सहभागी हुनेबारे निर्णय लिनेछन् ।

सत्ता गठबन्धनको बैठक बस्दै, भागबन्डा टुंग्गाएर आजै सपथ

काठमाडौं । मन्त्रालयको भागबन्डा गर्न नयाँ सत्ता गठबन्धनको बैठक बस्दैछ। सत्ता गठबन्धनको बैठक बिहान ९ बजे बोलाइएको छ । हिजो बसेको बैठककले सिट संख्याका बाँडफाडबारे मोटामोटी सहमति कायम गरेको एक नेताले बताए ।  आज बस्ने बैठकले सिट र मन्त्रालयको भागबन्डा टुंग्गाउनुका साथै नयाँ बन्ने मन्त्रिहरुको सपथ समेत आजै गराउनेगरी तयारी भएकाे गठबन्धनमा सहभागी एक नेताले जानकारी दिए ।  आज बस्ने सत्ता गठबन्धनको बैठक अगाडि गठबन्धनका सहभागी दलहरु आन्तरिक छलफलमा रहेका छन् ।